+
+

‘राजनीतिक दल, प्रहरी र प्रशासनलाई काबुमा राखेर सुपारी तस्करी’

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ फागुन २० गते १९:५२
दीगो विकास तथा सुशासन समिति बैठकको फाइल तस्वीर र समितिले सार्वजनिक गरेको प्रतिवेदनको अंश ।

२० फागुन, काठमाडौं । संसदीय समितिको एक अध्ययन प्रतिवेदनले राजनीतिक दल, प्रहरी र प्रशासनलाई काबुमा राखेर नेपालबाट भारतमा सुपारी तस्करी हुने गरेको खुलासा गरेको छ ।

चार वर्ष अघि नेपालमा आयात भएको ५० हजार मेट्रिकटन सुपारीमा यस्तो सेटिङ भएको प्रतिवेदनमा उल्लेख छ ।

भारतमा तस्करी गर्नकै लागि नेपालमा सुपारी आयातको खेलो फड्को हुने गरेको पनि प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय सभाको दीगो विकास तथा सुशासन समिति अन्तर्गतको एक उपसमितिले तयार गरेको प्रतिवेदनमा यस्तो उल्लेख छ ।

नेपाल र भारत बीचको भन्सार दरमा भएको ठूला अन्तरको फाइदा उठाउँदै नेपालबाट अनौपचारिक क्षेत्रका व्यापारीहरु तस्करीमा संलग्न रहेको र उनीहरुले सरकारका उच्च पदस्तलाई प्रभावमा पार्ने गरेको प्रतिवेदनमा भनिएको छ ।

सांसद रमेशजंग रायमाझी संयोजकत्वको पाँच सदस्सीय उपसमितिले १० महिनासम्म लगाएर तयार पारेको अध्ययन प्रतिवेदनमा सुपारीको अवैध तस्करीकै कारण नेपाल भारत व्यापार वार्तामा नेपाली पक्षलाई निकै अप्ठ्यारो परेको पनि उल्लेख छ ।

‘भारतमा सुपारी आयात गर्दा ८० प्रतिशत भन्सार लाग्ने र नेपालमा २५ प्रतिशत मात्रै भन्सार हुँदाको नेपालबाट भारतमा सुपारी तस्करी गरेर पठाउँदा ४५ प्रतिशत खुद नाफा हुने देखियो,’ प्रतिवेदनमा भनिएको छ, ‘यही मुनाफाका कारण सुपारी कारोबारीले राजनीतिक दल, प्रहरी र प्रशासनलाई काबुमा राखेर अवैध रुपमा भारत निकासी गरिरहेका थिए ।’

आर्थिक वर्ष २०७७/७८ मा भने २ सय ५६ फर्मबाट ४ लाख ८२ हजार ९९६ मेट्रिक टन सुपारी माग भए पनि जम्मा २५ हजार मेट्रिकटन सुपारी आयात अनुमति दिएको प्रतिवेदनमा जनाइएको छ ।

इन्डोनेसिया र मलेसियाबाट आयात गरिएको सुपारीलाई भारत तस्करी गर्न नक्कली सर्टिफिकेट बनाएको पनि प्रतिवेदनले उजागर गरेको छ । ‘तस्करी प्रयोजनकै लागि आयात गरिएको सुपारीलाई नेपाली बनाउन कृषि मन्त्रालयले स्वदेशी उत्पादन बढाएर सिफारिस गरेको र त्यसलाई वाणिज्य मन्त्रालयले सदर गरेको पाइयो,’ प्रतिवेदनमा भनिएको छ ।

यसअघि अध्ययन र अनुसन्धानविनै मन लाग्दी सुपारीको आयात खुलाउने खेल भएको भन्दै प्रतिवेदनले कार्यविधि र मापदण्ड बनाएर, पारदर्शी ढंगबाट सुपारी आयातको कोटा निर्धारण र आयात अनुमति जारी गर्न सरकारलाई निर्देशन दिएको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?