+
+
कथा :

त्यो रात कसले आगो लगायो ?

छाया २० वर्षकी मस्त तरुनी थिइन् । यौवनले भरिँदै जाँदा उनको शरीरमा बेग्लै चमक देखिन्थ्यो । शरीर क्रमशः परिवर्तन हुँदै जाँदा मनको चञ्चलता पनि बढ्दै थियो । त्यसैले छाया घण्टौं ऐनामा आफ्नो यौवना नियाल्ने गर्थिन् ।

भूमिका कुमारी बिष्ट भूमिका कुमारी बिष्ट
२०७८ चैत २६ गते ८:०८

खेलामा नुहाउन गएकी छायाले भित्री वस्त्र खोल्दै पातलो सेतो चुन्नीले आफ्नो निर्वस्त्र शरीर छोपिन् । नुहाउँदै गर्दा उनले आफ्नो अनुहारदेखि पैतलासम्म साबुन लगाइन् । खोलाको पानीमा उनको सग्लो शरीरको प्रतिबिम्ब देखियो । त्यो सुकुमार शरीर कम्ता आकर्षक देखिएन ।

खोलाको पानीमा डुब्बी लगाएर माथि उठ्दा पानीभित्रै सेतो चुन्नीको अस्तित्व हरायो र चुन्नी अब सेतो मात्र रहेन । पानीसँगै सेतो चुन्नीले उनको सम्पूर्ण निर्वस्त्र अंग देखाइदियो । पानीले निथ्रुक्क भिजेको पारदर्शी चुन्नी शरीरमा लपक्कै टाँसियो । उनको नितम्ब र स्तन अब अरू प्रष्टसँग देखियो । लजाएर उनले दायाँबायाँ हेरिन् ।

खोला नजिकै रुखबाट कसैले हेरिरहेको पो छ कि ? उनलाई शंका लाग्यो । अनि हतारहतार शरीरमा टाँसिएको चुन्नी शरीरबाट निकाल्ने असफल प्रयास गरिन् । रुखबाट कसैले चिहाएको जस्तै लागे पनि उनले सोचिन्, यस्तो त उनलाई सधैं लाग्छ । खोलामा नुहाउँदा होस् वा पोखरीमा माछोलाई चारो दिंदा, उनलाई कसैले आफ्नो चियो गरिरहेको जस्तो आभाष हुन्थ्यो ।

अब उनी निर्धक्क नुहाउन थालिन् । कलकलाउँदो बैंसले भरिएको शरीर आकर्षक देखियो । चुन्नीले आफ्ना गोप्य अंगहरूलाई ढाक्ने जति प्रयास गर्थिन्, अर्कोतर्फ उत्ति नै उनको शरीर उदाङ्गो हुन्थ्यो । पोटिला छाती, छिनेको कम्मर, भरिएको नितम्ब, गोरा तिघ्रा । कुनै कालिगढले मेहनतसाथ खिपेर बनाएको अप्सरा जस्तै थिइन्, उनी ।

छाया रमाउँदै पानीमा डुब्की लगाउँदै गइन् । पानीभित्र हुँदा उनी सम्पूर्ण रूपमा नग्न जस्तै हुन्थिन् । पानीको सतहमाथि उठ्दा चुन्नीले आफ्नो अंग छोप्दै थिइन् । चुन्नीले आफ्नो कर्तव्य निभाइरहेको थियो । तर, पूरै भिजेकाले त्यसको खास अर्थ थिएन ।

छाया बुबा-आमाकी एकमात्र सन्तान । छायाका बुबाआमा एकअर्कालाई अधिक प्रेम गर्थे । उनीहरूको कोखबाट छाया जन्मिइन् । त्यसपछि अर्को कुनै सन्तान भएन । त्यसैले आमा-बुबाको लागि छोरा भनेपनि छोरी भने पनि उही छाया थिइन् ।

छाया संयुक्त परिवारमा हुर्किइन् । अमाबुबासँगै उनको घरमा हजुरआमा, काका-काकी पनि एकै छानोमुनि बस्थे । बस्तीको नजिकै बर-पिपलको चौतारो थियो । चौतारो नजिकै उनको घर थियो । छायाको घरको छानो घाँसले छाएको थियो । त्यसो त छायाको घर मात्र होइन, बस्तीका अधिकांश घर घाँसले छाएका थिए । छायाको घर नजिकै सानो पोखरी थियो, जहाँ उनीहरूले माछा पालेका थिए ।

छाया २० वर्षकी मस्त तरुनी थिइन् । यौवनले भरिँदै जाँदा उनको शरीरमा बेग्लै चमक देखिन्थ्यो । शरीर क्रमशः परिवर्तन हुँदै जाँदा मनको चञ्चलता पनि बढ्दै थियो । त्यसैले छाया घण्टौं ऐनामा आफ्नो यौवना नियाल्ने गर्थिन् ।

धानी काटिसकेपछि सबैले खेतमै परालको कुन्यु लगाएका थिए । एकातिर पहेंलो घाँसले छाएको बस्ती थियो भने अर्कोतिर पहेंलो परालले छाएको कुन्यु । खेत र बस्ती पहेंलपुर थियो । भर्खरै नुहाएर आएकी आएकी छाया त्यही परालको कुन्युनिर बसिन् । सधैंझैं ऐना अगाडि थियो । छायाको कपाल पनि परालझैं भएको थियो । छायाले आफ्नो कपाल र पराललाई हेरिन् । यतिबेला उनलाई आफ्नो रूप र यौवनले एउटा अनौठो मिठासको अनुभूति भयो ।

कपाललाई आफ्ना हत्केलामा ल्याएर आफैं सुम्सुम्याएर आफैंमा हराइरहेका बेला फेरि झस्किइन् उनी, कसैले उनलाई हेरिरहेको झैं लागेर । किन कसैले छायाझैं आफूलाई पछ्याइरहेको होला सोचेर उनी फेरि सोचमग्न भइन् । अनि मनमनै सोचिन् यो त मेरो प्रेम हो । जसले मलाई सधैं पछ्याइरहेको हुन्छ । कल्पनाको राजकुमार होला जसले सधैं पछ्याइरहेको आभाष हुन्छ । छाया बेजोडले हाँसिन् र खेतका आली हुँदै घर पुगिन् ।

पोखरीको माछालाई दाना दिने बहानाले छाया सधैं पोखरीतर्फ जाने गर्थिन् । पोखरीका माछालाई दाना दिँदैगर्दा उनी पोखरीमा आफ्नो प्रतिछाया हेरिन् । हुन त माछालाई दाना दिने त उनको बहाना मात्र हो । पानीको सतहमा आफ्नै आकृति नियाल्न आउने गर्थिन् । त्यही आकृति हेर्दै उनी नाच्ने गर्छिन् । हात अनि इन्द्रीयको मुद्रा मिलाउँदै नाच्न थाल्छिन् । यसरी नाचिरहँदा कसैले हेरिरहेको पो छ कि ? उनलाई यस्तै आभाष हुन्छ । उनका विस्फारित आँखा चारैतर्फ डुल्न थाल्छ । तर, आसपासमा केही देखिँदैन ।

छायालाई लाग्यो, कोही त्यहाँबाट भाग्यो । आफूलाई यसरी कसैले नियालिरहेको महसुस हुँदा आफ्नो नजरले घायल भयो कि क्या हो भन्दै मुस्कुराउन थाल्छिन् ।

छायाका दौतरीहरूको विवाह भइसकेको थियो । बस्तीमा छायामात्र अविवाहित थिइन् । एकदिन छायाको घरमा कोही पाहुना आएका थिए । ती पाहुना छायाका अंकलका साथीहरू हुन् भन्ने थाहा पाइन् । छायाको विवाहको कुरा गर्न आएका रहेछन् । तर, छायालाई विवाह गर्न मन थिएन । उनी किन विवाह गर्न चाहन्नन् ? यसको जवाफ उनीसँग पनि थिएन । उनलाई जुन अदृश्य व्यक्तिले पच्छ्याइरहेको हुन्छ, सायद उसैसँग मात्र पो विवाह गर्ने चाह हो कि ?

तर, उनको भावना कसले बुझ्ने ? न उनी स्वयम् यो कुरा कसैलाई भन्न सक्छिन् । अन्ततः छायाको विवाह पक्का भयो । छायाले आफ्नो हुनेवाला श्रीमान्को अनुहार हेरिन् । उनी कतिपनि आकर्षक लागेन । छाया त त्यही व्यक्तिको खोजिमा थिइन्, जो उनलाई हरदम पच्छ्याइरहेको हुन्छ ।

घरमा विवाहको तयारी भइसकेको थियो ।

सधैंझैं छाया खेतका आली हुँदै परालको कुन्युमा गइन् र आफ्ना कपाल खेलाउँदै बसिन् । तर, त्यो दिन कसैले पनि आफूलाई पछ्याइरहेको महसुस उनलाई भएन । उनी घर फर्किइन् । सधैंझै पोखरीमा गएर आफ्नो आकृति हेर्दै नाच्न थालिन् । त्यसदिन उनले नाचिरहेको पनि कसैले हेरे जस्तो लागेन । अनि छाया खोलातर्फ लागिन् । खोलामा नुहाउन थालिन् । निथ्रुक्क भिजिन् । तर, उनको यौवनालाई कसैले चिहाएर हेरेजस्तो लागेन । छाया अत्तालिँदै घर पुगिन् । उनमा बेग्लै छटपटी बढ्यो । कहाँ गए ती अदृश्य व्यक्ति जो आफूलाई सधैं नियालिरहेका हुन्छन् ?

अनि उनी आफैँतर्फ प्रश्न गर्न थालिन् । के उनी ती सबैकुरा उनै अदृश्य व्यक्तिलाई देखाउन गरिरहेकी छिन् ? खासमा त उनी आफ्नो यौवनमा रमाउन मात्र खोजिरहेकी थिइन् ।

के छ त्यो व्यक्तिमा जसलाई उनको आँखाले हरदम खोजिरहन्छ । छायाले धेरै प्रयास गरिन् तर अदृश्य व्यक्तिलाई भेटाउन सकिनन् । सायद विवाहको कुरा छिनेकाले ती व्यक्तिले उनलाई नियाल्न छाडेको हो कि ? उनी मनमनै दुःखी भइन् । फेरि उनले आफूलाई सम्हालिन् र त्यो कुनै भ्रम मात्र हो कि भनेर मन बुझाउने यत्न गरिन् ।

तर, उनी अझै खुसी हुन सकिरहेकी थिइनन् । केही कारणले विवाह रद्द भइदेओस् भन्ने उनलाई लागिरहेको थियो । विवाह रद्द भएको अवस्थामा फेरि ती अदृश्य व्यक्तिले आफूलाई पच्छ्याउन थाल्छ भन्ने उनलाई लागेको थियो । उनी आफ्नो विवाहको लागि राजी थिइनन् ।

उनको आँखा सधैं त्यही अदृश्य व्यक्तिलाई खोजिरहेको हुन्थ्यो । भ्रम नै सही, उनी एकतर्फी प्रेममा डुबिसकेकी थिइन् ।

विवाहको अघिल्लो रात । जुन-ताराको मधुरो उज्यालो थियो । सुस्त हावा चलिरहेको थियो । घरको पछाडिबाट कसैले बोलाएको झैं लाग्यो, उनलाई । उनी हतारिँदै त्यहाँ पुगिन् । तर, त्यहाँ कोहीपनि थिएन ।

केही समयपछि छायालाई आमाले बोलाइन् । छाया घरभित्र पसिन् । उनको मन बेचैन थियो । छायालाई लाग्यो, कसैले उनलाई बोलाएकै थियो तर आज उनी फेरि कतै लुक्यो । यो कुरा सम्झेर उनी थप विचलित भइन् ।

उनले मनमनै सोचिन्, ‘सायद ऊ मलाई लिन आएको हो ।’ उनी ती अदृश्य व्यक्तिसँग भेट्न आतुर थिइन् । तर, ती व्यक्ति किन आफ्नो सामुन्ने देखा पर्दैनन् ? के उसले आफूलाई पनि प्रेम गर्छ ? के आफ्नो विवाह भएपछि ती व्यक्तिसँग फेरि कहिल्यै भेट हुँदैन ?

यतिबेला छायाको हातमा मेहन्दी लगाइँदै थियो । जतिजति मेहेन्दीले उनको हात रंगिदै थियो, मन उत्तिकै बेचैन र अधीर हुँदै थियो । विवाह फगत सपना भइदिए हुन्थ्यो भन्ने उनलाई लाग्यो । विवाह यही रोकिए हुन्थ्यो भन्ने लाग्यो ।

रात छिप्पिँदै थियो । मध्यरातको समयमा एकाएक कोलाहाल मच्चियो, ‘आगो लाग्यो..आगो लाग्यो ।’ सबै घरबाट बाहिर निस्किए । खरले छाएका घरहरू दनदनी बलिरहेको थियो । मान्छेहरू आफ्ना सरसामान र बालबच्चा जोगाउन हतारिएका थिए । कोही ज्यान जोगाउन भाग्दै थिए, कोही गुहार माग्दै थिए । खोलाबाट पानी ल्याउँदै आगो निभाउन लागिपरेका थिए, तन्नेरीहरु । तर, घाँसको छानो जल्न कतिबेर लाग्थ्यो र ? निमेषभरमै बस्ती खरानी भइसकेको थियो ।

गोठमा बाँधेका गाईभैंसी कति जलेका थिए, कति मरेका थिए । बस्तीमा मान्छेहरू रोएको आवाज विरक्तलाग्दो सुनिन्थ्यो । बस्ती पूरै शोकमा डुबेको थियो ।

तर, छाया शोकमा थिइनन् । बरु उनी मनमनै खुसी थिइन् । किनभने बस्तीमा भएको यस्तो विध्वंशले गर्दा उनको विवाह रद्द हुने निश्चित थियो ।

तर, आफ्नै घरको हालत देखेपछि उनी खुसी भइरहन सकिनन् । आमाबुबाको अनुहार देखेर उनलाई पिर पर्‍यो । उनलाई आफ्नो यौवन र प्रेमले होइन, बस्तीको दुर्दशाले पोल्न थाल्यो ।

आखिर बस्तीमा कसले आगो लगायो ? कसरी लाग्यो । यदि कसैले आगो लगाएको हो भने त्यो व्यक्ति कहाँ गए ? छायाले सोच्न सकिनन् ।

दिनहरू बित्दै गए । गाउँ छिमेकीले दुःखजिलो गरी आफ्नो छाप्रो हाले । उनीहरू आ-आफ्नै काम धन्दामा फर्किए । अब बस्तीमा सबैजसो पुरानै दिनचर्यामा फर्किएका थिए ।

छाया पोखरीमा नगएको धेरै भइसकेको थियो । उनी माछाको लागि दाना बोकेर पोखरीतर्फ लागिन् । पोखरी छेउ केही मकैको दाना थियो । छायाले मकैको दाना पोखरीमा हुर्र्‍याइन् । अनि पानीको सतहमा आफ्नो आकृति नियाल्न थालिन् । धेरैपछि आफ्नो सग्लो आकृति हेरेर उनी मुस्कुराइन् । तर, आज उनलाई आफ्नो आकृति हेरिरहँदा फरक महसुस भइरहेको थियो । किनकि उनी यतिबेला किशोरीको पहिरनमा थिइन् । उनले सोचिन्, ‘बस्तीमा आगो नलागेको भए यतिबेला म दुलहीको पहिरनमा हुने थिएँ ।’ उनी यति चाँडै दुलही बन्न चाहन्नथिन् ।

बस्तीमा आगो लागेपछि उनले फरक फरक महसुस गरिरहेकी थिइन । फरक उनको मौनतामा थियो । आगो लागेपछि छायालाई कसैले पछ्याएझैं लाग्न छाडेको थियो ।

छायालै मनमनै एउटा कुरा भनिन् ,’मैले गरेका महसुस सबै सत्य हो भने त्यो रात बस्तीमा आगो लगाउने व्यक्ति त्यही हो जसले मलाई सधैंं नियाल्ने गर्छ ।’

साँझ आफूलाई बोलाउँदा ऊ पक्कै लुकेको हुनुपर्छ । ऊ पक्कै मलाइ लिन नै आएको होला तर मलाइ लैजान नसकेपछि बस्तीमा आगो लगाएको हुनुपर्छ । आफ्नो प्रेमलाई अर्काकी हुनबाट जोगाउन उसले त्यो रात बस्तीमा आगो लगाएको हुनुपर्छ, छायाले यही अड्कल काटिन् । अनि मनमनै उसलाई धन्यवाद पनि दिइन् । तर, उनी अब झनै व्याकुल हुन थालिन् । उनलाई लाग्यो, ‘ऊ मेरो अगाडि आउँदैन । किन सामुन्ने आएर प्रेमको प्रस्ताव राख्दैन ? किन लुकीलुकी हेर्छ ?’ यही सोचिरहेकै बेला फेरि कसैले नियालेझैं लाग्यो । छाया घरको वरिपरि उसलाई खोज्न थालिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?