+
+
कथा :

बन्दीपुरे मीना !  

लक्ष्मण सिटौला लक्ष्मण सिटौला
२०७८ चैत २४ गते ६:०४

हिंड्दाहिंड्दै गल्तीले एउटा अर्कै गल्लीमा छिरेछु। गल्लीभित्र घरहरू यति जोडिएका छन् कि कतै देख्दिनँ एउटा सानो दुलो जहाँबाट अलिकति हावा छिरोस्, अलिकति घाम छिरोस्, अनि अलिकति जूनको उज्यालो छिरोस्। छिरेपछि मलाई त सास नै फेर्न गाह्रो जस्तो भो। अलि अलि हावा बाहिर मूल सडकदेखि नै मेरो पछि पछि लागेर आएको थियो र पो धन्न। कसरी बस्लान् यहाँका मानिसहरू यस्तो अँध्यारो गल्लीमा।

अन्दाजी  साठी नाघेको कम वयमै यति बूढो देखिएको मानिस फुत्त साइकल चढेर आयो। मेरो पछाडि घण्टी बजायो। म अलिक सडक बीचमै रहेछु। होश नै भएन। कस्तो अचम्म गल्लीभित्र पार्दापार्दैको नयाँ रक्सीको गन्ध आइरहेको थियो। यसलाई खासै गन्ध भनिहाल्न पनि मिल्दैन आखिर खाने चिज न पर्यो यो पनि।

त्यो मान्छे साइकल लिएर मभन्दा करिब बीस हात अगाडि रोकियो। साइकल अड्यायो। टोपी झिकेर मुहारको पसिना पुछ्यो र फुत्त भित्र छिर्यो। गल्ली निकै लामो छ। मानौं एउटा अँध्यारो पुरानो सुरुङ जस्तो। उज्यालो पर मूल सडकदेखि नै पछ्याउँछ जो यो गल्लीभित्र छिर्छ। मानिसहरूको आवतजावत पनि त्यति छैन। सानो आवाजले बोल्यो भने पनि यहाँ ठूलो सुनिंदोरहेछ।

एउटा अग्लो घरको छिंडी मुनि छिरेको त्यो साइकलवाला केही खानेकुरा चपाउँदै अकस्मात् बाहिर निस्कियो। म विस्तारै विस्तारै त्यहाँको मौनता नियाल्दै हिंडिरहनु उसलाई अचम्म लागेछ र सोधे – “ए छौ नेवा: ख ? मैले बुझिनँ र अलमल परें। फेरि उनले नेपालीमा सोधे “तपाईं नेवार हो कि जस्तो लागेर बोलेको” । खोइ किन पो मलाई मुसुक्क हाँस्न मन लाग्यो भित्रैबाट। हाँसिदिएँ फिस्स र भनें “म नेवार त हुँ तर नेवारी बोल्न नआउने पहाडी नेवार।” ती पनि फिस्स हासें। 

म रोकिएँ। उनी पनि रोकिए। हामी दुवै आमने-सामने भयौं। अलिक वर आएर कुरा गर्न थालेपछि उनको मुखबाट आलो रक्सीको हरक आयो। तर त्यति धेरै नमीठो गन्ध चैं होइन है।

तिनको मुखबाट अघि सडक नै मगमगाउने गरेर आएको नयाँ रक्सीको बासनाले मलाई पनि तलतल जगायो। दिउँसै छ के पिउनु जस्तो पनि लाग्यो। “तातो रक्सीले अलिकति मजा दिइरहेको छ” उनको कुराले मेरो मुखमा पानी आयो। मलाई पनि पिउन मन लागेको छ भनेर भन्न सकिनँ। मनमनले सोचें यिनी गल्ली बाहिर निस्केपछि म त्यही छिंडीमा खुसुक्क छिर्छु र तातो रक्सी पिउँछु।

उनी साइकल डोर्याउँदै गल्ली बाहिर निस्किए। म त्यो गल्लीको छिंडी अगाडि उभिन पुगें। 

कस्तो रमाइलो दृश्य देखें…

नेवारी खाना। छोयला, कचिला, मम, मासको बारा, गेडागुडीको क्वाँटी, रागोको जिभ्रो फ्राई, हरियो लसुन सराबरी गरेर साँधेको भटमास आहा ! बाहिर बसेर एकछिन टोलाएको मात्रै के थिएँ एउटी भर्खरै एक्काइस/बाइस वर्ष लागेकी बैंस वयकी नेवार्नी मैचाले बोलाइन्। कस्तो मीठो बोली। 

-“छौ नेवा: ख दाजु” मैले अघि नै ती दाजुसँग कुरा गर्दा यसको अर्थ बुझिसकेको थिएँ। फेरि त्यही कुरो दोहोर्याएँ । 

नेवा: ख तर पहाडी नेवा:। 

तिनी मुसुक्क हाँसिन् र भनिन् ”ए हाम्रै जातभातको हुनुहुँदोरहेछ।”

आफ्नो जात मिल्यो भने यो शहरमा अर्कै स्नेह मिल्दोरहेछ। भित्र छिरें। त्यहाँको खानेकुराले असाध्य लोभ्यायो। अनि सबैभन्दा लोभ्यायो यी नेवा: नारीको मीठो बोली वचनले। यिनको नवयौवनाले। यिनको मीठो मिजासले। अपनत्वको सजीवताले झनै नजिक पुर्यायो। मानौं यिनीसँगको मेरो दोस्ती धेरै पुरानो हो। दशैं नजिक आएकाले घरमा मरमसला र मिल्यो भने एउटा सानो खसी डोर्याउँला भन्ने सुरले कान्तिपुर आएको।

लामो मेच थियो। हाम्रो पहाडी स्कुलमा बसेर पढ्ने बेन्च जस्तै। अलिकति थकाइ पनि लागेको थियो। आजै गाउँबाट आएको। भोकै थिएँ। क्षेत्रपाटीको सुकुमानको भात होटलमा खाना खान्छु भनेको सुकु भेट भएन। त्यसकी  बुहारीको मिजास अलिक छुचो छ। बुहारी चैं अलिक महङ्या पनि छे। भादगाउँलेको पसलमा लुगाफाटो किन्नु थियो। नजानेर एक्कासि यो गल्लीमा छिरें …।

मेरो कुराले नेवा: नानीलाई छोएछ। मम एक प्लेट, चिउरा,  कचिला र छोएला अगाडि ल्याएर राखिदिइन्। खास त मैले मागेको पनि होइन उन्ले नै “तपाईंलाई बेस्सरी भोक लागेको छ यो खाँदै गर्नु” भनिन्। यस्तो भोक लागेको रहेछ कि हरेक परिकार यति मीठो थियो कि बयान गर्न सकिनँ…

यति मीठो खानेकुरा जिन्दगीमा खाएकै थिइनँ, कस्तो हात होला है!

यी हात त यस्तै हो नि हाहाहा”…तिनले हातै देखाइदिइन्।

तिनी रमाइली रहिछिन्। मलाई हात देखाइन्। सेता कोमल हात।

सलक्क परेका गोडा। फराकिलो निधार। गोल मिलेको पाखुरा। निदार पनि ठूलो। आँखामा अलिकति नजानिंदो पाराले गाजल लगाएकी। कपाल धागोले बाँधेर पछिल्तिर फर्काएकी। लामो कालो कपाल। कतै घुँगुरु परेको पनि थिएन। डम्म परेका राता ओठ।

लाली त होइन तर कस्तो रक्तवर्णकी। खासै शृङ्गार त केही गरेकै होइन र पनि कस्तो राम्री। धपक्क बलेजस्तो उज्यालो मुहार। नेवा: भैकन यति राम्री केटी आज पहिलोचोटि देखेको। 

के हेरिरहनुभएको मम खानु न सेलाउँछ अहिले

त्यो एक्कासि आएको मीठो आवाज मेरो कानबाट हुँइकिएर गयो। झसङ्ग भएँ। कस्तो मधुरकण्ठ बोली। एकैछिन चुप लागें। निशब्द भएँ। बोल्न मन लागेर पनि बोलिनँ। त्यही अघि वातावरणमा झङ्कृत भएको उनको मधु मिश्रित ध्वनिको प्रकम्पनले उछालिरहें आफैं केही बेर। 

मेरो मौनता देखेर तिनी फेरि बोलिन्।

किन नबोलेको नि! 

बोल्न भन्दा नि सुन्न मन लागेर!

अघि मात्रै आमाले तातो रक्सी पार्नुभएको छ पिउनुहुन्छ

अघि सडकमै यो रक्सीको वासनाले म मोहित भएको नि!

हो र सडकमै पुगेछ वासना ?

हजुर!

एउटा गिलास लिएर नेवा: केटी भित्र गइन्। तिनी हिंडेको पनि कस्तो सुहाउँदो। म हेरेको हेर्यै भएँ। अगाडि नि राम्रो पछाडिको चाल पनि त्यतिकै राम्रो। कस्तो मिलेको सबै कुरो। पृथ्वीमा यति राम्री सुन्दरीको पनि जन्म हुँदोरहेछ। मम खाएर म चिउरा चपाउँदै थिएँ। खाना सबै मीठो लाग्यो। उनी भित्रबाट गिलासमा हल्का बाफै आइरहेको रक्सी लिएर आइन् र हातमा दिएर अलिकति झुकिन्।

सगुन हो पैसा तिर्नुपर्दैन यसको । फेरि पिउनु भो भने मात्रै पैसा लिन्छु है!

धेरै अघि आमा जीवितै हुँदा आमाले दिने न्यानो स्नेह जस्तो पो पाएँ मैले। यो नेवा: केटीमा हुर्किएको आदरता कस्तो मायालु।

कतै कहीं नबिझाउने मान्छे पहिलो चोटि देखें। म आमाबुवा नभएको एउटा टुहुरे अविवाहित केटो थिएँ। कहिलेकाहीं कामविशेषले सहर आइरहनुपर्छ। असन, इन्द्रचोक, ठहिटी, बसन्तपुर, क्षेत्रपाटी, ठमेल हाम्रो बा हजुरबाको पालादेखि किनमेल गर्ने ठाउँ। बा बितेको दुई वर्ष भो। नत्र म प्रायः बासँगै आउँथें सहर। दुई भाइ बहिनी थिए मेरो जिम्मामा। सौतेनी आमा पनि हुनुहुन्छ  साथमा। भाइ सानै छ। बहिनी १४ वर्षकी भै। पढ्न स्कुल हालेको स्कुल टाढा भो भनेर बीचैमा छोडेर कान्छी आमालाई घरधन्दा सघाउँछे। मेरो बिहे भएको छैन। दुई/चार गरा खेत छन्। अरुको ज्याला मजदुरी गर्नुपर्दैन। सालको सय मुरी जति धान बेच्छौं। दुख त छ तर दुख अनुसार उब्जनी पनि छ। गाउँका सबैलाई परेका बेलामा दिन ख्वाउन सकिन्छ। खान लाउन र परेका बेलामा खर्च गर्न सक्छु। आफूले खासै नजोडे पनि बाउले मनग्गे जोडिदिएका छन्। हुनत पुर्खाको सम्पत्तिमा के गर्व गर्नु त्यो जोड्दा उहाँहरुको पसिना कति झरे होलान्। आजसम्म इज्जतमा बसेका छौं। कहिलेकाहीं यसो जातैले पाएको त हो नि भनेर एक/दुई गिलास रक्सी चैं पिउँछु। नत्र भने अरु त्यस्तो नराम्रो बानी केही छैन। कसैको दुश्मनी पनि हुनुपरेको छैन….।

नेवा केटीले मेरो कुरालाई धेरै चासो दिएर  सुनिरही। गफ गर्दागर्दै कति धेरै खाइसकेछु पत्तै भएन। अब त मज्जाले अघाएँ। अघिसम्म शून्य र नीरस लागेको गल्ली अहिले किन यस्तो रमाइलो लागेको मलाई ? यति धेरै मीठा खानेकुरा श्रद्धा र मायाले ख्वाउने यी राम्री नवयौवना नेवा केटी बिहे गरेर घरजम गर्न पाए म यो धरतीलाई स्वर्ग बनाउँथें। तर सहरमा हुर्केकी केटी पहाड जान के मान्ली खै। मैले उसको उमेर सोधें –

कति वर्ष हुनु भो

बाइस वर्ष 

मभन्दा तीन  र्षले कान्छी हुनुहुँदोरहेछ 

तपाईं पच्चीस हुनु भो ?

बिहे कहिले गर्ने त अब ?

बिहे भैसक्यो नि मेरो

ओहो होइन होला पत्याइनँ

हो नि अघि भर्खरै साइकल चढेर आउने मेरो श्रीमान् हो नि! रक्सी खान आएको। असाध्य रक्स्या छ। झगडा मात्रै गर्छ।  रक्सी खान मात्रै आएको होइन म भट्टीमा बसेर को–को केटासँग बोल्छे भनेर चियो गर्न  पनि आएको। उसले अरु केही गर्न  सक्तैन खाली चियो मात्रै गर्छ। खै उसलाई पनि रक्सीले टिबि पो  भैसकेको हो कि। यता आएको बेलामा खोक्छ अचाक्ली! 

  – उफ ! ए अघि साइकलमा जाने ती बुढादाइ तपाईंको लोग्ने हुन्!

हजुर 

म मूर्छा परें। छाती दुख्यो। सारा गल्ली नै भैंचालोले हल्लिए जस्तो लाग्यो।  दुखी भएँ। मन चिसो भयो। यो कस्तो अनमेल बिहे हो।

यसरी नि बिहे हुन्छ र! बाउ भन्न सुहाउने लोग्नेमान्छेलाई कसरी श्रीमान् भन्दिहुन् यी नेवा केटी। म मौन भएँ। मलाई खलखली पसिना आएको देखेर तिनी बोलाउँछिन्।

के भो अनायास चुप लाग्नु भो नि!

खै के भो भो, छाती अवरुद्ध भो, नसोचेको भो, जे भो नजाती भो!

मेरो बिहेको कुराले हो ?

हजुर

लामो कथा छ मेरो जिन्दगीको। तपाईं सुन्न सक्नु हुन्न। फेरि  कथा भन्दा भन्दै रक्सी खाने निहुँले मलाई छड्के हान्न आउनु हुन्छ। मेरो कथा अधुरो नै होला। तपाईंलाई दुख्ला। किन दुखाउ  म तपाईं एकछिन आउनुभएको ग्राहकलाई।

यो घरमा तपाईं बाहेक अरु को को छन् ?

, सासू र श्रीमान् तीन जना मात्रै

कति वर्ष भो बिहे गरेको ?

बिहे गरेको होइन मलाई उहाँले किनेको

कति हजारमा ?

खै मेरो बाउले यहीँ छोडेर गए। कतिमा पो बेचे के जानूँ ?

माइती कहाँ हो तपाईंको ?

बन्दीपुर 

कति वर्ष भो बिहे गरेको ?

दुई वर्ष

सन्तान भएको छैन?

छैन। मैले बच्चा नपाउने शर्तमा बिहे गरेको। उहाँको जेठीका  दुई छोरा छन्। उहाँले मलाई बिहे गरेपछि परिवार नियोजन गरेको।

यो घरमा सासू र म मात्रै बस्छौं। उहाँ उतै जेठी स्वास्नीसँग  बस्नुहुन्छ। मैले कमाएको पैसा मात्रै लैजानुहुन्छ। 

के नाम हो तपाईंको ?

मीना श्रेष्ठ। 

– अनि हजुरको नि ?

मधु श्रेष्ठ

करिब तीन घन्टा बित्यो। एघार बजे यो गल्लीमा झुक्किएर छिरेको म। अहिले दुई बज्यो। सारा जगत घुमेजस्तो लाग्यो। उनी कसरी बेचिइन त्यो कथा मलाई सुन्न मन लागेन। उनीप्रति असाध्य माया लाग्यो। मलाई असन जानुथ्यो जिरा र अरु मरमसला किन्न। मीनालाई एउटा कुरा भन्न मन लाग्यो। भनुँ पनि कसरी। अर्काकी श्रीमती। छोरी बेच्ने बाबुलाई मन मनले धिक्कारें। म बसुन्जेल त्यहाँ अरु कोही ग्राहक पनि आएनन्। हामी दुई मात्रै भयौं। सासू दमको बिमारी रहिछन्। त्यही दमग्रस्त बिमारी सासूलाई स्याहार्नु र रक्सी बेच्नुको विकल्प रहेनछ तिनको। 

एउटा कलिलो घाम पूर्वबाट उदाइरहेको जस्तो मुहार लिएर जीवनलाई सहजसँग पार लाउँदै गरेकी मीना देखेर म बेचैन बनें केहीबेर।

तिनी मसँग नजिक भइन्। मैले भनें- तपाईंको जीवन देखेर मलाई कस्तो माया लाग्यो अनि लोभ पनि। आज कुन साइतमा म यो गल्लीभित्र पसेछु। एउटा कुरा भन्न मन लाग्यो भनौं ?”

भन्नु न 

गाली नगर्ने भए मात्रै भन्छु

गर्दिनँ किन गाली गर्नु र यति राम्रो मान्छेलाई

मलाई तपाईंको असाध्य माया लाग्यो। म भगाएर लैजान्छु जाने?

खै के भनुँ। तपाईंलाई पहिलो चोटि देखिरहेछु। कसरी विश्वास गरुँ। आफ्नो बाउले त यहाँ बेचेर गए। म कसको विश्वास गरुँ ?

जिन्दगी नै एउटा प्रश्न भएर उभिएको छ यतिबेला। दुखमा छु भनुँ भने पनि कसैले पत्याउँदैन अनि सुखमा छु भनुँ भने पनि बाबुद्वारा बेचिएकी छु।

मैले तपाईंलाई  तपाईंको बाबुले बेचेको मूल्य त्यो मानिसलाई तिरें भने के तपाईं यो घरबाट मुक्ति पाउनुहुन्छ त ?

मलाई उसले उसको श्रीमती भन्छ अनि के गरुँ?

सँगै बस्नुभएको छ आजसम्म कहिल्यै ?

तपाईंको मतलब ?

तपाईं र ती दाइसँगै रात काट्नुभएको छ कहिल्यै ?

छि त्यस्तो गन्हाउने रक्स्याहा बुढोसँग को सुत्छ?

त्यसो भए तपाईं आजसम्म पवित्र हुनुहुन्छ

म बिटुलिएकी छैन।

यति सुनेपछि मेरो आत्मा यति प्रसन्न भो कि सीमा नै रहेन। केहीबेर म त खुसीले भक्कानिएँ। मलाई मन परेकी स्त्री चोखी भएकीमा। केहीबेर अँध्यारो लागेको गल्ली त एउटा कुनै भव्य दरबारको आँगन जस्तो लाग्यो। खुसीले यति गद्गद् भएँ कि एक गिलास रक्सी मागें। सारा खुसी उनलाई दिउँ जस्तो लाग्यो। मन मनले सोचें अब मौका यही हो यिनलाई भगाउँछु। घरमा लिएर जान्छु। धुमधामसँग बिहे गर्छु। यति राम्री दुलही कसरी पायौ भन्लान् गाउँलेले अनि मेरो फुर्ती अर्कै हुनेछ र म भन्नेछु- हाम्रो धेरै वर्षदेखि प्रेम थियो। ज्यान नै तातो भएर आयो। भोक फेरि लाग्न थाल्यो। मन खुसी र उमङ्गले गद्गद् हुन थाल्यो। 

केहीबेरपछि आधा गिलास रक्सी लिएर मीना बाहिर आइन् साथमा ती असी हिउँद बिताएकी अस्थिपञ्जर भएकी सासूलाई लिएर। म झस्किएँ। ओहो यस्ती बृद्ध सासूलाई यति मायाले पालेकी छिन् यिनले। रक्सी टेबुलमा राखिन्। आमा रोगी हुन् तर जून जस्तै उज्यालो मुहार। काटीकुटी मेरै आमाको जस्तो अनुहार पाएँ मैले। यस्ती ममतामयी आमाको दर्शनले आज धन्य भएँ।

ती आमाले स्नेहले मेरो कपाल सुमसुम्याइन्। म भावुक भएँ। आफ्नी आमालाई सम्झेर। मीनालाई मैले भगाएर लगें भने यी आमै एक्ली दुखी होलिन्। यिनलाई कसले एक गाँस तातो पकाएर ख्वाउला नि ! उफ ! सम्झिंदा नि सास फुलेर आउँछ। यिनी त अन्धकारमा फसेको एक्लो जून जस्तै होलिन् हरे !

यस्ती आमाको हातबाट मैले उनको जीवन रक्षक नै भगाएर लगें भने मलाई कति पाप लाग्ला है। आमाको मुहार हेरें। एउटा निर्दोष फूल अन्तिम बसन्त कुरिरहे जस्तो हाँगाबाट झर्नलाई।

चित्त जल्यो। आमाको त्यो आर्द्र करुणा देखेर खै किन पो हो सवत बर्ष अगाडि बितेकी आमाको याद फेरि बेस्सरी आयो। काटीकुटी आफ्नै आमाको मुहार। सेतै चामल जस्तै भए पनि फुलेका कपालमा धागो लाएर बाटिदिएकी ! नुहाएर सफा राखिदिएकी। असी वर्षको मान्छे कतै शारीरिक खोट र चोट छैन। यसरी त आफ्नै छोरी भए पनि के पाल्थे र! अझ छोराको त कुरै नगरु! अघि देखेको त्यो स्वप्नलोकबाट म झरें। म खसें जिन्दगीको एउटा यथार्थ सत्यको पोखरीमा। मनमनले सोचें …. भो आमा ! यो अशक्त उमेरमा मीनालाई तपाईंको साथबाट खोसेर  त्यस्तो क्रूर अपराध म किन गरुँ ? बरु म जिन्दगीभरी अविवाहित नै बसुँला। किन चाहियो र मलाई श्रीमती तपाईं जस्ती आमालाई रुवाएर। आमा भित्तातिर फर्किएर खोक्न थालिन्। तिनको मुखबाट रगतका फाल्सा आइरहेको देखें। मीनाले हात थापिन् ती आमाको रक्त खकार  र माथि ओछ्यानमा लिएर गइन्। आमा दैलोभित्र छिरेपछि एउटा उज्यालो ज्योति पनि भित्र छिरेजस्तो लाग्यो।

मीना तल आइन्। मेरो मूड बदलियो। अर्कै लाग्यो यो विश्व जगत। पैसा तिरें। फेरि त्यही गल्ली हुँदै बाहिर निस्किंदै थिएँ। ती दाजु अर्थात् मीनाका श्रीमान् अघिकै बाटोमा भेटिए। यतिबेला तिनले थामिनसक्नु गरेर रक्सी पिइसकेका रहेछन्। मलाई देखे। यो समय भने तिनले मलाई चिने कि चिनेनन् थाहा छैन। तर फेरि एउटा पहाडी केटो देखेर  त्यही वाक्य दोहोर्याए-

ए बाबु ! नेवा: ख ? बिहान पनि र बेलुका पनि किन यिनले मलाई नेवार हो ? भनेर सोधे मैले केही बुझिनँ। म असनतिर लम्किएँ। सूर्य चन्द्रागिरिको डाँडामाथि अस्ताउन ठिक्क परेको थियो।

-टोखा नगरपालिका-११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?