+
+

पर्वतारोहण : एशियाली आरोही बढ्ने अपेक्षा, युरोपेली घट्न सक्ने

अच्युत पुरी अच्युत पुरी
२०७८ फागुन २३ गते १७:४०

२३ फागुन, काठमाडौं । यो वर्षको पर्वतारोहण सिजन नजिकिएसँगै आरोहणका लागि तयारी सुरु भएको छ । तर रुस–युक्रेन युद्धको असर पर्वतारोहणमा पनि पर्ने देखिएको छ । यी दुई देश बीचको जारी युद्धका कारण युरोपेली मुलुकबाट आउने आरोहीको संख्या घट्ने नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ बताउँछन् ।

‘रुस र युक्रेनबाट हुने प्रि–बुकिङ करिब रद्द भइसकेका छन्,’ गुरुङले भने, ‘यसले युरोपका अन्य भेगमा पनि असर पर्ने देखिएको छ ।’ यो सिजनमा एशियाली आरोही भने उल्लेख्य संख्यामा बढ्ने अपेक्षा व्यवसायीको छ । नेपालले कोभिड–१९ विरुद्धका धेरै प्रोटोकल पनि खारेज गरिसकेको अवस्था छ ।

रुस र युक्रेनमा जारी युद्ध र कोरोना प्रोटोकलका कारण युरोपेली मुलुकमा जाने धेरै पर्यटक नेपालतर्फ आकर्षित हुन सक्ने गुरुङले बताए । सोहीकारण पर्वतारोहणका लागि समेत यस पटक एशियाली पर्यटक बढी भित्रने सम्भावना रहेको उनको तर्क छ ।

नेपालमा पर्वतारोहण र पदयात्रामा आउने पर्यटक खर्चालु पर्यटकको सूचीमा पर्छन् । किनकी उनीहरु लामो समय नेपालमा रहनु पर्छ । यसले समग्रमा पर्यटकको बसाइ अवधि समेत लम्बिन्छ ।

सन् २०२१ को तथ्यांक अनुसार नेपालमा एक जना पर्यटकको औसत बसाइ १५.१ दिन रहेको छ । एक पर्यटकले नेपालमा प्रतिदिन ६५ डलर खर्च गरेको देखिन्छ ।

अघिल्लो वर्षको कीर्तिमान तोडिएला ?

सन् २०२१ मा सगरमाथा आरोहणमा सबैभन्दा धेरै आरोहीले अनुमति लिएका थिए । पर्यटन विभागका अनुसार कोरोना महामारीका बीचमा समेत सो वर्ष सगरमाथाका लागि मात्र ३ सय ९४ जनाले आरोहण अनुमति लिएका थिए । यो कीर्तिमान हो । सन् २०१९ मा ३८१ जनाले अनुमति लिएका थिए ।

सन् २०२१ को वसन्त ऋतुमा १६ हिमाल चढ्न ७४ समूहका ६५९ जनाले अनुमति लिएका थिए । पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायका अनुसार यो वर्ष गतवर्ष कै हाराहारी पर्वतारोही आउने अपेक्षा गरिएको छ ।

उता, नेपाल पर्वतारोहण संघको अनुमानमा भने एशियाली पर्वतारोही नेपाल आए भने यो रेकर्ड यस वर्ष समेत तोडिने अनुमान छ । युरोप युद्धका कारण सो भेगतर्फ जाने एशियाली पर्यटकलाई नेपालतर्फ तान्न भने सरोकारवालाले ध्यान दिनुपर्ने संघका महासचिव गुरुङले बताए ।

पर्यटन विभागका अनुसार सन् २०१९ मा रुसबाट कुल ५० आरोहीले पर्वतारोहणका लागि अनुमति लिएका थिए । जसमध्ये ३१ जना चुचुरोमा पुगेका थिए । सोही वर्ष युक्रेनबाट २० जनाले अनुमति लिएकोमा ७ जना मात्र चुचुरो पुग्न सफल भएका थिए ।

सन् २०१९ मै नेपाल पर्वतारोहण संघमार्फत हिमाल चढ्न २८३ जना रुसी नागरिकले अनुमति लिएका थिए । युक्रेनबाट भने १०३ जनाले अनुमति पाएका थिए ।

सन् २०२० मा सरकारले आरोहण रद्द गरेको थियो । सन् २०२१ को विस्तृत प्रतिवेदन भने अझै सार्वजनिक भएको छैन ।

नेपालमा विभाग र संघ दुवै निकायले छुट्टाछुट्टै हिमालका लागि आरोहण अनुमति जारी गर्छन् । सरकारले संघलाई साढे दुई दर्जन हिमाल व्यवस्थापनको जिम्मा दिएको छ ।

यो वर्षको तयारी के भइरहेको छ ?

विभागका निर्देशक उपाध्यायका अनुसार यो सिजनका लागि सम्पर्क अधिकृतहरुको छनोट कार्य सम्पन्न भई तालिम दिइएको छ । एजेन्सीहरुबाट अनुमतिका लागि निवेदन आएमा विभागले त्यस्तो निवेदन लिन समेत सुरु गर्नेछ । विगतबाटै डोरी टाँग्ने जिम्मेवारी पाएको एजेन्सीलाई समेत सोको अनुमति दिइसकेको उपाध्यायले जानकारी दिए । सोही एजेन्सीले आइसफल डाक्टरहरु खटाएर डोरी टाँग्ने छन् । यस्तो टीममा अनुभवि शेर्पाको टीम खटिन्छ । यसपटक आरोहीको अवस्थिति थाहा पाउन लामो समयदेखि कार्यान्वयनमा ल्याउने भनिएको जीपीएस ट्रयाकिङ सिस्टमलाई ‘ट्र्यायल’ गर्ने तयारी छ ।

यसबाहेक गत वर्षको तुलनामा नयाँ कुनै परिवर्तन नहुने उपाध्यायले बताए । गतवर्ष भने हिमालमा जान पीसीआर परीक्षण गरिएको थियो । हिमाल चढ्ने समयमा पनि चुचुरोमा भीड नहोस भनि कोटा तोकिएको थियो । यसवर्ष भने कोरोनाविरुद्धका प्रोटोकलहरुमा कडाइ गरिएको छैन । सन् २०१९ मा चुचुरो पुग्ने समयमा अत्यधिक भीड भएको तस्वीर सार्वजनिक भएपछि व्यवस्थापनबारे प्रश्न उठेको थियो ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?