+
+

सांसदले मागे चिकित्सा शिक्षा आयोग पदाधिकारीको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १४:२६
शिक्षा तथा स्वास्थ्य समितिको फाइल तस्वीर ।

२३ फागुन, काठमाडौं । सांसदहरुले चिकित्सा शिक्षा आयोगका पदाधिकारीको राजीनामा माग गरेका छन् ।

सोमबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सांसदहरुले नोबेल मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुको समस्या समाधानमा बेवास्ता गरेको भन्दै राजीनामा माग गरेका हुन् ।

नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा आन्दोलन गर्दा पनि सम्बोधन नगरेपछि उही शुल्कमा अध्ययन गर्न बाध्य भएको र अहिले कलेजले छात्रबासमा नबसे अनुत्तीर्ण गराइदिने धम्की दिएको भन्दै १० विद्यार्थीले कलेज स्थानान्तरणको माग गर्दै आयोगमा निवेदन दिएका थिए । उक्त निवेदन परेपछि पनि आयोगले समस्याको समाधान नखोजेको भन्दै सांसदहरुले पदाधिकारीको राजीनामा माग गरेका हुन् ।

नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले विद्यार्थीहरुलाई पढाउने शैक्षिक संस्थाले धम्की दिनु आपत्तिजनक भएको बताउँछन् । उनले भने, ‘अतिरिक्त शुल्क नदिनेलाई टर्चर दिनु लज्जास्पद विषय हो । यस्तो हुँदा पनि आयोग नबोल्नु भनेको पदीय जिम्मेवारी निर्वाह नगर्नु हो । अब पनि यहाँ कसरी बसिराख्नुहुन्छ ?’

नेकपा एमालेकी सांसद नविना लामाले विद्यार्थीको मागमा आयोग संवेदनशील नभएको जिकिर गरिन् । उनले भनिन्, ‘अहिलेको सवालमा आयोग संवेदनशील नभएको देखियो । कलेजले विद्यार्थीको भविष्यलाई सुरक्षित गर्नुपर्नेमा धम्की, डर देखाएको छ । यो त आयोग र शिक्षा मन्त्रालयको कमजोरी हो ।’

तर आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले भने ‘कलेजले विद्यार्थीलाई होस्टेल नबसे ब्याक लाग्छ भनेर ‘थ्रेट’ दिएको निवेदन परेपछि आइतबार कलेजका प्रतिनिधि, आयोग र शिक्षा मन्त्रालयका प्रतिनिधिबीच छ्लफल भई २५ गतेसम्म समाधान गर्ने सहमति भएको बताए ।

शिक्षा मन्त्रालयका सचिव हरि लम्सालले कलेजले विद्यार्थीका समस्या नसल्ट्याए कारवाही प्रक्रिया अघि बढ्ने बताए । बैठकमा पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले कानुनी झञ्झट खुकुलो बनाएर स्थानान्तरण गर्नुपर्ने बताए ।

एमाले सांसद योगेश भट्टराईले यो विषयमा आयोग जवाफदेही हुनुपर्ने बताए । उनले भने, ‘यो विषयमा मुख्य सम्बन्धित निकाय भनेको आयोग हो । आयोग संवेदनशील नभएको विद्यार्थीहरुको गुनासो छ । किन यस्तो भयो आयोग पदाधिकारीको स्पष्टीकरण चाहिन्छ’ उनले भने, ‘आयोगले विद्यार्थीको पढ्ने व्यवस्थापन नोबेलमै गर्नुपर्छ । २६ गतेपछि सबै विद्यार्थीले नोबेलमा बसेको फोटो ल्याउनुस् । नोबेलमा अनुगमन गरिनुपर्छ ।’

आयोगको एकीकृत प्रवेश परीक्षाबाट योग्यता क्रममा परेर चिकित्सा शिक्षा अध्ययनका लागि कलेजले अतिरिक्त शुल्क लिएको कुरा उठाउँदा विद्यार्थीलाई विभिन्न डर, धम्की आइरहेको र राज्यका नीति नियम निर्देशन पालना नहुने भएकाले अन्यत्र सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरणको माग गर्दै आएका छन् । तर सोमबारको समितिको बैठकले नोबेलमा नै पढ्ने वातारण बनाउन निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?