+
+

युक्रेन युद्धभित्र रुमल्लिएको पश्चिमा स्वार्थ र नेपाल

कूटनीतिक मर्यादा र राष्ट्रिय स्वार्थको ख्याल नगरी गरिने कुनै पनि क्रियाकलाप अन्ततोगत्वा राष्ट्रघाती नै हुनेछ। त्यसैले राजनीतिक नेतृत्वको घैंटोमा बेलैमा घाम नलाग्ने हो भने हामीहरू चाँडै नै अर्को युक्रेन बन्न सक्छौं।

माधव दाहाल  माधव दाहाल 
२०७८ चैत ८ गते १२:१४

यदि पश्चिमी देशका अधिकांश सञ्चारगृहलाई आधार मान्ने हो भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अपराधी हुन्। उनी निरङ्कुश छन् र सत्ताको आडमा जे पनि गर्न सक्छन्। उनले २०१४ मा क्रिमियालाई आफ्नो मुलुकमा गाभे, अहिले युक्रेनलाई सैनिक शक्तिको आडमा गाभ्न खोज्दैछन् र उनको यो कदमलाई यहीं नरोक्ने हो भने उनले युरोपका अन्य देशहरूमा पनि धावा बोल्ने छन्। उनी वर्तमान समयका हिटलर हुन्। उनी रक्त पिपासु छन्। त्यसैले उनको पतन नभई विशेष गरेर युरोपमा शान्ति स्थापना सम्भव छैन। अहिले पश्चिमा देशहरूमा करिब करिब यो र यस्तै खालको मानक स्थापित भएको छ।

वास्तविकता के हो त ?

वास्तविकता योभन्दा अलि फरक छ। माथि स्थापित गर्न खोजिएको भाष्य शतप्रतिशत सही छैन। युक्रेन समस्याको मध्यबिन्दुमा पश्चिमाहरूको रणनीतिक स्वार्थ, नेटो संगठनको विस्तार र रूसको सत्ता परिवर्तन गर्नका लागि प्रजातन्त्र र मानवअधिकारको आवरणमा पश्चिमाहरूले गरेको प्रयत्न प्रमुख रूपमा कारकसिद्ध भएका छन्।

हो, पक्कै पनि एउटा सार्वभौम मुलुक युक्रेनमाथि रूसले गरेको आक्रमण कुनै पनि हालतमा जायज होइन, हुनै सक्दैन। तर युरोपमा आफ्नो रणनीतिक महत्व स्थापित गराउन अमेरिकाले चालेको चालका कारण सिर्जित परिस्थिति कसरी अहिलेको युक्रेनको विनाशसँग जिम्मेवार बन्दैछ भन्ने कुरा पनि यहाँ त्यत्तिकै महत्वपूर्ण हुन आउँछ। युक्रेन र रूसबीचको समस्याका लागि सोभियत संघको पतन, युक्रेनको स्वतन्त्रता, नेटोको विस्तार, युक्रेनमा भएको ‘कु’, पूर्वी युक्रेनमा भएका रसियनभाषी माथिको विभेद विगतलाई पनि कोट्याउनुपर्ने हुन्छ।

अमेरिका र पश्चिमाको गलत सोसल इन्जिनियरिंग

शीतयुद्ध समाप्ति पश्चात् अमेरिका तथा उसका सहयोगी युरोपियन मुलुकहरूले युक्रेनलाई रूसको प्रभाव क्षेत्रबाट मुक्त राख्ने, पश्चिमाहरूको गठबन्धनमा समावेश गर्ने र यसका लागि रूससँग सिमाना जोडिएको उसलाई रूस विरुद्ध नै प्रयोग गर्न सकिने नीतिअनुसार अगाडि बढे। यसो गर्दा रूसबाट हुनसक्ने सम्भावित युरोप आक्रमणलाई निस्तेज पार्नको निमित्त रूसकै सिमानामा पर्खालका रूपमा युक्रेनलाई उभ्याउन सकिने सोचाइ पश्चिमा मुलुकहरूको थियो।

पश्चिमा मुलुकहरूको यही अन्तर्निहित अभीष्टका कारण विशेषगरी सन् २०१४ को फेब्रुअरी २२ मा योजनाबद्ध ढंगले निर्वाचित राष्ट्रपति माथि ‘कु’ भएपछि युक्रेन समस्या अझ जटिल मोडमा पुग्यो। युक्रेनका तत्कालीन राष्ट्रपति (चौथो) भिक्टर यानुकोभिचले युरोपेली मुलुकहरूबाट दिने भनिएको आर्थिक सहयोग लिन इन्कार गरी रूसबाट आर्थिक सहयोग लिए। सो कदमबापत उनी सत्ताबाट पदच्युत गरिएका थिए। पदच्युत गरिएपछि राष्ट्रपति यानुकोभिच पछि भागेर रूस गएका थिए। उक्त घटनालाई रूसले आफूमाथि गरिएको षड्यन्त्र र अन्ततोगत्वा रूसकै सत्ता परिवर्तनको रूपमा बुझ्न पुग्यो। यसरी युक्रेन समस्या रूसको राजनीतिको मध्य निशानामा पर्‍यो।

भिक्टर यानुकोभिचको बहिर्गमनपछि भएको चुनावमा वर्तमान राष्ट्रपति जेलेनेस्की विजयी भए। उनी प्रो-अमेरिकन यहूदी हुन्। यसरी संरचनागत हिसाबले जकडिएको जातीय विभेद, रुमानीहरू माथिको विभेद, उग्र राष्ट्रवाद र रसियन भाषी माथिको विभेद र एशियनहरूमाथि हुने माथिको विभेदका कारणले सामाजिक संरचना अस्तव्यस्त बन्न थाल्यो। यहीक्रममा युक्रेनले रूससँग दुश्मनी मोल्दै पश्चिमाहरूको गोटी बन्न थाल्यो। छिमेकीसँग दुश्मनी साधेर अमेरिकी तथा पश्चिमा शक्तिसँग अङ्कमाल गर्ने अवस्थामा आइपुग्यो। यो कुरा रूसको निमित्त पाच्य थिएन। रूसले यसलाई आफ्नो सुरक्षा चुनौतीको रूपमा लियो।

युक्रेन नेटोको सदस्य बन्दा रूसलाई किन टाउको दुख्छ ?

एउटा सामान्य उदाहरण दिऊँ। यदि चीनले मेक्सिको र क्यानडालाई समेटेर अमेरिकाको सिमाना नजिकै सैनिक गतिविधि गर्छ भने के अमेरिकाले चीनको उक्त क्रियाकलापलाई सामान्य रूपमा लिन सक्छ कि सक्दैन? रूसमा पनि भएको त्यही हो। आफ्नो सिमानामा शीतयुद्धकालीन सैन्य प्रतिद्वन्द्वी अमेरिकाले छिमेकी मुलुकहरूलाई गोलबद्ध गर्दै सैनिक अभ्यास सुरु गर्ने कुराको कल्पनाले मात्रै पनि रूसलाई झस्काउँछ। यस्तो कदमको रूसले सामरिक ढङ्गले प्रतिरोध गर्न खोज्यो र परिणामस्वरूप युक्रेन बलिको बोको बन्यो।

पूर्वी यूरोपका मुलुकहरूमा नेटोको विस्तार, युरोपियन युनियनमा उनीहरूको आवद्धता र प्रजातन्त्रको बहानामा रूसमाथि गर्न खोजिएको सत्ता परिवर्तनको खेलका कारण युक्रेन समस्या सरल रेखामा व्याख्या गर्न नसकिने अवस्थामा परिणत भयो। शीतयुद्धको समाप्ति पश्चात् अमेरिकाका राष्ट्रपति क्लिन्टनले नेटोलाई युरोपका पूर्वी भागमा विस्तार गर्न नखोजेको भए आज यो अवस्था आउने थिएन।

शीतयुद्ध पश्चात चार चरणमा नेटोको सदस्य मुलुकहरू थपिनु र ती मुलुकहरू विस्तारै रूसका सामरिक महत्व र सुरक्षा संवेदनशीलता जोडिएको सीमावर्ती क्षेत्रका हुनाले रूसलाई सशंकित बनायो। नेटोको सन् २००८ को बुखारेस्ट सम्मेलनले जर्जिया र युक्रेनलाई नेटोको सदस्यता दिने निर्णय गरेपछि भने रूस पश्चिमा मुलुकसँग क्रुद्ध भएको देखिन्छ। यसरी पश्चिमा मुलुकहरूले युक्रेनलाई बलजफ्ती रूसको सुरक्षा घेराबाट बाहिर निकाल्न खोज्दा र आफू न्यूट्रल बस्नुको सट्टा नेटो सैन्य संगठनको सदस्य बन्ने कूटनीति युक्रेनले अवलम्बन गर्दा ऊ रूसको कोपभाजनमा पर्‍यो र अहिलेको अवस्था सिर्जना भयो।

अब के हुन्छ ?

बढ्दो अन्तर्राष्ट्रिय दबाव र नाकाबन्दीका कारण रूसको अर्थतन्त्र पूर्णरूपमा तहसनहस भइसकेको छ। भलै युक्रेनमाथि रूस आक्रामक देखिए पनि विश्व राजनीतिमा भने रूस रक्षात्मक भएको छ। युरोपसँग सिमाना जोडिएका युक्रेनी नागरिकहरूको रूससँगको दुश्मनी झन् झन् बढेको छ भने रूसले छुट्टै राज्यको मान्यता दिएका दुई वटा प्रान्तहरू रूससँग नजिकिने अवस्थामा पुगेका छन्। युक्रेन टुक्रिएको छ। युक्रेन थप गृहयुद्धको चपेटामा पर्दै जाने देखिन्छ। अमेरिकाले नचाहँदा नचाहँदै पनि चीन र रूस नजिकिएका छन् र रूस चीनमाथि बढी निर्भर हुन पुगेको छ।

विश्व बजारमा इन्धनको मूल्य आकाशिने छ। इन्धनको मूल्य वृद्धिका कारण महँगीको चपेटामा तमाम गरिब मुलुकहरू पर्नेछन्। विस्तारै युक्रेन सिरिया र अफगानिस्तान जस्तै असफल मुलुकमा परिणत भएको छ। यस युद्धबाट रूस र युक्रेन दुवैले हार्ने छन्। युरोपेली मुलुकहरूमा अमेरिकाको हतियार बिक्री बढ्नेछ। जतिजति रूस युक्रेनी युद्धमा भासिन्छ, त्यतित्यति अमेरिकी हतियारको बिक्री युरोप तथा मध्यपूर्वी मुलुकहरूमा बढ्नेछ।

त्यसैले अमेरिकाले बाहिरीरूपमा प्रजातन्त्रको वकालत गरे जस्तो देखिए पनि र युक्रेनबाट रूसको सैनिकको वापसीको कुरा गरे पनि भित्रभित्रै यो युद्ध लम्बिए हुन्थ्यो भन्ने अभिलाषामा छ। युद्ध अमेरिकाको व्यापार हो। रूसलाई देखाएर युरोपमा नेटोले संगठन विस्तारको आधार तय गर्नेछ। रूस र चीनलाई घेर्ने अमेरिकी नीति अनुरूप ती दुई मुलुकका छिमेकका साना मुलुकहरूलाई दीर्घकालीन ढंगले प्रभावमा पार्न खोजिनेछ।

ढिलो वा चाँडो नेपाल जस्ता कमजोर र अस्थिर मुलुकहरू अमेरिकी सहयोगको बहानामा उनीहरूको रणनीतिक स्वार्थको चंगुलभित्र फस्ने छन्। राष्ट्रिय स्वार्थको निम्ति कुनै पनि दृष्टिकोण नभएका, चुनाव र सत्ताको लागि मात्र राजनीति गर्ने हाम्रो जस्तो मुलुकका नेताहरू अमेरिकी स्वार्थको गोटी बन्नेछन् र अमेरिकी स्वार्थको लागि प्रयोग हुनेछन्। अन्ततोगत्वा विश्व राजनीतिमा अमेरिकाको प्रभुत्वमा झन् वृद्धि हुनेछ।

रूसको लागि युक्रेनले जति रणनीतिक स्वार्थ बोकेको हुन्छ, अमेरिकाको लागि अब आएर युक्रेन त्यति महत्वपूर्ण हुने छैन। त्यसैले आफ्नो राजनीतिक स्वार्थ तथा हतियार व्यापार वृद्धिको स्वार्थको लागि युक्रेन युद्ध अमेरिकाको चाहना हो। युक्रेन युद्धका कारण विश्व अर्थतन्त्र जतिसुकै आर्थिक मन्दीमा फसे पनि तेस्रो विश्वयुद्धको सम्भावना भने हुने छैन। किनभने तेस्रो विश्व युद्ध हुँदा अमेरिकी अर्थतन्त्र पनि यसबाट अत्यन्त नराम्रोसँग प्रभावित हुने तथा इन्धनको मूल्यमा अत्यधिक वृद्धि हुँदा त्यसको असर सबैभन्दा पहिला अमेरिकामा नै पर्ने हुनाले तेस्रो विश्वयुद्ध अमेरिकी चाहना हैन। तर रूसलाई लामो समयसम्म युक्रेन युद्धमा होम्नु चाहिं अमेरिकी चाहना हो।

युक्रेन युद्धबाट हामीले के सिक्ने ?

अमेरिका लगायत पश्चिमा मुलुकहरूले अत्यन्त प्रशंसा गरेर रूस विरुद्ध उभ्याइएका युक्रेनका राष्ट्रपतिबाट हामीले धेरै कुरा सिक्न सक्छौं। दीर्घकालीन राष्ट्रिय हितको ख्याल नगरी सस्तो लोकप्रियताको पछाडि लाग्दा, अरूको एजेन्डा बोक्दा, आफ्नै मुलुकका नागरिकहरू माथि विभेद गर्दा कसरी मुलुक शक्ति राष्ट्रको क्रीडास्थल बन्छ भन्ने कुरा हामीले युक्रेनको व्यवहारबाट सिक्न सक्नुपर्छ। राजनीतिक गल्लाबाजहरूको सौदाबाजीमा फस्नुअघि हामीले युक्रेनलाई पढ्नु र बुझ्नुपर्छ।

फरक-फरक राजनीतिक प्रणाली र एकआपसमा प्रतिस्पर्धी भएका दुई विशाल छिमेकीका बीचमा हाम्रो अवस्थिति छ। यी दुवै छिमेकीलाई विश्वासमा लिंदै उनीहरू बीचको सम्बन्ध राष्ट्रिय स्वार्थमा केन्द्रित बनाउनुपर्छ। यदि हामीले दुवैलाई आफ्नो राजनीतिक स्वार्थ अनुरूप प्रयोग गर्न थाल्यौं भने हामी चुक्नेछौं। क्षणिक राजनीतिक लाभ र हानिका आधारमा कूटनैतिक सम्बन्धलाई जथाभावी चलाउने जस्तो आत्मघाती काममा नै हाम्रो राजनीति सीमित हुन पुग्नुहुँदैन।

अझ योभन्दा दुःखलाग्दो कुरा के हो भने हाम्रो राजनीतिक नेतृत्वले न त कहिल्यै अध्ययन गर्न जानेको छ, न त प्राज्ञिक व्यक्तिहरूबाट सल्लाहसुझाव नै लिन्छ। न विवेकशील कार्यकर्ताहरू तयार पार्छ, न त राष्ट्रिय स्वार्थ के हो त्यो नै पहिचान गर्छ। हाम्रा नेताहरू झगडा, क्षुद्र अभिव्यक्ति, गालीगलौज, भ्रमको खेती तथा स्वप्रचार, आत्मरतिमा नै रमाइरहेका छन्। यसबाट मुलुकले पाउने भन्दा गुमाउने बढी हुनेछ।

कूटनीतिक मर्यादा र राष्ट्रिय स्वार्थको ख्याल नगरी गरिने कुनै पनि क्रियाकलापहरू अन्ततोगत्वा राष्ट्रघाती नै हुनेछ। त्यसैले राजनीतिक नेतृत्वको घैंटोमा बेलैमा घाम नलाग्ने हो भने हामीहरू चाँडै नै अर्को युक्रेन बन्न सक्छौं। आशा गरौं, त्यस्तो दिन हाम्रो देशमा नआओस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?