
२७ चैत, चितवन । नेकपा एमालेको भरतपुर नगर कमिटीले मेयरको उम्मेद्वारमा विजय सुवेदीको नाम सिफारिस गरेको छ ।
सर्वसम्मत रुपमा सुवेदीको नाम मात्र सिफारिस भएकाले उनले नै टिकट पाउने निश्चित जस्तै भएको छ ।
उम्मेदवार सिफारिसका लागि एमाले भरतपुर महानगर कमिटीको विस्तारित बैठक आइतबार बसेको थियो । बैठकमा एमाले पोलिट्ब्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले सुवेदीको नाम प्रस्ताव गरे भने चितवन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका गिए ।
मेयरमा दावेदारका रुपमा हेरिएका ज्ञवालीले आफू जिल्ला इन्चार्ज पनि भएकाले नेताहरुको सहमतिमा सुवेदीलाई अगाडि सारिएको जानकारी दिए ।
‘अत्यन्तै हार्दिकतापूर्ण ढंगले मैले नै प्रस्ताव गरेर विजय कमरेडलाई अगाडि सारेको हो’ नेता ज्ञवालीले अनलाइनखबरसँग भने, ‘जसरी पनि भरतपुरमा जितेर देखाउँछौं ।’ ज्ञवालीले सुवेदीलाई खादा लगाएर शुभकामनासमेत दिएका छन् ।
मेयरमा सुवेदी र उपमेयरमा ११ जना आकांक्षीको नाम अब प्रदेश कमिटीमा हुँदै केन्द्रमा जाने एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए ।
को हुन् सुवेदी ?
उनी भरतपुर–१२ का स्थायी बासिन्दा हुन् । एमाले चितवनको पार्टी प्रमुख भएर तीन कार्यकाल नेतृत्व सम्हालेका उनी २०७४ मा भएको प्रदेश निर्वाचनमा सुवेदी चितवन निर्वाचन क्षेत्र नं. २ ‘ख’ बाट विजयी भएका थिए ।
अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री हुँदा उनी सामाजिक विकासमन्त्री भएका थिए । सुवेदी अहिले एमाले वाग्मती प्रदेश कमिटीका सचिव हुन् ।
विद्यार्थी राजनीतिबाट आएका सुवेदी २०५६ सालको संसदीय चुनावमा तत्कालिन चितवन क्षेत्र नं. ४ बाट र २०६४ को संविधानसभामा चितवनको तत्कालिन क्षेत्र नं. ५ मा उम्मेदवार बनेका थिए, तर थारै मतले पराजित भए ।
प्रतिक्रिया 4