
१० चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
पार्टीबाट असन्तुष्ट शर्माले दुई दिन अगाडि माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका थिए ।
काठमाडौंमा आज बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले शर्मा र उनकी पत्नी सीतालाई पार्टीमा स्वागत गरे ।
शर्मा नेकपा माओवादी केन्द्रको घोराही उपमहानगर कमिटीको अध्यक्ष थिए । अघिल्लो स्थानीय तह निर्वाचनमा उनकी पत्नी सीता घोराही उपमहानगरपालिकामा उपमेयरको उम्मेदवार थिइन् तर पराजित भएकी थिइन् ।
प्रमोद शर्मा को हुन् ?
प्रमोद शर्माले लामो समयसम्म कृष्ण बहादुर महराको स्वकीय सचिव भएर काम गरेका थिए । महरा जतिपटक मन्त्री बने त्यति नै पटक उनी स्वकीय सचिव बनेका थिए ।
प्रमोद शर्माको पूरै परिवार माओवादी आन्दोलनमा थियो । पुरानो घर रुकुम भए पनि उनका बुवा हरिप्रसाद शर्मा दाङको घोराहीमा बसाइँ सरेर आएका थिए । बुवा हरिप्रसाद माओवादी सरकारको पालामा गुठी संस्थानको अध्यक्ष नियुक्त भएका थिए ।
प्रमोदकी आमा माओवादी केन्द्र दाङको जिल्ला सल्लाहकार छिन् । प्रमोदको ठूल्दाइ प्रदीप शर्मा माओवादी आन्दोलनमा मारिएका थिए । उनलाई पार्टीले शहीदको सम्मान दिंदै आएको छ ।
उनका माहिलो दाइ प्रकाश शर्मा अहिले पनि माओवादी केन्द्रमै छन् । प्रकाश घोराही उपमहानगरपालिका वडा नम्बर १५ को सचिवालय सदस्य छन् । उनका कान्छो भाइ प्रवीण शर्मा माओवादी केन्द्रको दाङ जिल्ला समन्वय समितिको सदस्य छन् । अखिल क्रान्तिकारीका नेतासमेत रहेका प्रवीण घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति बनेका थिए ।
प्रमोदकी पत्नी सीता चौधरी पनि शहीद परिवारकी सदस्य हुन् । सीताका दाजु माओवादी केन्द्र घोराही नगर कमिटीका सचिव छन् ।
प्रमोद घोराही नगरकमिटी अध्यक्ष थिए । उनी लुम्बिनी प्रदेश कमिटी सदस्यको आकांक्षी थिए । तर प्रदेश कमिटीमा नपरेपछि चर्को असन्तुष्टि व्यक्त गर्दै माओवादी केन्द्र छाडेको घोषणा गरेका थिए । उनले असन्तुष्टि जनाउँदै फेसबुकमा अस्वाभाविक ढंगले श्रृंखलाबद्ध स्टाटसहरु राखेका थिए ।
प्रतिक्रिया 4