+
+

पोखरा : ठूलो महानगरको साँघुरो कार्यालय !

छिन्नभिन्न महाशाखा, सेवाग्राहीलाई सकस

विकास रोकामगर विकास रोकामगर
२०७८ चैत ६ गते १७:५१

६ चैत, पोखरा । स्थानीय तहमा जनप्रतिनिधिका रुपमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल यसै वर्ष सकिँदैछ । तर, कार्यभार सम्हालेको ५ वर्ष बित्न लाग्दासमेत पोखरा महानगरका अधिकांश वडा कार्यालय आफ्नै भवनविहीन छन् ।

अधिकांश वडा कार्यालय कि भाडाको घरमा छन्, कि त कुनै पुरानै सरकारी भवनमा टालटुलमै सीमित छन् । सुविधासम्पन्न वडा कार्यालयको कुरा त परै जावोस्, महानगरले आफ्नै नयाँ प्रशासकीय भवनसमेत बनाउन सकेको छैन ।

हाल पोखरा ९, न्युरोड बीच बजार क्षेत्रमै महानगरको मुख्य कार्यालय छ । देशकै ठूलो महानगरको मुख्य कार्यालय नै साँघुरो र जीर्ण हुँदा सेवाग्राहीलाई मर्कामात्रै परेको छैन, कर्मचारीसमेत आजित छन् ।

कार्यालय साँघुरो भएकै कारण पार्किङको समस्या पनि उस्तै छ । ‘साँघुरो ठाउँमा कार्यालय छ । कर्मचारीहरु एउटै कोठामा थुनिएर धेरै काम गर्नुपर्छ । पार्किङको समस्या पनि उस्तै छ,’ महानगरका एक कर्मचारी दुखेसो पोख्छन्, ‘सेवाग्राहीको चर्को चाप लाग्ने ठाउँमा हामी कर्मचारीले नै भरिन्छौं ।’

२०३४ सालमा तत्कालीन पोखरा नगरपालिकाका लागि बनेको भवन नै हाल देशकै ठूलो महानगरले प्रयोग गर्दै आइरहेको छ । महानगर कार्यालय साँघुरो भएकै कारण महाशाखाहरु पोखराका विभिन्न ठाउँमा छरिएका छन् ।

महानगरका ९ महाशाखामध्ये अधिकांश महानगर कार्यालयभन्दा टाढा छन् । जसले गर्दा सेवाग्राहीलाई महाशाखा खोज्दैमा दिन बित्ने गरेको छ ।

महानगरको स्वास्थ्य महाशाखा पोखरा ९ को एक निजी भवनमा भाडामा छ । पहिले उक्त भवनमा शिक्षा महाशाखा थियो । तर, पछि शिक्षा महाशाखा ड्यामसाइडमा रहेको निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा सरेपछि स्वास्थ्य महाशाखाले ठाउँ पाएको हो । शिक्षा महाशाखा सरे पनि लामो समयसम्म सेवाग्राही झुक्किएरै हालको स्वास्थ्य महाशाखा भवनमा पुग्ने गरेका थिए ।

त्यस्तै, महानगरको सामाजिक विकास महाशाखा सिर्जना चोक, शिक्षा महाशाखा ड्यामसाइड, कृषि महाशाखा मुस्ताङचोक, पशु विकास महाशाखा पोखरा वडा नम्बर १२ मा छ । महानगरकै महाशाखा एकीकृत नहुँदा सेवाग्राहीलाईसमेत सकस हुने गरेको छ ।

पहिलो बैठकले सार्ने भनेको भवन अझै सरेन

स्थानीय जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि ०७४ असार ५ गते बसेको पहिलो कार्यपालिका बैठकले नै प्रशासकीय भवन सार्ने निर्णय गरेको थियो । तर, कार्यकाल सकिन लाग्दासमेत नयाँ भवन बन्न सकेको छैन । जसको मार सेवाग्राहीले खेप्नु परेको हो ।

२०३४ सालमा तत्कालीन पोखरा नगरपालिकाका लागि बनेको भवन नै हाल देशकै ठूलो महानगरले प्रयोग गर्दै आइरहेको छ । महानगर कार्यालय साँघुरो भएकै कारण महाशाखाहरु पोखराका विभिन्न ठाउँमा छरिएका छन् ।

नयाँ भवनका लागि जग्गा खोज्न पहिलो कार्यपालिका बैठकले नै पोखरा १७ का वडाध्यक्ष तीर्थ अधिकारीको संयोजकत्वमा समिति पनि गठन गरेको थियो । समितिले सुरुमा पोखरा १२ स्थित जिल्ला पशु कार्यालय, मालेपाटनस्थित बागवानी केन्द्र र पृथ्वीचोकको दमकल केन्द्रमा कार्यालय बनाउन उपयुक्त रहेको महानगरलाई सिफारिस गरेको थियो ।

सोही सिफारिसको आधारमा ०७४ भदौ १ गते पशु स्वास्थ्य कार्यालयकै जग्गामा नयाँ भवन बनाउने निर्णय गरेको थियो । तर, महानगरको आफ्नै नाममा जग्गा नभएकाले केन्द्र सरकारसँग पटक पटक माग गर्दा पनि जग्गा पाएन ।

‘त्यो जग्गा पनि राम्रै थियो । पटक पटक केन्द्र र प्रदेश सरकारसँग जग्गा उपलब्ध गराउन माग पनि गर्‍यौं । तर, फाइल कहिले प्रदेशमा अड्कियो, कहिले प्रदेशमा,’ महानगरका सूचना अधिकारी भरतराज पौडेल भन्छन्, ‘जग्गाको विषयमा तत्काल निर्णय नहुँदा पनि काममा ढिलाइ हुन पुगेको हो ।’

समितिले सिफारिस गरेबमोजिम पशु कार्यालयको जग्गामा प्रशासकीय भवन नबन्ने निश्चित भएपछि पछि महानगरले पुरानो दमकल रहेको ठाउँलाई रोजेको हो । त्यहाँ हाल शहरी स्वास्थ्य प्रवर्धन केन्द्र छ । उक्त ठाउँमा सुविधासम्पन्न ५ तले नयाँ प्रशासकीय भवन बनाउन महानगरले ०७७ भदौमा निर्णय गरेको हो ।

नयाँबजार दमकल मार्गमा बन्ने भनिएको नयाँ भवनसमेत अहिले शिलान्यासमै रोकिएको छ । त्यसको करिब ढेड वर्षपछि ०७८ असोज १० गते भूमिबुद्ध, ओमबुद्ध जेभीसँग १४ करोड रुपैयाँमा १८ महिनाभित्र भवन निर्माण सक्ने गरी सम्झौता गरेको थियो ।

मंसिर २७ मा शिलान्यास भएपछि स्थानीयबासिन्दाले पार्क बनाउनुपर्ने माग राख्दै विरोध जनाएपछि अहिले उक्त काम अघि बढ्न सकेको छैन । ‘राजनीतिक स्वार्थ’का कारण रोकिएको निर्माण प्रक्रिया कहिले अघि बढ्छ टुंगो छैन । ‘हामी समन्वय गरिरहेका छौं । त्यो महानगरको भवन बनाउन त्यो ठाउँ भन्दा अर्को राम्रो ठाउँ छैन,’ महानगर प्रवक्ता धनबहादुर नेपाली भन्छन्, ‘उहाँहरुको खासै बलशाली माग छैन । त्यहाँ जसरी पनि भवन बन्छ ।’

३३ मध्येका ९ वटा वडा मात्र आफ्नै भवनमा

भूगोलका हिसाबले देशकै ठूलो महानगर (४६४.२४ वर्ग किलोमिटर) पोखराका ३३ वटा वडा कार्यालय मध्य ९ वटा मात्रै आफ्नै भवनमा छन् । महानगर प्रवक्ता धनबहादुर नेपाली जनप्रतिनिधिको ५ वर्षे कार्यकालमा जम्मा ९ वटा वडाको मात्रै भवन निर्माण गरिएको जानकारी दिए ।

‘अहिलेसम्म ९ वटा वडाको मात्रै नयाँ भवन बनाउन सकिएको छ । बाँकी प्रक्रियामै छन्’, उनले भने । उनका अनुसार १० वटा वडा भवन अहिले निर्माण प्रक्रियामा छन् । बाँकी रहेका १४ वटा वडाको आफ्नो भवन छैन । ती वडा कुनै भाडामा छन् त कुनै पुराना सरकारी कार्यालयमा ।

महानगरका अनुसार हाल २, ७, ११, १२, १६, २२, ३० र ३२ नम्बर वडाकोमात्रै आफ्नै भवन छ । त्यस्तै, ८, ६, १७, १८, २६, ३१ र ३३ नम्बर वडाको भवन निर्माणाधीन अवस्थामा छन् । ३३ नम्बर वडाको भवन केही दिनअघिमात्रै शिलान्यास गरिएको थियो ।

बाँकी १, ३, ४, ५, ९, १०, १३, १४, १५, २०, २१, २३, २४, २५, २७, २८ र २९ नम्बर वडाको आफ्नै कार्यालय भवन छैन । त्यसमध्ये पनि वडा नम्बर ९, २० र २७ नम्बर वडाको कार्यापय अन्यन्तै साँघुरो र अपायक रहेकाले नयाँ बनाउन आवश्यक रहेको महानगरका सूचना अधिकारी भरतराज पौडेल बताउँछन् ।

वडा कार्यालयको भवन बनाउन जग्गा प्राप्त गर्नै कठिनाइ रहेकाले काममा ढिलो भइरहेको महानगर प्रवक्ता नेपालीको दाबी छ । भन्छन्, ‘अहिले हामीले ३ दिन साढे ३ करोडसम्ममा सम्पन्न हुने गरी जग्गा व्यवस्थापन गरिरहेका छौं । त्यो भयो भने सबै वडाको आफ्नै भवन हुन्छ’, उनले भने ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?