+
+

लस भेगासका रिङमा नेपालीलाई उतार्ने लक्ष्यमा म्याक्स

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ चैत २२ गते १३:१२

२२ चैत, काठमाडौं । पछिल्लो समय नेपालमा बक्सिङका गतिविधिहरु भइरहेका छन् । अन्तर्राष्ट्रियस्तरमा सहभागितादेखि लिएर स्कूल बक्सिङ च्याम्पियन पनि आयोजना भयो ।

पछिल्लो पटक २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले पुरुषमा दुई र महिलामा एक गरी तीन स्वर्ण जितेको थियो ।

अन्य विभिन्न घरेलु प्रतियोगितासमेत आयोजना भइरहेका छन् । यी सबै बक्सिङको अमेच्योर विधामा पर्छन् ।

१० चैतमा ठमेलको फरेनहाइट क्लबमा आयोजना भएको बक्सिङ भने केही भिन्न थियो । हामीले टेलिभिजनमा हेर्दै आएको जस्तो प्रो बक्सिङका खेल त्यहाँ भएको थियो ।

नेपाल प्रोफेसनल बक्सिङ कमिसन (एनपीवीसी) को तत्वाधानमा म्याक्स बक्सिङ प्रमोसनद्वारा भएको ऐतिहासिक दक्षिण एसियाली प्रो बक्सिङ च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

जहाँ मुख्य इभेन्टको रुपमा रहेको लाइट वेइट ६१ केजी तौलमा नेपालका महेन्द्र चन्द ठकुरीले भारतका मुक्केबाज सुमित सिंहलाई अंकका आधारमा पराजित गरे ।

यस्तै को-मेन इभेन्टको रुपमा रहेको सुपर लाइट वेइट ६३ केजी तौलमा नेपालका नेपालका अजित मगरलाई प्रतिष्पर्धात्मक खेलमा बंगलादेशका मुक्केबाज जोयनुल इश्लामसँग अंकका आधारमा पराजित भए ।

एलिट फाइटर सिरिज अन्तर्गत पहिलो इभेन्टको रुपमा रहेको च्याम्पियनसिपमा कूल १० खेलाडीले विभिन्न ५ तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।

पहिलो पटक नेपालमा दक्षिण एसियाली स्तरको प्रो बक्सिङ च्याम्पियनसिप गरेपछि आयोजक म्याक्स बक्सिङ प्रमोसनका संस्थापक म्याक्स बस्नेतले अझै तीन वटा सिरिज हुने बताए ।

एलिट फाइटर सिरिजको रुपमा रहने यस सिरिजको अन्तमा ७८ केजी तौल समूहको च्याम्पियन सिरिज हुनेछ । त्यसको विजेताले नगद ५ लाख र उपविजेताले नगद २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रो बक्सिङ च्याम्पियनसिपले नेपालको बक्सिङ खेल र नेपाली मुक्केबाजलाई व्यावसायिकतातर्फ उन्मुख गराउने नेपाल प्रोफेशनल बक्सिङ कमिसनका अध्यक्ष राजन प्रजापति बताउँछन् । ‘नेपाली बक्सिङलाई व्यावसायिकतातर्फ लैजान प्रो बक्सिङ च्याम्पियनसिपले सहयोग गर्नेछ’, उनी भन्छन् ।

१४ पटक राष्ट्रिय च्याम्पियन बनिसकेका म्याक्सले बक्सिङ खेलेर आफूले केही पाउन नसके पनि प्रो बक्सिङमार्फत आफ्नो इच्छा र चाहनालाई बघि बढाइरहेका छन् ।

नेपालमा बक्सिङलाई कुट्ने झगडा गर्ने खेलको रुपमा चिनिन्छ । यो खेल अझै व्यावसायिक रुपमा आगाडि आउन सकेको छैन । यस्तो अवस्थामा म्याक्स र उनको टिमले ठूलो चुनौतीलाई आत्मसाथ गरेको छ । ‘नेपालमा बक्सिङ नै अझ राम्रोसँग चिनिन सकिएको छैन, प्रो बक्सिङको लागि पनि चुनौतीपूर्ण छ’, म्याक्स भन्छन् ।

तर उनी आफ्नो लक्ष्यमा भने दृढ छन् । त्यसका लागि जे जस्तो चुनौती सामाना गर्नुपरे पनि डटेर लाग्ने सोचमा रहेको बताउने उनी भन्छन्, ‘हामीले केही पाउन सकेनौँ तर बक्सिङमा एउटा स्टार जन्माउन मन छ, कहाँ पुग्न के हुन्छ थाहा छैन तर काम गरिरहन्छु ।’

उनी बक्सिङ पनि अन्य खेल जस्तै रहेको र कुट्ने खेल मात्र नभएको भनेर चेतना जगाउन चाहन्छन् । उनी भन्छन्, ‘बक्सिङलाई धेरैले कुट्ने झगडा खेल भन्छन् तर यो त्यस्तो होइन । बक्सिङमा लागेर पनि जीवन बाँच्न सकिन्छ भनेर उदाहरण दिन मन छ ।’

त्यसका लागि उनी अहिले प्रो बक्सिङलाई चिनाउन लागिपरेका छन् ।

आफू खेल्दा खासै मतलव नहुने भए पनि अरुलाई खेलाउँदा भने धेरै कुरा सोच्न पर्ने उनले बताए । ‘अरुको बच्चा ल्याएर खेलाउँदा धेरै चिन्ता हुन्छ । आफू खेल्दा अरुको मतलव नै हुन्थेन ।’

बक्सिङका लागि म्याक्सले लिने भन्दा दिने काम धेरै गरेका छन् । यसमा लागेर लाखौँ रकम सकिएको बताउने उनी यसबाट टाढा भाग्न सक्दैनन् । बक्सिङलाई नै जीन्दगी मानेर उनी हिँडेका छन् ।

म्याक्स एउटा ठूलो लक्ष्य राखेर अघि बढिरहेका छन् । उनी भन्छन्, ‘मेरो अल्टिमेट ड्रिम नेपाली बक्सरलाई लस भेगासमा लगेर खेलाउन मन छ । अनी म टिकट काटेर ‘फ्रन्ट रो’ मा बसेर हेर्छु । मलाई धनी बन्नु छैन । बक्सिङ नै मेरो जीवन हो ।’

म्याक्सले नेपालमा बक्सिङ खेलको सम्भावना देखेका छन् । त्यसका लागि खेलाडीमा प्रतिभा र क्षमता पनि छ । तर एउटा सिस्टममा काम गर्नुपर्ने उनको बुझाइ छ । ‘पहिलो कुरा खेलाडीको लागि खेलेर बाँच्ने आधार हुनुपर्छ । २-४ लाख कमाउन गाह्रो नहोस् । एउटा राम्रो लाइफ स्टाल होस् भन्ने चाहना हो । त्यसका एउटा सिस्टम बसाल्नुपर्छ ।’

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?