+
+

बेंसीबाट लेक पुगे भेडाका बथान

रासस रासस
२०७८ चैत १० गते १२:३७
फाइल तस्वीर

लमजुङ ।  चिसो बढ्न थालेसँगै गत असोज-कात्तिकमा लेकबाट बेंसी ल्याइएका दर्जनौ भेडीगोठका भेंडाबाख्रा गर्मी बढेसँगै पुनः चरण क्षेत्र लेक तथा उच्च हिमाली भेगमा पुगेका छन् ।

जाडो छल्न जिल्लाका विभिन्न स्थान तथा बेंसी ल्याइएका घुम्ती भेडीगोठ यतिबेला उच्च हिमाली भेगका चरन क्षेत्रमा गोठालाले आ–आफ्ना भेडाका बथान पुर्‍याएको भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. रुपेश श्रेष्ठले बताए । ‘जिल्लामा साना ठूला गरेर ३०० भन्दा बढी घुम्ती भेडीगोठ रहेका र ती सबै बेंसीबाट चरण क्षेत्र लेकमा पुगिसकेका छन् ।’

सिउरुङ, घलेगाउँ, भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुलेलगायत ग्रामीण क्षेत्रमा भेडीगोठ छन् । विशेषगरी गुरुङ समुदायको पुर्ख्यौली चलन तथा पेसाका रुपमा  भेडीगोठलाई हेरिन्छ । भेडीगोठ बर्सेनि ६ महिना लेक र ६ महिना बेसीमा राख्ने गरिन्छ । भेडीगोठ लमजुङ, मनाङ र कास्कीको सिमाना दूधपोखरीनजिकै थुर्जु तथा लमजुङ हिमालको काख लगायतका ठाउँसम्म पुग्ने गरेको भेडीगोठालाको भनाइ छ ।

अधिकांश भेडीगोठ लेकतर्फ लागिसके पनि घलेगाउँका भेडीगोठ भने बेंसीमै रहेको स्थानीय दीर्घराज घलेले बताए । उनका अनुसार घलेगाउँका दुई भेडीगोठ रहेका छन् । जेठ महिनामा मात्र लेक जाने यहाँका भेडीगोठ लमजुङ हिमालको काखमै रहेको ठूले लेकमा पुग्ने गर्दछन् ।

बेंसीमा रहेका बेलामा भेडीगोठबाट निस्किएको मल खेतबारीमा प्रयोग गर्ने गरिन्छ भने भेडाको ऊन निकालेर विभिन्न राडीपाखी, बख्खुलगायत बनाउनका लागि प्रयोग हुने गर्छ । जिल्लाभर २३ हजार भेडाबाख्रा रहेका छन् । वार्षिक १० हजार किलो ऊन निस्कने र ऊनको मूल्य प्रतिकिलो ३०० रुपैयाँ रहेको छ । त्यस्तै वार्षिक १६० मेट्रिक टन भेडाको मासु उत्पादन हुन्छ ।

मासु बिक्रीबाट आठ करोड रुपैयाँ आम्दानी हुने गरेको उक्त केन्द्रका प्रमुख डा. श्रेष्ठले बताए । उनका अनुसार वार्षिक घुम्ती भेडीगोठमा रहेका बाख्राको मासु १२० मेट्रिक टन तथा घुम्ती र घरमा पालिएका बाख्रा गरी वार्षिक एक हजार २०० मेट्रिक टन मासु उत्पादन हुँदा ६० करोड रुपैयाँ आम्दानी हुने गरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?