+
+
कथा-व्यथा :

ब्लड क्यान्सरपीडित छोरी बचाउन काठमाडौंमा मजदुरी गरिरहेका दम्पती

अंगद सिंह अंगद सिंह
२०७८ फागुन २८ गते २०:३०

२८ फागुन, काठमाडौं । महाराजगञ्जको सुकुम्बासी बस्ती । स–साना घर अनि साँघुरो गल्ली ।

त्यही गल्लीको छेउमा दुईतले घर ढलान भइरहेको छ । त्यही घरको ढलान गर्न बालुवा र सिमेन्ट बोकिरहेकी छन् कुमारी परियार । खुट्टामा कालो रंगको रातो तुना भएको घिसिएको चप्पल । बायाँ चप्पलको तुना चुँडिएको छ ।पिठ्युँमा डोको अनि निधारमा पसिना । पिठ्युँको डोको सिमेन्टको हो जस्तो लाग्दैन उनलाई । त्यो डोको त दुःखमाथिको आशा हो उनका लागि ।

त्यही भारी बोक्ने निधार अनि काम गर्ने हात नै उनका आशाका किरण हुन् । डोकोसँग उनको वेदना र पीडा जोडिएको छ । ‘बालुवा सिमेन्टको मात्रै डोको बोकिरहेकी छैन म, योसँग छोरीको सास र जिन्दगी बोकिरहेकी छु’, ३२ वर्षीया कुमारी सुनाउँछिन् ।

डोको बोकेर माथि उक्लिन निकै गाह्रो भइरहेको थियो उनलाई । ‘बिचरी कहिल्यै यस्तो काम नगरेकी होलिन् निकै गाह्रो गरी बोक्दै छे’, उनीसँग काम गरिरहेका सहकर्मी भन्दै थिए ।

उनलाई तलमाथि गर्न अरुभन्दा बढी समय लाग्दै थियो । दिनभर काम गरेपछि एक हजार रुपैयाँ पाइन्छ भनेर उनी काम गर्न आएकी हुन् । कसैले उनलाई घर ढलानमा काम गर्न आऊ भनेपछि त्यहाँ पुगेकी हुन् ।

‘काम नगरे त भोकै मरिन्छ । हामी त एक दुई छाक भोकै बस्न सक्छौं, तर छोरीलाई औषधि किन्नुपर्छ, खाना खुवाउनुपर्छ’ कुमारीले मनको बह पोख्दै भनिन्, ‘यस्तो हालत देख्दा त किन मरिन जस्तो लाग्छ तर छोरीको मायाले मर्न सक्दिनँ।’

उनकी सात वर्षीया छोरी युनिशालाई ब्लड क्यान्सर भएको छ । छोरी कोठामै छिन् । उनलाई महिनाको दुईपटकसम्म उपचारका  लागि कान्ति बाल अस्पताल लैजानुपर्छ ।

छोरीको उपचारका लागि श्रीमान पेशलसहित उनी १६ महिनादेखि काठमाडौंमा छिन् । उनीहरुको घर भने ओखलढुंगा हो ।

युनिशालाई भेट्ने भन्दै हामी उनको कोठासम्म पुग्यौं । सुकुम्बासी बस्तीको खोला छेउको सानो खोला किनारमा छ उनको कोठा । टिनको छाप्रोको कोठाको मासिक ३५०० रुपैयाँ भाडा तिर्नुपर्छ । जहाँ न सुरक्षित ढोका छ, न त पानी नै पाइन्छ ।

कोठामा पुग्दा पेशल पल्टिरहेका थिए भने युनिशा उनको छेउमा बसिरहेकी थिइन् । उनले ‘युनिशा’ भन्दै बोलाइन् । युनिशा आमाको आवाज सुनेर बाहिर आइन् । कुमारीले उनलाई काखमा राखिन् । यत्तिकैमा भित्रबाट पेशल पनि आइपुगे ।

ओखलढुङ्गा ठूलोछापका हुन् परियार दम्पती । युनिशा पाँच वर्षकी हुँदा उनको स्वास्थ्यमा समस्या देखिन थाल्यो । हरेक दिन उनको शरीर सुक्दै गयो भने गाला फुक्दै । निको नभएपछि उनीहरुले युनिशालाई जिल्ला अस्पताल रुम्जाटार लगे ।

छोरीको सासका लागि भन्दै पेशल महाराजगञ्ज सडक छेउ मेसिन राख्छन् । फाटेका पुराना लुगा सिउँछन् । उनले जानेको काम नै यत्ति नै हो । सर्दै गएको मेसिनको धागोसँग छोरीको नसामा रगत बगेको र छोरीको बिमार निको भएको सपना बुन्छन् उनी ।

रुम्जाटार अस्पतालले युनिशाको मुटुमा पानी जमेको बताएपछि उनी झस्किए । आफन्त नातेदारबाट ऋण काढेर दुई महिना रुम्जाटार अस्पताल बसे । अस्पताल बस्दा ८० हजार रुपैयाँ खर्च भयो । तर पनि युनिशाको स्वास्थ्यमा सुधार आएन । स्वास्थ्यमा कुनै सुधार नआएपछि रुम्जाटार अस्पतालले परियार दम्पतीलाई युनिशालाई काठमाडौं लैजान भन्यो ।

उनीहरुसँग काठमाडौं आउन पनि पैसा थिएन । फेरि उनले ऋणका लागि चिनेजानेकालाई गुहार गरे । केही पैसाको जोहो भएपछि उनीहरु कान्ति बाल अस्पताल आइपुगे । छोरी युनिशाको उपचारका लागि उनीहरु काठमाडौं आएको यो दोस्रो पटक हो ।

तीन महिना कान्ति बाल अस्पतालमा उपचार गरेपछि युनिशाको स्वास्थ्यमा सुधार हुँदै गयो । तर खर्च सकिएर उनीहरुलाई काठमाडौंमा खानबस्न समेत नसक्ने अवस्था आयो । ऋण काढेर ल्याएको पैसा सकिएपछि उनीहरु घर फर्किन बाध्य भए । अस्पताल प्रशासनले युनिशालाई पूर्ण रुपमा ठीक भइनसकेको र घर नजान आग्रह गरेपनि ओखलढुङ्गा फर्किनुबाहेक उनीहरुसँग अरु विकल्प थिएन ।

‘पहिले पैसा भएको भए अहिले छोरी ठीक भइसक्थिन्, हामीले यति दुःख पाउने थिएनौं । के गर्नु आफूसँग नभएपछि रोगभन्दा पैसा ठूलो हुने रहेछ’, निन्याउरो मुख लगाउँदै उनले भनिन् ।

घर फर्किएको ६ महिनापछि युनिशाको स्वास्थ्य अवस्था बिग्रिन थाल्यो । फेरि गाला फुक्दै जाने र शरीर सुक्दै जाने हुन थाल्यो ।

छोरीलाई फेरि काठमाडौं ल्याउनुपर्ने भयो, तर पैसा थिएन । पैसाका लागि पेशलले गाउँघरमा धेरै चक्कर लगाए, तर पाएनन् । एक दिन उनकी जेठी श्रीमतीपट्टिकी छोरी आएर युनिशालाई हेरिन् । उनले बहिनी त अस्पताल नलगे बाँच्दिन जस्तो छ भनिन् ।

बाँच्दिन भन्ने शब्दले कुमारी र पेशलको ओठ सुक्यो, संसार नै अँध्यारो भएजस्तै भयो । केही सीप नलागेपछि उनीहरुले घरजग्गा धितो राखेर वित्तीय संस्थाबाट दुई लाख रुपैयाँ ऋण लिए ।

देशलाई कोरोना महामारीले आक्रान्त पारेको थियो, यातायात बन्द थियो । तर छोरीको ज्यान बचाउन १८ हजारमा जीप भाडामा लिएर उनीहरु काठमाडौं हान्निए ।

जब उनीहरु दोस्रो पटक काठमाडौं आए, तब दुःखका दिन सुरु भए । ओखढुङ्गाको गरिब तथा दलित परिवारका परियार दम्पतीलाई उनीहरुको काम  र जात हेरेर पनि गाउँलेले ऋण दिन मानेनन् । भएकाहरुले पनि तिर्न सक्दैन भनेर नाक खुम्च्याए ।

दोस्रो पटक काठमाडौं आएपछि उनले एक जनालाई बिन्ती गरेर सुकुम्बासी टोलमा टिनको छाप्रो भाडामा लिए । काठमाडौंमा कहाँ ३५०० रुपैयाँमा कोठा पाइन्छ र ? टिनकै छाप्रो भएपनि सस्तो छ, अस्पताल आउन जान सजिलो हुन्छ लागेर उनीहरु छाप्रोमा बसे ।

‘छोरीको लागि जे जस्तो पनि काम गर्न तयार छु, तर काम नै पाइँदैन’ पेशल भन्छन्, ‘रातको निद्रा र दिनको भोक सबै हराइसक्यो ।’ पढेलेखेकी छैनन् कुमारीले । पढेलेखेको भए काठमाडौंमा काम पाउँथे कि जस्तो लाग्छ उनलाई ।

‘भनौं भने दुःखको रामकहानी छ, नभनौं भने मन मान्दैन’ यति भन्दा कुमारीका आँखा रसाइसकेका थिए । छोरीको कपाल मुसार्दै उनी भक्कानिन थालिन् । छेउमा रहेका पेशलले उनलाई थमथमाउन खोजे । तैपनि उनका आँशु रोकिएनन् ।

‘सोच्दा त मुटु फुट्छ छाती चिरिन्छ, हामी त पूरै बर्बाद भइसक्यौं । भएको खेतबारी बैंकमा छ, छोरीको सास आशमा छ’, रुँदै उनले अगाडि भनिन् ।

ओखलढुङ्गामा बनिबुतो गरेर गुजारा चलाउँदै आएका थिए पेशल । ठूलोछापमा सानो झुपडी थियो । दिनभर कपडा सिलाएर र गाउँमा अरुको काम गरेर परिवारको छाक टार्थे । गाउँमा जेनतेन गुजारा चलिरहेको थियो । तर दुःखले कहाँ छोड्छ र ? छोरी युनिशालाई ब्लड क्यान्सर भएपछि उनीहरुको दैनिकी नै मोडिएको हो ।

पेशलले तीन कक्षा मात्रै पढेका छन् । गाउँमा लुगा सिलाएर ५५ वर्षको उमेर पार गरेका उनलाई सहरबारे थाहा छैन । पढेलेखेका भए काठमाडौंमा काम पाइन्थ्यो होला भन्ने उनको पनि सोच छ । तर उनी उमेरले बुढ्यौलीतिर लम्किंदैछन् र काम पाउन पनि मुस्किल भएको छ ।

२०–२५ वर्षको अन्तर छ परियार दम्पतीबीच । काठमाडौमा टिक्नका लागि उनी कहिले यता कहिले उता भौंतारिरहन्छन् । तर अन्तिममा पाइने र गर्न सक्ने भनेकै भारी बोक्नु र ज्याला मजदुरीको काम हो ।

छोरीको सासका लागि भन्दै पेशल महाराजगञ्ज सडक छेउ मेसिन राख्छन् । फाटेका पुराना लुगा सिउँछन् । उनले जानेको काम नै यत्ति नै हो ।

सर्दै गएको मेसिनको धागोसँग छोरीको नसामा रगत बगेको र छोरीको बिमार निको भएको सपना बुन्छन् उनी ।

कोठामा दाल  चामल सकिएको छ । चामल नहुँदा दुई दिन भइसक्यो उनीहरु मकैको ढिंडोसँग टमाटरको चट्नी खाइरहेका छन् ।

‘म बुढो । सास रोकिने बेला भइसक्यो तर अझै पनि आश मारेको छैन, दाउरा चिरेर आएका उनले हातका ठेला देखाउँदै भने, ‘छोरी बचाउन सके, सासले पार पाउँथ्यो कि ।’

क्यान्सरसँगै कुपोषण पनि भएको छ युनिशालाई । किनकि अभावले उनले चाहिनेजति पौष्टिक तत्व भएका खानेकुरा खान पाएकी छैनन् ।

युनिशाको उपचारमा संलग्न चिकित्सक डा. विष्णुरथ गिरीले युनिशाको स्वास्थ्यमा पहिलेभन्दा सुधार हुँदै गएको बताए । ‘आर्थिक अभावका कारण गरिब तथा विपन्न परिवारले क्यान्सरको उपचार हुने भएपनि गराउने आँट गर्दैनन्, युनिशालाई पहिलोपटक घर फिर्ता नलगेको भए यस्तो अवस्था आउने थिएन’, डा. गिरी भन्छन् ।

‘समयमा उपचार नपाउँदा युनिशाको आँखा र मुखमा समस्या आएको छ, समयमै पूर्ण उपचार पाएको भए अहिले निको भइसक्थ्यो’, उनले सुनाए । राज्यले बालबालिकाको क्यान्सर रोगलाई पूर्ण रुपमा निःशुल्क गर्न सके कसैले पनि अकालमै ज्यान गुमाउनुपर्ने अवस्था नआउने उनको तर्क छ ।

‘राज्यले सेवा सुविधामा दिएको एक लाखले मात्रै पुग्दैन’ डा. गिरी भन्छन्, ‘उनीहरुको सम्पूर्ण उपचार खर्च र औषधि खर्च निःशुल्क गर्नुपर्छ ।’

डा. गिरी अगाडि भन्छन्, ‘क्यान्सरका ३० प्रतिशत बिरामी उपचार नै नगरी घर फर्किन्छन् । यसरी रोग पत्ता लागेपछि पनि घर फर्किनेहरुमा क्यान्सरबारे जनचेतनाको अभाव भएका, आर्थिक रुपले विपन्न परिवारका र क्यान्सर लागेपछि निको हुँदैन भन्ने मानसिकताका छन् ।’ डा. गिरीले भने, ‘समयमै उपचार पाए बालबालिकामा देखिने क्यान्सर निको हुन्छ, तर उपचार नै नगराई घर फर्किंदा धेरै बालबालिकाले अकालमा ज्यान गुमाउनु परेको छ ।’

राज्यले युनिशाजस्ता क्यान्सरपीडित बालबालिकालाई अस्पतालसम्म आएर त्यत्तिकै घर नफर्किने वातावरण बनाउनुपर्ने डा. गिरी बताउँछन् । साथै क्यान्सर लागेका सबै बिरामीलाई अस्पतालसम्म ल्याउने वातावरण ल्याउनुपर्ने र निःशुल्क उपचारको प्रबन्ध राज्यले मिलाउनुपर्ने पनि उनी बताउँछन् ।

यति कुरामा व्यवस्थापन गर्नसके युनिशाजस्ता विपन्न परिवारका बालबालिकाले उपचारबाट वञ्चित हुनुपर्ने अवस्था नआउने उनी बताउँछन् । अनि आफ्ना सन्तानको उपचारका लागि गाउँबाट सहर आएर अभिभावकले हातमुख जोर्नकै लागि काम खोज्नुपर्ने बाध्यता पनि अन्त्य हुन सक्थ्यो ।

ब्लड क्यान्सरपीडित युनिशालाई आर्थिक सहयोग गर्न इच्छुकले कुमारी दर्जीको नाममा हिमालय बैंक, महाराजगञ्ज शाखाको खाता नं. ००२१००६०६८००१३ मा रकम जम्मा गर्न सकिने छ ।  

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?