
काठमाडौं । दयाहाङ राई निर्देशित नाटक ‘मीतज्यू’ मंगलबारदेखि मण्डला थिएटरमा मञ्चन हुने भएको छ । यो नाटक चैत १३ गतेसम्म प्रत्येक दिन बेलुका ५ बजेदेखि मञ्चन हुने जनाइएको छ ।
सोमनाथ खनालले लेखेको नाटकमा बुद्धि तामाङ, विजय बराल र सिर्जना सुब्बाको मुख्य भूमिका छ । यसअघि मञ्चन हुँदाहुँदै कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण मञ्चन रोेकिएको थियो ।
दर्शकलाई इन्गेज तुल्याइराख्न मण्डलाले युट्युबबाट भर्चुअल रुपमा यो नाटकको प्रिमियर समेत गरेको थियो । सात वर्षअघि मञ्चन भइसकेको नाटकमा केही परिमार्जन गर्दै पुनः देखाउन लागिएको हो । नाटकले मितेरी साइनोको कथा भन्छ ।
थापागाउँस्थित मण्डलाको नयाँ हलमा यस महिनादेखि नाटक मञ्चन सुरु भएको छ । अहिले कौसी, कीर्तिपुर र आरोहण गुरुकुलमा समेत नाटक मञ्चन भइरहेको छ । कीर्तिपुर थिएटरमा पारिजातको चर्चित उपन्यास ‘शिरिषको फूल’मा आधारित नाटक मञ्चन भइरहेको छ ।
प्रतिक्रिया 4