+
+

अमर्यादित मन्त्री मनाङे : अपशब्द बोल्ने, कर्मचारीमाथि जाइलाग्ने

कर्मचारी ओझा भन्छन् : अपशब्द बोल्दै जाइ लागे, त्यो मन्त्रालय अब जान्नँ

अमृत सुवेदी अमृत सुवेदी
२०७८ चैत २४ गते १९:२६

१४ चैत, पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ‘उद्यमी युवा, समृद्ध प्रदेश निर्माणमा टेवा’ कार्यक्रम ल्याएको थियो । युवा उद्यमीलाई अनुदान दिने गरी सरकारले ल्याएको यो कार्यक्रमका निम्ति दुई करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको थियो ।

युवा तथा खेलकुद मन्त्रालयले कार्यान्वयन गर्ने यो कार्यक्रमको कार्यविधि मस्यौदा समितिले मस्यौदा गरेर सम्बन्धित महाशाखा प्रमुख, सचिव हुँदै तीन महिनाअघि मन्त्रीबाट सदर भएको थियो ।

उक्त कार्यविधिमा अनुदान प्राप्त गर्नको लागि फर्म वा कम्पनीको संस्थापक र सञ्चालक युवा (१६ देखि ४० वर्ष) भित्रको हुनुपर्ने उल्लेख छ । यदि फर्म सामूहिक भएमा कम्तीमा ५१ प्रतिशत युवा हुनुपर्ने प्रावधान राखिएको छ ।

गत मंगलबार गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि हातपात गर्नुको कारण कार्यविधिको यही प्रावधान भएको खुलेको छ ।

कार्यविधिमा राखिएको मापदण्डका कारण आफू भनेका धेरै मान्छेले अनुदान नपाउने अवस्था आएपछि मन्त्री मनाङेको ‘गुण्डा नाइके’ रुप प्रकट भयो । किन यस्तो मापदण्ड बनाइस् भन्दै अपशब्द बोलेका मन्त्री मनाङेले कर्मचारी प्रकाश ओझा माथि नै जाइलागे । यो घटना बुधबारमात्र सार्वजनिक भयो ।

मन्त्रीबाटै अपमानित भएपछि सात दिनको बिना लिएर बसेका सूचना अधिकारीसमेत रहेका कर्मचारी ओझा मानसिक रुपमा विक्षिप्त छन् । मन्त्रालयको सूचना अधिकारीसमेत रहेका ओझा त्यस दिन आफ्नै शाखामै थिए । मन्त्रीको स्वकीय सचिवका रुपमा मन्त्रालयमा काम गर्दै आएका रोनित गुरुङले फोन गरेर बोलाए ।

‘कार्यकक्षमा छिरेलगत्तै ए भाइ, के यस्तो मापदण्ड बनाएको ? तैंले के सोचेको छन् भन्दै अपशब्द बोल्नुभयो,’ कर्मचारी ओझाले अनलाइनखबरसँग भने, ‘तपाईं मन्त्रीज्यू हो, दाजुभाइ मानेर सहँदै आइएको छ, यसरी बोल्न पाइँदैन र यसरी बोल्न मिल्दैन भनें । तँ तँ र मम गर्दै मा..मु..भन्दै अपशब्द प्रयोग गर्दै झम्टिन आइपुगे ।’

आफैंले सदर गरेको कार्यविधिको व्यवस्थाप्रति असन्तुष्टी जनाउँदै मन्त्री मनाङे कर्मचारीमाथि दुब्र्यवहार गरेका हुन् । त्यो घटना हुदा मनाङेको कार्यकक्षमा ५/७ मानिसहरु थिए । मन्त्री जाइलागे पनि उनीहरुले छुट्याए । मन्त्री कुर्चीमा बसेर यसलाई बाहिर निकाल भन्दै जंगिएका थिए ।

‘निकाल्नै पर्दैन, म आफैं निस्कन्छु माननीयज्यू भनेर म बाहिर आएँ । म सिधै मन्त्रालयका सचिवज्यूकोमा पुगें । घटनाबारे सचिव बद्री अधिकारीलाई बताएर उनी प्रमुख सचिव रविलाई पन्थलाई जानकारी गराउन पुगेका थिए ।

‘गरिरहेको काम सचिवज्यू र अर्को शाखाका साथीलाई मेल गरेर एक जना साथीसँग प्रमुख सचिवज्यूलाई भेट्न गएँ । म खेलकुद मन्त्रालयमा काम गर्न नसक्ने भएँ भनेँ,’ ओझाले सुनाए ।

गुण्डागर्दी पृष्ठभूमिबाट आएर प्रदेश सांसद हुँदै मन्त्री बनेका मनाङेले यसअघि गत मंसिरमा पनि एक जना उपसचिवलाई पिटेका थिए । बिहीबारमात्र अवकाश लिएका उपसचिव तेजनाथ काफ्लेलाई मनाङेले आफ्नै टेबलमाथि रहेको सीसाको पेपर वेटले हानेका थिए । त्यतिबेला पनि यो घटना मुख्यमन्त्रीसम्मै पुगेको थियो । तर, त्यो विषयलाई भित्रभित्रै थामथुम पारिएको थियो ।

अहिले फेरि युवा तथा खेलकुद शाखाका प्रमुख ओझामाथि मन्त्री मनाङे अपशब्द बोल्दै जाइ लागेको भोलिपल्टमात्र सार्वजनिक भएको थियो । अपमानित भएको र त्रासका कारण आफूले सात दिनको बिदा लिएर मोबाइलसमेत अफ गरेर बसेको ओझाले बताए ।

मन्त्री मनाङेको दुर्व्यवहारमा परेका कर्मचारी प्रकाश ओझा ।

‘मन्त्री आफैंले सदर गरेको मापदण्डको रिस एउटा कर्मचारीविरुद्ध देखाउनुभयो । मन्त्रीजस्तो मान्छे भएर अपशब्द नबोल्नुस् भन्दा ममाथि नै जाइ लाग्नुभयो,’ कर्मचारीले ओझाले भने, ‘सरकारी अधिकृतको रुपमा सेवा थालेको १० वर्ष भयो, यति धेरै अपमानित महसुस कहिल्यै गरेको थिइनँ ।’

ओझाले अघि भने, ‘तैंले ५१ प्रतिशत युवा हुनुपर्ने किन राखिस् ? भन्नुहुन्छ । आफैंले सदर गरेको मापदण्ड हो । मन नपरे मन्त्रालयबाट स्वीकृत मापदण्डको परिमार्जन वा बाधा अड्काउ फुकाउन सकिने अवस्था हुँदा हुँदै म जाइ लाग्नु भयो, हालसम्म कुनै पनि पनि अनुदान बाँडिएकै छैन । अधिकृतले अनुदान बाँड्न मिल्ने कुरा पनि होइन ।’

यो कार्यक्रमका लागि १ सय ५७ वटा निवेदन परेको छ । कार्यविधिअनुसार अधिकतम ५ लाख रुपैयाँसम्म अनुदान दिन मिल्छ । त्यसको मूल्यांकन तथा सिफारिस समिति युवा तथा खेलकुद माखाप्रमुखको संयोजकत्वमा ५ सदस्यीय समिति छ ।

‘जे काम गर्न पनि मन्त्रालयमा संयन्त्र हुन्छ । प्रक्रिय हुन्छ । सचिवज्यू हुनुहुन्छ । मन्त्रीले व्यक्ति व्यक्ति बोलाएर थर्काउनुहुन्छ । अपशब्द बोल्नुहुन्छ । यो प्रवृत्ति त मन्त्रालयमा हुनुभएन,’ कर्मचारी ओझा भन्छन् ।

मन्त्री मनाङेबाट पीडित हुने कर्मचारी ओझा र काफ्लेमात्र होइनन् । अन्य कर्मचारीलाई पनि कार्यकक्षमा बोलाएर अपशब्द बोल्ने, तिमी, तँ भनेर बोल्ने गरेको धेरैको गुनासो छ ।

‘म कसैको रैती होइन, नागरिकको सम्मान हुनुपर्‍यो । मनाङे प्रवृत्तिको धेरै जना पीडित हुनु परेको छ,’ ओझा भन्छन्, ‘अब युवा तथा खेलकुद मन्त्रालयमै गएर काम गर्न सकिँदैन । त्यत्रो मान्छेहरुका अगाडि अपमान भएको छ । हान्छु, मार्छु भनिएको छ ।’

मन्त्री मनाङेले न मन्त्रालयको मर्यादा कायम गरेका छन् न त मन्त्री भइसकेपछि उनको मति सुध्रिएको छ । अन्टसन्ट बोलेर चर्चामा आइरहने मनाङले गण्डकीमा संसदीय अंक गणितको फाइदा उठाउँदै तीन पटक मन्त्री भइसकेका छन् ।

पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा २ पटक खेलकुद मन्त्री बनेका मनाङेले कांग्रेस नेतृत्वको गठबन्धनलाई पनि साथ दिएर तेस्रो पटक बन्न सफल भएका हुन् । यसअघि कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई कुटेर मनाङे प्रक्राउ परेका थिए ।

मन्त्री भइसकेपछि पनि मनाङे अभिव्यक्ति र व्यवहारका कारण चर्चामा आइरहन्छन् । कर्मचारी कुटेको विषयमा पनि ‘आफूले पिटेको भए मर्थ्यो, सम्झाएको मात्र हो’ भनेर अभिव्यक्ति दिएका छन् । मन्त्रीले कर्मचारीलाई मर्यादा बिर्सेर कुरा गर्ने गर्दै आएका छन् भने मन्त्रालयमै चुरोट, रक्सीसमेत खाने गरेको गुनासो कर्मचारीहरुको छ ।

मन्त्री मनाङेले यसअघि सहयोगीलाई प्रवक्ता तथा कार्यवाहक मन्त्रीको जिम्मेवारी दिएको अनलाइनखबरमा खबर सार्वजनिक भएसँगै आलोचित भएका थिए । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललेसमेत हटाउन निर्देशन दिएपछि पछि मनाङेले प्रवक्ता र कार्यवाहकबाट हटाएका थिए ।

मन्त्री मनाङेको सचिवालयमा पनि को हुन्, को होइनन् भन्ने कर्मचारी नै अन्योलमा पर्ने गरेका छन् । रोनित गुरुङ मन्त्रीको स्वकीय सचिवको रुपमा सुरुदेखि नै काम गरेको भए पनि मुख्यमन्त्रीको कार्यालयबाट अधिकृतसरहको प्रमुख स्वकीय सचिवको रुपमा युनिका गुरुङ र नायव सुब्बा सरहको स्वकीय सचिवको रुपमा दिक्छेन डोल्मा लामाले पारिश्रमिक तथा सुविधा लिइरहेका छन् । दिक्छेन मनाङेकै श्रीमती हुन् ।

अहिले मन्त्रीको सचिवालयमा विशाल बरालले पनि काम गर्दै आइरहेका छन् । पोखरा महानगरपालिकामा जागिर खाइरहेकी माया गुरुङले पनि विज्ञको रुपमा काम गर्ने गरेको एक कर्मचारीले बताए ।

‘सचिवालयमा को को हुन् भन्ने नै थाहा हुँदैन । कहिले को आएर फाइल माग्छन्, कहिले कसले फोन गर्छन्,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘कर्मचारीहरु त्रासमा काम गर्नुपर्छ ।’

कर्मचारी ओझाले मन्त्रीले गरेको दुर्व्यवहारबारे सचिव बद्री अधिकारीलाई समयमै जानकारी गराएको भए पनि उनी पनि कर्मचारीमाथि जाइ लागेको विषयमा बोल्न डराए । अन्य कर्मचारीहरु पनि मन्त्रीका विषयमा बोल्न डराउँछन् ।

‘न मन्त्रालयको मर्यादा छ न मन्त्रीको हैसियतको हेक्का छ । बोली र शब्दहरुको त छन्, कुरागरी साध्य छैन । अपशब्द सुनेर फर्किने कर्मचारी धेरै छन् । कसले बोल्न सक्ने ? मनपरी छ,’ एक कर्मचारीले भने, ‘उहाँले भनेपछि सकियो, कानुन र प्रक्रियाको ख्याल छैन ।’

मनाङे मन्त्रिपरिषदको बैठकमा पनि कमै सहभागी बन्छन् । सरकारका नीति तथा कार्यक्रम र बजेटबारे पनि उनलाई मतलब हुँदैन ।

‘बिहीबारको मन्त्रिपरिषद बैठकमा पनि उहाँ सहभागी हुनुभएन । एकदमै कममात्र उहाँ मन्त्रिपरिषदमा सहभागी बन्नुहुन्छ,’ सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधारमन्त्री कुमार खड्काले भने ।

मनाङेको व्यवहारले गठबन्धन सरकारलाई नै बदनाम गर्ने काम गरिरहेको छ भने यो व्यवस्थामाथि नै प्रहार गर्नेहरुलाई मलजल भइरहेको कांग्रेसकै मन्त्रीहरु बताउँछन् ।

विभिन्न कर्मचारीका संगठनले बिहीबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटेर कर्मचारीको मनोबल उच्च हुने वातावरण सिर्जना गराउन ध्यानाकर्षक गराएका छन् । नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठनका प्रदेश कमिटीले मुख्यमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।

‘कर्मचारीलाई स्वतन्त्र ढंगले त्रासमुक्त भएर काम गर्ने वातावरण मिलाउनुपर्‍यो । मन्त्री नै भौतिक आक्रमण उत्रिनु खेदजनक छ,’ नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश अध्यक्ष दीपक रेग्मीले भने, ‘गैरकानुनी हिसाबले काम भएको छ भने कानुनी हिसाबले नै कारबाही गर्नुपर्‍यो, त्यसको लागि बेग्दै निकाय छन् ।’

नेकपाको सरकार हुँदा संसदमा पनि २ तिहाई पुर्‍याइदिएका मनाङेले संसद छिरेदेखि नै चर्चा बटुलिरहे भने दलहरुको विभाजनको फाइदा लिँदै मन्त्री बन्न सफल भए । २०७४ मंसिरमा भएको प्रदेशसभा चुनावमा मनाङे ‘ख’ मा स्वतन्त्र उम्मेदवार बनेका मनाङे एमालेको साथ पाएर निर्वाचित भएका हुन् । तर सुरूमै सपथ दिन पाएनन् । २०७४ माघ ७ गते गण्डकी प्रदेश सभाका सबै सांसदले शपथ लिँदा ज्यान मार्ने उद्योग सम्बन्धी पुरानो मुद्दा ब्यूँतिएका कारण मनाङे फरार थिए ।

नयाँ फौजदारी संहिता ऐनको १९४ ले १० वर्षभन्दा कम सजाय हुने मुद्दामा जेल नबसी मुद्दा लड्न पाउने सुविधा दिएपछि सर्वोच्चको आदेशमा पुस ६ गते कारागारमुक्त भएर १२ पुस २०७५ मा शपथका लागि प्रदेश सभा सचिवालयमा निवेदन दिए । तर, माघ १५ गतेमात्रै सपथ लिन पाएका थिए ।

संसद छिरेदेखि अहिलेसम्म मन्त्री मनाङेले कुनै छलफलमा भाग लिएका छैनन् भने मन्त्रीका हैसियतले कुनै जवाफ पनि दिएका छैनन् । तर, अभिव्यक्ति र व्यवहारका कारण सधैं चर्चामा भने रहँदै आएका छन् ।

दुखद् घटना घट्यो, गम्भीर ध्यानाकर्षण भएको छः मुख्यमन्त्री

मन्त्री मनाङेको कारण कांग्रेस नेतृत्वको गठबन्धन सरकारमाथि नै प्रश्न उठिरहेको छ । मनाङेलाई कारबाही गर्दा गठबन्धन सरकारलाई धरापमा पर्छ । जसका कारण आलोचित भए पनि पदमुक्त गर्न सरकारलाई जोखिम छ । मनाङेकै समर्थनमा पोखरेल नेतृत्वमा सरकार बनेकाले पनि कारबाही गर्न नसक्ने अवस्था छ ।

गण्डकी प्रदेशमा कांग्रेसका १५ सांसद छन् । माओवादीका सभामुखसहित १२, जनमोर्चाको २ र जनता समाजवादीका २ सांसद छन् । जनमोर्चाका सांसद कृष्ण थापा पद मुक्त भएपछि १ पद रिक्त छ । एमालेका २७ सांसद छन् । गठबन्धनको पक्षमा मनाङेकै समर्थनमा सरकार बनाउन बहुमत सांसद ३१ जना पुगेका हुन् ।

मुख्यमन्त्री पोखरेलले बुधबारै घटनाबारे छलफल गर्न भन्दै मन्त्री मनाङेले बोलाएका थिए । तर, मनाङे बिरामी परेको भन्दै मुख्यमन्त्रीसँग छलफल गर्न आएनन् ।

‘घटना सार्वजनिक हुनेबित्तिकै मन्त्रीजीलाई बोलाएको थिएँ । उहाँ बिरामी परेकाले पछिमात्रै छलफल गर्ने खबर आयो,’ मुख्यमन्त्री पोखरेलले भने, ‘जुन खालको घटना घट्यो, त्यो दुखद् छ । गम्भीर ध्यानाकर्षण भएको छ ।’ उनले यथार्थ बुझेर अगाडि बढ्ने बताए । मन्त्री मनाङेको हर्कतले गठबन्धनको सरकारमाथि नै प्रश्नहरु उब्जनु स्वभाविक भएको उनको भनाइ थियो ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?