+
+
टिप्पणी :

दिल्लीको झाडुले पञ्जाब ‘क्लिन स्विप’, संकटमा कांग्रेस

मोदीको विकल्प केजरीवाल बन्न सक्छन् भन्ने सन्देशलाई पञ्जाबको नतिजाले थप बलियो बनाएको छ । यसलाई थप स्पष्ट भाषामा भन्दा तत्कालका लागि मोदीलाई टक्कर दिनसक्ने नेता केजरीवाल बाहेक अरु रहेनन् ।

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०७८ फागुन २६ गते २३:००
आम आदमी पार्टीका केन्द्रीय अध्यक्ष अरविन्द केजरीवाल र पञ्जाब अध्यक्ष भागवन्त मन

२६ फागुन, काठमाडौं । भारतको पञ्जाबमा सम्पन्न विधानसभा निर्वाचनको मतपरिणाम एक शक्तिशाली राजनीतिक सुनामी बनेर आएको छ । आम आदमी पार्टी (आप)ले ऐतिहासिक विजय हासिल गर्दा आफ्नो आधार क्षेत्रबाट भारतीय कांग्रेस पार्टी नराम्ररी बढारिएको छ ।

चुनाव चिह्न झाडु भएको आपले पञ्जाबमा पनि दिल्ली मोडेलमै जित हासिल गरेको छ । अघिल्लो चुनावमा २० सिट रहेको आपले ९२ सिटसहित दुई तिहाई बहुमत प्राप्त गरेको छ । ११७ सिट रहेको पञ्जाब विधानसभामा कांग्रेस भने ५९ सिट गुमाउँदै १८ सिटमा चित्त बुझाउनु परेको छ ।

चुनावी माहौल हेर्दा पञ्जाबमा राजनीतिक बदलावको संकेत त यसअघि नै मिलेको थियो तर, आपले हासिल गरेको विशाल विजयले उसलाई त्यहाँको निर्विकल्प शक्तिको रूपमा स्थापित गरिदिएको छ । यसअघिको सत्तारुढ ठूलो पार्टी कांग्रेससँग अकाली दल, भाजपा र अन्य शक्ति मिल्दा पनि आपले प्राप्त गरेको नतिजाको एक चौथाई हिस्सा मात्र भेट्टाउन सक्छन् ।

केजरीवालले मागेको एक मौका

अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप)ले विगत एक दशकदेखि जनपक्षीय काम गर्दै लोकप्रियता हासिल गर्दै आएको छ । चुनाव चिन्ह झाडू रहेको आपले दिल्लीमा परम्परागत दलहरूले थुपारेको राजनीतिक फोहोर बढारेर एकप्रकारको ‘चमत्कार’ नै गर्न सक्यो । उक्त झाडु अब पञ्जाब पसेको छ र त्यहाँ भारतीय कांग्रेसको विरासतलाई बढारेर नयाँ राजनीतिक तरङ्ग पैदा गरेको छ ।

अरबिन्द केजरीवाल

निर्वाचन परिणामले पाँचपटक मुख्यमन्त्री भइसकेका र अकाली दलका शीर्ष नेता रहेका प्रकाश सिंह बादल, क्याप्टेन अमरिंदर सिंह, चरणजीत सिंह चन्नी र नवजोत सिंह सिद्धु जस्ता दिग्गजहरूले टेकेको जमिन हल्लाइदिएको छ । उनीहरूलाई आपका नयाँ अनुहारले पराजय चखाइदिएका छन् ।

उदाहरणका लागि, पञ्जाबका मुख्यमन्त्री चरणजीत सिंह चन्नीलाई आम आदमी पार्टीका ३५ वर्षीय लाभ सिंह उगोकेले पराजित गरे । बीबीसीका अनुसार उनी राजनीतिमा आउनुअघि गाउँमा एक मोबाइल पसल चलाउँथे । उनकी आमा गाउँको एक स्कुलमा सरसफाइ कर्मचारी छिन् भने पिता सवारी चालक हुन् । उनी सन् २०१३ देखि आपमा सक्रिय थिए ।

चुनावअघि केजरीवालले हरेक चुनावी सभाहरूलाई आफूहरूलाई केवल एक मौका दिन आग्रह गर्ने गरेका थिए । पञ्जाबमा पार्टीको विजयसँगै नेता मनिष सिसोदियाले भनेका छन्, ‘पञ्जाबका जनताले केजरीवालको शासन पद्धतिलाई मौका दिएका छन्। केजरीवाल भएमा व्यवसाय, रोजगारी, शिक्षा, स्वास्थ्य सेवा इमान्दारीपूर्वक उपलब्ध गराउन सकिन्छ भन्ने जनतालाई लाग्छ भन्ने कुरा आज देशभर प्रष्ट भएको छ।’

‘पंजाबका नागरिकले केजरीवाल मोडेल अफ गभर्नेन्सलाई एक मौका दिएका छन् । आज पूरै देशमा स्पष्ट भएको छ कि यदि केजरीवाल छन् भने इमानदारीबाट व्यापार, रोजगार, शिक्षा, स्वास्थ्य सेवा मिल्नेछ भनेर आम मानिसले सोच्छन् ।

विजयलगत्तै मानले भनेका छन्, ‘तपाईंहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्नुभयो, अब मेरो पालो ।’ उनले राजनीतिलाई नेताहरूको जालबाट बाहिर निकाल्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पार्टीको दुई लाइन संघर्षमा केजरीवालको जित

आम आदमी पार्टीभित्र पार्टी रणनीतिबारे दुई लाइन संघर्ष छ । केजरीवालले सिंगो देशको नेतृत्व गरेर दिल्लीमा अरु कसैलाई छाड्नुपर्छ भन्ने एक धार छ भने अहिलेकै अभ्यास ठिक छ भन्ने अर्को धार छ । एउटा सानो इकाइमा नमूनायोग्य काम गरेर त्यहाँको सफलतालाई सामान्यीकरण गर्दै विस्तार गर्ने केजरीवाल रणनीति पञ्जाबको ऐतिहासिक विजयसँगै सही सावित भएको छ ।

यो विजय आम आदमी पार्टी र केजरीवालकै लागि पनि ऐतिहासिक महत्वको छ । यससँगै उनले आफूलाई दिल्लीबाट राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने नयाँ निर्णय गर्न सक्नेछन् ।

दक्षिण एशियामा पनि सुशासन र समृद्धि राजनीतिक मुद्दा बन्न सक्छ भन्ने सन्देश दिल्ली र पञ्जाबमा आपको विजयले दिएको छ । सुशासन र सेवा प्रवाह अर्थात् सर्भिस् डेलिभरीको एजेन्डाले यो क्षेत्रमा राजनीति सम्भव छ भन्ने बलियो संकेत पञ्जाबमा आपको विजयले गरेको छ ।

गोवामा आपको ‘इन्ट्री’ भएको छ । उत्तराखण्डमा आपले यसपटक खाता खोल्न सकेन । यद्यपि, आप बिस्तारै गोवा, हरियाणा, उत्तराखण्ड हुँदै अन्य राज्यहरूमा फैलन चाहन्छ ।

विरासतको राजनीतिमा धक्का

पञ्जाबमा २०१७ को विधानसभा चुनावमा कांग्रेसले ६६ प्रतिशत मत पाएको थियो । यो अहिले खुम्चिएर २२ प्रतिशतमा झरेको छ । सन् १९९२ मा यो ७४ प्रतिशत थियो । अहिलेसम्म पञ्जाबमा बनेका २२ मुख्यमन्त्रीमा १४ वटा कांग्रेस पार्टीबाट थिए ।

कांग्रेस नेता नवजोत सिंह सिद्धु

अब भारतीय राजनीतिमा कांग्रेसलाई दोस्रो पार्टीको हैसियतमा रहन मुस्किल देखिएको छ । कांग्रेसले आफ्नो एउटा आधार क्षेत्र पञ्जाबबाट हात धुनु परेको छ । राजस्थान यसअघि नै गुमाइसकेको छ । अब छत्तीसगढ र मध्ये प्रदेश पनि यही तरिकाले गुमाउने सम्भावना देखिन्छ । यसरी काँग्रेसले केन्द्रीय सत्ताजस्तै कुनै पनि राज्यबाट सरकारको नेतृत्व गर्ने अवसर गुमाउनेछ । पञ्जाबको पराजयले काँग्रेसलाई पतनको ओरालोमा थप लखेटेको छ ।

गान्धी परिवारको नेतृत्वमा कांग्रेसले गरिखान सक्दैन भन्ने सन्देश थप बलियो बनेको छ । पञ्जाबमा कांग्रेस परिवारको झगडा अर्थात् राहुल गान्धी र प्रियंका गान्धीको झगडाको प्रभाव परेको चर्चा यसअघि नै भइरहेको थियो ।

कांग्रेसले नवजोत सिद्धुमा भर पर्दै क्याप्टेन अमरिंदर सिंहलाई चुनावको साढे तीन महिना अघि सीएमको कुर्सीबाट हटायो। यसपछि पार्टी नेतृत्वले पनि सिद्धुमाथि सट्टेबाजीको जोखिम लिनुको सट्टा चरणजीत चन्नीलाई मुख्यमन्त्री बनाएको थियो । कांग्रेसले आफ्नो निर्णयबाट दलित भोट बैंकलाई खुसी बनाएको छ, तर जाट सिख लबी त्यसबाट रिसाएको छ। यी राजनीतिक निर्णय कांग्रेसका लागि घातक बनेर निस्कियो ।

त्यस्तै, ३० वर्षमा पहिलोपटक बादल परिवारबाट कुनै सदस्यले पञ्जाब विधानसभा चुनाव जित्ने सकेन । ९४ वर्षीय बादल सबैभन्दा पाका उम्मेदवार थिए जो यसअघि पाँचपटक मुख्यमन्त्री बनिसकेका थिए ।

उता उत्तर प्रदेशमा पनि भाजपा अगाडि लागेको छ । समाजवादी पार्टी पछाडि परेको छ । यादव परिवारको विरासतको राजनीति मतदाताले नरुचाएको सन्देश त्यहाँबाट मिलेको छ । आधुनिक मतदाताले विरासतको राजनीति अर्थात् खानदानवादलाई नरुचाएको सन्देश उत्तर प्रदेशको नतिजाले पनि दिएको छ ।

पछिल्ला निर्वाचन परिणामले आपलाई राष्ट्रिय पार्टीको हैसियतमा उभ्याउँदै मात्र छैन, दुई ठूला पार्टीहरूको विकल्प दिनसक्ने पार्टी बन्ने सम्भावना पनि बलियो बनाइरहेको छ ।

कांग्रेसले दिन सक्दैन भाजपाको विकल्प

पञ्जाबमा कांग्रेसको पराजयले अब भारतीय जनता पार्टीको विकल्प कांग्रेसले दिन सक्दैन भन्ने सन्देश बलियो भएको छ । यसले राहुल गान्धीको प्रधानमन्त्री हुने सपना र सम्भावना दुवैलाई धेरै टाढा धकेलेको छ ।

बरु, मोदीको विकल्प केजरीवाल बन्न सक्छन् भन्ने सन्देशलाई पञ्जाबको नतिजाले थप बलियो बनाएको छ । यसलाई थप स्पष्ट भाषामा भन्दा तत्कालका लागि मोदीलाई टक्कर दिनसक्ने नेता केजरीवाल बाहेक अरु रहेनन् । पञ्जावमा आएको निर्वाचन परिणामले दिएको यो अर्को बलियो सन्देश हो ।

केजरीवालले आफ्नो छविलाई यसरी नै उकास्दै लैजान सके भने उनले आफूलाई भारतीय प्रधानमन्त्रीको रूपमा उभ्याउन सक्छन् । नरेन्द्र मोदीलाई टक्कर दिन सक्ने छवि र व्यक्तित्व उनी तीव्ररूपमा विकास गर्न सफल भएका छन् ।

‘दिल्ली मोडेल’को सामान्यीकरण

सन् २०१३ मा स्थापना हुँदा यसलाई अन्ना हजारेको स्वराज आन्दोलन तथा भ्रष्टाचार विरोधी जनलोकपाल बिलको आन्दोलनको पृष्ठपोषण थियो । ठूला ठूला कुरा भन्दा जनतालाई छुने साना साना कामबाट राजनीति सुरु गरेको आपले आधारभूत तहका जनतालाई शक्तिशाली बनाउन जनजीविकाका मुद्दालाई अगाडि सार्‍यो ।

दिल्ली शिक्षा मोडेल, मोहल्ला क्लिनिक सहितको निशुल्क स्वास्थ्य मोडेल, हाउस होल्डलाई निःशुल्क बिजुली, प्रभावकारी सार्वजनिक सवारी, महिलालाई सामाजिक सुरक्षा भत्ता, भ्रष्टाचारको अन्त्य तथा रोजगारीको सिर्जना लगायतका कामले भारतमा विकासको नयाँ भाष्य स्थापित भइरहेको छ ।

भारतमा राष्ट्रिय पार्टीका रूपमा रहेका कांग्रेस, भाजपा, नेशनलिस्ट कंग्रेस पार्टी, त्रिणमूल कांग्रेस, भाकपा र भाकपा (मार्क्सवादी) गरी ६ पार्टी छन् । तर भाजपा र कांग्रेसको मात्रै अधिकांश राज्यमा उपस्थिति छ । अन्य पार्टीहरू सीमित राज्यमा साँघुरिएका छन् ।

लोकसभा चुनावमा करिब २ प्रतिशत सिट अर्थात ११ लोकसभा सांसद तीन फरकफरक राज्यबाट जित्ने दल मात्र भारतमा राष्ट्रिय पार्टी बन्न सक्छ । त्यस्तै फरकफरक चार राज्यमा पार्टीको मान्यता पाउने पार्टी पनि राष्ट्रिय पार्टी बन्न सक्छ भने विधान वा लोकसभा निर्वाचनमा ६ प्रतिशत भोट कटाउने पार्टी पनि राष्ट्रिय पार्टी बन्न सक्छ ।

पछिल्ला निर्वाचन परिणामले आपलाई राष्ट्रिय पार्टीको हैसियतमा उभ्याउँदै मात्र छैन, दुई ठूला पार्टीहरूको विकल्प दिनसक्ने पार्टी बन्ने सम्भावना पनि बलियो बनाइरहेको छ ।

परम्परागत पार्टीहरूको कट्टरपन्थी धार्मिक र साम्प्रदायिक राजनीतिबाट वाक्क नागरिक विकल्प खोजिरहेका छन् । जनजीविकाको राजनीतिलाई प्राथमिकता दिने आपको नीति र सफल दिल्ली मोडेलले भारतीय मध्यम वर्गको मनोविज्ञान आकर्षित गरिरहेको छ । भ्रष्टाचारविरुद्धको आम मनोविज्ञानलाई आपले संगठित गरिरहेको छ ।

सन् २०२४ मा हुने लोकसभा चुनाव अगाडि आपको पक्षमा आएको लहरले राष्ट्रिय राजनीतिलाई पनि प्रभावित पार्ने अनुमान छ । यसले आपलाई छिट्टै राष्ट्रियस्तरमा नै दुई ठूला पार्टीको विकल्पको रूपमा उभ्याउने लक्षण देखिएको छ ।

लेखकको बारेमा
सुदर्शन खतिवडा

खतिवडा अनलाइनखबर डट कमका अपिनियन एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?