+
+

ललितपुर महानगरमा फेरि चिरिबाबु र हरिकृष्णकै प्रतिस्पर्धा !

ललितपुरमा एमालेबाट हरिकृष्ण ब्यञ्जनकारको नाम सिफारिस भइसकेको छ । सत्तारुढ गठबन्धनमा माओवादी केन्द्र र एकीकृत समाजवादीले मेयरमा दावी नगरेका कारण कांग्रेसबाट यसपटक वर्तमान मेयर चिरिबाबु महर्जन नै उम्मेदवार बन्ने सम्भावना छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते २१:०४

३० चैत, काठमाडौं । नेकपा एमालेको ललितपुर महानरपालिका कमिटीले मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यको नाम सिफारिस गरेको छ ।

एमाले नेताहरुका अनुसार व्यञ्जनकारले नै मेयरको टिकट पाउने सम्भावना बढी छ । किनकी अर्का आंकाक्षी प्रेम महर्जनले यसपटक मेयरमा दाबी नै गरेनन् ।

सत्तारुढ गठबन्धनले महानगरपालिकामा भागवण्डा गरेको छैन । तर गठबन्धनमा रहेको माओवादी केन्द्र र एकीकृत समाजवादीले मेयरमा दाबी नगरेकाले ललितपुरको मेयर कांग्रेसले पाउने सम्भावना बढी छ ।

कांग्रेसबाट वर्तमान मेयर चिरिबाबु महर्जनसँगै प्रेमकृष्ण महर्जन आकांक्षी छन् । दुबै कांग्रेसको संस्थापन समूहका हुन् । प्रेमकृष्णलाई केन्द्रीय सदस्य उदयशमशेर राणा, जीतजंग बस्नेतलगायतको साथ छ भने चिरिबाबुलाई पूर्वजिल्ला सभापति मदन अमात्य लगायतका नेताहरुले अघि बढाएका हुन् । सभापति शेरबहादुर देउवाको ‘प्रिय’ भएकाले चिरिबाबुले नै मेयरको टिकट पाए आश्चर्य मान्नु नपर्ने कांग्रेस ललितपुरका एक नेता बताउँछन् ।

२०७४ को जनमत

२०७४ को स्थानीय चुनावमा एमालेले राप्रपासँग तालमेल गरेको थियो भने कांग्रेस र माओवादी केन्द्र एक्लाएक्लै लडेका थिए । वैकल्पिक राजनीतिको नारा लिएको तत्कालीन साझा पार्टीले स्थानीय स्तरमा लोकप्रिय उम्मेदवार उठाएको थियो ।

साझाका रमेश महर्जनले १३ हजार ४५८ मत ल्याए । धेरै तटस्थ भोट उनले पाइएको मानिन्छ । माओवादीका उम्मेदवार दिनेश महर्जन (दीपेश) ले पनि १० हजार ६६१ मत पाएका थिए । रमेश र दिनेशले सम्मानजनक मत पाएपछि मेयरमा कांग्रेसका चिरिबाबु र एमालेका हरिकृष्णबीच कडा प्रतिस्पर्धा भएको थियो । र, व्यञ्जनकारलाई ३२३ मतान्तरले हराएर महर्जन मेयर बनेका थिए ।

यो पटक परिस्थिति फेरिएको छ । २०७४ मा एक्लै प्रतिस्पर्धा गरेको कांग्रेसले माओवादी केन्द्रको साथ पाउनसक्छ । माओवादी ललितपुरका जिल्ला संयोजक शिव कट्टेल भन्छन्, ‘गठबन्धन भएको अवस्थामा कांग्रेसले मेयर लिएपछि हामी उपमेयर लिन्छौं ।’ अघिल्लो चुनावमा माओवादीले चार वटा वडा जितेको थियो र उसका वडाध्यक्षका उम्मेदवारहरुको कुल मत १४ हजार ५४६ हुन्छ ।

कांग्रेसको मतमा माओवादीको मत जोड्दा एमालेको भन्दा मेयरमा ११ हजार ७६६ मत बढी देखिन्छ । जबकी एमालेका मेयरका उम्मेदवार व्यञ्जनकारले पाएको मतमा राप्रपाबाट पाएको करिब तीन हजार ५०० पनि छ ।

एमालेले पनि माओवादीको रामबहादुर थापा बादल समूहका कारण केही भोट त थपेको छ, एकीकृत समाजवादीले केही हजार भोट काट्ने एमाले नेताहरु नै स्वीकार गर्छन् । जुन मत गठबन्धन बन्दा यो मत पनि कांग्रेसकै खातामा थपिने देखिन्छ ।

एमालेले अघिल्लो निर्वाचनमा समर्थन पाएको राप्रपाको साथ गुमाएको छ । एमालेले बुधबार मात्र राप्रपाबाट अलग भएर कमल थापाले पुनर्गठन गरेको राप्रपा नेपाल र परिवार दलसँग देशभर चुनावी गठबन्धनको सहमति गरेको छ । तर राप्रपाको सबै मत आउने सम्भावना छैन ।

ललितपुरमा ८ वटा वडा (२, ३, ४, ५, १८, १९, २३ र २४) मा गठबन्धनको भन्दा एमाले एक्लैको भोट बढी छ । यदि एकीकृत समाजवादीले यो वडाहरुमा धेरै भोट काटेन भने एमालेलाई राहत हुनेछ ।

रमेशले पाएको मत निर्णायक

ललितपुर महानगरमा यो पटक १ लाख २२ हजार ८९० मतदाता छन्, जसमध्ये ९९६८ नयाँ हुन् ।

योभन्दा धेरै मत अघिल्लो चुनावमा तत्कालीन साझा पार्टीका मेयरका उम्मेदवारले पाएका थिए । साझाबाट विवेकशील साझा बनेको रवीन्द्र मिश्र नेतृत्वको पार्टी आन्तरिक कलहमा फरेको छ ।

मिलन पाण्डे नेतृत्वको समूहले छुट्टै अभियान चलाइरहेको छ भने पार्टीमा रहेकाहरुबीच पनि एकता छैन । त्यसैले २०७४ मा मेयरका उम्मेदवार रमेश (जसको निधन भइसक्यो) र उपमेयरकी उम्मेदवार शोभा शाक्यले पाएको मत यो पटक दोहोर्‍याउन कठिन छ ।

त्यसैले नयाँ मतदातासँगै अघिल्लो चुनावमा रमेशले पाएको मत कता जान्छ भन्नेले ललितपुरको मेयरको प्रतिस्पर्धा कस्तो हुन्छ भन्ने निर्धारण गर्ने देखिएको छ ।

एमाले ललितपुरका एक नेताकाअनुसार रमेशले पाएको धेरै तटस्थ मत थियो । यदि यो पटक एमालेले त्यसलाई आफूतिर तान्न सक्यो भने कांग्रेस र माओवादीको गठबन्धनका बाबजुद कडा टक्कर दिनसक्छ । त्यो मत गठबन्धनतिर ढल्कियो भने एमालेका लागि प्रतिकुलताहरु अझ बढ्नेछ ।

यद्यपि समयमै उम्मेदवार सिफारिस भएका कारण व्यञ्जनकारले चुनाव प्रचारको समय पाएका छन् । भन्छन्, ‘पहिले पनि जितेको हौं, अहिले पनि पनि जित्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?