+
+

यो सिजनमा हिमाल चढ्ने आरोही बढ्ने संकेत, सुरुवातमै १२८ जनाले लिए अनुमति

अच्युत पुरी अच्युत पुरी
२०७८ चैत १४ गते १९:३०
तस्वीर सौजन्य : दावा शेर्पा

१४ चैत, काठमाडौं । कोभिड–१९ को महामारी न्यून भएसँगै सन् २०२२ को वसन्त ऋतुमा हिमाल आरोहणमा जाने पर्वतारोहीको संख्या बढ्ने संकेत देखिएको छ । पर्यटन विभागले यस सिजनमा हिमालमा चढ्न आउने पर्यटकलाई आरोहण अनुमति दिन सुरु गरेको छ ।

विभागका अनुसार यो सिजनका लागि सोमबारसम्म १६ वटा हिमालमा पर्यटकहरुले आरोहण अनुमति लिइसकेका छन् । कुल १२८ जना आरोहीले ती हिमाल चड्ने गरी अनुमति जारी भएको विभागले जनाएको छ । यसमध्ये सगरमाथामा एउटा समूहले आरोहण अनुमति लिएको छ ।

सगरमाथाका लागि एक समूहका ९ जना सदस्य रहने गरी आरोहण अनुमति जारी भएको छ । सोमबारसम्म अमादब्लमका लागि एक समूहमा १५ जना रहने गरी अनुमति जारी भएको छ ।

पर्यटन व्यवसायीहरुका अनुसार आरोहीहरु नेपाल आउने क्रम सुरु भइसकेको छ । पर्वतारोहणमा आउने आरोहीहरु नेपालमा सबैभन्दा लामो बसाइ अवधि भएका र खर्चालु पर्यटक मानिन्छन् । किनकी नेपालले वसन्त ऋतुमा सगरमाथासहितका सबै हिमालमा सबैभन्दा बढी रोयल्टी असुल गर्छ ।

सोमबारसम्म जारी भएको अनुमतिबाट विभागले कुल २ करोड ६५ लाख ३१ हजार १ सय ४० रुपैयाँ रोयल्टी संकलन गरिसककेको छ ।

कुन हिमालमा कति आरोहण अनुमति ?

  • गंगापूर्ण (७४५५ मि) : २ जना (एक समूह)
  • हिमलुङ (७१२६ मि) : ६ जना (१६ जना (दुई समूह)
  • द्यौलागिरि (८१६७ मि) : ११ जना (एक समूह)
  • अन्नपूर्ण १ (८०९१ मि) : २५ जना (तीन समूह)
  • थापा पिक (६०१२ मि) : ४ जना (एक समूह)
  • अमादब्लम (६८१४ मि) : २३ जना (दुई समूह)
  • ल्होत्से (८५१६ मि) : ५ जना (एक समूह)
  • सगरमाथा (८८४८.८६ मि) : ९ जना (एक समूह)
  • नुप्त्से (७८५५ मि) : १७ जना (दुई समूह)
  • भीमदाङ री (६१५० मि) : ८ जना (एक समूह)
  • कञ्चनजंगा (८५८६ मि) : ८ जना (एक समूह)

आइसफल डाक्टर टिमको नेतृत्व कीर्तिमानी आरोही कामिरितालाई

खुम्बु क्षेत्रमा आरोहणलाई सुरक्षित बनाउन हरेक वर्ष विशेषज्ञ शेर्पाहरुको टिमले बाटो बनाउने काम गर्छ । सो क्रममा डोरी टाँग्ने काम समेत गरिन्छ । एस्पिडिसन अपरेटर्स एसोसिएसन अफ नेपाल (इईओए) ले हरेक वर्ष यस्तो जिम्मेवारी लिने गर्छ ।

यस सिजनका लागि सगरमाथा क्षेत्रमा बाटो बनाउने काममा कीर्तिमानी आरोही (२५ पटक सगरमाथा चढेका) कामीरिता शेर्पाको नेतृत्वमा ८ सदस्यीय टिम छनोट भएको छ । यो टिमले आगामी एक महिनासम्म सगरमाथा र ल्होत्से हिमाल चढ्ने काममा सहज हुने गरी बाटो बनाउने छ । यस्तो काम मे २०२२ को पहिलो सातासम्म पूरा भइसक्ने छ । त्यसपछि भने धमाधम आरोहण सुरु हुनेछ । सामान्यतया जेठको अन्तिम सातासम्म आरोहीहरु चुचुरोमा पुगिसक्छन् ।

यसै सिजन कामिरिताले आफ्नो गत वर्षको रेकर्ड समेत तोड्ने छन् । यस पटक सगरमाथा चुचुरो पुग्दा उनको नाममा २६ औं पटक आरोहणको रेकर्ड बस्नेछ ।

आरोहण व्यवस्थित बनाउन समिति गठन

पर्यटन विभागले चालु वसन्त ऋतुमा हुने हिमाल आरोहणलाई अनुगमन तथा सहजीकरण गर्न समिति गठन गरेको छ ।

पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधि राखेर समिति गठन भएको विभागले जनाएको छ ।

विभागका अनुसार सन् २०२२ को वसन्त ऋतुमा खुम्बु क्षेत्रमा हुने पर्वतारोहणसम्बन्धी विभिन्न गतिविधिलाई नियमित, मर्यादित र व्यवस्थित बनाउने काममा आवश्यक समन्वय तथा सहजीकरणमा यो समिति सक्रिय हुने छ ।

समितिको सदस्यमा सेनानी किशोर अधिकारी, प्रहरी नायव उपरिक्षक तर्कराज पाण्डे र सगरमाथा आरोही संघबाट निशा अधिकारी सदस्य तोकिएका छन् । साथै, हिमालयन उद्धार संघ, सगरमाथा प्रदुषण नियन्त्रण समितिबाट एक/एक जना प्रतिनिधिलाई समेत सदस्य तोकिएको छ । नापी अधिकृत खिमलाल गौतमले सदस्य सचिवको भूमिका निर्वाह गर्ने भएका छन् ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?