+
+

चीनले खोज्दैछ ‘दोस्रो पृथ्वी’, जुन महिनादेखि सुरु हुनेछ विशेष अभियान

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते ६:३४

काठमाडौं । आफ्नो प्रविधि, अन्वेषण तथा हिम्मतिलो मिसनका लागि चीन संसारमै चिनिँदै आएको छ । सफलता तथा असफलताको संसयबीच चीन मंगल ग्रह तथा चन्द्रमासम्म पुगिसकेको छ । चीनले आफ्नै अन्तरीक्ष स्टेसन समेत बनाइसकेको छ । अब चाहिं चीनको योजना अर्को पृथ्वीको खोजी गर्नु रहेको छ ता कि आवश्यकता हुँदा पृथ्वीका मानिसहरुलाई त्यहाँ पठाउन सकियोस् । यो विषयमा चीन सरकारसँग एक योजना नै छ ।

पृथ्वीको जस्तै जीवनको सम्भावना रहेको ग्रह शौर्य मण्डल बाहिर खोजी गर्ने योजना बेइजिङको छ अर्थात् शौर्य मण्डलभन्दा बाहिर तर हाम्रो आकाशगंगा भित्रको कुनै तारालाई परिक्रमा गर्ने बाह्य ग्रह खोजी गर्ने प्रयास चीनको छ, जहाँ जीवनको सम्भावना होस् ।

चाइनिज एकेडेमी आफ साइन्सेसले अगाडि सारेको उक्त योजनाका विषयमा नेचर जर्नलमा रिपोर्ट प्रकाशित भएको छ । जस अनुसार आगामी जुन महिनादेखि दोस्रो पृथ्वी खोज्ने कार्य औपचारिक रुपमा सुरुवात हुनेछ । साथै चीन सरकारले अनुमति दिएमा यो मिसनका विकासको चरण सुरु गरिनेछ र त्यसका लागि कोषको व्यवस्था आदि गरिनेछ । जस अन्तरगत शौर्य मण्डल बाहिर जीवनको सम्भावना भएका ग्रहको खोजी गर्न जाने स्याटेलाइटहरु निर्माण गरिनेछ ।

शौर्य मण्डल बाहिर जाने स्याटेलाइटले बाहिरी ग्रहको रासायनिक संरचनाको जाँच गर्नेछ । त्यसबाट ग्रहमा रहेका तत्वहरुले जीवनको उत्पत्ति तथा विकासका लागि सहयोगी छन् कि छैनन् भन्ने समेत पत्ता लगाउनेछ । यसका साथै चीनले शक्तिशाली टेलिस्कोपको निर्माणमा पनि काम गरिरहेको छ जसले जीवनको सम्भावना भएका ग्रहहरुको खोजीमा सहयोग गर्नेछन् ।

चाइनिज एकेडेमी अफ साइन्सेसको रिपोर्ट अनुसार चीनले सातवटा टेलिस्कोपको सहयोगले शौर्य मण्डल बाहिर दोस्रो पृथ्वीको खोजी गर्नेछ । केप्लर मिसनमा जस्तै ती चिनियाँ टेलिस्कोपले ग्रहको खोजी गर्नेछन् । तर चिनियाँ मिसनको क्षमता तथा डाटा केप्लर मिसनको भन्दा अधिक हुने दोस्रो पृथ्वी खोजी परियोजनाका प्रमुख अन्तरीक्ष वैज्ञानिक जियान जी बताउँछन् ।

उनका अनुसार चिनियाँ स्याटेलाइट नासाको केप्लर टेलिस्कोपको तुलनामा १ हजार १५ गुणा बढी शक्तिशाली हुनेछ । उनका अनुसार चिनियाँ यान ट्रान्जिट विधिबाट काम गर्नेछ जसले प्रकाशमा हुने सानो परिवर्तन पनि पहिचान गर्नेछ । उसका  ६ वटा टेलिस्कोपले ५ सय वर्गडिग्रीको आकासमा १२ लाख वटा ताराको अध्ययन गर्नेछ । जसमा कम प्रकाशयुक्त तारा पनि समावेश हुनेछन् । जुन नासाको ट्रान्जिटिंग एक्जोप्लानेट सर्भे स्याटेलाइट भन्दा क्षमतावान हुनेछ ।

चिनियाँ यानमा सातौं यन्त्र एक गुरुत्वाकर्षणीय माइक्रोलेन्सिंग टेलिस्कोप हुनेछ । जसले आफ्नो ताराभन्दा निकै टाढा रहेका वरुण तथा प्लुटो जस्ता ग्रह तथा फुच्चे ग्रहको खोजी गर्नेछ । स्मरण रहोस् नासाले हालसम्म ५ हजार भन्दा धेरै बाहिरी ग्रह अर्थात् एक्जोप्लानेट पत्ता लगाइसकेको छ, जो हाम्रो आकाशगंगामै रहेका छन् ।

ती बाह्य ग्रहहरु पत्ता मात्र लागेका छन् तर त्यसमा थप अनुसन्धान हुन सकेको छैन । चीनले यसरी पत्ता लागेका सबै बाह्य ग्रहको संरचना तथा जीवनको सम्भावनाको अध्ययन गर्नेछ ।

यतिधेरै बाह्य ग्रहहरुमध्ये जीवनको सम्भावना भएको कुनै सुपर पृथ्वी वा सानो वरुण अवश्य रहेको र त्यो केही वर्षभित्रैमा पत्ता लाग्ने विश्वास चीनको छ । आफूहरुसँग पर्याप्त डाटा रहेको र त्यसको आधारमा खोजी सुरु गर्ने जियान बताउँछन् ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?