+
+

जुवाडेलाई चेक फिर्ता दिएको घटना : छानबिन समितिले औंल्यायो प्रहरीको कमजोरी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १३:२४

८ चैत, काठमाडौं । जुवाखालबाट ‘चोरी भएको’ भनिएको चेक आरोपी नै फिर्ता दिएको घटनामा प्रहरीको कमजोरी देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

गत २२ असोजमा बानेश्वरको संसद भवन पछाडिबाट ‘हराएको भनिएको’ ७ वटा चेक प्रहरीले गुपचुप रुपमा आरोपी भनिएकै व्यक्तिलाई फिर्ता दिएको भन्दै गृह मन्त्रालयमा उजुरी परेको थियो । गृहको निर्देशनपछि प्रहरी प्रधान कार्यालय, नक्सालले बनाएको प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेशलाल कर्ण नेतृत्वको समितिले घटनामा प्रहरीले कमजोरी गरेको निष्कर्ष निकालेको हो ।

काठमाडौंमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंह हुँदा यो घटना भएको थियो । उनले आफ्नो सरुवा हुने दिन चेक आरोपीलाई नै फिर्ता दिएका थिए । छानबिन समितिका एक सदस्यका अनुसार प्रहरीले क्षेत्राधिकारबाहिर गएर बद्नियतपूर्ण तरिकाले अनुसन्धान गरेको निष्कर्ष निकालिएको छ ।

पीडित भनिएका सिन्धुलीका राजकुमार बरालको चेक जुवा खेल्ने क्रममा सुभाष भेटवालले लगेका थिए । बरालले जुवा खालबाट आफ्नो चेक हराएको दाबी गरेका थिए ।

बरालले दिएको उजुरीमा उल्लेख भएअनुसार उनी जुवाखालमा बसेका बेला सुवास भेटवाललगायतले बैंक अफ काठमाडौंको चेक लगेका थिए । ‘भेटवालले मलाई समेत रक्सी खान जबर्जस्ती प्रेसर गरी रक्सी खान दिई जबरजस्ती प्रेसर गरी रक्सी खान दिई मलाई जबरजस्ती तास खेल्न दबाब दिन थाले’ उजुरीमा भनिएको छ, ‘त्यो दिन मसँग साथमा चेक बुक पनि थियो, बिहान मदिराले छोडेपछि घर गएर सुतेको थिएँ, उठेर हेर्दा खाली चेक चोरी भएको रहेछ ।’

यसपछि उनले चेक हराएको भन्दै खोजीका लागि प्रहरी वृत्त, बानेश्वर र काठमाडौं प्रहरी परिसर, टेकुमा पनि उजुरी दिएका थिए । बैंकमा पनि चेक हराएको भन्दै निवेदन पर्‍यो । त्यसपछि काठमाडौंका तत्कालीन एसएसपी अशोक सिंह र मुद्दा शाखाका डीएसपी नरेन्द्र चन्दले भेटवाललाई बोलाएर २ करोड २९ लाख रुपैयाँ बराबरको चेक बरामद गरेको बरालले बताएका थिए ।

‘एसएसपी सा’बले परीक्षणका लागि भन्दै अर्को हस्ताक्षर लिनुभयो, मलाई पठाउनु भयो’ उनले भनेका छन्, ‘दशैंपछि मलाई जुवामा मुद्दा चलाउँछु भन्दै उल्टै धम्की दिन थालियो, चेक भेटवाललाई नै फिर्ता दिनुभयो ।’ बरालले एसएसपी सिंहले सरुवा भएर जाने वेला भेटवाललाई चेक दिँदा आफू मर्कामा परेको बरालको भनाइ थियो ।

छानबिन समितिका एक सदस्यका अनुसार घटनास्थलमा गएर मुचुल्कासमेत गरिसकेको अवस्थामा एसएसपी सिंहले जुवा सम्बन्धी मुद्दा चलाउनुपर्ने थियो । तर उनले त्यसमा अनुसन्धान नगरी चेक फिर्ता गरेकाले नियत ठिक नदेखिएको उनी बताउँछन् ।

घटनामा एसएसपी सिंह लगायतको कमजोरी देखिएपनि कारबाही गर्न चाहिँ प्रतिवेदनमा सिफारिस गरिएको छैन । समितिमा ती सदस्य भन्छन्, ‘हामीले कमजोर औंल्याइदिएका छौं, कारबाही गर्ने नगर्ने माथिल्लो निकायको कुरा हो ।’

एसएसपी सिंहले बरालले सहमतिमै चेक दिएको देखिएकाले फिर्ता गरिएको बताउने गरेका छन् । उनी भन्छन्, ‘हामीले सीसी टीभीको फुटेज पनि हेरेका थियौं, त्यसमा जोरजबरजस्ती केही देखिएपछि फिर्ता गरिएको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?