
२९ चैत, काठमाडौं । थाइल्यान्ड अन्तर्राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा प्रतिस्पर्धा गरेको ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली सोमबार राती स्वदेश फर्किएको छ ।
टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरे ।
थाइल्यान्डको फुकेटमा अप्रिल १ देखि १० तारिखसम्म भएको प्रतियोगितामा १ पुरुष र ४ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालले १ कांस्य पदक जित्यो । महिला ६० केजी तौलसमूहमा पुनम रावलले नेपाललाई कांस्य दिलाएकी हुन् ।
पुनमको स्पर्धामा ६ खेलाडी सहभागी थिए । पहिलो चरणमा बाइ पाएर सेमिफाइनल पुगेकी पुनमले फिलिपिन्सकी रिजा पस्युटसँग प्रतिस्पर्धा गरेकी थिइन् । सेमिफाइनलमा पुनम ३–२ ले पराजित भएकी थिइन् । रिजाले पछि स्वर्ण नै जितिन् ।
सन् २०१० मा दीपक महर्जनले जितेको कांस्यपछि कुनैपनि नेपाल खेलाडीले यो प्रतियोगितामा पदक जितेको पहिलो भएको बक्सिङ संघले जनाएको छ । त्यसबेला उक्त प्रतियोगिता किङ्स कपका नाममा हुने गर्थ्यो ।
पुरुष ६३ केजीमा भुपेन्द्र थापा मगर तथा महिला ५१ केजीमा मिनु गुरुङ, ५७ केजीमा चन्द्रकला थापा र ४८ केजीमा सुस्मा तामाङले प्रतिस्पर्धा गरेका थिए । भुपेन्द्र र मिनु १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता हुन् ।
अध्यक्ष अवालेले आफूले पनि विगतमा उक्त प्रतियोगिताको दुई संस्करणमा सहभागिता जनाएको स्मरण सबै खेलाडीले उच्च प्रदर्शन गरेको बताए ।
टोलीसँगै फुकेट गएका बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापा मगरले छोटो तयारीका बावजुद खेलाडीको प्रदर्शन प्रशंसनीय रहेको बताए । आइबा वान स्टार रेफ्री/जज धनकुमार मैनालीले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4