+
+

विराटनगरमा सत्तारुढ दललाई गठबन्धन गर्नै गाह्रो

विराटनगरमा कांग्रेसको संस्थापन समूह तालमेलको पक्षमा छ भने डा. शेखर कोइराला समूह विपक्षमा छ । कांग्रेसलाई आन्तरिक रुपमा मिलाउन जति गाह्रो छ, गठबन्धनमा रहेका अरु दललाई पनि त्यो भन्दा कम कठिन छैन । किनकि विराटनगरको मेयरमा जसपाको पनि दाबी छ ।

हरि अधिकारी हरि अधिकारी
२०७९ वैशाख १ गते २०:५३

१ वैशाख, विराटनगर । स्थानीय तह निर्वाचनमा तालमेलको निर्णय गरेको सत्तारुढ गठबन्धनले तालमेलको खाका अहिलेसम्म बनाउन सकेको छैन । धेरैको चासो रहेको महानगरपालिकाहरुमा को उम्मेदवार बन्छन् भन्ने स्वय‌ं दलका नेताहरु नै अनविज्ञ छन् ।

विराटनगर महानगरपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा विजयी भएको नेपाली कांग्रेसकाका स्थानीय नेता कार्यकर्ता यस पटकको निर्वाचनमा तालमेलको विषयलाई लिएर दुई खेमामा बाँडिएका छन् ।

संस्थापन समूह तालमेलको पक्षमा छ भने डा. शेखर कोइराला समूह विपक्षमा छ । कोइराला पक्षका नेता नगर सभापति रहेको विराटनगर महानगरपालिका समितिले तालमेल नगर्ने निर्णय गरिसकेको छ ।

महानगर सभापति दीपक चापागाईं कांग्रेसले एक्लै चुनाव जित्न सक्ने दाबी गर्छन् । पाँच वर्षमा भएको विस्तार संगठन, नेकपा एमालेमा आएको फुट र तत्कालिन फोरम लोकतान्त्रिक, कांग्रेसमा विलय हुनु नै जितको आधार भएको उनले बताए । चापागाईं भन्छन्,‘विराटनगरमा कांग्रेसका मतदाताले अरुलाई भोट हाल्न मान्दैनन् ।’

संस्थापन पक्षका नेताहरु भने कांग्रेसले तालमेल नगर्दा जनता समाजवादी पार्टी (जसपा), माओवादी केन्द्र र एकीकृत समाजवादीले छुट्टै गठबन्धन गरे अप्ठ्यारो पर्ने तर्क गर्छन् । १४औं महाधिवेशनमा देखिएको पक्षधरताको तुष स्थानीय निर्वाचनमा देखिनसक्ने भएकाले पनि गठबन्धन गरेर जानुपर्ने नेताहरुको तर्क छ ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका विराटनगरका मेयर भीम पराजुली भने महानगरको हकमा केन्द्रले निर्णय गर्ने भएका कारण तल्लो तहले गर्ने निर्णयले अर्थ नराख्ने बताउँछन् ।

गठबन्धन गर्न गाह्रो

कांग्रेसलाई आन्तरिक रुपमा मिलाउन जति गाह्रो छ, गठबन्धनमा रहेका अरु दललाई पनि त्यो भन्दा कम कठिन छैन ।

किनकी विराटनगरको मेयरमा जसपाको पनि दाबी छ । विराटनगरमा जसपाको प्रभाव तुलनात्मक रुपमा राम्रो छ । २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले ७ वटा वडा जित्दा जसपाले ६ वडा जितेको थियो । कांग्रेसले जितेका अधिकांश वडामा प्रमुख प्रतिस्पर्धी जसपा थियो ।

जसपा मोरङका अध्यक्ष राजकुमार यादव २०७४ सालको निर्वाचनमा पार्टीको हार प्राविधिक मात्रै भएको बताउँछन् । ‘हाम्रो धेरै भोट बदर भयो,’ उनले भने, ‘यो पटक मेयरमा हाम्रो दाबी छ ।’

गठबन्धनको अर्को दल माओवादी केन्द्रले भने मेयरमा दाबी गरेको छैन, तर उपमेयर लिन खोजेको छ । जबकी कांग्रेस मेयर र उपमेयर दुवै छाड्न तयार छैन ।

यदि कांग्रेसले मेयर नछाडे माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल हुन सक्ने जसपा नेताहरु बताउँछन् । ‘जसपाले वीरगञ्ज र विराटनगरको मेयरमा दाबी गरेको छ,’ जसपा केन्द्रीय सदस्य सञ्जय सिंह भन्छन्, ‘विराटनगरमा हाम्रो प्रतिस्पर्धा कांग्रेससँग हो, सबै खाले सम्भावनाहरु छन् ।’

उपमेयर दाबी गरेको माओवादी पनि कांग्रेससँग सहमति नभए जसपासँग मिल्न सक्ने सम्भावना छ । २०७४ मा पनि माओवादी र फोरमले मेयर र उपमेयरमा तालमेल गरेको थियो ।

२०७४ को अंकगणित

२०७४ सालको निर्वाचनमा विराटनगरको मेयर र उपमेयर दुबै पद कांग्रेसले जितेको थियो ।

कांग्रेसका भीम पराजुली २३ हजार ३१ मतसहित विजयी हुँदा दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार विनोद ढकालले १७ हजार ३३१ मत प्राप्त गरेका थिए । तेस्रो भएका तत्कालिन संघीय समाजवादी फोरमका उमेश यादवले १४ हजार ९५८ मत प्राप्त गरे ।

वडाध्यक्षका उम्मेदवारहरुले पाएको मत हेर्ने हो भने मेयर पराजुलीले कांग्रेसका अरु उम्मेदवारले भन्दा ६ हजार ७०० मत बढी पाएको देखिन्छ । किनकी पराजुलीले २३ हजार ३१ मत पाउँदा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरुको कुल मत १६ हजार २८० छ ।

मेयर पराजुलीले एमाले–फोरम लोकतान्त्रिक र संघीय फोरम–माओवादीको गठबन्धनबाट समेत मत पाएको देखिन्छ । किनकि वडाध्यक्षमा एमालेका उम्मेदवारले १६ हजार १२८ र फोरम लोकतान्त्रिकका उम्मेदवारले ४ हजार २९९ मत पाएका थिए ।

जबकी मेयरमा दुबै दलको साझा उम्मेदवारले १७ हजार ३२१ मत मात्र पाएका थिए । यस्तै वडाध्यक्षमा फोरमका उम्मेदवारले १० हजार ८०५ र माओवादीका ७ हजार ६६९ मत पाएका थिए, जबकी मेयरका साझा उम्मेदवारले १४ हजार ९५८ मत पाएका थिए ।

यदि कांग्रेस, माओवादी र जसपाबीच तालमेल भयो भने २०७४ को जनमतअनुसार विराटनगर महानगरपालिकामा सत्तारुढ गठबन्धनलाई जित्न सहज हुने देखिन्छ । किनकी २०७४ कै जनमत हेर्ने हो भने कांग्रेस, माओवादी, जसपाको मत जोड्दा एमाले गठबन्धनभन्दा २० हजारभन्दा बढी मत हुन्छ ।

तर अघिल्लो निर्वाचनको ‘मत क्याल्कुलेसन’ले खासै अर्थ नराख्ने राजनीतिक विश्लेषक शान्तिराम भण्डारी बताउँछन् । भन्छन्, ‘पछिल्लो पाँच वर्षमा राजनीतिक नेतृत्वले जस्तै सोच जस्तै जनताले सोच्छन् कि सोच्दैनन् भनेर टेष्ट भएकै छैन ।’

यो पटक १९ हजार भन्दा बढी मतदाता थपिएका छन् र, कुल मतदाता संख्या १ लाख ३३ हजार १४२ पुगेको छ । पछिल्ला राजनीतिक घटनाक्रम, थपिएका मतदाता र दलहरुले उठाएको उम्मेदवारले पनि चुनावी परिणाम फरक गर्न सक्ने उनको विश्लेषण छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?