
‘कस्तो रहेछ त, हजुरलाई ?’ डाक्टर बहादुर केसीलाई जँचाएर घर फर्किएपछि चन्दाले जिज्ञासा राख्दै सोधिन् । त्यो दिन थियो, १३ फागुन २०७७ ।
प्रेसर अलि बढी नै रहेछ । अरु ठीकै छ रे । मैले संक्षिप्त जानकारी दिए ।
‘ए …! लामो समयपछि जँचाउन गए पनि ठीकै रहेछ’ चन्दाले आश्चर्य मिसिएको भाव प्रकट गरिन् ।
म औषधि खान थालेँ । एक छिनपछि उनी कलेज गइन् ।
‘डाक्टरलाई देखाउनुस् भन्दाभन्दा बाबाले डाक्टरलाई देखाउने दिन पनि आयो’ छोरा कोठा बाहिरैबाट मलाई जिस्क्याउँदै भित्र पस्यो ।
‘कस्तो रहेछ त बाबा ?’ छोराले प्रेस्क्रिप्सन र रिपोर्ट माग्दै सोध्यो ।
‘सबै ठीकै छ रे । डाक्टरले एस्प्रिन र कुल्पिड औषधि थपि दिएको छ । केही भए बीचमा आउनु होला नत्र एक वर्षपछि आउनुस्, भनेको छ’ मैले छोरालाई प्रेस्क्रिप्सन र रिपोर्ट दिँदै डाक्टरको भनाइ सुनाएँ ।
‘रगतको ल्याब टेष्ट त ठीकै छ । तर इको, ईसीजीको रिपोर्ट त राम्रो छैन नि, बाबा’ छोराले शंकालु नजरमा मलाई हेर्यो ।
‘हो र ?’ म थोरै सशंकित भएँ ।
‘एस्प्रिन र कुल्पिड त रगत पातलो बनाउने औषधि हुन् । जीवनभर खान पर्छ नि’ छोरा अलि चिन्तित देखियो ।
‘कुल्पिड त एक महिनाका लागि मात्रै दिएको छ नि, बाबु’ मैले थप जानकारी दिएँ ।
‘खोइ, मैले पढेको त त्यही हो क्यारे’ छोराले आफनो नाराजगी प्रकट गर्यो ।
ए ! मैले पनि अनभिज्ञता देखाएँ ।
‘बाबा ! कार्डियोलोजिस्ट डाक्टर ओममूर्ति अनिललाई देखाउन जाऊँ, एकपटक । राम्रो छ’ छोरा नेटमा नेशनल कार्डियोलोजी सेन्टरको नम्बर खोज्न थाल्यो ।
‘एक महिनापछि जाउँला नि, हुन्न’ मैले झिनो स्वरमा छोरासँग प्रस्ताव गरेँ ।
‘नाइ, आजै जाने’ छोराको कडा स्वरको अगाडि मैले थप केही भन्न सकिनँ । डा.बहादुरले दिएका औषधिहरू ओल्टाई पल्टाई हेरिरहेँ ।
छोराले डा. ओममूर्तिलाई भेट्न भोलिपल्टकै समय मिलायो ।
कोरोनाको संक्रमण ओइलाएपछि बिहान बिहान रानीबारी वनमा हिँड्न थालेको भए पनि आज बिहान डाक्टरकोमा गएकाले साँझ घुम्न निस्किएँ । छोराले भनेझैं हात हल्लाई हल्लाई स्याँ स्याँ हुने गरी सामाखुशी खोलाको किनारै किनार नेशनल कार्डियोलोजी सेन्टर, बसुन्धरा पुगेँ र फर्किएँ ।
‘बाबाले आजै दश किलोमिटर हिंड्नु भयो कि क्या हो ?’ म फर्केपछि छोराले प्रश्न गर्यो ।
‘नेशनल कार्डियोलोजी सेन्टर पुगेर फर्के नि, म त !’ स्याँ स्याँ गर्दै मैले सुनाएँ ।
‘हो र ?’ छोराले आश्चर्य प्रकट गर्यो ।
आफैंले गाडी हाँकेर भोलिपल्ट बिहानै म सेन्टर पुगेँ । नाम दर्ता गरेँ । पैसा तिरेँ । डा. ओममूर्तिको किताब पनि किनेँ । फाइल सहयोग डेस्कमा बसेकी एउटी भर्खरकी नर्सलाई दिएँ र पालो कुरेर एक छेऊमा उभिरहेँ । कोरानाको डरले म प्रायः कतै पनि हतपत बस्दैनथेँ ।
मेरो नाम बोलाए पछि म नर्सको छेउमा पुगेँ ।
‘हजुर हो लक्ष्मीविलास ?’ नर्सले सोधिन् ।
‘हो’ मैले छोटो उत्तर दिएँ ।
‘तपाईं ६० वर्ष हो र ?’ नर्सले मेरो उमेर ६० वर्ष हो भनेर पत्याइनन् ।
म मुसुक्क हाँसे । आफनो फिटनेसको मनमनै तारिफ गरेँ । जोख्ने मेसिनमा चढेँ तौल पचहत्तर केजी । उचाई पाँच फिट तीन इन्च, अक्सिजन लेभल ९६ । नर्सले फटाफट टिपाइन्, दर्जीकोमा सर्टको नापो लिएझैं ।
‘सोफामा बस्नुस् त’ नर्सले अनुरोध गरिन् ।
म पहेंलो रङको सोफामा थ्याच्च बसेँ । नर्सले प्रेसर नाप्ने पाखुरामा बेरिन्, स्टेथिसकोप दुवै कानमा घुसारिन् र मेसिन खोलिन् । नर्सले फ्यास फ्यास पार्दै जाँदा मेरो पाखुरा टनक्क हुँदै गयो र एकछिनमा फ्यास्स भयो । नर्सले दाहिने हातमा पनि नाप्न थालिन् । मेरो पाखुरा उसैगरी टनक्क भयो र फ्यास्स भयो ।
‘तपाईंको प्रेसर घरमा पनि बढी नै हुन्थ्यो ?’ मलाई प्रश्न गर्दै उनले प्रेसर टिपाइन् १९० वाई १२० ।
‘अँ, धेरै नै थियो होला’ मैले अस्पष्ट उत्तर दिएँ ।
‘हामी एकछिनमा बोलाउँछौ है’ नर्सले मलाई भनिन् र अर्को बिरामीको नापजाँच गर्न थालिन् । डाक्टरलाई देखाउने पालो कुर्न म बिल्डिङ बाहिर निस्किएँ । फराकिलो पार्किङ भएको बिल्डिङ भर्खर बनेको रहेछ । घुम्दै थिएँ, मेरो नाम बोलावट भयो, भित्र छिरेँ ।
‘फाइल लिनुस् र माथि डाक्टर साहेबकोमा जानुस्’ नर्सले मलाई सिकाइन् ।
म फाइल बोकेर भर्याङ उक्लिएँ ।
ओममूर्ति डाक्टरकोमा छिर्नुपूर्व अर्को डाक्टरलाई मैले लगभग २० वर्षदेखि प्रेसरको औषधि खाइरहेछु भन्दै उच्च रक्तचापको इतिहास सुनाएँ ।
‘हस्’ भन्दै डाक्टरले मलाई फाइल फिर्ता गरे र ओममूर्ति डाक्टरको कोठामा जान संकेत गरेँ । म फाइल बोकेर ओममूर्ति डाक्टरलाई भेटन गएँ ।
मेरो फाइल हेरिसकेपछि डाक्टरले ‘प्रेसर धेरै रहेछ’ भने र प्रश्न गर्न थाले ।
मैले सम्झी सम्झी सबै इतिवृत्ति सुनाएँ ।
ईसीजी र एउटा छुट्टै ब्लड टेष्ट गरौं । २४ घण्टाको प्रेसर मनिटर पनि गरौं । अनि औषधि लेखौंला नि हुन्न ? डाक्टरले मसँग सल्लाह गरे ।
हुन्छ । म डाक्टरको कोठाबाट निस्किएँ ।
पैसा बुझाएँ । रगत दिएँ । ईसीजी (इलेक्ट्रोकार्डियोग्राम) गरेँ । प्रेसर मनिटरिङ गर्न (एबीपी) एबलुटरी ब्लड प्रेसर जोडेँ ।
एबीपीले निश्चित समयको अन्तरालमा प्रेसर हेर्छ, आफैं रेकर्ड गर्छ । २४ घण्टाको लागि रेकर्ड गर्ने भएकाले भोलि खोल्नुपर्छ । नर्सले मलाई सिकाइन् । म रगत परीक्षणको रिपोर्ट कुर्दै एउटा कुनाको सोफामा गएर बसेँ । एकैछिन पछि मेसिनले मेरो पाखुरा टनक्क कस्यो र फयास्स भयो । मैले प्रेसर हेरेँ १९० वाई ११० थियो ।
‘लक्ष्मी विलास !’ एकजना हतारिँदै मलाई खोज्न आइपुगे ।
म उठेँ ।
‘यता आउनुस् त’ उनले डोर्याउँदै (इको) कोठामा लगे । इकोकार्डियोग्राफी (ईको) मुटुको ग्राफिक चाल हेर्न गरिने परीक्षण मलाई थाहा थियो ।
कम्प्युटर अगाडि बसिरहेका डाक्टरले हरियो तन्नाले ढाकेको सँगैको सानो बेडमा देब्रेतिर कोल्टो परेर सुत्न लगाएँ । म बेडमा पल्टिएँ । उनले इको मसिनको मुन्टो मेरो छातीको देब्रेतिर गाडी गाडी चलाए ।
खै खै । त्यही बेला ओममूर्ति डाक्टर पनि आइपुगे र इको गरिरहेको हेरेँ र भनेँ, ‘ल यो त नर्मल छ’, मुटुमा ब्लड कल्ट छैन ।
‘ल उठनुस् त’ इको गर्ने डाक्टरले मलाई भने ।
म उठेँ । इको गर्दा लगाएको जेल पुछेँ ।
‘ल आउनुस् डाक्टरको कोठामा जाऊँ’ इको गर्न ल्याएका व्यक्तिले नै डोर्याउँदै मलाई लगे ।
‘लक्ष्मी सर, हजुरको रगतको ट्रोपोनिन टेष्टको रिपोर्ट राम्रो छैन । मुटुको मसल्स डयामेज भएपछि रगतमा एक प्रकारको प्रोटिन आउँछ, त्यो नै ट्रोपोपिन टेष्टमा देखिन्छ । ट्रोपोपिन न्यानोग्राम परमिलिलिटरमा नाप्ने गरिन्छ । यसको सामान्य लेभल ०.०४ देखि ३५ हो । तपाईंको त २०० भन्दा माथि छ । तपाईंलाई हल्का ‘हार्ट अट्याक’ भएको हुनुपर्छ कुनैबेला ।’
हँ । म झसङ्ग भएँ ।
‘नआत्तिनुस् । अब एबीपी नराख्ने । मनमोहन वा गंगालाल गएर एन्जिओग्राम गरेपछि सबै ठीक हुन्छ । मुटुमा जाने नसा बल्क भएको रहेछ भने पनि खोल्न मिल्छ, आजै हुन सक्छ । मैले इमर्जेन्सी रेफर गरेको छु । त्यसपछि प्रेसर त म म्यानेज गरिहाल्छु,’ ओममूर्ति डाक्टरले गम्भीर भएर सम्झाउँदै भने ।
‘डाक्टर साहेब मलाई केही भएकै छैन । कसरी हार्ट अट्याक हुन सक्छ । यो त ‘अपत्यारिलो शंका’ मात्रै हो,’ मैले डाक्टरको अनुहारमा हेर्दै सोधेँ ।
डाक्टर मुसुक्क हाँसे र भने हामी राजनीतिज्ञ होइन् प्रमाणमा चल्ने वर्ग हौं भन्दै टेबलको घण्टी थिचेँ ।
टिरिरिर्र … कोठा बाहिर घण्टी बज्यो । एकजना नर्स डाक्टरको कोठामा छिरिन् ।
उहाँलाई कुल्पिड, एस्प्रिन र भास्टाटिन एक एक चक्की अहिल्यै खुवाइदिनुस् र उहाँको मान्छे आए पछि मात्र पठाउनुस् । नर्सलाई अह्राएर डाक्टर अर्को बिरामीसँग बोल्न थालेँ ।
म नर्ससँग डोरिएर फार्मेसी अगाडि उभिएँ । उनले फार्मेसीबाट औषधि लिएर धमाधम खुवाइन् । मैले ५० रूपैयाँ तिरेँ । मलाई सोफामा बसालेर नर्सले मेरो फाइल धरौटीको रूपमा लिएर गइन् ।
अलि पर पुगेपछि सम्झाउँदै सोधिन्– ‘तपाईंले आफनो मान्छेलाई खबर गर्नुभयो ?’
‘हुन्छ, म फोन गरिहाल्छु’ आज्ञाकारी बालक झैं मैले खल्तीबाट मोबाइल झिकेँ ।
चन्दाको मोबाइलमा फोन लगाएँ, उठेन । घडी हेरेँ । साँढे नौ भएको रहेछ । चन्दा कलेज जाने समय भइसकेकाले छोरालाई फोन गरेँ ।
‘बाबु ! मेरो त मुुटमा समस्या रहेछ । तिमी आउनुपर्यो’ मैले मसिनो स्वरमा भने ।
‘हस् बाबा । बाबालाई ठीक छ नि ?’ छोराले आत्तिएको जस्तो स्वरमा जिज्ञासा राख्यो ।
‘मलाई त ठीक छ, बाबु’ मैले ढुक्कसँग भनेँ ।
‘सर, तपाईलाई ठीक छ ?’ मलाई डोर्याउने मान्छे फेरि मलाई सोध्न आइपुगे ।
‘ठीक छ’ मैले रुञ्चे हाँसो निकाल्दै भनेँ ।
ऊ फर्कियो । छोरा पनि आइपुग्यो । म उठेँ ।
‘बस्नुस्, बस्नुस्’ छोराले मलाई उठनै दिएन । छेवैमा आएर सोध्यो ।
मैले डाक्टरले भनेको सबै दोहोर्याएँ । छोराको स्याँ स्याँ अझै थामिएको थिएन ।
‘छोरा ! मुटुमा रगत जाने नसा बन्द भएको छ कि भन्ने डाक्टरको कुरा त पत्याउनै सक्दिनँ म । मलाई केही भएकै छैन । कताकोे हार्ट अट्याक हुनु !’ मैले गाडीभित्र पस्दै आफनो अविश्वास प्रकट गरेँ ।
‘अझै जिद्दी गर्नुस् । नियमित औषधि खाइरहेको छु । व्यायाम गर्छु । जथाभावी खान्न र जान्न भन्दै रेगुलर डाक्टरसँग नजँचाउने । अहिले डाक्टरलाई अविश्वास गर्ने । बरु भन्नुस् कहाँ जाने ? मनमोहन कि गंगालाल ?’ छोराले गाडी स्टार्ट गर्दै मेरो कुरा नरुचाएझैं गरी सोध्यो ।
‘गंगालाल जाऊँ न त’ मैले भने ।
‘मनमोहन जाऊँ’ है बाबा भन्दै छोराले टिचिङ हस्पिटलतिर कार मोड्यो । म चुपचाप सुनिरहेँ । कार पार्किङ गरेर हिँड्दै गर्दा छोराले मलाई पटक पटक ‘ठीक छ, बाबा ?’ भनेर सोधिरहन्थ्यो ।
‘ठीक छ, ठीक छ’ भन्दै म छोरा सँगसँगै ठमठम्ति लम्किरहेँ ।
हामी मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर भित्र छिर्यौँ । मान्छेको भीड थियो ।
डाक्टर सूर्य देवकोटा कता हुनुहुन्छ होला ? छोराले सेतो ज्याकेट लगाएको एउटा अस्पतालको मान्छेसँग सोध्यो ।
क्याथ ल्याबमा । ऊ छोटो उत्तर दिएर आफनो गन्तव्यतर्फ लम्कियो ।
हामी एक तलामाथि उक्लियौं । ठुल्ठुला अक्षरमा लेखिएको कार्डियाक क्याथ ल्याब हाम्रो अगाडि देखियो । ल्याब बाहिर भीड थियो । छोराले यताउता सोधखोज गर्यो । म भीड हेरेर उभिरहेँ ।
‘बाबा बस्नुस् न’ छोराले नगिचै बेञ्चको खाली ठाउँ देखायो । म मन लागि नलागी बसेँ ।
‘पृथुल !’ केहीबेरपछि छोरालाई भित्रबाट बोलावट आयो । हामी क्याथ ल्याब भित्र पस्यौं । कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटालाई छोराले सबै बेलिविस्तार लगायो ।
डा. देवकोटाले मलाई देखाएर आफनो सिनियर डाक्टरसँग अनुरोध गर्दै भने, ‘उहाँको आज एन्जिओग्राग गर्नुपर्ने रहेछ ।’
‘आजै त कसरी होला ? पीसीआर गरेको छ र ?’
‘इमर्जेन्सी छ भनेर डा. ओममूर्तिको सिफारिस पनि छ,’ छोराले तर्क राख्यो ।
‘सामान्य औपचारिकता त पूरा गर्नु पर्यो नि’ डाक्टर थोरै झर्किए ।
‘म पनि नेपाल सरकारको पूर्व कर्मचारी हुँ, डाक्टर साहेब । छोरा पनि डाक्टर हो । रोगको जोखिम त उसलाई पनि थाहा छ’ मैले भनेँ ।
‘तिमी पनि डाक्टर हो ?’
‘हजुर’ छोराले टाउको हल्लायो ।
‘कहाँबाट ?’
‘मणिपाल पोखराबाट ।’
‘अहिले कहाँ काम गर्दैछौ त ?’
‘युएसएमएलई गर्दैछु । फस्ट लेभल सकियो । दोस्रोको तयारी चल्दैछ ।’
‘ए, ल इमर्जेन्सीमा भर्ना गर न त ।’
हामी इमर्जेन्सीमा गयौँ । नर्सले एउटा खाली बेडमासुत्न लगाइन् । म मन लागि नलागी बेडमा पल्टिएँ । छोरा नर्सिङ स्टेसनमा डाक्टरसँग कुरा गर्दै थियो ।
एकजना स्वास्थ्यकर्मी आए र दुईवटा कटन बड पालैपालो मेरो नाकभित्र पुग्ने गरी छिराए र निकाले । कोरोना छ छैन हेर्न पीसीआर (पोलिमर्से चेन रियाक्सन) परीक्षण गर्न ।
उनी गए । नाक निकैबेरसम्म पोलिरहयो ।
‘ल यो कपडा लगाउनुस्’ एउटी कामदार महिलाले ड्रेस दिइन् ।
म ड्रेस लिएर टोलाइरहेँ । छोरा डाक्टरले लेखिदिएको कागज लिएर बाहिर गयो । औषधि लिएर आयो । छोरा सँगसँगै नर्स पनि आइन् । मेरो देब्रे हातमा क्यानुला राखिन् । रेजर निकालेर बाबुले दाहिने नाडीको रौं खौरिन थाल्यो । च्वास्स अलिकति काट्यो । बाँकी म आफैँले खौरिन थालेँ ।
छोरा र नर्स गए । हस्पिटलको फिका निलो ड्रेस लगाएर बेडमा पल्टिएँ । छोरा, नर्स स्टेसनमा नर्ससँग कुरा गर्दै थियो । म छोराको दौडधुप हेरिरहेको थिएँ । इमर्जेन्सी वार्डको गेटमा चन्दा देखिइन् । म झसंग भएँ । बाबुले म सुतेको बेड देखाइदियो । उनी परैबाट मलाई हेर्दै आइन् ।
कहिल्यै बिरामी भएर हस्पिटलको बेडमा सुत्छु होला जस्तो लाग्दैनथ्यो । मेरो लागि औषधि लिन चन्दा र छोराछोरी दौडनुपर्छ जस्तो पनि सोचेको थिइनँ । आफूलाई सबैभन्दा धेरै माया गर्ने चन्दालाई देख्दैमा म भावुक भएँ । उनलाई हेर्दै पिलपिलाएँ । बोल्न खोज्दा वाक्य नै फुटेन । आँखाहरू भल्भल्ती रोइरहे ।
‘नरुनुस् । बेलैमा थाहा भयो’ चन्दाले रुञ्चे हाँसो ओठमा ल्याउँदै धोद्रो स्वरमा सम्झाइन् ।
रुवाइ टार्न मैले इमजन्सी वार्डभरि आँखा घुमाएँ । छोरा डाक्टर नर्ससँग कुरा गर्दै नै थियो । एउटी नर्स आइन् र तीनवटा एस्पिरिन, कुल्पिड र भास्टाटिन औषधिको चार चार चक्की खुवाइन् । सुगर परीक्षण गरिन्, चोर औंलामा च्वास्स घोचेर ।
आफैं गाडी चलाएर नियमित जचाउन आएको चन्दा, सबै मिलेर बिरामी बनाए । बेडमा पल्टाए । मैले फिस्स हाँस्दै भने ।
त्यही त । चन्दाले पनि अचम्म मानिन् ।
नर्स आइन् र पे्रसर घटाउन ल्यासिक्स सुई क्यानुलाबाट दिइन् । रगत पातलो बनाउन इनोएक्सापिरिन (लभिनक्स) सुई दाहिने साप्राको बीच भागको छाला र मसल्सको बीचमा पर्ने गरी दिइन् । र कटन विस्तारै थिच्नुस् है भनेर गइन् । मैले विस्तारै थिचिरहेँ ।
‘तपाईंले केही खानु भएको छैन नि आठ घण्टादेखि ?’ अर्की नर्सले सोधिन् ।
‘बिहानदेखि औषधि सिवाय केही पनि खाएको छैन’ मसिनु स्वरमा मैले भने ।
‘बाबुले पनि खाएको छैन होला ?’ चन्दाले जिज्ञासा राखिन् ।
‘दौडेको दौड्यै छ, के खायो होला र ?’
‘आज मैले बाबाको अविभावक भएर डाक्टरलाई एन्जिओग्राम गर्न सहमति दिएँ । अब हामी क्याथ ल्याब जाने, बाबा’ छोराले मलाई जानकारी दियो ।
क्याथ ल्याब ! चन्दाले अचम्म मानिन् ।
‘मुटुको धमनी (आर्टरी) बन्द छ छैन हेर्न भल्भ र च्याम्बरहरू परीक्षण गर्ने र क्याथटेराजेसन ल्याब्रोटरीलाई क्याथ ल्याब भनिन्छ, एक किसिमको एक्सरे भनेर बुझ्नुसन्, मामु ।
धमनी बन्द भएको खण्डमा ‘स्टेन’ राखेर उपचार पनि गरिन्छ । यसलाई एन्जिओग्राम भनिन्छ,’ निन्याउरो अनुहारमा छोराले जानकारी दियो ।
स्ट्रेचर आयो । म स्ट्रेचरमा सुतेँ । चन्दा र छोराको मलिन अनुहार देखेर पिलपिलाएँ । चन्दा पनि पिलपिलाइन् । आँखाको दुई कोषबाट बरबर आँसु गालाको दुवै पट्टी खसे । मलाई आँसु पुछ्न पनि मन लागेन ।
‘हामी त भाग्यमानी रहेछौँ, बाबा । हिँड्दा हिँड्दै भक्लक्क भएको भए ? अब त अस्पतालमा छौं । केही पीर छैन । नरूनुस्,’ छोराले डोर्याउँदै मलाई सम्झायो ।
स्ट्रेचर गुड्न थालेपछि मैले चन्दाको हात समाएँ । भक्कानो फुट्ला जस्तो भयो । आँखाहरू रोइरहे । चन्दाले पछाडि फर्केर आँसु पुछिन् । इमर्जेन्सीबाट लिफ्टमा हामी एकतला माथि उक्लियौं । हस्पिटलको काम गर्ने केटाले सबैलाई पन्छाउँदै स्ट्रेचरलाई क्याथ ल्याबभित्र ठेल्यो । चन्दा र छोरासँग म छुट्टिएँ ।
डाक्टर देवकोटाको टिम आइपुग्यो ।
नर्सहरूले मलाई स्ट्रेचरबाट क्याथ मेसिनको प्लेटमाथि सुताएँ । मलाई घप्लक्क छोप्ने गरी मेसिन ल्याए । मैले मेरो लाज छोप्न ड्रेस मिलाए ।
‘सर अब हामी दाहिने हातको हत्केला छेऊ नसामा सानो प्वाल पार्छौं । थोरै दुःख्न सक्छ’ एकजना डाक्टरले भने ।
‘हस् ।’ मैले सहने सहमति दिएँ ।
‘आर्टरीमा बन्द नभैदिए हुन्थ्यो । पशुपति नाथलाई सम्झनुस् है, सर’ डाक्टर देवकोटाले मलाई प्रार्थना गर्न सम्झाए ।
मैले हात जोडेर ‘हे पशुपति नाथ रक्षा गर’ भन्दै चन्दा, बाबुनानीलाई सम्झिएँ ।
डाक्टरहरूले मेरो पाखुरालाई सीधा पारे । रौं फालेको ठाउँबाट धमनीमा घोचेँ । पातलो क्याथटर भित्र छिराएँ । नसानसै तार दौडे जस्तो अनुभव भयो । पोले जस्तो पनि लागिरह्यो ।
‘नसा ब्लक छ’ आघा घण्टासम्म कम्प्युटर स्क्रिनमा हेरेपछि डाक्टर देवकोटाले अरु डाक्टरसँग भनेको मैले सुनेँ ।
मेरो आङ ढक्क फुल्यो । अब के हुन्छ ? मन अत्तालियो । डाक्टरहरू अझ हेर्दै थिए ।
‘एट्याकले गर्दा तीनवटा बल्क छ, सर । एउटा ७५ प्रतिशत, अर्को ८७ प्रतिशत र अर्को ५३ प्रतिशत । एउटा ब्लक नसाको हाँगा फाटिएको ठाउँमा छ । स्टेन राख्न नसकिने त होइन तर सजिलो छैन’ सूर्य देवकोटाले एन्जिओग्राम गर्दागर्दै मलाई सुनाए ।
‘मुटुको बाइपास (सर्जरी) अपरेसन’ सुन्ने बित्तिकै बिजुलीको करेन्ट लागेझैं गरी शरीर झनन्न भयो । गाला र कान ताता र राता भए । मटु थरथर काँप्न थाल्यो ।
चारैतिर अँध्यारै अँध्यारो भयो । चिन्ताको सागरमा खसेँ । जीवन लीला सकिएको जस्तो देखेँ । हे भगवान ! मैले भगवानसँग मनमनै अझै ‘बाँच्न पाऊँ’ भन्दै पुकारा गरेँ ।
क्याथटर निकालेपछि रगत बग्ने सम्भावना हुने रहेछ । डाक्टरहरूले प्वाल पारेको ठाउँ नाडीमा टनक्क ब्यान्डेज लगाइदिए र भने पानी धेरै पिउनुस् । थकाइ लागेजस्तो हुन्छ, नआत्तिनुस भन्दै डाक्टरको टिम नजिकैको कोठामा छिर्यो ।
डाक्टर ओममूर्तिले ‘अपत्यारिलो शंका’ गरे भनेको त साँच्ची पो भयो । ‘हार्ट अट्याक’ भएकै रहेछ क्या हो ? म सम्झेरै डराएँ । शरीर लगलगी कामिरह्यो ।
यता र उता घोच्दा र डाक्टरहरूको चेकजाँचले म सिकिस्त बिरामी जस्तो भइसकेको थिएँ । सिनियर डाक्टर भित्र छिरे । मैले उनको नाम पढेँ, डाक्टर रत्नमणि गजुरेल ।
उनले डाक्टर देवकोटाले भनेको सबै दोहार्याउँदै बाइपास सर्जरी गर्ने भगवान कोइरालाको टिमसँग सल्लाह गर्ने विचार सुनाए । र, थपे त्यसपछि निर्णय गरौंला । मैले सुनिरहेँ । नर्सहरू मलाई मेसिनबाट स्ट्रेचरमा सार्न आए । मैले लाज बचाउन लगाएको भाङ्ग्रे कपडा यसोउसो मिलाएँ ।
इमर्जेन्सीबाट क्याथ ल्याब, क्याथ ल्याबबाट आईसीयू पुगेँ । रोग त बल्झँदै गयो । म छटपटीले पसिना पसिना भएँ । कामदार महिलाहरूले ३ नं. बेडमा लगेर सुताइदिए । आईसीयूका बिरामीहरू हेर्दै म चन्दा र छोरालाई कुरिरहेँ ।
एउटी नर्स आएर प्रेसर नाप्ने खोलभित्र मेरो हात छिराएर मनिटरमा मेरो पाखुरा जोडिन् । ईसीजी नाप्न छातीका पाँच ठाउँमा चपके सेन्सर इलक्ट्रोड टाँसिन् ।
आफैं उठेर कतै नहिँड्नु होला भन्दै अक्सिजनको लेभल नाप्न यन्त्र दाहिने हातको चोर औंलामा च्यापेर गइन् । मेरो हात समय समयमा टनक्क हुन्थ्यो र फ्यास्स हुन्थ्यो । मनिटरमा अंकहरू आउँथे । म मनिटर हेरिरहन्थेँँ । बेलाबेलामा ब्लड प्रेसर, मुटुको धड्कन र अक्सिजन लेभल रेर्कड भइरहन्थ्यो ।
‘मुटुमा रगत जाने नशा बल्क’ भएको छोरा र चन्दालाई सुनाउन मेरो मन आत्तिएको थियो । पीरले थिचिरहेको थियो । भित्ताको घडी हेरेँ । चार बजिसकेको रहेछ । बिहानदेखि केही नखाएकोले भोक पनि लागिरहेको थियो । छोराले केही खायो कि खाएन ? यता र उता दौडिरहेको छ । म छोराको मायाले भुतुक्क भएँ । बेडमा नै छटपटाउन थालेँ । बेचैनी बढेर गयो ।
बाबु ! छोरालाई नर्सिङ स्टेसनमा देख्नेबित्तिकै मैले बोलाएँ ।
औषधि ल्याउने लिष्ट लिएर छोरा युद्ध हारेको सिपाहीझैं मेरो अगाडि उभियो । मलाई नियालिसकेपछि बोल्यो । ‘तीनतीनवटा बल्क भएकाले स्टेन राख्न नमिल्ला जस्तो छ, बाबा । ओपन हर्ट सर्जरी गर्नुपर्ला कि ! डाक्टरहरू सल्लाह गर्छन् रे । हामी पनि सल्लाह गरौंंला,’ यति भनेर छोरा औषधि लिन गयो ।
मुटुको अपरेसन नै गर्न पर्छ कि जस्तो छ रे ! चन्दाका आँखा आँसुले भरिएका र स्वर धोद्रो थियो ।
‘मैले तिमीहरूले भनेको नमानेर दुःख …।’ मैले वाक्य पूरा गर्न सकिन् । भक्कानो फुटेर आयो । घोसेमुन्टो लगाएँ ।
‘अब, बितेको कुरा पछ्याएर केही हुँदैन । नरुनुस् । हजुर रोएपछि हामीले कसरी मन बुझाउने ?’ मेरो कपाल सुमसुम्याउँदै थरथराएको स्वरमा भनिन् ।
एक थैलो औषधि लिएर छोरा आइपुग्यो । भित्ताको घडीले साँझको छ बजेको संकेत दियो । नर्सले काखीमा थर्मोमिटर राख्न लगाइन् र भनिन्– बजेपछि झिक्नुस् है । त्यसपछि उनी बेडको गोडातिर रहेको टेबलमा मनिटर हेर्दै के के टिप्न थालिन् । थर्मोमिटर बज्यो । मैले काखीबाट झिकेँ र टिपाएँ ‘छयानब्बे दशमलव एक’ ।
‘बाबु ! मामुलाई घर पुर्याइदेऊ । तिमी पनि केही खाऊ र मलाई जाउलो ल्याइदेऊ’ मैले छोरालाई सम्झाएँ ।
ल तपाईहरूको समय सकियो । बाहिर जानुस् । जेलमा बन्दीलाई भेट्ने समय सकिए जस्तो गर्दै पाले कराउँदै आइपुग्यो ।
‘जाँच छ, नानीलाई नभन …।’ भक्कानोले छेकेर मैले वाक्य पूरा गर्न सकिनँ ।
चन्दा र बाबु निस्किए । म उनीहरू गएको बाटो हेरिरहेँ ।
बाहिर अँध्यारो बढ्दै गएको कोठाभित्र नै थाहा भयो । एउटी महिला कामदारले प्याट्ट प्याट्ट स्वीच थिचिन् । कोठा झलमल्ल भयो । कोठा झलमल्ल भए पनि मेरो उदिग्न मन उज्यालो हुन सकेन । निकैबेर पछि छोराले जाउलो ल्यायो । जाउलो देख्नेवित्तिकै भोक बढेर आयो । म विस्तारै उठेर बेडमा बसेँ ।
छोरा पीर र कन्फ्युजनको चपेटामा परेजस्तो देखिन्थ्यो, थकित । रोगको जोखिम छोरालाई नै थाहा थियो । ‘तिमी थाकेको जस्तो छौ, बाबु । राति बस्न गाह्रो हुन्छ कि !’ छोरासँग मैले सोधेँ ।
‘के गाह्रो हुन्छ र, बाबा । म बिरामी परेको भए बाबा दौडनु हुन्थेन, यसैगरी ? थाक्नुहुन्थ्यो ? घर गएर आरामसँग सुत्न सक्नुहुन्थ्यो र ?’ छोराले मेरो कपाल सुमसुम्याउँदै प्रश्न गर्यो ।
म छोराको मायाले कृत कृत भएँ ।
प्रतिक्रिया 4