+
+

राप्रपासँग मिल्दा सहरी जनमत बढ्ने एमालेको आश

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते २०:३५

२ वैशाख, काठमाडौं । २०७८ सालको अन्तिम ३० चैतमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच पाँच बुँदे सहमति भयो-आसन्न ३० वैशाखको चुनावमा तालमेल गर्ने र राप्रपाका उम्मेदवारहरु समेत सूर्यबाट चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने ।

एक्लै चुनाव लड्ने बताउँदै आएको एमाले मतदानको मिति नजिकिएसँगै राप्रपा नेपाल लगायतका साना दलहरुसँग तालमेल गर्न पुगेको छ । यसलाई कतिपयले आश्चर्य मानेका छन् ।

दुई दलले २०७४ सालमै स्थानीय तहदेखि संघीय निर्वाचनसम्मै निश्चित ठाउँमा तालमेल गरेको थिए । संविधान जारी भएपछिको पहिलो स्थानीय तहको निर्वाचनमा अहिलेजस्तै नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनको संघीय सरकार थियो । सरकारमा रहेका दलहरुले स्थानीय चुनावमा ठाउँठाउँमा तालमेल गरेका थिए ।

अर्कोतिर एमाले र साना दलहरुको गठबन्धन थियो । २०७४ सालमा एमालेले काठमाडौं  र ललितपुर महानगरपालिकाको उपमेयर राप्रपा नेपाललाई दिएको थियो । काठमाडौंमा एमालेबाट मेयरमा विद्यासुन्दर शाक्य निर्वाचित हुँदा राप्रपाबाट उपमेयर लडेका राजाराम श्रेष्ठ पराजित भए ।

वाम गठबन्धन र राप्रपाबीच २०७४ सालको संघीय निर्वाचनमा पनि झापा जिल्लामा तालमेल भएको थियो । तालमेलकै बलमा एमाले अध्यक्ष ओली अत्यधिक मतले विजयी भए भने राप्रपाका राजेन्द्र लिङ्देनले पनि चुनाव जिते ।

०७४ सालकै मोडेलमा अहिले पनि एमाले–राप्रपा चुनावी तालमेल हुने भएको छ । तर, अहिले राप्रपाले एमालेकै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने भएको छ । यसबाट राप्रपाबाट सहरी जनमत बढाउन सकिने आश एमाले नेताहरुमा रहेको देखिन्छ ।

एमाले नेता देवेन्द्र दाहाल भन्छन्, ‘राप्रपा नेपालले उम्मेदवारी दिएको ठाउँमा हामी पुर्णत सहयोग गर्छौं । उहाँहरुले उम्मेदवारी नदिएको ठाउँमा आम रुपमा राप्रपाको भोट एमालेलाई आउँछ । यसले दुबै पार्टीलाई फाइदा हुन्छ ।’

राप्रपासँग चुनावी तालमेल गर्नुपर्नाको कारणबारे उनी थप ब्याख्या गर्छन्, ‘अधिकांश जिल्लामा उहाँहरुको केही न केही छ । त्यसले पनि एउटा अर्थ पक्कै राख्छ ।’

राप्रपाका महामन्त्री राजाराम बर्तौला पनि आफुहरुको भोट एमाले उम्मेदवारका लागि जित र हारका लागि निर्णयक हुन सक्ने बताउँछन् । ‘हाम्रो थोरै मत पनि उहाँहरुलाई संजिवनी बुटी बन्न सक्छ’ बर्तौला भन्छन् । उनी एमालेसँगको तालमेलले आफूहरुलाई पनि फाइदा नै हुने विश्वास राख्छन् ।

‘हामी पनि पार्टी निर्माणकै क्रममा छौं । राम्रो रहेको ठाउँमा नेतृत्वमा दाबी गर्छौं अन्यता सहभागिता नै प्रमुख हो । जसले हाम्रो पार्टीलाई सम्मानजनक रुपमा स्थापित गर्नमा सहयोग पुगनेछ’ बर्तौलाले अनलाइनखबरसँग भने ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेले काठमाडौं महानगर र पोखरामा निकै फराकिलो मतान्तरले जितेको थियो । तर, यसपटक एमाले विभाजित भएको र केन्द्रमा सरकार चलाइरहेको पाँच दलीय गठबन्धन एक हुँदा समेत राप्रपाको भोट लिएर जित्ने विश्वास एमालेले राखेको देखिन्छ ।

शक्ति आकलन गर्दै कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा अहिले आफ्नो पार्टीको शक्ति आकलन गरिरहेका छन् ।

७७ वटै जिल्लाका पार्टी कमिटीसँग पार्टीको सांगठनिक अवस्थाबारे विवरण माग गरेका उनले आफ्नो पकड रहेको ठाउँमा स्थानीय तहको प्रमुख र उपप्रमुखमै दाबी गरेका छन् ।

राप्रपाका महामन्त्री राजाराम बर्तौलाका अनुसार ७७ वटै जिल्लालाई पत्राचार गरेर पार्टी सदस्यता र पार्टी सर्मथित मतदाताको विवरण माग गरिएको छ । ‘विवरण आएपछि पार्टीको शक्ति कहाँ कति छ ? भन्ने विषयमा विवरणसहित कुरा गर्न सकिन्छ,’ उनले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल गठन गरेका थिए । नयाँ पार्टी गठन गरे पनि उनको पार्टीको जनमत कति हो ? भन्ने यकिन छैन ।

तर, राप्रपा नेपालका नेताहरु आसन्न स्थानीय चुनाव आफुहरुको पार्टी निर्माणको अवसर भएको बताउँछन् । ‘एकीकृत राप्रपाभन्दा बलियो भएपनि देशव्यापी एक्लै चुनाव जित्न सक्ने अवस्था छैन् । यसकारण चुनावी तालमेल गर्दै पार्टीलाई सम्मानित पार्टीको रुपमा स्थासपत गराउने हाम्रो मुख्य उदेश्य हो,’ राप्रपाका एक नेताले भने ।

एमाले नेता देवेन्द्र दाहाल पनि राप्रपाले आफ्नो शक्ति कहाँ कति हो ? भन्ने यकिन गरेपछि थप निर्णय हुने बताउँछन् । ‘विभिन्न जिल्लामा केही न केही छ उहाँहरुको । उहाँहरुको पार्टीको मुल्यांकन भएपछि तालमेलबारे ठोस निर्णय हुन्छ,’ दाहालले भने ।

पार्टी अध्यक्ष कमल थापाको मकवानपुरको हेटौंडालगायतका क्षेत्रमा बलियो प्रभाव रहेको बताइन्छ । तर, राप्रपा विभाजन गरेर थापाले नयाँ पार्टी बनाएपछि राप्रपा विभाजित नै छ ।

२०७४ सालको चुनावमा राप्रपाले काठमाडौं र चितवनसहित पूर्वी तराई, धरान क्षेत्र, पर्सा र दाङ लगायतका जिल्लाहरुमा राम्रो मत पाएको थियो । जो आसन्न चुनावमा जीत र हारका लागि निर्णायक हुने एमाले नेताहरुको विश्वास छ । तर राप्रपाबाट अलग भएकाले यी क्षेत्रमा पनि राप्रपा विभाजित छ ।

राप्रपाले बाँकेको नेपालगञ्ज उपमहानगरपालिको प्रमुख नै जितेको थियो, तर, मेयर धवलशम्शेर रााणा कमल थापासँग छैनन् । तथापि, कमल थापाको प्रभाव नेपालगञ्जमा रहेको नेताहरु बताउँछन् ।

आफ्नो प्रभाव त्रमा राप्रपा नेपालले नेतृत्वमै दाबी गरेको छ । हेटौंडा र नेपालगञ्ज उपमहानगरपालिकाको उपमेयरसहित विभिन्न जिल्ललामा केही गाउँपालिका प्रमुख र वडाका वडाध्यक्षहरु माग गरेको छ । ‘हेटौंडामा उपमेयरसहित केही गाउँपालिको नेतृत्व दाबी गरेका छौं, तर निर्णय हुन बाँकी छ,’ महामन्त्री बर्तौलाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?