+
+

माओवादीका प्रदेश इन्चार्ज भन्छन् : मधेशमा पाँचै दलबीच गठबन्धनको सम्भावना न्यून छ

४० पालिकामा माओवादी केन्द्रको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते २०:४८

४ वैशाख, काठमाडौं । सत्ता गठबन्धन आवद्ध दल नेकपा माओवादी केन्द्रले मधेश प्रदेश आफ्नो राम्रो जनाधार भएको दावी गर्छ । २०७४ को स्थानीय तह निर्वाचनमा मधेशका १३६ मध्ये माओवादी केन्द्रले २१ पालिकाको प्रमुख पदमा निर्वाचित भएको थियो ।

त्यस्तै ३३१ वडाध्यक्ष जितेको थियो । सत्ता गठबन्धनमै रहेका दलहरु जनता समाजवादी पार्टी र नेपाली कांग्रेसले पनि मधेश प्रदेशमा आफू बलियो भएको दावी गर्दै आएका छन् ।

त्यसैले मधेशमा सत्ता गठबन्धनमा रहेका सबै दलबीच तालमेल हुने सम्भावना न्यून रहेको माओवादी केन्द्रका मधेश प्रदेश समिति इन्चार्ज गणेश साह बताउँछन् । अघिल्लो चुनाव भन्दा यसपटक माओवादीको अवस्था रहेको पनि उनले दाबी गरे । प्रस्तुत छ साहसँग गरिएको कुराकानी :

स्थानीय चुनावका लागि मधेशमा तपाईंहरुको तयारी कस्तो छ ?

पालिकाहरुको बैठक सम्पन्न गरेको छ । वडाको उम्मेदवार टुंग्याउने काम अन्तिम चरणमा पुगेको छ । पालिकाको प्रमुख/उपप्रमुखका बारेमा चाहिँ ठोस निर्णयमा पुग्न अझैं एक/दुई दिन लाग्छ । निर्वाचनका लागि गाउँ–गाउँ, वडा–वडामा पार्टीका कार्यकर्ताका लागि परिचालन भइरहेको छ । त्यस्तै जनवर्गीय मोर्चाहरुको परिचालन पनि गरेका छौं ।

मधेशमा सत्तारुढ दलबीच तालमेलको तयारी कस्तो छ ?

तालमेलको एकदमै सकस छ । सम्भावना पनि एकदमै न्यून छ । पार्टी भित्रै पनि उम्मेदवारहरुको आकांक्षी धेरै छन् । अर्कोतिर गठबन्धनको बैठक बसे पनि प्रभावकारी र परिणाममुखी हुन सकेको छैन ।

मधेश प्रदेशमा माथिबाट सिटमा तालमेल भयो भने भयो, तल पाँचै दल (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा) बीच तालमेल गाह्रो छ । गठबन्धनभित्रकै भिन्न भिन्न दलबीच तालमेल होला तर पाँचवटै दलबीच हुने सम्भावना अहिले एकदम न्यून छ ।

तपाईंहरुको दावी कति हो मधेश प्रदेशमा ?

उपमहानगरपालिका र महानगरपालिका केन्द्रले टुंग्याउने भनेको छ । यो प्रदेशमा कलैया, जितपुर–सिमरा र जनकपुर गरी तीन उपमहानगरपालिका छ । त्यसमध्य जितपुर–सिमरामा हाम्रो दावी हो ।

अघिल्लो चुनावमा हामीले २१ वटा पालिकामा जितेका थियौं । त्यसमा दावी यथावत हुने भइहाल्यो । त्यो बाहेक धेरै पालिकामा हामी थोरै मतले दोस्रो भएका थियौं । त्यहाँ पनि हाम्रो दाबी नै छ । त्यस हिसाबले हाम्रो ४० वटा पालिकामा दाबी छ ।

२०७४ मा भन्दा तपाईहरुको अवस्था कमजोर छ कि सुध्रिएको छ ?

मधेश प्रदेशमा आम जनतामा माओवादीप्रति उत्साह नै देखिन्छ । तर, पार्टीभित्र आन्तरिक समस्या छ । केही ठाउँमा अझै पनि समानान्तर कमिटी छन् । प्रतिगमनविरुद्धको आन्दोलनमा मधेश प्रदेशको सक्रिय सहभागिता रहेको हिसाबले राम्रै हुन्छ भन्ने मेरो अनुमान हो ।

तर, मधेशको चुनावमा कुन कुन ‘फ्याक्टर’ले काम गर्छ भन्ने बुझ्न गाह्रो छ । यहाँ जातीय, सीमाञ्चल र मधेशी–पहाडी फ्याक्टर छ । कस्तो उम्मेदवार हामी चयन गर्छौं र कस्तो अवस्था सिर्जना हुन्छ भन्ने अवस्थामा भर पर्छ । त्यसैले अहिले पूर्वामानुमान गर्न गाह्रो छ ।

एमालेले पनि मधेशमा राम्रो अवस्था बनेको छ भनिरहेको छ, यसले माओवादीलाई कत्तिको असर गर्छ ?

प्रचण्डजी आएका बेला यहाँ जुन उभार देखिन्छ, त्यसले राम्रै हुन्छ भन्ने लाग्छ । तर, जनउभार र जनमतमा कत्तिको तालमेल खान्छ भन्ने कुरा भन्न सकिन्न ।

सामान्ययता जो नेता आए पनि मधेशमा जनउभार त्यस्तै नै हुन्छ । अर्कोतिर, एमालेको धेरै राम्रो भएको मलाई लाग्दैन । रघुवीर र प्रभुजीहरुले ‘मनि र मसल’को प्रयोग गर्नुभयो भने उनीहरुले पनि पहिले भन्दा राम्रो गर्ने सम्भावना हुन सक्छ ।

प्रभु साह एमालेमा रहँदा रौतहटम त असर गर्छ होला नि ?

हाम्रो जिल्ला पार्टीको ‘रिपोर्टिङ’ अनुसार अहिले पनि हाम्रो त्यहाँ राम्रो छ । चुनावका बेलामा कस्ता उम्मेदवार चयन हुन्छन्, कस्तो माहोल बन्छ भन्ने कुराले पनि निर्धारण गर्छ । चुनाव हुँदा प्रहरी प्रशासनको पनि ठूलो भूमिका हुन्छ । त्यसैले प्रहरी प्रशासनको भूमिका कस्तो हुन्छ भन्ने कुराले पनि निर्धारण गर्छ ।

मधेशका १३६ पालिकामध्ये माओवादी केन्द्रले कति वटामा जित हासिल गर्ला ?

पहिले भन्दा राम्रै योगदान हुन्छ । यदि प्रहरी प्रशासन ‘न्युट्रल’ भयो, र पैसा परिचालन गरिएन भने हाम्रो राम्रो हुन्छ । मधेशको चुनावमा पैसा ठूलो ‘फ्याक्टर’ हुन्छ । पैसाको ‘फ्लो’ कुन पार्टीबाट हुन्छ भन्ने कुराले पनि निर्धारण गर्छ । पैसाको मामिलामा हाम्रो पार्टी कमजोर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?