+
+

ग्रोथ प्रोसेस म्यानपावरको ठगी : ६० हजार शुल्क लाग्ने देशमा ६ लाख असुल्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २४ गते २०:५८

२४ फागुन, काठमाडौं । वैदेशिक रोजगारीमा पठाउनका लागि अधिकतम ६० हजार रुपैयाँसम्म सेवा शुल्क लाग्ने ठाउँमा म्यानपावर कम्पनीले ६ लाख रुपैयाँसम्म माग्ने गरेको पाइएको छ । काठमाडौंको बसुन्धरामा रहेको ग्रोथ प्रोसेस इन्टरनेसनल इम्प्लोइमेन्ट प्रालिले विदेश पठाउने भन्दै श्रमिकहरुसँग ६ लाखका दरले रकम माग गरेको पाइएको छ ।

कम्पनीले सेसेल्स भन्ने देशमा सुरक्षाकर्मीको रुपमा काम गर्ने गरी पठाउनका लागि श्रमिकहरुसँग ६ लाख रुपैयाँ माग गरेको हो । कम्पनीले ६० जनासँग अग्रिम भुक्तानी वापत १ लाख रुपैयाँ र बाँकी ५ लाख भिसा आउनु अघि बुझाउनु पर्ने शर्त राखेको छ ।

६० जनाले नै एक लाखका दरले नगद नै बुझाइसकेका छन् । ‘हामीले गत आइतबार नै एक/एक लाख रुपैयाँ बुझाएका हौँ, अब बाँकी ५ लाख १५ दिनभित्र तयार पार्नु भनेको छ’ एक श्रमिकले भने, ‘२१ दिनभित्र भिसा आउने र भिसा आउने कन्फर्म हुने वित्तिकै ५ लाख रुपैयाँ भुक्तानी दिनुपर्ने कम्पनीको मान्छेले भनेको छ ।’

कम्पनीका सञ्चालकले एक लाख रुपैयाँ नगदै बुझाउन भनेका थिए । नगद बुझाउन जादा शरिर खानतलासी गरी मोवाइल, क्यामेरा, झोला जस्ता सबै वस्तुहरु बाहिर राख्न लगाएर पैसामात्रै बोकेर भित्र पठाइएको थियो । म्यानपावरका सञ्चालक कमल पाण्डेले पनि खानतलासी गरेर भित्र पठाइएको स्वीकार गरेका छन् ।

आफ्नो संस्थाको नियमअनुसार भित्र पस्दा खानतलासी गरिएको उनले बताए । ६ लाख रुपैयाँ माग गरिएको विषयमा पनि उनले घुमाउरो पाराले स्वीकार गरे । ‘हामीले कति मेहनले डिमाण्ड ल्याउँछौं, त्यो बुझ्नु छैन, के पत्रकारले रोजगारी दिने हो ? के तपाईहरुले यो काम गर्न सक्नुहुन्छ ?’ उनले अनलाइनखबरसँग भनेका छन् ।

वैदेशिक रोजगारीमा जानका लागि १० हजार रुपैयाँदेखि देशअनुसार ६० हजार रुपैयाँसम्म लागत तोकिएको छ । यसरी तोकिएको भन्दा अत्यधिक धेरै लागत लिने म्यानपावरलाई कारबाहीको दायरामा ल्याइने वैदेशिक रोजगार विभागले बताएको छ । विभागका निर्देशक डम्बरबहादुर सुनुवारले तोकिएको भन्दा बढी रकम माग गर्ने म्यानपावरमा जुनसुकै बेला छापा हानेर कारबाही गर्नसक्ने बताए ।

वैदेशिक रोजगार विभागले संस्थागत ठगी र व्यक्तिगत ठगी दुबै किसिमका मुद्दा हेर्ने गरेको छ । संस्थागत ठगीमा म्यानपवार कम्पनीहरुले तोकिएको भन्दा बढी रकम माग गरेको पाइए कम्पनीका सञ्चालकलाई पक्राउ गरेर मुद्दा चलाउने निर्देशक सुनुवारले बताए ।

उनका अनुसार व्यक्तिगत ठगीमा पनि श्रम जोडिएको भए पक्राउ गरी विभागले मुद्दा चलाउछ । यस्ता विषयमा श्रमिक आफै पनि सुरक्षित हुनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?