+
+

विराटनगर महानगर : आधा बाचा अधुरै

बाढी, महामारी र कर्मचारी सरुवालाई दोष

हरि अधिकारी हरि अधिकारी
२०७८ चैत ६ गते २१:०४

६ चैत, विराटनगर । कोरोना महामारीका बेला घर-घरमा अक्सिजन सिलिण्डर पुर्‍याउँदै हिंडेपछि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले राम्रै प्रशंसा पाए । सामाजिक कार्यमा ठिकठाक देखिएका विराटनगरका जनप्रतिनिधिले पूर्वाधार विकासतर्फ जनअपेक्षा मात्र होइन, आफ्नै घोषणापत्र अनुसार काम गर्न सकेको छैन । बेरुजुको बढ्दो ग्राफले पराजुली नेतृत्वमा पाँच वर्षमा महानगरको आर्थिक सुशासन समेत कमजोर देखाएको छ ।

मेयर पराजुली आफूले चुनावका बेला गरेको बाचाको आधा काम पनि गर्न नसकेको स्वीकार गर्छन् । चुनाव जित्न गरेका बाचामध्ये आधा पूरा गरेको विराटनगर महानगरपालिका मेयर भीम पराजुलीको दाबी छ । अप्रत्यासित बाढी-डुबान, कोरोना महामारी, न्यून बजेट र चार वर्षमा ६ जना प्रमुख प्रशासकीय अधिकृत परिवर्तन हुनु पनि यो कार्यकालको बाधा भएको अनुभव उनले सुनाए । ‘अधिकारसम्पन्न नयाँ शासकीय संरचना भएकाले स्थानीय तहलाई बुझ्न पनि केही समय लाग्यो’ उनी भन्छन्, ‘यो अवधिमा धेरै काम र अनुभव भयो । अब फेरि चुनाव जित्यौं भने सहज रूपमा काम गर्छौं ।’

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट चुनाव लडेका पराजुली र उपमेयर इन्दिरा कार्कीले ४१ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका थिए । प्रतिबद्धतामा समेटिएका मुख्य योजना अधुरै छन्, केही नयाँ काम भने गरेको छ ।

पाँच वर्षमा के-के भए काम ?

पराजुलीको कार्यकालमा विराटनगर महानगरले महानगर बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याएको छ । जनता नमूना माध्यमिक विद्यालयमा सञ्चालित शिक्षालयका लागि छुट्टै भौतिक संरचना निर्माण गर्ने मेयर पराजुलीले बताए ।

स्थानीय तह निर्वाचन हुँदा निर्माणाधीन रहेको सडक, ढल निर्माण परियोजनाहरू पूरा भएका छन् । एशियाली विकास बैंकको सहयोगमा सञ्चालित यो परियोजनाको पहिलो चरण सन् २०१३ बाट र दोस्रो चरण २०१७ बाट सुरु भएको थियो । अन्योलमा रहेको परियोजना सम्पन्न गर्नु आफ्नो कार्यकालको एउटा उल्लेख्य उपलब्धि भएको मेयर पराजुलीले बताए ।

पराजुलीको कार्यकालमा विराटनगर बस टर्मिनल बन्यो । नगर विकास कोषको ऋण सहयोगमा बसपार्क निर्माण भएको हो । निर्धारित समयभन्दा अघि नै काम सकेको भन्दै नगर विकास कोषले महानगरलाई पुरस्कृत पनि गरेको छ ।

महानगरका १९ मध्ये १५ वटा वडा कार्यालय भवन बन्नु पनि आफ्नो टिमको सफलता भएको मेयर पराजुलीले बताए । ‘त्यसबाहेक नगरभित्र १५० किलोमिटर सडक कालोपत्रे भएको छ’ उनले भने, ‘६ हजार घर समेटेर ढल प्रणाली सहित फोहोरमैला प्रशोधन केन्द्र बनेको छ । आकाशे पुल निर्माण अन्तिम चरणमा छ ।’

शुद्ध खानेपानीका लागि जापानी सहयोग नियोग -जाइका)को सहयोगमा रु.२ अर्ब ६१ करोडको परियोजना सञ्चालन गर्ने तयारी भइरहेको उनी बताउँछन् । त्यस्तै, विराटनगर-९, गुद्रीबजारमा २५ तले व्यावसायिक कम्प्लेक्स निर्माणका लागि प्रदेश लगानी बोर्डसँग सम्झौता गरेको उनले बताए ।

प्रदेश-१ सरकारले विराटनगरलाई राजधानी घोषणा गर्दा बनाएको बृहत् विराट क्षेत्रमा आसपासका पालिकाहरू पनि समेटिएका छन् । त्यसमध्ये भेडियारीस्थित विराट राजाको दरबार क्षेत्रको विकासका लागि योजना बनाएको मेयर पराजुलीले बताए । वीरेन्द्र सभागृह स्तरोन्नतिको क्रममा रहेको, प्रधानमन्त्री पार्क निर्माण प्रक्रिया अघि बढेको, हिमालय रोड र एयरपोर्ट रोड सौन्दर्यकरणको प्रक्रिया अघि बढेको उनले बताए ।

के-के अधुरै छन् ?

मेयर पराजुली र उपमेयर कार्कीको संयुक्त घोषणापत्रमा २०५४ सालबाट निर्माण सुरु भएको विराटनगर रिङरोड निर्माणको काम सक्ने प्रतिबद्धता थियो, जुन पूरा भएन ।

चुनावी घोषणापत्रमा गरिएका बाचा

इ-चौतारी र कोल्ड स्टोर भवन पनि बनेन । सहकारीको माध्यमबाट घर-घरका लागि रोजगारी सिर्जना गर्ने, खोला किनारका सुकुम्बासीका समस्या हटाउने बाचा पनि पूरा भएनन् । पशु बधशाला निर्माण र सुपथ मूल्य पसल सञ्चालन गर्ने योजना पनि कागजमा सीमित भए । त्यस्तै, सडक छेउका पोल हटाउने, बजार क्षेत्रमा नगरबस चलाउने प्रतिबद्धता पनि पूरा भएन ।

दुई वर्षभित्र औद्योगिक प्रदर्शनी स्थल बनाउने, हाटखोला र परोपकार घाटमा विद्युतीय शवदाह गृह निर्माण गर्ने, जुटमिल सञ्चालन गर्ने प्रतिबद्धता कागजमै सीमित रहृयो ।

रु.४ अर्ब लगानीमा भ्यू टावर बनाउने विराटनगर महानगरपालिकाको योजना भने शिलान्यास हुनासाथ चर्को आलोचना भएपछि स्थगित गरिएको छ । विराटनगर-३ मा ११० मिटर अग्लो भ्यू टावर खडा गर्न तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश-१ का कार्यवाहक मुख्यमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे र महानगरका मेयर पराजुलीले १८ कात्तिक २०७५ मा संयुक्त शिलान्यास गरेका थिए ।

सामाजिक कार्यमा अगाडि

मेयरमा निर्वाचित भएपछि तलब सुविधा बापत महानगरबाट आफूले पाएको करिब २७ लाख रकम सामाजिक कार्यमा खर्चिएका पराजुली कोरोना महामारीका बेला संक्रमितलाई घर-घरमा अक्सिजन सिलिण्डर पुर्‍याउन आफैं खटिएका थिए ।

लिंग पहिचानपछि गरिने भ्रूण हत्या रोक्न महानगरले पहिलो र दोस्रो छोरी जन्माउने दम्पतीलाई प्रोत्साहन रकम दिंदै आएको छ । पहिलो सन्तान छोरी जन्माउनेलाई तीन हजार र दोस्रो पटक पनि छोरी जन्माउने दम्पतीलाई २५ हजार रुपैयाँ बैंक खातामा राखिदिने योजना सञ्चालनमा छ ।

महानगरपालिकाले विराटनगर-१९ मा ३२ सुकुम्बासी परिवारलाई घर, ८४ वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई मासिक एक हजार पोषण भत्ता वितरणसँगै विद्यालय, गुरुकुल र मदरसाको भौतिक पूर्वाधार विकासका लागि काम गरेको उनले बताए ।

पाँचवर्षे कार्यकालमा ६६ वटा कार्यविधि र निर्देशिका तयार पारेको मेयर पराजुलीले बताए । सामाजिक क्षेत्रमा निर्माणतर्फ आरोहण गुरुकुलको भवन र तारणीप्रसाद कोइराला सञ्चार ग्राम तयार पारेको उनले बताए । सञ्चार ग्रामबाट महानगरले एफएम रेडियो सञ्चालन गर्न लागेको उनले जनाए ।

अधिकांश बजार क्षेत्र रहेको महानगरमा १७ वटा कृषक समूहलाई पशुपालनका लागि सहजीकरण गरेको छ । महानगरमा ४० वटा पशु र्फम दर्ता छन् ।

महानगरको समन्वयमा २०७५ फागुनमा पाँचौं संस्करणको साफ च्याम्पियनसिप भएको थियो । उपमेयर इन्दिरा कार्कीको संयोजकत्वमा रहेको न्यायिक समितिले परेका उजुरीमध्ये ८० वटा फर्छ्योट गरेको छ । फर्छ्योट भएका आदेश तथा निर्णयहरू ९० प्रतिशत कार्यान्वयन भएको न्यायिक समितिको दाबी छ ।

आर्थिक वर्ष २०७७/७८ मा मात्र महानगरपालिकामा १७५ उजुरी परेका थिए, जसमध्ये ७० मा आदेश र निर्णय तथा २४ वटामा मेलमिलाप गराएको थियो । न्यायिक समिति सदस्य तिर्थेन्द्र न्यौपाने समितिमा बसेर काम गर्दा नयाँ अनुभव प्राप्त भएको बताउँछन् । ‘घरायसी विवाद, सीमा विवादका उजुरीहरू धेरै आए’ उनले भने, ‘समितिमा बसेर काम गर्दा धेरै कुरा सिक्ने अवसर पाइयो ।’

बेरुजुको अत्यासलाग्दो ग्राफ

आन्तरिक आम्दानीमा महानगर कमजोर छ । आर्थिक वर्ष २०७७/७८ मा महानगरले ९५ करोड ७५ लाख ५५ हजार रुपैयाँ भन्दा माथि राजस्व संकलन हुने अनुमान गरेको थियो । तर अनुमानको आधा भन्दा कम राजस्व संकलन भयो । महानगरको राजस्व शाखाका अनुसार ४४ करोड ४२ लाख १६ हजार रुपैयाँ मात्रै राजस्व संकलन भयो । यो अनुमानित आयको ४६ प्रतिशत मात्रै हो ।

आन्तरिक आम्दानी बढाउन नसकेको महानगरमा ५९१ जना कर्मचारी छन् । जसमा ८१ जना अधिकृत स्तर, २१७ सहायक स्तर र २९३ जना श्रेणीविहीन कर्मचारी छन् । ५५१ मध्ये ३४१ जना करार र ७ जना अस्थायी छन् ।

बेरुजुको अवस्था पनि उस्तै छ । आर्थिक वर्ष २०७६/७७ सम्म बेरुजु मात्रै १ अर्ब १६ करोड नाघेको छ । ३० कात्तिकमा भएको वाषिर्क समीक्षामा आर्थिक प्रशासन महाशाखा प्रमुख संजीवकुमार भट्टराईले प्रस्तुत गरेको प्रतिवेदन अनुसार बेरुजु १ अर्ब १६ करोड ६७ लाख ९६ हजार रुपैयाँ पुगेको उल्लेख छ । महानगरतर्फ ६६ करोड ४३ लाख १३ हजार र मझौला सहरको एकीकृत सहरी वातावरणीय सुधार परियोजना तर्फ ५० करोड २४ लख ८३ हजार बेरुजु छ । आर्थिक वर्ष २०७४/७५ सम्म बेरुजु रकम ६१ करोड ८९ लाख ५५ हजार थियो ।

५ वर्षमा ६ कार्यकारी अधिकृत

मेयर पराजुलीको कार्यकालमा विराटनगर महानगरपालिकामा ६ जना प्रमुख प्रशासकीय अधिकृत फेरिए । पराजुलीको चारवर्षे कार्यकालको सुरुवातमा प्रमुख प्रशासकीय अधिकृत दीपक कोइराला थिए । उनको सरुवा भएपछि प्रदीप निरौला आए, निरौलापछि कुमार दाहाल प्रमुख प्रशासकीय अधिकृतको रूपमा हाजिर भए । दाहालपछि आएका एकदेव अधिकारी र इन्द्रमणि पोखरेलको सरुवा भएपछि हाल प्रमुख प्रशासकीय अधिकृतमा उमेश बस्नेत छन् ।

प्रशासनिक अस्थिरताले विकास निर्माणको काममा निकै बाधा परेको मेयर पराजुलीले बताए ।

कोभिड र बाढीमा राम्रो काम गरे

पराजुलीसँगै नेकपा एमालेका विनोद ढकाल र जनता समाजवादी पार्टी जसपाका उमेश यादवले विराटनगर महानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेका थिए ।

ढकाल, मेयर पराजुलीको कार्यकाललाई पूरै असफल भन्छन् । मेयर पराजुलीले विराटनगरका लागि नयाँ योजना नल्याएको, केन्द्रले दिएको बजेट पनि खर्च गर्न नसकेर फिर्ता गएको उनले बताए । ‘यो चार वर्षमा देखिने गरी केही काम भएन’ उनले भने, ‘अहिले बनेका सडक र ढल आयोजना पहिल्यै सुरु भएका हुन् ।’

जसपाका उमेश यादवले पनि विराटनगरमा पराजुलीले सम्झनयोग्य काम गरेको नदेखिएको बताए । उनले भने, ‘उहाँको कार्यकाललाई असफल नै भन्नुपर्छ ।’

समाजशास्त्री चन्द्र तिम्सिना भने विराटनगर महानगरका जनप्रतिनिधिले कोरोना महामारी र बाढीका बेला सक्रिय भूमिका निर्वाह गरेको बताउँछन् । जनताको अपेक्षा र जनप्रतिनिधिको क्षमताबीच तालमेल नहुँदा असन्तुष्टि भने तीव्र रहेको उनले बताए । ‘जनप्रतिनिधिले अपेक्षा अनुसार काम गरेको देखिंदैन’ उनले भने, ‘कोेरोना महामारी र बाढीका बेला सकारात्मक भूमिका निर्वाह गरेको देखिन्छ ।’

लामो समयपछि आएका जनप्रतिनिधिले सकारात्मक काम, तर पूर्वाधार विकासमा जनताको अपेक्षा अनुसार जनप्रतिनिधिले काम गर्न नसकेको उनले बताए ।

एमालेबाट निर्वाचित विराटनगर-११ को वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने पनि जनताले दिएको अवसरलाई सदुपयोग गरेको बताउँछन् । तर मेयर पराजुलीले सल्लाह नगरी निर्णय गर्ने, सुझाव दिंदा नसुनेको भन्दै उनी भन्छन्, ‘आफ्नै पार्टीबाट निर्वाचित भएको भए अलिक सल्लाह मिल्थ्यो होला ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?