+
+

कर्णाली अब प्रश्न गर्छ, जवाफ खोज्छ

यज्ञ खत्री यज्ञ खत्री
२०७८ चैत २ गते १०:४४
गगन थापा र रामकुमारी झाँक्रीलाई प्रश्न सोध्दै एकता देवकोटा ।

२ चैत, सुर्खेत । इतिहासको एक कालखण्डमा कर्णाली समृद्ध थियो । खस साम्राज्य अर्थात नेपाली भाषाको उदगम भूमि, कर्णालीको एउटा आफ्नै विराट इतिहास थियो ।

त्यस बेलाको कर्णाली आत्मनिर्भर थियो । समृद्ध थियो । कर्णालीमा उत्पादित खाद्यान्न वस्तु तिब्बतदेखि भारतसम्म निर्यात हुन्थ्यो । व्यापारमा विशेष गरी नुन, ऊन र अन्नको विनिमय हुन्थ्यो ।

यी र यस्तै समृद्ध कर्णालीको इतिहास सुनाउँदै थिए, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्रा. दिनेशराज पन्त । कुरा २७ फागुनको हो । मञ्च थियो ‘कर्णाली उत्सव’को । ‘खस भाषाको लहरो’बारे विद्वत प्रवचण दिन आएका पन्तले जुम्लाको सिंजाबाट सुरु भएको खस भाषाको लहरो भारतको उत्तराखण्ड, हिमाचल र जम्मु कश्मीर’सम्म पुगेको सुनाए ।

तर आजको कर्णाली पन्तले सुनाएको इतिहास जस्तो समृद्ध छैन । कर्णालीको परिचय फेरिएको छ । अभाव, रोग, भोग, गरिबी र बेरोजगारीको पर्याय बनेको छ, कर्णाली । काठमाडौंको लागि कर्णाली सधैं ‘कमजोर’ पात्र भइरह्यो । कर्णालीकै नाम लिएर नेताहरू राजधानी पसे, जीवनशैली फेरे । थुप्रै सरकारी तथा गैरसरकारी संस्थाको आउ-जाउ चलिरह्यो । तर, कर्णालीको अवस्था फेरिएन ।

‘कर्णाली’ चिनाउन हिंडेकाहरूले नै कर्णालीलाई मागेर खाने भाँडो बनाए । जसका कारण कर्णाली सधैं सत्ताको उपेक्षामा परिरह्यो । कमजोर ठहरियो । के साँच्चै कर्णाली कमजोर छ त ? कर्णालीबारे कलम चलाउँदै आएका माधव चौलागाईं भन्छन्, ‘भौगोलिकरुपमा कर्णाली विकट त छ, तर कमजोर छैन । संस्कृति, प्राकृतिकरुपमा धनी छ, कर्णाली । काठमाडौंले मात्रै कमजोर देख्छ ।’

कुनै पनि हिसावले कर्णाली कमजोर रहेको स्वीकार्दैनन् चौलागाईं र भन्छन्, ‘सभ्यता र स्रोतका हिसाबले सबैभन्दा धनी प्रदेश नै कर्णाली हो ।’

उसो भए, प्राकृतिक स्रोत साधनका हिसावले धनी कर्णालीलाई गरिब कसले बनायो ? प्रचुर सम्भावना हुँदाहुँदै पनि कर्णाली किन कमजोर छ ? यहाँका युवाहरुलाई यही प्रश्नले पोल्छ, पिरोल्छ र त्यसकै जवाफ खोज्न जन्मिएको हो, ‘कर्णाली उत्सव,…कुडा कर्णाली’का । जसलाई साथ दिएका छन्, कर्णालीप्रति अपनत्व राख्ने पत्रकारदेखि प्रशासकसम्मले ।

‘अब प्रश्न गर्छौं, जवाफ खोज्छौं’

१७ वर्षीया किशोरी साबित्री भट्टराई कांग्रेस महामन्त्री गगन थापालाई प्रश्न गर्दै ।

वीरेन्द्रनगरको बुलबुले उद्यानमा तीन दिनसम्म सञ्चालित उत्सवको तेस्रो संस्करण आइतबार सकिएको छ । गगन थापा, रामकुमारी झाँक्री, कुलमान घिसिङ र महाविर पुन लगायतका थुप्रै व्यक्तिहरुले कर्णालीका मुद्दामा बहस गरे ।

तीनै वक्ताहरुसँग कर्णाली केन्द्रको उपेक्षामा पर्नुको कारण खोज्दै थिइन्, साबित्री भट्टराई । ‘गगन थापाज्यू, तपाईंको बोली त मिडियाले सुन्छ, नीति निर्माताले सुन्छन्, साँचै तपाईंको बोलीमा दम छ, तर तपाईंको बोलीमा कर्णाली किन सुनिंदैन ?’ कर्णालीका कुनै पनि मुद्दामा गगन थापाको आवाज नसुनिएकोप्रति साबित्रीले आक्रोश पोखिन् ।

१७ वर्षीया किशोरी साबित्री, मौका पाउनेबित्तिकै बोलिहाल्थिन् । आफ्ना कुरा राखिहाल्थिन् । उनका ती आवाजले पीडा झल्काउँछ । आक्रोश पोखिन्छ । ‘म बोल्न रुचाउँछु, मौका मिलेसम्म बोली हाल्छु’ साबित्री भन्छिन्, ‘हामीले सधैं पछि पारियो मात्रै भन्यौं, तर पछि पारिनुको कारण खोजेनौं । अब प्रश्न गर्छौं, जवाफ खोज्छौं ।’

‘वाद, विवाद र सम्वाद’ शीर्षकमा चर्चा गरिरहेका कांग्रेस महामन्त्री थापा र सहरी विकासमन्त्री झाँक्रीलाई दर्शकदीर्घाबाट प्रश्नहरु बर्सिए । शिशिर सापकोटा, मदन आचार्य, एकता देवकोटा, जगत सापकोटा, दीपेन्द्र बिसीलगायतका युवाहरुले एमसीसी अनुमोदन, काठमाडौंले कर्णालीलाई गर्ने उपेक्षालगायतका विषयमा प्रश्न गरे ।

प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महत र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘झरो उजेलोको खरो’ शीर्षकमा चर्चा गर्दै थिए । तीनै वक्तालाई दर्शकदीर्घाबाट अर्की १७ वर्षीया किशोरी कृतिका बस्नेतले प्रश्न गरिन्, ‘कुलमान सर, तपाईंले विश्व बजारमा विद्युत बेच्ने कुरा गर्दैगर्दा, आधा कर्णाली अन्धकार छ । कर्णालीले उज्ज्यालो कहिले पाउँछ ?’

जवाफमा कुलमानले दुई वर्षभित्र कर्णालीका गाउँ-गाउँमा विद्युत पुर्‍याउने प्रतिवद्धता जनाए ।

त्यही मञ्चबाट सांसद गजेन्द्र महत भन्दै थिए, ‘काठमाडौंले सुन्दैन, सुनेपनि कम सुन्छ । जुम्लाको विद्युत् समस्या सुनाउन कुलमान सरलाई समय मागें, उहाँले समय दिनुभएन । त्यसपछि बाजागाजा सहित कुलमान सरको कार्यकक्षमा गएर समस्या राखें ।’

यो कस्तो उपेक्षा ? एकजना जनप्रतिनिधिले जनताका समस्या सुनाउन पनि बाजागाजा बजाउनु पर्ने ? उपेक्षा बढ्दै जाँदा त्यो कुनै न कुनै रुपमा एकदिन विस्फोट हुन्छ । त्यसकै आक्रोश हो, उत्सवमा बर्सिएका प्रश्नहरू ।

ठूल्ठूला विकास र समृद्धिका सपना देखाएर राजनीतिक लाभ लिने र त्यो प्राप्त भइसकेपछि बाहना बनाउनेहरुको भीड बढ्दै छ । रोकिएका छैन । साबित्री र कृतिका जस्ता नयाँ पुस्ता त्यस्ता भीड कसरी घटाउनेतर्फ केन्द्रित हुन थालेका छन् । उनीहरुमा पीडा मिश्रति आक्रोश छ । उनीहरुसँग आक्रोश मात्र हैन, कर्णालीलाई माथि उठाउने सम्भावनाको लामो सूची पनि छ ।

केन्द्रिकृत सत्ताबाट उपेक्षित, दुर्गम र अविकासको मानक बनेको कर्णालीको संस्कार र समानता खोतल्ने प्रयासबाट नै कर्णाली उत्सवको शुरुआत भएको बताउँछन्, उत्सवका संयोजक कमल लम्साल ।

उत्सवले तीन वर्षमा कर्णालीको विकास र सम्भावनालाई राष्ट्रिय मुद्दा बनाउन सहयोगी बनेको लम्सालको दाबी छ । ‘उत्सवका तीन दिन अर्थपूर्ण रहे, बहस, ‘पैकेलो’को अनुभव, गीत संगीत, गजल र कविताहरु प्रस्तुत गरिए’ संयोजक लम्साल भन्छन्, ‘यसमा सबै प्रकारको विचार-बहस, गन्थन-मन्थन हुन्छ । यो विचार, बहस र सम्भावनाहरूको महोत्सव हो ।’

विचारको निरन्तर प्रहारले मात्र कर्णालीका पहाड फोड्ने सामर्थ्य राख्ने उनी बताउँछन् । ‘यसले कर्णाली एक अभावग्रस्त, दुर्गम र विकटको पर्याय मात्र होइन, बरु विकासका दृष्टिले सुन्दर भविष्य बोकेको सम्भावनाको स्वप्नभूमि हो भन्ने कुरा प्रकट गर्छ’ लम्साल भन्छन् ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?