 
																						६ चैत, काठमाडौं । नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेकामा असन्तुष्ट सिनियर डीआईजी उजुरी लिएर लोकसेवा आयोगमा पुगेका छन् ।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा सिफारिस गरेको थियो । तर हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची डीआईजीहरुले वरिष्ठता र कार्यक्षमताका आधारमा बढुवा सिफारिस नगरेको भन्दै लोकसेवा आयोगमा उजुरी दिएका हुन् ।
डीआईजी ईश्वरबाबु कार्कीले आफू उजुरी दिन लोकसेवा आयोगमा आएको बताए । उनले आफू अदालत पनि जाने अनलाइनखबरसँग बताए । बढुवा सिफारिसविरुद्ध डीआईजीहरु घनश्याम अर्यालसहित केही डीआईजी पनि लोकसेवा आयोगमा उजुरी दिने तयारीमा रहेका छन् ।
मन्त्रालयले गरेको सिफारिसमाथि एक सातापछि मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने प्रावधान छ । कार्यक्षमता मूल्यांकनका आधारमा भन्दा पनि शक्तिकेन्द्र निकटका अधिकृतहरुलाई बढुवा सिफारिस गरिएको भन्दै प्रहरी प्रधान कार्यालयसमेत असन्तुष्ट थियो ।
अधिकृतहरुका अनुसार बढुवा सिफारिसप्रति प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पनि मन्त्रालयमा पनि असन्तुष्टि व्यक्त गरेको बताए । बढुवा सिफारिसमा परेकामध्ये केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत सिंह व्यवसायिक अधिकृत मानिन्छन् । पन्त र धानुकको नाममा असन्तुष्टि बढेको थियो ।
स्रोतका अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालले डीआईजी घनश्याम अर्याल वा ईश्वरबाबु कार्कीमध्ये एक, धिरजप्रताप सिंह र उत्तमराज सुवेदीलाई बढुवा सिफारिस गर्न चाहेको थियो । तर गृह सचिव टेकनारायण पाण्डेले ‘बालुवाटारको रोजाइ’का अधिकृतहरुलाई अघि बढाएपछि असन्तुष्टि बढेको हो ।
पन्त हालका आईजीपी थापासँगै १९ वैशाख २०७९ मा अनिवार्य अवकाशमा जानेछन् । वरियताका आधारमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी, अरुणकुमार बिसी लगायत प्रतिस्पर्धी थिए ।
भागरथी बलात्कारपछि हत्या प्रकरणसहितका केही ठूला अपराध अनुसन्धानमा खेलेको भूमिकाका कारण प्रशंसा पाएका सुवेदी प्रहरी प्रधान कार्यालयको रोजाइमा थिए । तर शक्तिकेन्द्रको भागबण्डामा नअटाएपछि उनी बढुवा सिफारिसमा परेनन् ।
कांग्रेसका केही नेताहरुले लुम्बिनी प्रदेशमा एमाले महासचिव शंकर पोखरेलले मुख्यमन्त्रीको शपथ लिने बेला कांग्रेस प्रमुख सचेतक निर्मला क्षेत्रीसहितका प्रदेश सांसदहरुलाई दुर्व्यवहार गरेको बताउँदै धानुकलाई बढुवा नगर्न गृहमन्त्री बालकृष्ण खाँणलाई दबाव दिएका थिए ।
धानुक अघिल्लो पटक कांग्रेस सरकारमा भएका बेला तत्कालीन एमाले सांसद् नवराज सिलवाललाई कीर्ते कसूरमा कारबाही नगरेको भनेर पनि काठमाडौं प्रहरी प्रमुखबाट हटाइएका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4