+
+

धितोपत्र बोर्डको कार्ययोजना : कानुन कार्यान्वयनमा आक्रामक बन्ने, आफ्नै भवन बनाउने

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले मुख्य गरी पाँच वटा कामलाई प्राथमिकतामा राखेर आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १७:४५
धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल/फाइल तस्वीर

२३ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आफ्ना कार्ययोजनाहरु सार्वजनिक गरेका छन् । बोर्ड अध्यक्षमा नियुक्त भएको १८ दिनपछि उनले सोमबार होटल सोल्टीमा पत्रकार सम्मेलन गरेर आफ्नो कार्यकालमा गर्ने कामको प्राथमिकताहरु सार्वजनिक गरेका हुन् । हमाल ५ फागुनमा बोर्ड अध्यक्षमा नियुक्त भएका थिए ।

हमाल पूर्व गैरआवासीय नेपाली हुन् । लामो समय वैदेशिक जीवन बिताएका हमाल ६ वर्ष अघिमात्रै स्वदेश फर्किएका थिए । आफ्ना योजनाहरु सुनाउँदै हमालले विदेशमा सिकेको ज्ञान र सीपलाई आफूले भरपुर उपयोग गर्ने बताएका छन् ।

उनले सार्वजनिक गरेका योजनाहरु अनुसार अब बोर्ड नीति नियम कार्यान्वयनमा गम्भीर भएर लाग्ने । यस अघि भएका कानुनहरु समेत कार्यान्वयन नहुँदा सेयर बजारमा एक किसिमको मनपरितन्त्र जस्तै थियो । भित्री सूचनाको आधारमा कारोबार, सेय कर्नरिङहरु प्रसस्तै हुने गरेको बोर्ड आफैंले स्वीकारे पनि कारबाही भने हुन सकेको थिएन । करिब ३ दशक लामो इतिहास बोकेको पूँजी बजार क्षेत्रको नियामक निकाय बोर्डलाई आफ्नो कार्यकालमा नयाँ उचाइमा पुर्‍याउने अध्यक्ष हमालको बचन छ ।

हुन त, बोर्ड अध्यक्षको कार्यकाल ५ वर्ष हुने कानुनी व्यवस्था छ । तर हमाल भने ५ वर्ष बोर्ड अध्यक्षको रुपमा रहन पाउने छैनन् । तत्कालीन बोर्ड अध्यक्ष भिष्मराज ढुंगानालाई इन्साइडर ट्रेडिङमा मुछिएको भन्दै सरकारले बर्खास्त गरेको थियो । ढुंगानाले पूरा गर्न बाँकी रहेको अवधि अर्थात अब २२ महिना मात्रै हमाल बोर्ड अध्यक्षको रुपमा रहनेछन् ।

यो अवधिमा स्पष्ट भिजन बनाएर काम गर्ने उनको भनाइ छ । आफू कमाउन नभई पूँजी बजार क्षेत्रलाई केही सुधार गर्न सकिन्छ कि भनेर आएको बताएका उनले मुलतः ५ वटा काम अघि सारेका छन् ।

उनको पहिलो प्राथमिकतामा कानुन कार्यान्वयन छ । उनले ‘टी प्लस टु’मा सेटलमेन्टमा लगानीकर्ताको पैसा नदिने ब्रोकरलाई तत्काल कारबाही गर्ने बताएका छन् । धितोपत्र बोर्डले लागू गरेको ‘टी प्लस टु’पश्चात सेयर किनबेच भएको २ दिनभित्रै सेटलमेन्ट गर्नुपर्छ । सेयर बेच्नेले अहिले पनि दुई वा तीन दिन भित्रमा भुक्तानी गर्ने गरेका छन् । तर कतिपय ब्रोकरहरुले सेयर बिक्री गरेको रकम लामो समयसम्म भुक्तानी नगरेको भन्दै गुनासो आउने गरेको छ । लगानीकर्तालाई पैसा समयमा नदिने र अन्य क्षेत्रमा ब्याजमा लगानी गर्ने ब्रोकरलाई कारबाहीको दायरामा ल्याउने अध्यक्ष हमालले बताए । यसको लागि लगानीकर्ताले नियमक निकायमा उजुरी गर्नु पर्ने उनले बताएका छन् ।

उनको दोस्रो प्राथमिकता बोर्डको आफ्नै भवन बनाउने रहेको छ । समग्र पूँजी बजार क्षेत्रकै नियामक निकायको रुपमा रहेको बोर्डको हालसम्म पनि आफ्नै भवन छैन । हमालले आफ्नो कार्यकालमै बोर्डको आफ्नै भवन बन्ने प्रक्रिया सुरु हुने बताए । बोर्डमा अहिले सामान्य कार्यक्रम गर्नको लागि पनि हल नभएको भन्दै उनले कम्तिमा पनि एउटा सुविधा सम्पन्न भवन हुनुपर्ने बताएका छन् । आफ्नो कार्यकाल छोटो रहेकोले उनले आफ्नो कार्यकालमा भवन नबने पनि शिलान्यास गर्ने दाबी गरे ।

उनले तेस्रो प्राथमिकतामा बोर्डको संस्थागत सुशासन र बोर्डमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने रहेको छ । उनले बोर्डमा ५६ जना कर्मचारी मात्रै रहेको भन्दै अब कर्मचारी र क्षमता बढाउने बताए । हमालले अहिलेको बजारलाई प्रभावकारी बनाउन, यसको विकास गर्न प्रडक्ट ल्याउने जानकारी दिए ।

उनको चौथाे प्राथमिकतामा साना लगानीकर्ता रहेको छ । साना लगानीकर्ताको हितमा काम गर्ने उनको योजना छ । यसका लागि चुस्त दुरुस्त नियमन आवश्यक रहेको उनको भनाइ छ । उनले ऐन नियमको रिफर्म पनि गर्ने दाबी गरे ।  उनले सूचना प्रविधिमा पनि काम गर्ने बताए ।

उनको पाँचौ प्राथमिकता पूँजी बजार सम्बन्धी साक्षरता रहेको छ । पूँजी बजारसम्बन्धी साक्षरता अहिले अत्यन्तै कमजोर रहेको भन्दै उनले यसका लागि समेत काम गर्ने बताए । यसका लागि नेप्से, सीडीएससी, ब्रोकर, मर्चेन्ट बैकरसँग मिलेर कार्ययोजना बनाएर काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?