+
+
२ अर्बको अपुताली मुद्दा :

सर्वोच्चले आमा पाल्ने छोरा होइन, हक छाडेकी विवाहिता छोरीलाई दिलायो सम्पत्ति

सर्वोच्च अदालतले पृथ्वीनारायण शाहका सन्तानी जोडिएको एक अपुताली मुद्दामा नजीर र सिद्धान्तको धरातलबाट टाढा निस्केर आमाको पालनपोषण गरिरहेको छोराको साटो हक त्यागिसकेकी छोरीलाई सम्पत्ति दिने फैसला गरेको छ ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०७८ चैत १७ गते २१:१५

१७ चैत, काठमाडौं । सर्वोच्च अदालतले अपुताली सम्बन्धी एक विवादमा आमा पालेको छोरालाई सम्पत्ति नदिई विवाहिता छोरीका नाममा सम्पत्ति हुने फैसला गरेको छ ।

पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहका सन्तान जोडिएको सम्पत्तिसम्बन्धी एक विवादमा सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला उल्ट्याउदै विवाहित छोरीले सबै सम्पत्ति पाउने भनी फैसला गरेको हो ।

१३ भदौ २०७८ सालमा सर्वोच्च अदालतबाट फैसला भएको यो मुद्दामा माईतीबाट सम्पत्ति ल्याएकी आमालाई उनको अन्तिम अवस्थामा कसले पालेको र रेखदेख गरेको भन्ने विवाद थियो । छोरासँग बसेकी आमालाई सर्वोच्च अदालतले विवाहिता छोरीले पालेको भनी व्याख्या गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको कार्यकालमा भएका विवादास्पद फैसला संकलन गरिरहेको नेपाल बार एसोसिएसनमा यो फैसलासँग सम्बन्धित उजुरी पनि परेको छ । न्यायाधीशहरु तेजबहादुर केसी र डा. मनोजकुमार शर्माको इजलासले गरेको फैसलाको पूर्णपाठ हालैमात्रै सार्वजनिक भएको हो ।

यस्तो हो विवाद

गत भदौमा गुपचुपरुपमा टुंगिएको सम्पत्ति स्वामित्वसम्बन्धी यो विवादमा सुवर्णबहादुर शाह र उनका सन्तान जोडिएका छन् । उनी पृथ्वीनारायण शाहका छोरा बहादुर शाहका सन्तान हुन् । कोमलकुमारी शाहसँग बिहे गरेका उनको २६ असार २०२६ सालमा सम्बन्धविच्छेद भयो ।

सम्बन्ध विच्छेदअघि नै उनका तीन सन्तान जन्मिसकेका थिए । हिमालयनदेवी शाह उनीहरुका जेठी छोरी हुन् भने भारती शाह कान्छी । उनका अर्का छोरा राजबहादुर शाह हुन् । उनको सम्बन्धविच्छेदपछि दरवारको हुकुमप्रमांगीमा अञ्चलाधीश कार्यालयले छोरीहरुको लालनपालन र विहेवारी उनैले हेर्नुपर्ने भनी कागज गराइदिएको थियो ।

उनका छोराछोरीमध्ये जेठी विवाहिता हिमालयदेवीको २०५६ सालमा सम्बन्धविच्छेद भयो । त्यसपछि उनी एक्लै रहन थालिन् । यो विवादमा कान्छी छोरी भारती शाहको कतै उपस्थिति छैन ।

सुवर्णबहादुरका कान्छा छोरा राजबहादुर शाह हुन् । उनी र श्रीमती जयन्ती सिलवाल क्षेत्री शाहबाट एउटी छोरी प्रियणी शाहको जन्म भयो । कमला राजभण्डारी शाहले राजबहादुरको जीवनको उत्तरार्धमा उनलाई आफ्नो पति भनी दावी गरेकी थिइन् ।

२७ असार २०६२ सालमा कोमल कुमारी शाहको निधन भयो । त्यसको दुई वर्षपछि १५ माघ २०६४ मा उनका एकमात्रै छोरा राजबहादुर शाह समेत बिते । भाइ बितेको केही महिनापछि कोमलकुमारीकी जेठी छोरी हिमालयनदेवीले आमाको नाममा रहेको सम्पत्ति अपुतालीबापत आफूले पाउनुपर्ने दाबी गरी नामसारीका लागि डिल्लीबजार मालपोत कार्यालयमा गइन् । त्यहा जाँदा जग्गा रोक्का रहेको थाहा भयो । त्यो जग्गा जयन्ती शाह अनि उनकी छोरी पि्रयणीले राजबहादुर विरुद्ध अंश मुद्दा हालेका कारण रोक्का राखिएको थियो ।

पतिसँग सम्बन्धविच्छेद गरेकी कोमलकुमारीले आफ्ना बाबु रामशम्शेर जबराले दिएको घरजग्गामा जीवनयापन गर्दै आएकी थिइन् । अदालतमा पेश भएको मिसिलमा संलग्न कागजात अनुसार, कोमलकुमारीको नाममा काठमाडौंको टंगालमा ६ रोपनी, सुनसरीमा ७ विगाहा र मोरङमा १२ कट्ठा जग्गा थियो । त्यो जग्गाको बजारमूल्य अहिले करिव २ अर्ब रुपैंयाँको हाराहारीमा रहेको कागजातबाट देखिन्छ ।

कुनै व्यक्तिको मृत्यु भएमा उनको नाममा भएको सम्पत्ति पाउने हकलाई अपुताली सम्बन्धी हक भनिन्छ । २०७५ साल साउन मसान्तसम्म अस्तित्वमा रहेको मुलुकी ऐनको अपुतालीसम्बन्धी महलमा हकवालाको बरियताक्रम छ ।

२ नम्बर महलमा भनिएको छ, ‘अपुताली पर्दा मर्नेको लोग्ने, स्वास्नी, छोरा, अविवाहिता छोरी, छोराको छोरा वा निजको अविवाहिता छोरी भएसम्म अरूले अपुताली पाउँदैन । मर्नेको छोरा नभई बिधवा बुहारी भएमा निजले छोरा सरह अपुताली पाउँछिन् । त्यस्ता कोही नभएमा विवाहिता छोरी, विवाहिता छोरी पनि नभए निजका छोरा वा अविवाहिता छोरीले हक पाउँछन् ।’

त्यही ऐनको महल ११ मा अपुतालीसम्बन्धी थप व्यवस्था छ । त्यसमा भनिएको छ, ‘यस महलको अन्य नम्बरहरूमा जुनसुकै कुरा लेखिएको भए तापनि अपुताली पर्दा मर्नेको स्याहार सम्भार नजिकको हकवालाले नगरी अन्य व्यक्तिले गरेको रहेछ भने त्यस्तो व्यक्तिको अपुतालीको सबै चल अचल सम्पत्ति त्यस्तो स्याहार सम्भार गर्नेले पाउँछ ।’

*** ***

आमाको निधनपछि साढे दुई वर्षसम्म चुपचाप बसेकी हिमालयदेवी शाह भाइको समेत मृत्युपछि अपुताली हक खोज्न थालेको अभिलेखबाट देखिन्छ । त्यसपछि उनी र भाइ रातबहादुरकी हकवाला (पत्नी जयन्ती र छोरी प्रियणी)बिच सम्पत्ति विवाद भयो ।

हिमालयदेवीको दावी अनुसार, आमा कोमलकुमारीलाई उनले नै रेखदेख र पालनपोषण गरेकाले अपुतालीमा उनको हक लाग्छ । तर सासुलाई अन्तिम अवस्थामा आफूले रेखदेख र पालनपोषण गरेको दावी गरेकी जयन्तीले सासुको सम्पत्तिमा आफ्नो पतिको अपुतालीहक हुने र त्यो सम्पत्ति आफूहरुमा सर्ने दावी गरिन् ।

जिल्ला अदालत काठमाडौंले राजबहादुर शाहले आमाको अपुताली पाउने व्याख्या गर्‍यो । न्यायाधीश हेमन्त रावलको इजलासले अपुताली सम्पत्तिमा छोराकै दावी पुग्ने भनी व्याख्या गरेको छ । ‘जुनसुकै स्रोतबाट आमालाई प्राप्त भएको सम्पत्ति आमाले अर्को विवाह नगर्दासम्म’ २८ साउन २०७२ मा भएको फैसलामा भनिएको छ, ‘साथमा रहेका छोराछोरीमध्ये अंश वा अपुताली जुनसुकै व्यहोराबाट पनि छोराले नै पहिलो हक प्राप्त गर्ने हुँदा राजुबहादुर शाह र निजको शेषपछि निजका श्रीमती एवं छोरीले नै अपुताली हक कायम गर्न सक्ने ।’

जिल्ला अदालतको यो फैसला विरुद्ध हिमालयदेवी शाह उच्च अदालत पाटनमा पुगिन् । उच्च अदालत पाटनले अपुतालीसम्बन्धी महलको ३ र ११ नम्बर बमोजिम हक कायम हुने फैसला गर्‍यो । दुवै व्यवस्थामा भिन्न बसेको व्यक्ति र उसलाई मर्ने बेलामा हेरचाह गर्नेले अपुताली पाउने व्यवस्था छ ।

न्यायाधीशद्वय राजकुमार वन र अनन्तराज डुम्रेको इजलासले गरेको फैसलामा भनिएको छ, ‘अपुतालीको ३ र ११ नं. बमोजिम हिमालय देवी शाह र राजु बहादुर शाहको बराबर हक लाग्ने देखिंदा उल्लेखित घर जग्गासमेतमा २ भागको १ भागमा हिमालय देवी शाह समेतको अपुताली हक कायम हुने ।’

कोमलकुमारीलाई कसले पाल्यो ?

कोमलकुमारी शाहलाई कसले पाल्यो भन्ने दावीमै अपुताली विवाद केन्द्रित भयो । हिमालयदेवी शाहको दावी अनुसार, पतिसँग सम्बन्धविच्छेद गरेपछि उनले आमाको पालनपोषण गरेर बसिन् । अन्तिम अवस्थासम्म पनि आमाको हेरचाह र उपचार आफूले गरेको उनको दावी थियो ।

कोमलकुमारीका एकमात्रै छोरा राजबहादुर शाहले आमालाई आफूले पालेको दावी गर्न पाएनन् । किनभने उनको निधनपछि मात्रै उनको अपुताली विवाद अघि बढेको थियो । तर राजबहादुरकी पत्नी जयन्त र छोरी पि्रयणीले सासु/हजुरआमालाई आफूहरुले पालेको दावी गरे ।

उनले पति राजुबहादुर शाह कहिले काठमाडौं, कहिले इटहरी बसेपनि आफूले भने निरन्तर सासुको रेखदेख गरेको दावी गरिन् । तर जेठी छोरी हिमालयदेवीको दावी अनुसार, उनले आमाको रेखदेख गरेकी थिइन् । आमाको उपचारदेखि मृत्युपछिका खर्च पनि आफैंले गरेको भन्दै उनले केही कागजात पनि पेश गरेकी थिइन् ।

जयन्ती शाह पक्षले सर्वोच्च अदालतमा दुईवटा कागजात पेश गरेको थियो । आमाका निधनभन्दा केही दिन अघि छोरा राजुबहादुरले सुनसरी जिल्ला अदालतमा निवेदन पेश गरेका थिए । त्यो निवेदनमा आमा आफ्नै साथमा रहेको र आमाको प्रतिनिधि बनेर उनले आफूलाई ‘संरक्षक हकवाला’ भनी चिनाएर निवेदन दिएका थिए ।

अर्को अञ्चलाधीश कार्यालयले जारी गरेको २०२६ सालको कागजात समेत उनीहरुले अदालतमा पेश गरेका थिए । दाजुभाइ पर्ने भएकाले तत्कालीन राजपरिवारले हुकुम प्रमांगीबाट सुवर्णबहादुरका तीन सन्तानको पालनपोषण गर्ने व्यहोराको कागजात अञ्चलाधीश कार्यालयले जारी गरेको थियो । उक्त पत्रमा छोरीहरुको लालनपालनदेखि बिहेबारी समेत सुवर्णबहादुरले गरिदिने उल्लेख छ । त्यसमा आमा कोमलकुमारीले छोराको संरक्षक बनेर आफ्नो जायजेथाबाट लालनपालन गरिदिने उल्लेख छ ।

हिमालय शाहले १० जेठ २०६३ सालमा पाकिस्तानी दूतावाससँग जोडिएको एक करारपत्रमा समेत सम्झौता गरेर टंगालको सम्पत्तिमा भाइको हक पर्ने भनी स्विकारेकी थिइन । उनीहरुबिच विवाद भएको टंगालको घरमा पाकिस्तानी राजदूतको निवास छ । त्यो भवन भाडामा लिने क्रममा सम्झौता भएको थियो भने घरबहाल भाइ राजुबहादुरले पाउने भनी दिदी हिमालयदेवीले स्विकारेर मञ्जुरीनामा दिएकी थिइन् । अर्कोतर्फ, राजुबहादुरले आफ्नो स्वामित्वमा रहेको जग्गा बेच्दा उनले साक्षी बनेर हस्ताक्षर गरेकी थिइन् ।

सर्वोच्चले उल्ट्यायो फैसला

सर्वोच्च अदालत उच्च स्रोतका अनुसार, उच्च अदालत पाटनमा विचाराधिन हुँदादेखि नै यो मुद्दामा रुचि देखाएका प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले सर्वोच्च अदालतमा आएपछि पनि त्यसलाई कायम राखे । उनले बारम्बार त्यो मुद्दा न्यायाधीशहरु तेजबहादुर केसी र डा. मनोजकुमार शर्माको इजलासमा तोके । ११ भदौ २०७८ सालमा साप्ताहिक पेशी सूचीबाट हटाइएको मुद्दा समेत फेरि दैनिक पेशी सूचीमा तोकियो र पर्सिपल्ट १३ गते फैसला भयो ।

सर्वोच्च अदालतले कोमलकुमारी शाह छोरा राजुबहादुरको साटो जेठी छोरी हिमालयदेवीको साथमा बसेको ठहर्ने फैसला गर्यो । राजुबहादुर अधिकांश समय सुनसरीमा बस्ने गरेकाले उनले आमाको लालनपालन गर्न नसक्ने ठम्यायो । अनि आमाको निधन हुँदा अस्पतालमा शव व्यवस्थापन गर्नेदेखि घाटका काममा छोरी सक्रिय भएको र त्यसक्रमका रसिदहरु पेश भएकाले छोरी हिमालयदेवीले आमाको लालनपालन गरेको ठम्यायो । आमाको निधन हुँदा समेत दिदी हिमालयदेवीको घरमा किरिया बसेकाले त्यसको पुष्टि हुने सर्वोच्चको व्याख्या छ ।

स्याहार सम्भार गर्ने व्यक्तिलाई नै मर्ने व्यक्तिको अपुताली खाने पहिलो हकदार मानिएको भन्दै सर्वोच्च अदालतले बाँचुन्जेल स्याहार सम्भार नगर्ने तर मरेपछि मर्ने व्यक्तिसँग केवल नाता र हकदार हुनुको आधार देखाएर अपुतालीको सम्पत्ति दावी गर्नु भनेको कानूनको मनसायभन्दा बाहिर हुने भनी व्याख्या गर्‍यो ।

फैसलामा भनिएको छ, ‘बाबुको पैत्रिक सम्पतिमा मात्र छोराको अंश हक लाग्ने र अंश हकको जग्गा मात्र छोराले स्वतः प्राप्त गर्ने हुँदा आमा कोमल कुमारीले बाबु राम शम्शेरबाट पाएको दाइजोको सम्पतिमा छोरा भएको नाताले मात्र राजुबहादुरको नाममा मात्र अपुतालीहक कायम हुनसक्ने स्थिति देखिंदैन । कोमल कुमारीको सबै सम्पत्ति हिमालयदेवी शाहको नाममा अपुताली हक कायम भई नामसारी र दर्तासमेत हुने ठहर्छ ।’

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?