
‘सिपाही भन्याको तिषारी राष्नु’ -पृथ्वीनारायण शाहको दिव्योपदेशमा उल्लेख भएको यो उक्ति अहिले रूसी सेनाको लागि निकै सान्दर्भिक देखिएको छ।
विश्व जनमतलाई बेवास्ता गरेर र आफ्नै जनताको सशक्त विरोधको कठोर दमन गरेर छिमेकी मुलुक युक्रेनको अस्तित्व नामेट पार्न युद्धमा होमिएका पुटिनको राजनीतिक र आर्थिक पराजय त युद्ध सुरु हुनुअघि नै निश्चित थियो तर सामरिक पराजयको पूर्वानुमान गर्न सजिलो थिएन।
रूस संसारकै दोस्रो ठूलो सैन्य शक्ति हो। युक्रेनको तुलनामा रूससँग दश गुणा बढी सैनिक हवाईजहाज, सात गुणा बढी ट्यांक र सातै गुणा बढी बख्तरबन्द गाडीहरू छन्।
त्यस्तै रूसको सैनिक जवानको संख्या युक्रेनको भन्दा नियमिततर्फ पाँच गुणा र जगेडातर्फ झण्डै तीन गुणाले बढी छ। यति ठूलो सैन्य शक्ति एक कमजोर छिमेकीसँगको युद्धमा कसरी सामरिक रुपमा नै पराजित भयो भन्ने प्रश्नले अहिले सबैलाई अचम्ममा पारेको छ।
वास्तविकता के हो भने सोभियत संघको विघटनपछि चेचेन पृथकतावादीहरूसँगको आन्तरिक द्वन्द्व र सिरियामा भएको हवाई आक्रमणबाहेक रूसले कुनै बलियो प्रतिद्वन्द्वीसँग युद्ध लडेकै छैन। उसका अधिकांश सैनिक उपकरणहरू पुराना भइसकेका छन्।
समय समयमा गरिएका सैन्य अभ्यासहरू पनि देखावटी र निष्प्रभावकारी रहेछन् भन्ने स्पष्ट भएको छ। रूसकै एक सुरक्षा विश्लेषकले भनेका छन्- रूसी सैन्यशक्ति फलामको एउटा ठूलो भुत्ते तरबार जस्तै हो जसमा खिया लागिसकेको छ र यसलाई इस्पातको एक सानो धारिलो चक्कुले ढालिदिन सक्छ।
युक्रेनमा रूसी सैनिकको प्रवेश हुँदा त्यहाँका जनता फूलमाला लिएर स्वागत गर्न आउने भ्रम पालेका पुटिनले रूसी भाषिकहरूको अत्यधिक बहुमत भएका युक्रेनी शहरहरू खार्कोभ, मरियुपोल, चेर्निगोभबाट आक्रमण सुरु गरेका थिए। तर त्यहाँका रूसी, युक्रेनी, यहुदी लगायत सबै जनजातिका बासिन्दा एक भएर रूसी आक्रमणको कडा मुकाबिला गरेकाले एक महिनासम्म यीमध्ये कुनै पनि शहर पुटिनको नियन्त्रणमा आउन सकेन।
अन्धाधुन्द प्रहार गरिएका क्षेप्यास्त्रबाट आवासीय भवन, स्कुल, अस्पताल, थिएटर र अन्य धेरै गैरसैनिक संरचनाहरू ध्वस्त भए तर त्यस क्षतिबाट रूसी सेनाले कुनै सामरिक उपलब्धि हासिल गर्न सकेन। क्रेमलिनका पण्डितहरूले रूसी सेनाले ७२ घण्टाभित्र किभ सरकार ढाल्ने र मस्कोको विश्वासपात्र व्यक्तिको हातमा सत्ता सुम्पिइने अपेक्षा गरेका थिए र संभावित व्यक्तिको नाम पनि चर्चामा ल्याइएको थियो।
किभतर्फ बढेका ट्याङ्क र बख्तरबन्द गाडीको लहर पछाडि त्यहाँ रूस समर्थित सत्ता स्थापना भएपछि गरिने समारोहको लागि भनेर एक सैनिक अर्केष्ट्राको गाडी पनि लगिएको थियो र साँझ आतसबाजी गर्ने कार्यक्रम थियो भनेर सैनिक स्रोतबाट चुहेको सूचना रूसका केही विपक्षी समाचार माध्यमहरूले प्रकाशित गरेका थिए। तर ती सबै अनुमान गलत साबित भए।
युद्धको एक महिना पुग्दासम्म पनि अपेक्षित सामरिक सफलता हासिल नभएपछि किभको सरकार ढलाउने पुटिनको चाहना ‘आकाशको फल आँखा तरी मर्’ जस्तै भयो। अन्त्यमा मार्च २५ का दिन सात जनरल र तेह्र हजार सैनिक जवान गुमाएर पुटिन सेनाले युद्धको प्रथम चरण पूरा भएको र अब दोनबास क्षेत्रमा ध्यान केन्द्रित गर्ने घोषणा गर्यो।
युद्ध फगत बाहुबल र हतियारको भरमा जितिन्छ भन्ने पुटिनको अपेक्षा नै गलत थियो। महाभारतको युद्धमा एकपटक कर्णले सोधेका थिए, ‘म धनुर्विद्यामा निपुण सर्वश्रेष्ठ योद्धा हुँ, तर जबजब मेरो अर्जुनसँग सामना हुन्छ मलाई किन हार मात्रै हात पर्छ ?’ भीष्म पितामहले जवाफ दिएका थिए- ‘किनभने तिमी अधर्मको शिविरमा छौ।’
गत शताब्दीमा विश्वमा धेरै युद्ध भए। दोस्रो विश्वयुद्ध सुरु हुँदा नै युरोपमा जर्मनीको सैनिक शक्ति अजेय मानिन्थ्यो र उसलाई इटलीको पनि समर्थन थियो। एशियामा त जापानको नजिकसम्म पनि पुग्ने कुनै शक्ति थिएन। तर ती तीनै देशले युद्ध हारे।
दोस्रो विश्वयुद्धपछि पनि एसिया र अफ्रिकाका कतिपय देशमा औपनिवेशिक युद्ध भए। त्यहाँका भोका र नांगा जनताले लट्ठी र भाला चलाएर गरेको युद्धद्वारा युरोपका ठूल्ठूला औपनिवेशिक शक्तिहरूलाई धपाइदिए र ती देशले आफ्नो भूमिमाथिको सार्वभौम अधिकार सिद्ध गरे। ती युद्धमा भीष्म पितामहको शब्दमा उपनिवेशवादीहरू अधर्मको शिविरबाट युद्ध लडिरहेका थिए र तिनको पराजय अवश्यम्भावी थियो।
भियतनाम युद्धमा अमेरिकाको पराजय यसको सबैभन्दा ज्वलन्त उदाहरण हो। आज रूस अधर्मको शिविर खडा गरेर युक्रेनमाथि हमला गरिरहेको छ। रूसी सेनासँग युद्ध लड्ने कुनै नैतिक बल, पवित्र उद्देश्य र उत्साह छैन र यो नै उसको पराजयको एक प्रमुख कारण हो।
रूस पराजयउन्मुख हुनुको अर्को महत्वपूर्ण कारण देशभित्र र बाहिर युद्धको विरोधमा उर्लेको विशाल जनलहर हो। देशभित्र पुटिनले चलाएको क्रुरतम दमन चक्रको वाबजुद पनि समाजका विभिन्न तप्काले विरोध जारी राखेका छन्।
स्वतन्त्र समाचार प्रवाह गरिरहेका विपक्षी रेडियो र टिभी स्टेशनमाथि प्रतिबन्ध लगाइएपछि पत्रकारहरू भागेर नजिकैका जर्जिया, लात्भिया, किर्गिजस्तान लगायत पूर्व सोभियत गणतन्त्रहरूमा शरण लिएर त्यहाँबाट समाचार सेवालाई निरन्तरता दिइरहेका छन्।
युद्धको विरोधमा रुसका कैयन् प्रसिद्ध गायक-गायिका, कलाकार, पत्रकारले आवाज उठाएका छन्। विश्व प्रख्यात बोल्शोई थिएटरका निर्देशक र उच्च दर्जाका अन्य धेरै संगीतकर्मीहरूले राजिनामा दिएकाले पुटिनले उक्त थिएटरकै विघटन गर्न लागेका छन्।
पुटिनले ‘युद्ध’ शब्दमाथि नै प्रतिबन्ध लगाएकाले धेरैले सेतो कागजको खाली पाना देखाएर विरोध जनाएका छन् र खाली पाना देखाएबापत पनि हजारौं प्रदर्शनकारी पिटिएका, गिरफ्तार भएका र लामो जेल सजाय पाएर थुनिएका छन्।
देशबाहिर पुटिन सत्ताको आक्रामक व्यवहारको कारण रूसले विश्व समुदायमा अभूतपूर्व बहिष्कारको सामना गर्नु परेको छ। युक्रेनमा रूसी हमलाको निन्दा गर्ने प्रस्तावमा राष्ट्रसंघीय महासभामा मतदान हुँदा १९३ सदस्यमध्ये रूसको पक्षमा जम्मा चार देश मात्र भएको सर्वविदितै छ।
युद्धपूर्व पुटिनप्रति सहानुभूति राख्ने मानिएका चेक गणतन्त्रका राष्ट्रपति मिलोस् जेमान र हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बान लगायतका कतिपय नेताहरूले पनि युक्रेनमाथि भएको हमलाको कडा विरोध गरेका छन्। पुटिनबाट सबैभन्दा बढी फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोन र जर्मन चान्सलर ओलाफ शोल्च निराश भएका छन्।
सन् २०१४ मा क्राइमिया कब्जा गरेवापत शक्ति सम्पन्न औद्योगिक राष्ट्रहरूको समूह जी-८ बाट निष्काशित माक्रोनले रूसलाई पुन: सो समूहमा स्थान दिन धेरै प्रयास गरेका थिए। त्यसरी नै अमेरिकाको ठूलो दबावको वाबजुद जर्मनीले रूससँग गरिएको प्राकृतिक ग्याँस पाइपलाइनको सम्झौता जोगाइरहेको थियो। तर अब युरोपेली संघले अमेरिकाबाट तेल र ग्याँस किन्ने समझदारी गरेको छ।
राजनीतिक वृत्तमा मात्र होइन अन्तर्राष्ट्रिय वित्त, विज्ञान, कला सबै क्षेत्रमा रूसको बहिष्कार व्याप्त छ। खेलकुदमा लागूऔषधको प्रयोगलाई सरकारी संरक्षण दिइएको अभियोगमा ओलम्पिक्स खेलमा रूसलाई झण्डा, राष्ट्रिय धुन जस्ता राष्ट्रिय चिन्हको प्रयोग गर्न र पदक तालिकामा देशको नाम उल्लेख गर्न वर्षौंदेखि प्रतिबन्ध छँदै थियो। अहिले फुटबल, एथलेटिक्स, बुद्धिचाल लगायत विभिन्न खेलका विश्वकप तथा युरोपेली प्रतिस्पर्धाबाट रूस निलम्बित भएको छ।
यसैबीच राष्ट्रपति जेलेन्स्कीले मुलुकको सुरक्षाको लागि अन्तर्राष्ट्रिय ग्यारेण्टीको प्रबन्ध गरिए युक्रेनले तटस्थता स्वीकार गर्ने बताएपछि टर्कीको मध्यस्थतामा इस्तानबुलमा सम्पन्न वार्तामा सकारात्मक प्रगति भएको समाचार आएको छ।
त्यस्तो ग्यारेण्टी प्रदान गर्ने राष्ट्रहरूको समूहमा नाटो गठबन्धनकै आठ मुलुक तथा रूस, चीन र इजरायल समेत रहने प्रस्ताव छ। सुरक्षा ग्यारेण्टीको ढाँचा पनि नाटो गठबन्धनकै धारा-५ सरहको हुने प्रस्ताव छ।
युक्रेनको दृष्टिमा यस्तो सुरक्षा ग्यारेण्टी नाटो सदस्यताभन्दा दुई कारणले बढी प्रभावकारी हुनेछ। पहिलो त युद्धअघि पनि नाटोमा युक्रेनको संलग्नता तत्कालको सम्भावनाको विषय नै थिएन। अहिले बन्ने नयाँ सुरक्षा सम्झौता तुरुन्त लागु हुनेछ। दोस्रो, सुरक्षा ग्यारेण्टीको संरचनाभित्र नाटो मुलुकका साथसाथै राष्ट्रसंघ सुरक्षा परिषदका स्थायी सदस्य पनि रहनेछन्।
इस्तानबुल वार्तामा आएको प्रस्तावले पुटिनको लागि एक अप्ठ्यारो चुनौती सिर्जना गरेको छ। युक्रेन नाटोमा संलग्न नहुने निश्चित भएपछि के रूस अब उसले कब्जा गरेको युक्रेनी भूभाग फिर्ता गर्न तयार छ? पुटिनको नयाँ रणनीति यसतर्फ लक्षित देखिंदैन।
उनी किभ र चेर्निगोभको मोर्चामा अघि बढ्न नसकेका या हारिरहेका सेना फिर्ता गर्ने घोषणा गरेर युक्रेनको दक्षिण र पूर्वी क्षेत्रमा सैन्य शक्ति केन्द्रित गर्ने र सो भूभाग टुक्र्याएर रूसमा गाभ्नेतर्फ अग्रसर देखिन्छन्।
त्यसैले पुटिनको सेना कटौतीको घोषणालाई युक्रेनले सन्देहका साथ हेरिरहेको छ। यो कटौती भन्दा पनि आक्रमणका इलाकाहरूको प्राथमिकतामा गरिएको परिवर्तन जस्तो देखिन्छ।
त्यसैकारण युक्रेनी शहरहरूमा बम वर्षा चलुञ्जेल र उसको भूभागमा रूसी सेना रहुञ्जेल शान्ति स्थापना हुन सक्दैन भन्ने कुरालाई राष्ट्रपति जेलेन्स्कीले जोडदारका साथ उठाएका छन्।
यो निश्चित छ युक्रेनको विभाजनले न अन्तर्राष्ट्रिय मान्यता पाउन सक्छ न त्यसबाट दीर्घकालीन शान्ति नै स्थापना हुन सक्नेछ। पुटिनको रूसी साम्राज्य ब्युँताउने महत्वाकांक्षाको लागि कैयन् सार्वभौम राष्ट्रको सिमाना पुन: कोर्न कोही पनि चाहँदैन।
युक्रेन युद्धमा रूसको सबैभन्दा ठूलो पराजय उसले युक्रेनी जनताबाट गुमाएको विश्वास हो। शताब्दीयौंदेखि भ्रातृत्वको सम्बन्धमा बाँधिएका युक्रेनी जनताले तिनका घरआँगनमा गरिएको बमवर्षा, युद्धमा अनाहकमा ज्यान गुमाएका र घरवारविहीन भएर बिचल्लीमा पारिएका बालबालिकाको लागि रूसलाई अब घृणा र रोषको दृष्टिले हेर्नेछन्।
युक्रेनमा हालसम्म एक नगण्य समूहमा सीमित रहेको रूस विरोधी भावना अब झन् व्यापक हुनेछ। युक्रेनलाई नाजी र फासीवादबाट ‘मुक्त गर्न’ भनेर पठाइएका रूसी सेना स्वयम् नाजी र फासिष्ट भएको कलंकको टीका लगाएर घर फर्कने छन्।
यस युद्धमा रूसले युक्रेन मात्र हारेको छैन, रूसी साम्राज्यको भूभाग फिर्ता गर्न र त्यसको लागि पुटिन युद्धमै होमिन तयार भएको देखेर सबै छिमेकीहरू सशंकित भएका छन्। राष्ट्रसंघमा भएको मतदानमा पनि बेलारूस बाहेक रूसका कुनै पनि छिमेकी राष्ट्र खासगरी पूर्व सोभियत गणतन्त्रमध्ये कसैले पनि रूसलाई साथ दिएन।
युक्रेनलाई युद्धको माध्यमबाट नाटोमा जान रोकिएको भनेर रूसी प्रचार संयन्त्रले खुसी मनाउँला तर उनीहरू के कुरामा मौन बस्नेछन् भने युक्रेनको घटना देखेर कुनै बेला रूसी साम्राज्य अन्तर्गत नै रहेको र रूससँग झण्डै १४०० किमी सिमाना रहेको फिनल्याण्डले नाटो सदस्यताको लागि आवेदन दिने संकेत गरेको छ। सोभियतकालभरि नै फिनल्याण्डको तटस्थताको भूमिका पूर्व-पश्चिम सम्बन्धको नमूना मानिन्थ्यो।
सायद यस युद्धले पुन: दोहोर्याएको एक सकारात्मक सन्देश के होला भने युद्ध राष्ट्रहरूबीचको द्वन्द्व समाधानको उपाय हुनै सक्दैन। महान रूसी उपन्यासकार लियो टाल्सटायले बौद्ध दर्शनको अध्ययनको आधारमा अनिष्टकै पनि हिंसात्मक प्रतिकार निषेध हुनुपर्ने सन्देश दिंदै प्रश्न गरेका थिए, ‘के आगोबाट आगो निभाउन सकिन्छ ?’
प्रतिक्रिया 4