
जनकपुर । पछिल्लो केही समयदेखि जनकपुरधाममा सुस्ताएको कला र साहित्यसम्बन्धी गतिविधि बिस्तारै बढ्न थालेको छ ।
आवश्यक संरक्षण र सम्वर्द्धनको अभाव तथा कोरोना महामारीका कारण सुस्ताएको मैथिली कला, संस्कृति र साहित्यसम्बन्धी गतिविधि साहित्यकार तथा संस्कृतिकर्मीको सक्रियतामा बिस्तारै लयमा फर्किन थालेको हो ।
‘कोरोनाका कारण गतिविधि केही वर्षदेखि ठप्प जस्तै थियो,’ साहित्यकार एवं पत्रकार श्यामसुन्दर शशीले भने, ‘बिस्तारै गति लिन थालेको छ ।’ मिथिला कला, संस्कृति र साहित्यको संरक्षण तथा सम्वर्द्धनका लागि राज्यले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
मैथिली नाट्य कलापरिषद् र मैथिली विकास कोषले जनकपुरधाममा बर्सेनि विभिन्न कार्यक्रम गर्दै आएको थियो । ‘कोभिड-१९ को त्रास कम भएसँगै संस्थाको सक्रियता बढेको छ,’ शशीले भने ।
मैथिली कला, साहित्य र संस्कृतिको उर्वरभूमि मानिएको जनकपुरधाममा कला, साहित्य र संस्कृतिसम्बन्धी कार्य नहुँदा निराश बनेका कलाकार, साहित्यकार र संगीतकर्मी पछिल्लो समय उत्साहित बनेका छन् । पत्रकार एवं साहित्यकार हिमांशु चौधरी बिस्तारै गति लिएको कला, साहित्यको गतिविधिले उत्साह बढाएको बताउँछन् ।
एक महिनाको अवधिमा जनकपुरधाममा दुई साहित्यिक महोत्सव सम्पन्न भएका छन् । यही चैत २३ गतेदेखि कला, साहित्य र नाट्य महोत्सव हुन लागेको छ । तीन दिनसम्म चल्ने सो महोत्सव जनकपुरधामस्थित जानकी मन्दिर प्रांगणमा आयोजना हुँदैछ ।
प्रतिक्रिया 4