+
+

जीतपुरसिमरा : कांग्रेस र माओवादी भिडे एमालेलाई हलुका

सुरेश बिडारी सुरेश बिडारी
२०७९ वैशाख २ गते १८:२८

२ वैशाख, वीरगञ्ज । सत्तारुढ पाँच दल आफूले जितेको ठाउँ सुरक्षित गर्न र अरु दलले जितेको पालिकाको नेतृत्व लिन तालमेलको प्रयासमा छन् । उनीहरुले तालमेलका आधार तयार गर्नुको साथै तालमेलबारे निर्णय गर्ने संयन्त्र नै बनाएका छन् ।

गठबन्धनमा आबद्ध दलको तल्लो तहमा भने एक्ला–एक्लै प्रतिस्पर्धा गर्ने आवाज चर्को रुमपा उठिरहेको छ । बाराको जीतपुरसिमरा उपमहानगर यसबाट अछुतो छैन । यहाँ गठबन्धनमा आबद्ध दलहरुको बैठकको संयुक्त बैठक समेत बस्न सकेको छैन ।

खासगरी सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका नेताहरु मेयर नपाउने भए गठबन्धन नै नगर्ने पक्षमा छन् । २८ चैतमा कांग्रेसको महानगर समितिको बैठकले एक्लै चुनाव लड्ने सर्वसम्मत निर्णय गरिसकेको छ ।

जीतपुरसिमरा नगर समितिका सभापति छविलाल शर्मा कार्यकर्ताको भावना अनुसार नै निर्णयमा पुगिएको बताउँछन् । ‘कमजोरलाई गठबन्धन आवश्यक पर्ने हो, जीतपुरसिमरामा कांग्रेस यत्तिकै बलियो छ’, उनले भने, ‘कार्यकर्ताको भावना पनि गठबन्धन नगरौं भन्ने नै छ ।’

कांग्रेस एक्लै लड्दा माओवादी केन्द्रले एकीकृत समाजवादी लगायतका दलसँग तालमेल गर्ने देखिन्छ ।

०७४ को निर्वाचनलाई नियाल्दा

०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका डा. कृष्ण पौडेल जीतपुरसिमरा उपमहानगरको मेयर चुनिएका थिए । उनले १४ हजार ८६५ मत पाएका थिए ।

सहकारी अभियानमा राम्रो छवि बनाएका उनले २४ वटै वडामा एमालेका वडाध्यक्षका उम्मेद्‍वारले पाएको भन्दा ८५२ बढी मत पाए । ७ वटा वडामा अध्यक्ष जितेको एमालेले २४ वटै वडामा गरेर कुल १४ हजार १३ मत पाएको थियो ।

दोस्रो स्थानमा आएका कांग्रेस उम्मेद्‍वार कृष्ण बरत सिंहले पौडेलको भन्दा २ हजार ८ सय ७० मत कम ल्याए । सिंहले ११ हजार ९९५ मत पाए । ५ वटा वडा जितेको कांग्रेसका सबै वडाध्यक्षले पाएको कुल मत भने १० हजार ३८४ छ ।

१० वटा वडामा अध्यक्ष जिते पनि माओवादीका मेयरका उम्मेदवार राजन पौडेल तेश्रो भए । उनले ११ हजार २५१ मत ल्याए । जबकि वडाध्यक्षका माओवादी उम्मेदवारहरुले पाएको मत १२ हजार ८९ छ ।

कांग्रेसले आफूलाई बलियो देख्ने आधार

गठबन्धनमा आबद्ध दलमध्ये पहिलो भएकाले जीतपुरसिमरामा मेयर पनि आफूले पाउने पर्ने कांग्रेसको दाबी छ । यसअघिका प्रत्यासी कृष्ण बरत सिंहसहित उपमहानगर समितिका पूर्वसभापति श्यामबाबु गुप्ता, नारायणी रायमाझीलगायत मेयरमा आकांक्षी छन् ।

कांग्रेस जीतपुरउपमहानगर समितिले जिल्ला कार्य समिति बारालाई आफूले जित्ने आधार नै पेश गरिसकेको छ । नेकपा एमाले फुट्नुका साथै मेयर अलोकप्रिय भएको तथा पार्टीको संगठनात्मक अवस्था विगतको भन्दा राम्रो भएको कांग्रेसको ठहर छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबभन्दा बढी भ्रष्टाचारको उजुरी परेको, स्थानीय तहको कार्य सम्पादन मुल्यांकनमा ३५.१७ अंक मात्र पाएको र सम्पत्ति कर १००० प्रतिशतसम्म बढाएकाले जनतामा वितृष्णा बढेको कांग्रेसको तर्क छ ।

‘कम्युनिष्टहरु एक हुँदा पनि जीतपुरसिमरामा जनअपेक्षा अनुसार विकास हुन सकेन’, उनले भने, ‘भ्रष्टाचार बढी भएको छ, कार्यसम्पादन मुल्यांकनमा कमजोर छ ।’

माओवादी केन्द्रको आफ्नै छ तर्क

०७४ मा तेस्रो भएको माओवादी केन्द्र पनि जीतपुरसिमराको मेयर छाड्न तयार छैन । यसअघिको निर्वाचनमा धेरै मतदाता भएको वडामा जितेको वडा नं. १३ मा गलत उम्मेदवार उठाएकाले पराजित भएको उसको निष्कर्ष छ । यस्तै वडा नं. ११ मा ९ र वडा नं. १९ मा ४ भोटको अन्तरले मात्रै माओवादी केन्द्रका उम्मेदवार पराजित भएका थिए ।

आफूले जितेको वडामा उत्कृष्ट काम गरेको तथा एमालेको अलोकप्रियता बढेको माओवादीको ठहर छ । माओवादी केन्द्रका जीतपुरसिमरा उपमहानगर अध्यक्ष प्रेम बराल भन्छन्, ‘जीतपुरसिमरा वामपन्थीहरुको वर्चस्व रहेको ठाउँ हो, गठबन्धन भएमा माओवादीले जित्ने, नत्र नजित्ने भन्ने छैन । सशक्त रुपमा प्रतिस्पर्धामा उत्रने मात्रै होइन, एक्लै जित्छौं ।’

माओवादी केन्द्रले राजन पौडेललाई नै मेयरमा उठाउने सम्भावना छ । ४ वैशाखसम्ममा एक जना उम्मेदवारको नाम सिफारिस गर्ने गरि तयारी भइरहेको नेताहरु बताउँछन् । ‘स्थानीय स्तरमा कांग्रेसले गठबन्धन चाहिँदैन भनेको छ’ मेयरको उम्मेदवारका आकांक्षी पौडेलले अनलाइनखबरसँग भने, ‘माथिबाट जे निर्णय आउँछ त्यसैगरी अघि बढ्ने हो । एक्लै चुनाव लड्न जाउँ भन्छन भनेपनि तयारी अवस्थामा छौं ।’

एमालेको आफ्नै दाउ

कांग्रेस र माओवादीले एक अर्कालाई मेयर नछाड्ने बरु एक्लाएक्लै लड्ने तयारी गर्दा एमालेलाई भने हलुका महसुस गरेको छ । एमाले जीतपुरसिमराका अध्यक्ष भोला अधिकारी माओवादी केन्द्र र कांग्रेस एक्ला एक्लै हुँदा प्रतिस्पर्धा हलुका हुने बताउँछन् । ‘बाधा र अवरोधका बीचमा नगरमा ५ वर्षमा धेरै काम गरेका छौं,’ उनले भने ‘गठबन्धनसँग डराउनुपर्ने अवस्था छैन । तर एक्लै एक्लै आए हलुका हुन्छ ।’

माओवादी केन्द्रबाट जितेका वडा नं. २३ का अध्यक्ष एमालेमा प्रवेश गरेका छन् भने लोकतान्त्रिक समाजवादीसँग तालमेल गर्दा फाइदा पुग्ने स्थानीय नेताहरुको बुझेका छन् । एमालेबाट उपप्रमुख सरस्वती चौधरी, नेता मनोज पौडेल, नारायण क्षेत्री, कासिम हुसेन मेयरमा आकांक्षी छन् ।

साना दल निर्णयक

जीतपुरसिमरामा एमाले, कांग्रेस र माओवादीबीच प्रतिस्पर्धा हुने हो भने साना दलहरु निर्णायक हुने देखिन्छ । ०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीले मेयरमा २ हजार ८०४ मत पाएका थिए, जबकि सबै वडाध्यक्षमा ३ हजार ५ सय १४ मत ल्याएको थियो ।

नेकपा एमालेबाट छुट्टिएको नेकपा एकीकृत समाजवादीले पनि जीतपुरसिमरामा संगठन विस्तार गरिसकेको छ ।

एकीकृत समाजवादीका बारा जिल्ला अध्यक्ष एवं प्रदेश सभा सदस्य सुन्दर विश्वकर्मा सकेसम्म गठबन्धनमा मिलेर जाने चाहेको बताउँछन् । ‘गठबन्धनको निर्णय मानेर जाने हो । मिल्दै मिल्दैनन भने प्रतिस्पर्धामा जाने हो’, उनले भने, ‘स्थानीय तहमा दलहरुको धेरै उम्मेदवार भएकाले अलि अलि कचिङगल छ ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?