+
+
समाज :

आफ्नै माटोबाट लखेटिनेको कथा

दिवस गुरुङ दिवस गुरुङ
२०७८ फागुन २१ गते १९:१०

चारैतिर दशैंको रङ । मानिसहरू घर सजाउन र किनमेलमा व्यस्त ।

चारैतिर उमंगै उमंग । घर छाडेर पखेंटा हालेकाहरु पनि गुँड सम्झेर फर्किंने चाड पनि हो दशैं । म भने घर जाने बाटो तर्किंदै ढोरपाटनतिर जाँदै थिएँ ।

दशैंको टीकाको दिन मज्जाले खुलेको मौसम भोलिपल्टदेखि एक्कासी बिग्रियो । पश्चिमी वायुको प्रभावले नेपालका धेरै भागमा पानी पर्‍यो । कात्तिक महिनामा बाढी नै ल्याउने पानी पर्दा को खुसी होला ?

म ढोरपाटनमै रोकिएँ । मनमनै खुसी पलायो, ढोर अझ घुम्ने मौका मिल्नेवाला जो थियो ।

अरुबाट सुनेको र आफैंले देखेको ढोरपाटनमा आकाश–पातालको भिन्नता रहेछ । ढोर केवल फाँट मात्र रहेनछ, यहाँ रंगीचंगी फूलहरुसँगै विभिन्न कथाहरु साथमै फुल्दा रहेछन् । मलाई ती कथाका रंगहरुमा रंगीन मन थियो । त्यसैले अझै केही दिन ढोरकै फाँटमा रोकिने रहर गरें ।

ढोरपाटन शिकार आरक्ष हेटक्वाटरबाट पूर्वतिर एउटा गाउँ छ, पाखाथर । बिहानै उठेर त्यतै हान्निएँ । त्यहाँ तिब्बतीहरुको ठूलै बस्ती रहेछ, देखिएका घरहरु हेरेर अड्कल लगाएँ । तर प्रायः घरहरु खाली थिए । कति घरका पर्खाल भत्किएका थिए, त कतिका दलिन मक्किएर भाँच्चिएर घर कुप्रो परेका थिए । जंगल परेको बस्तीबाट अनुमान गर्न सकिन्थ्यो, गाउँ रित्तिएको वर्षौं भयो । केही घरबाट भने अझै धुँवाको मुस्लोमाथि आकाशतिर उडिरहेको थियो । म त्यही धुँवालाई पछ्याउँदै अघि लागें ।

जस्ताले छाएको पुरानो घर ।

तगारो उघारेर म भित्र पसें । एक जना महिलाले तिब्बती चिया (प्रो च्या)ले स्वागत गरिन् । म चिया पिउँदै उनीसँग गफिएँ । एकैछिनमा खेतबाट उनका श्रीमान् पनि आए । उनको नाम रहेछ थोम्बा लामा । बात मार्दै गर्दा थाहा भयो उनीहरु त तिब्बतबाट पो आएका रहेछन्, ६० वर्षअघि । नेपाली जस्ता देखिने ती वृद्धवृद्धा तिब्बती हुन् भन्ने चाल पाएपछि म अलि बढी खुसी भएँ ।

उनका श्रीमान् कान अलि कम सुन्थे । केही सोध्नु परे मैले चर्को स्वर गर्नुपर्ने । त्यसैले धीत मरुन्जेल तिब्बतदेखि ढोरपाटनसम्मको लामो इतिहास सुन्न पाइनँ । मलाई उनीजस्तै तिब्बतबाटै ढोरसम्म आएका मान्छेसँग भेट्नु थियो । गाउँ एक फन्को लगाए तर सपना पूरा भएन । तिब्बतबाटै आएकामध्ये धेरै त बितिसकेछन् । बाँकी कति बुर्तिबाङ त कति बुटवल झरिसकेछन् दशैं मनाउन । उनीहरुको कथा नसुनी पोखरा फर्कने मुडमा थिइनँ । मेरो प्यास मेटाउन एउटै विकल्प थियो, छ्यान्टुङ गुम्बा पुग्ने । किनकि त्यहाँ अझै केही तिब्बती बुढापाकाहरु भेटिन सक्थे । सानो आशा साँधेर अर्को दिन लागे गुम्बातिर ।

पानी अझै रोकिएको थिएन । तर लम्किरहेका पाइलाहरुलाई पानीले के रोक्न सक्थे ? गुम्बासम्म पुग्ने बाटो कतै खोलाले बगाएको थियो । कतै बाटाको नामोनिशान भेट्न मुस्किल थियो । जसोतसो बाटो पहिल्याउँदै अघि बढें । करिब दुई घण्टाको पैदल यात्रामा मेरा पैतालाहरुले मलाई गुम्बा नजिकैको गाउँ लगे ।

मलाई भेट्नु थियो, यहाँकै एक पाका व्यक्ति । उनी थिए, ७२ वर्षीय वान दु छिरिङ । बख्खु ओढेका एक जना वृद्धले मलाई उनको घरसम्म पुर्‍याइदिए । उनलाई धन्यवाद दिंदै म पसे, घरभित्र ।

चिसो अत्याधिक बढेको थियो । उनी मस्त सुतिरहेका थिए कोठामा । म आएको चाल पाएपछि उनकी श्रीमतीले उनलाई ब्युँझाइदिए । अनि चियाको चुस्कीसँग हामी गफिन थाल्यौं ।

युद्धले निम्त्याएको त्यो प्रलय !

सन् १९४९ बाट सुरु भएको चीन–तिब्बतको युद्ध समयसँगै झन् चर्कियो । चिनियाँ सैनिकहरु तिब्बतका गाउँगाउँ पसेका थिए । तिब्बतीहरु धेरै त्रसित थिए । तिब्बतका धेरै भूभागहरु त चीनले कब्जा गरिसकको थियो । उनी जन्मिएको टेवा गाउँ दक्षिणी तिब्बतमा पर्छ । मध्यतिब्बतमा चिनियाँ सेनाहरुको बिगबिगी व्यापक भएपछि त्यहाँका स्थानीयहरु पनि भयभित बने ।

साठीदेखि सत्तरी घरथुरीहरु थिए त्यस गाउँमा । सबैले आफ्नो जन्मथलो छाड्न चाहेनन् । मरे पनि आफ्नै मातृभूमिमा मर्ने हट्टी कस्नेहरु पनि धेरै थिए । त्यसैले तीन भागको एक भागले तिब्बत छाड्ने निर्णय गरे । छाड्नेमध्ये एक परिवार उनको थियो । उनीहरुसँग मात्र विकल्प थियो, शरणार्थी बनेर नेपाल छिर्ने ।

नेपाल छिर्दा मृत्युसँगको पौठेजोरी

उनीहरु नेपालका नागरिक हैनन् । तिब्बती हुन् । हुन त यो संसार सबैको साझा घर हो । देश–विदेश, नागरिक–अनागरिक त मानवले बनाएका न हुन् । न उनीहरुको यहाँको नागरिकता छ । न ओत लाग्ने टहरा बनाउन जमिन नै आफ्नो नाममा

२०१७ साल । छिरिङ उमेरले बल्ल १२ वर्ष लागेका थिए । भर्खरको बालक केटो, उनलाई गाउँ नै प्यारो थियो । तर जहान परिवारको ज्यान जोगाउन उनको परिवारले पनि तिब्बत छाड्ने निर्णय गर्‍यो । त्यसबखतको समयलाई सुनाउँदै उनी यसरी विगतमा फर्कन्छन्, ‘काका र हाम्रो परिवारका दश जना सदस्यहरु गाउँ छाड्न तयार भयौं । कान्छा काकाको परिवार भने गाउँमै बस्ने भए । घरका सबै सरसामानसँगै लान सम्भव नै थिएन । चांैरी र घोडाहरुमा बाटाभर चाहिने खाना र लत्ताकपडाहरु बाधे बाले । बाँकी सरसामान सबै नजिकैको जंगलमा लुकाए । तर ती सामान लिन हामी कहिल्यै गएनौं । त्यसै कुहियो होला ।’

आफ्नो थातथलो छाडेर जानुपर्दा सबै भक्कानिएका थिए । तर छाड्नु बाहेकको विकल्प पनि थिएन । गाउँ छाड्ने र गाउँमै बस्नेहरु अन्तिम पटक बिदावारी गरी छुटिंदा सबैका आँखा रसाएका थिए । शायद, त्यहाँको माटो पनि ओभायो होला, लस्करै लाम लागेर छाडिगएका मान्छेहरुलाई देख्दा ।

मंसिर पुसको ठिही । हिउँको बाटो छिचोल्दै, अघिअघि घोडा र चौंरीको लस्कर । उनीहरुले बाटो बनाइदिन्थे अनि उनीहरुलाई पछ्याउँदै सयौं संख्याका गाउँलेहरु पछिपछि लाग्थे । कोरला नाका हुँदै नेपाल पस्दा हिउँ नै हिउँको थुप्रो छिचोल्दाको संघर्ष सम्झिंदा उनलाई अहिले पनि अत्यास लागेर आउँछ । उनले बोराको झोलामा आफ्नो लत्ताकपडा बोकेका थिए । आधा शरीर हिउँभित्र, आधा बाहिर । कम्मर–कम्मरसम्म हिउँ थियो । चौंरी र बाख्राहरु मात्र हैन, कति स–साना केटाकेटी चिसोले बाटामै ज्यान गुमाए । उनी र उनको परिवार भने बारबार मृत्युसँग लडेर सकुशल नेपाल आइपुगेका थिए ।

हप्तौं लगाएर नेपाल छिरेपछि उनीहरु कोही मुक्तिनाथ छेउछाउ त कोही लुब्रा उपत्यकामा छरिएर बसे । हिउँको थुप्रोमाथि पाल टाँगेर बस्न त्यति सहज त कहाँ हुन्थ्यो र ? त्यहींमाथि पालहरु पर्याप्त थिएनन् । त्यसैले दुई–तीन परिवार एउटै पालमुनि बसे । ल्याएका भेडाहरु धेरै त चिसोले मरे । न पर्याप्त चरण क्षेत्र थियो न तिनीहरुलाई चाहिने दानापानी । त्यसैले उनीहरु कति चौंरीहरु मुस्ताङमै सस्तो मोलमा बेच्न बाध्य भए । कति त्यतै काटेर खाए ।

मरुभूमि जस्तो ठाउँ मुस्ताङ । एक त अत्यधिक चिसो अनि अर्को पर्याप्त खेतीपाती र गाईवस्तुलाई पर्याप्त चरण क्षेत्र नभएको ठाउँ । त्यसैले उनीहरु मुस्ताङमा अडिएनन् । मुस्ताङमा बस्दाताका नै ढोरपाटनको फाँटबारे उनीहरुले सुनेका थिए । त्यसैले एक वर्ष उनीहरु मुस्ताङका विभिन्न ठाउँमा बसाइँ सर्दै २०१८ साल असोजतिर ढोरपाटन आइपुगे ।

दाना, तिप्लाङ, बेनी बजार हुँदै जलजला भञ्ज्याङ पार गरी ढोरपाटन आइपुगेको हिजोजस्तै लाग्छ उनलाई । हामी आउँदा यहाँका स्थानीयहरु हामीलाई देखेर तर्सिन्थे,’ उनी अगाडि भन्छन्, ‘नतर्सियोस् पनि कसरी ? लट्टा परेको लामो कपाल, अनि त्यस्तै झुत्रा कपडा लगाएका हामी । महिनौं ननुहाएको हाम्रो शरीर र लुगाका पोकापुन्तुरा देखेर उनीहरु तर्सेर भाग्थे । हामीले ल्याएका चौंरी अनि लुल झुपार उनीहरुले देखेको नै पहिलोपल्ट, छक्क परेर हेर्थे । अनि आफ्नो बाटो लाग्थे ।’

आइहालियोओत लाग्ने पो कहाँ ?

फसाद् । उनीहरु नेपाली बुझ्दैनथे, यता नेपालीहरु उनीहरुका भाषा बोल्दैनथे । उनीहरुसँग साथमै आएका थिए, दोभाषे । जो नेपाली, अंग्रेजी र तिब्बती सबै बोल्थे र बुझ्थे ।

अर्काको देशमा नयाँ घर बनाइहाल्ने अनुमति पनि थिएन । तिनै दोभाषेहरुले स्थानीयसँग कुरा राखेर गोठगोठमा बस्ने व्यवस्था मिलाए । भूगोल फरक, अनि भिन्न थियो बोलिने भाषा, रहनसहन अनि संस्कृति । स्थानीयहरुसँग घुलमिल हुन सुरुका दिन सजिलो थिएन ।

पछि दलाई लामा सरकारको अनुरोधमा यूएन र स्वीस सरकारले ढोरपाटनमा बस्ती बसाल्न नेपालसँग सहकार्य गर्‍यो ।

‘सुरुमा हामी पाखाथरमा रहेका नेपालीका गोठमा बसेका थियौं,’ उनी थप्छन्, ‘ठूला परिवार, सधैं साँघुरो गोठमा मात्र बसेर सम्भव थिएन । कतिले उतै पाखाथरमा घर बनाएर बस्न थाले । केही परिवार भने यहाँ छ्यान्टुङ गुम्बाको आसपास आएर बस्न थाले ।

एयरपोर्टमा स्वीस र यूएन सरकारकोे हेलीहरुले खाना, बस्ने र सबै सामानहरु ल्याउँथे । सुरुमा जेनतेन त्यसैले परिवार चल्थ्यो । पछिपछि हेली आउन रोकियो । हेली आउन रोकिनु भनेको रासनपानी आउन बन्द हुनु पनि थियो ।

तर हामी भोकभोकै बसेनौं । उनी अगाडि सुनाउँछन्, ‘हामीलाई खेतीपाती र विभिन्न सीप सिकाउन प्रशिक्षकहरु उतैबाट आएका थिए । अनि ढोरको फाँटमा उम्रिन थाले नयाँनयाँ अन्न र तरकारीहरु । विस्तारै हामी ढोरमा भिज्दै गयौं । अनि समय आफ्नै लयमा चल्न थाल्यो ।’

तिब्बतीहरु आएसँगै ढोरपाटनमा नै पहिलो विद्यालय सञ्चालनमा आयो, ज्योति विकास विद्यालय । पढाउनका लागि दार्जिलिङ, भुटान र तिब्बती मास्टरहरु पनि झिकाएका थिए । उनीहरुको नेपाली, अंग्रेजी र तिब्बती सबैमा दख्खल थियो । बिहान बेलुका उनीहरु तिब्बतीहरुलाई जम्मा पारेर भाषा सिकाउँथे । अनि सँगै सुन्थे तिब्बतीका समस्या । बिस्तारै उनीहरुले स्थानीय भाषा, संस्कृति र रहनसहन बुझ्दै र सिक्दै गए । तर आफ्नै मातृभाषा र तिब्बती संस्कृतिलाई पनि चट्ट बिर्सेनन् ।

सुरुमा त तिब्बती शरणार्थीहरु ढोरमा आउँदा स्थानीयहरु त्यति खुसी थिएनन् । उनीहरुबाट तर्केर हिंड्थे, बोल्न त परको कुरा ।

तिब्बतीहरुलाई यो सब ननिको लाग्थ्यो । सहनु बाहेकको विकल्प पनि त थिएन । समयसँगै तिब्बती शरणार्थीहरु ढोरमा आएपछि धेरै राम्रा परिवर्तनका लहर भित्रिए । एयरपोर्ट नियमित रुपमा सञ्चालनमा आयो । उनीहरुलाई भनी ल्याइएका खाद्यान्न स्थानीयले पनि पाउन थाले । स्वीस सरकारको सहयोगमा मिसन अस्पताल सञ्चालनमा आएपछि स्थानीयसमेत लाभान्वित भए । विभिन्न औषधिदेखि सामान्य अप्रेसनको सुविधा स्थानीयले पनि पाए । त्यो पनि निःशुल्क । स्थानीयहरु सामान्य उपचारका लागि बागलुङ बजार धाउनु परेन ।

ढोरपाटनमै कार्पेट फ्याक्ट्री खुल्यो । शरणार्थीहरुसँगै स्थानीयहरुले पनि रोजगार पाए । यता शरणार्थीका लागि ल्याइएका विभिन्न विदेशी खाद्यान्नका बीउबिजन स्थानीयले पनि पाए । शिक्षा, स्वास्थ्यका साथै आर्थिक स्तर पनि स्थानीयको उकासियो । अर्को अर्थमा भन्नु पर्दा तिब्बतीहरु भित्रिएसँगै ढोरको विकासले गति लियो ।

खोलिएको पहिलो विद्यालयमा उनीलगायत तीस चालिस संख्यामा तिब्बती विद्यार्थी मात्र पढ्थे । पढाइ हुन्थ्यो अंग्रेजी, नेपाली र तिब्बती भाषा । तिनताका स्थानीयमा पढ्नुपर्छ भन्ने मानसिकता नै विकास भएको थिएन । त्यहाँ पाँच कक्षासम्म पढेर उनी बाँकी पढाइका लागि बागलुङ झरे । त्यसबेला बागलुङको एक मात्र विद्यालय विद्या मन्दिरबाट २०२७ सालमा दश कक्षा पास गरे । अनि ढोरपाटन नै फर्केर उनी आफैं पढेको स्कुलमा पढाउन थाले ।

२०२८ देखि २०५८ सालसम्म निरन्तर तीस वर्ष त्यही विद्यालयमा पढाए । धेरैलाई ज्ञानको ज्योति फैलाए । अहिले त त्यसै विद्यालयमा तीन सय हाराहारीमा विद्यार्थीहरु पढ्छन् । पढ्नेहरु प्रायः स्थानीय नै छन् । तिब्बतीहरु एकदमै कम । विद्यालयमा हाल कक्षा ८ सम्म पढाइ हुन्छ । आजको दिनमा उनले पढाएका विद्यार्थीहरु विभिन्न ठाउँमा शिक्षक, कर्मचारी लगायत विभिन्न पेसामा भेट्दा उनलाई गर्व लाग्छ । खुसीले छाती ढक्क फुल्छ उनको ।

तिब्बतबाट भागेर नेपाल आउँदा उनले धेरै आफन्त, साथीहरु उतै छुटेका थिए । साथमा छुटेका थिए थुप्रै अनगिन्ती बाल्यकालका यादहरु । जन्मथलोको न्यास्रो उनलाई पनि नलागेको थिएन । जन्मथलोमा युद्धको असरबारे उनले भने, ‘युद्ध साम्य भएपछि मेरो एक जना दाइ तिब्बत गएका थिए । युद्धताका हाम्रो घरमा त चिनियाँ सेनाहरुले क्याम्प नै खडा गरेका रहेछन् । युद्धले त्यहाँ बाँकी गाउँलेहरुलाई उठीबास नै नबनाएपनि धेरै दुःख दिएका रहेछन् । सेनाहरुले काममा कजाउने र सम्पत्ति खोसेर लगिदिने गरेका रहेछन् ।’

ढोरपाटन अझै विकट

मनाङ, मुस्ताङजस्ता हिमाली क्षेत्रले पर्यटन, सडक सञ्चार, व्यापारजस्ता विविध क्षेत्रमा फड्को मारिसके । ढोरपाटनमा जति विकासका लहर छाउनुपर्ने त्यति अझै भएको छैन । अतिआवश्यक पूर्वाधारजस्तै सञ्चार, स्वास्थ्य, सडक आदि ढोरबासीले उपभोग गर्न पाएका छैनन् । बर्खा लागेसँगै महिनौं ढोर– बुर्तिबाङ सडक अवरुद्ध हुन्छ । सोलारको भरमा चल्ने मोबाइलको नेटवर्क घाम अस्ताएसँगै अस्ताउँछ । ढोरपाटनमा अझै राम्रो अस्पताल नभएकाले उपचार नपाएर कति बिरामीले बाटामै अन्तिम सास फेर्छन् । यी सब बाध्यता हुन् स्थानीयका ।

ढोरका स्थानीय तीनपटक बसाइसराइ गर्छन् । बर्खामा गोठ नै बोकेर माथि खर्कतिर उक्लन्छन् । बर्खा सकिएपछि दुई महिना ढोरमा बस्छन् । अनि जाडो पलाउनुअघि तल औलो झर्छन् । तर तिब्बती परिवारहरु हिउँद, वर्खा बाह्रै मास ढोरमै बिताउँछन् ।

उनी थप्छन्, ‘तीन–तीनपटक स्थानीयको बसाइँसराइ नै ढोर विकास नहुनुको मुख्य कारण हो । साथै अशिक्षा, असमानता, छुवाछुत, गरिबी र रुढिवादी मानसिकता विकासका बाधक बनेका छन् । अब आउने पुस्तासँगै ढोरको चौतर्फी परिवर्तन हुने आशा चाहिं राख्न सकिन्छ ।’

सन् १९५९ मा सुरु भएको तिब्बत–चीनबीचको युद्धपछि धेरै मत्थर भएको थियो । सन् १९८० ताका युद्धका बेला नेपाल छिरेका शरणार्थीहरुलाई वारपार गर्न पाइने प्रावधान थियो । धेरै शरणार्थी आफ्नै जन्मथलो फर्के । तर उनीहरुको परिवारलाई ढोरपाटन आफ्नै बनिसकेको थियो । ढोरको सुन्दर फाँट, हावापानी र यहाँको पर्यावरणले उनीहरुलाई जन्मथलोको झल्को मेटाएको छ ।

कति तिब्बतीहरु पोखरा, काठमाडौं त कति अन्य देशमा भेटिन्छन् । तर उनी र उनको परिवारलाई ढोरपाटन नै प्रिय लाग्छ । आजको दिनसम्म उनी र उनको परिवारले ढोरपाटनमा ६ दशक बिताए । उनका बाआमाले ढोरपाटनमै अन्तिम सास फेरे ।

उनको पनि अन्तिम इच्छा ढोरपाटनमै अन्तिम सास फेर्ने

उनीहरु नेपालका नागरिक हैनन् । तिब्बती हुन् । हुन त यो संसार सबैको साझा घर हो । देश–विदेश, नागरिक–अनागरिक त मानवले बनाएका न हुन् । न उनीहरुको यहाँको नागरिकता छ । न ओत लाग्ने टहरा बनाउन जमिन नै आफ्नो नाममा । कुनै लोभ, लालच वा महत्वाकांक्षा सपना वा आशा बोकेका पनि छैनन् । ‘शरणार्थी’ शब्दले बोलाउँदा उनीहरुको मन चसक्क हुन्छ । उनीहरु रहर वा चाहनाले नेपालसम्म आएका पनि हैनन् । बस्, स्वाभिवानले बाँच्न चाहन्छन् उनीहरु । अनि फेर्न मन छ अन्तिम सास नेपालमै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?