+
+

११ उपमहानगरमा यी हुन् गठबन्धनका सम्भावित उम्मेदवार

लिलु डुम्रे लिलु डुम्रे
२०७९ वैशाख ७ गते २१:००

७ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार भागवण्डा टुंगो लगाएपछि अब ती पदमा को को उम्मेदवार बन्छन् भन्ने चर्चा सुरु भएको छ ।

बुधबार भएको सहमति अनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार बनाउनेछ । वीरगञ्ज, भरतपुर र पोखराको उपमेयर पनि कांग्रेसको भागमा परेको छ ।

कांग्रेसले उपमहानगरमध्ये सात वटामा मेयरको उम्मेदवार उठाउने भएको छ । धरान, इटहरी, कलैया, बुटबल, तुलसीपुर, नेपालगञ्ज र धनगढीमा कांग्रेसका उम्मेदवारलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवदी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गर्नेछन् ।

उपप्रमुखमा भने कांग्रेसले ४ वडा उपमहानगरपालिकामा उम्मेदवारी दिनेछ । जितपुर सिमरा, घोराही, जनकपुर र हेटौंडा उपमहानगरमा कांग्रेसका उम्मेदवार गठबन्धनको आधिकारिक उम्मेदवार हुनेछन् ।

माओवादी केन्द्रले भरतपुर महानगर, जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको मेयरको उम्मेदवार उठाउने छ । ललितपुर महानगरमा उपमेयर पाएको माओवादीले धरान र धनगढी उपमहानगरपालिकामा पनि उम्मेदवार बनाउने भएको छ ।

एकीकृत समाजवादीले पोखरा महानगरको मेयर र काठमाडौं महानगरको उपमेयर पाएको छ ।

उपमहानगरतर्फ हेटौंडाको मेयर र इटहरी, बुटबल र तुलसीपुरको उपमेयर एकीकृत समाजवादीले पाएको छ ।

जनता समाजवादी पार्टीले महानगरपालिकातर्फ वीरगञ्जको मेयर र विराटनगरको उपमेयर पाएको छ । उपमहानगरतर्फ जनकपुर मेयर तथा कलैया र नेपालगञ्जको उपमेयर जसपाले पाएको छ । सत्ता गठबन्धनले उपमहानगरपालिकाको भागवण्डा टुंगो लगाएपछि हामीले ती उपमहारगरका संभावित उम्मेदवारको लेखाजोखा गरेका छौं ।

धरान उपमहानगरपालिका

धरानको मेयरमा कांग्रेसबाट ९ जनाको नाम सिफारिस भएको थियो । हालका मेयर तिलक राई, कांग्रेस प्रदेश १ का महामन्त्री उमेश थापा, धरान नगर समितिका पूर्वउपसभापति किशोर राई अग्रपंक्तिमा छन् ।

मेयरको दाबी गर्दै आएको माओवादी केन्द्रले धरानमा उपमेयर पाउने भएको छ । माओवादी केन्द्रबाट जिल्ला नेताद्धय अइन्द्रविक्रम बेघा र किरण राई मेयरका आकांक्षी थिए । सत्ता गठबन्धनको शीर्ष तहमा उपमेयर माओवादीबाट हुने भएपछि बेघा वा राई नै अघि सर्ने वा अर्को व्यक्तिलाई उम्मेदवार बनाउने निर्णय भइसकेको छैन ।

पार्टीले उपमेयरमा उठाउने निर्णय गरेमा आफू तयार रहेको माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य समेत रहेका बेघाले जानकारी दिए । ‘गठबन्धनबाट जित्ने गरी हामी छलफलमा छौं । १÷२ दिन भित्रमै गठबन्धनका सबै उम्मेदवारको निर्णय हुन्छ,’ बेघाले भने ।

इटहरी उपमहानगरपालिका

इटहरीको मेयरका लागि कांग्रेसबाट ११ जनाको सिफारिस भएको छ । तीमध्ये इटहरी नगर सभापति हेमकर्ण पौडेल, रोहित प्रसाईं, भीमबहादुर पौडेलमध्ये एक जना मेयरको उम्मेदवार हुने सम्भावना छ ।

पौडेल यसअघि पनि मेयरको आकांक्षी भएर टिकट पाएका थिएनन् । प्रसाईं गत निर्वाचनमा मेयरमा पराजित भएका थिए । पौडेल उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष हुन् ।

एकीकृत समाजवादीले उपमेयर पाउने सहमति भए पनि को उम्मेदवार हुने टुंगो लागेको छैन । ‘हामी मेयरकै उम्मेदवार पाउने आशामा थियौं । उपमेयर कसलाई बनाउने छलफलकै क्रममा छौं,’ एकीकृत समाजवादीका इटहरी इन्चार्ज केवल फुँयालले भने, ‘उम्मेदवार बन्न खोज्ने धेरै हुनुहुन्छ । २/३ दिनमा पार्टीले उपमेयर उम्मेदवारको टुंगो लगाउँछ ।’

एकीकृत समाजवादीबाट मेयरको दौडमा रहेका केशवकुमार विष्ट नै उपमेयरको उम्मेदवार बन्न सक्ने गठबन्धनमा आवद्ध दलका एक जिल्ला नेताले बताए ।

जनकपुरधाम उपमहानगरपालिका

जनकपुरधाममा जनता समाजवादी पार्टीले हालका मेयर लालकिशोर साहलाई निरन्तरता दिने तयारी गरेको छ । नगर अध्यक्ष विष्णुदेव साह आकांक्षी भए पनि वर्तमान मेयरलाई नै जसपाले दोहोर्‍याउन चाहेको छ ।

केन्द्रले गरेको निर्णयमा जनकपुरका कांग्रेस कार्यकर्ताले चित्त बुझाएका छैनन् । ‘मधेश प्रदेशसँग पार्टी सभापति शेरबहादुर देउवाले विभेद गर्नुभएको छ,’ नगर समिति सभापति मनोज साहले अनलाइनखबरसँग भने, ‘जसपालाई मेयर दिने निर्णय अबिलम्ब नसच्याए हामी कडाभन्दा कडा कदम उठाउन तयार छौं ।’ उपमेयर कांग्रेसले लिने भए पनि नेताहरु मेयरकै आकांक्षी रहेकाले अहिले नै निर्णय आउने सम्भावना कम छ ।

कलैया उपमहानगरपालिका

बाराको कलैयामा मेयर कांग्रेस र उपमेयर जनता समाजवादी पार्टीले लिने गठबन्धन दलहरुको निर्णय छ । गत निर्वाचनमा विजयी राजेश राय यादव नै कलैयामा दोहोरिने सम्भावना रहेको जिल्ला तहका एक नेता बताउँछन् ।

उनी बाराका जिल्ला सभापति समेत हुन् । ‘कलैयामा अघिल्लोपटक जितेका हुन् । जिल्ला सभापति पनि जिते । देउवाका मान्छे पनि हुन् । उनै फेरि उम्मेदवार हुनसक्छन्,’ ती नेताले भने ।

रामानन्द यादव पनि कांग्रेसबाट कलैयामा मेयरका आकांक्षी हुन् । जिल्ला सभापतिको समेत प्रतिस्पर्धी रहेका उनले दोस्रो चरणमा राजेश राय यादवलाई सघाएका थिए । ‘जिल्ला सभापतिमा आफुले जित्नका लागि राजेश राय यादवले भित्री सहमति गरेका थिए ।’ जिल्ला तहका ती नेताले भने, ‘रामानन्दलाई कलैयाको मेयरको उम्मेदवार बनाउने प्रतिवद्धता गरेर राजेश आफु जिल्ला सभापति बनेका हुन् ।’

पार्टी संस्थापन पक्षको हुनुको साथै जिल्ला सभापति समेत भएकाले राजेश राय यादव उम्मेदवार हुने सम्भावना बढी रहेको उनी बताउँछन् ।

उपमेयर पाएको जसपाबाट चार जनाको नाम सिफारिस भएको छ । कलैयाको उपमेयर लक्ष्मी पटेल, उमरावती यादव, प्रकाश चौलागाईं र शंकर यादवको नाम सिफारिस गरिएको छ । सिफारिस नामबाट छिट्टै उपमेयरको निर्णय केन्द्रले गर्ने नगर अध्यक्ष शिवनाथ पटेलले जानकारी दिए ।

बुटवल उपमहानगरपालिका

बुटवलमा मेयर कांग्रेस र उपमेयर एकीकृत समाजवादीबाट हुने निर्णय भएको छ । बुटबलको मेयरका उम्मेदवार लागि कांग्रेसको नगर समितिले खेलराज पाण्डेलाई सर्वसम्मत निर्णय गरेर सिफारिस गरेको छ । उक्त निर्णयप्रति जिल्ला तहका १३ जना नेताहरु भने विरोधमा छन् ।

बुटवलमा उपमेयर पाएको एकीकृत समाजवादीले बिहीबार बैठक बसेर नाम सिफारिस गर्ने भएको छ । बुटबलका एकीकृत समाजवादीका अध्यक्ष चिनबहादुर गुरुङ उपमेयरको उम्मेदवार बन्ने तयारीमा छन् ।

‘बिहीबार नगर कमिटीको बैठक बस्छ । एक जना मात्रै आकांक्षी भए सर्वसम्मत हुने नै भयो’, एकीकृत समाजवादीका बुटबल नगर सचिव लोकराज शर्माले भने, ‘धेरै जनाको दाबी रह्यो भने आएका नाम माथिल्लो तहमा सिफारिस गर्छौं ।’

तुलसीपुर उपमहानगरपालिका

दाङका दुई उपमहानगरमध्ये तुलसीपुरको प्रमुख पद कांग्रेसले पाएको छ । तुलसीपुरको उपमेयरको उम्मेदवार भने एकीकृत समाजवादीको भागमा परेको छ ।

कांग्रेसबाट तुलसीपुरको मेयरका लागि गेहेन्द्र गिरीको दाबी बलियो रहेको दाङका कांग्रेस नेताहरु बताउँछन् । गत निर्वाचनमा मेयरमा पराजित उनी नै कांग्रेसबाट उम्मेदवार हुने सम्भावना बढी रहेको जिल्ला नेताहरु बताउँछन् । पूर्व सांसद समेत रहेका उनी पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् ।

नेकपा एकीकृत समाजवादीले तुलसीपुर उपमहानगरको उपप्रमुखमा तारा देवकोटा, जानुका रेग्मी, अनारकली मिया, डिल्ली डाँगीको नाम जिल्लामा सिफारिस गरिएको पार्टीका जिल्ला अध्यक्ष सुरामणि बेलवासेले बताए । चार जनामध्ये डिल्ली डाँगी बलियो दाबेदार मानिन्छन् । उनी जिल्लाका उपसचिव हुन् ।

त्यस्तै देवकोटा लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् भने रेग्मी जिल्लाको उपसचिव हुन् । त्यस्तै अनारकली मिया केन्द्रीय सदस्य हुन् । गठबन्धनको निर्णय अनुसार सिफारिस गरिएको नामहरु प्रदेश र केन्द्रमा पठाइने पार्टीका जिल्ला अध्यक्ष बेलवासेले बताए ।

नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा कांग्रेस र जसपाको दाबी हुँदा शीर्ष तहको बैठक एक दिन लम्बिएको थियो । अन्ततः नेपालगञ्जको मेयर कांग्रेस र उपमेयर जसपाले लिने सहमति बनेको छ ।

कांग्रेसले नेपालगञ्जमा १४ जनालाई मेयरमा सिफारिस गरेको छ । केन्द्रमा सिफारिस भएका मध्ये सुरेश कुमार कनोडियाको सम्भावना बढी रहेको जिल्ला तहका नेताहरु बताउँछन् । उनी गत निर्वाचनमा मेयरमा पराजित भएका थिए ।

जसपा जिल्ला तहले नेपालगञ्जको निर्णय स्वीकारेको छैन । जसपाका बाँके जिल्ला अध्यक्ष कमरुद्धिन राई मेयरका आकांक्षी छन् । ‘हामी गठबन्धन मान्दैनौं, चुनाव लड्छौं । पार्टीले मान्दैन भने हामी फरक चुनाव चिह्न लिएर पुरै बाँके जिल्लामा प्रतिस्पर्धा गर्छौं,’ राईले भने, ‘जसले पार्टीको तर्फबाट निर्णय गर्नु भएको छ उहाँहरू आफ्नो तरिकाले अघि बढ्नु हुन्छ होला । हाम्रो जिल्लाका नेता कार्यकर्ता मान्दैनन् । हामी मान्दैनौं ।’

धनगढी उपमहानगरपालिका

धनगढीको मेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार उठ्नेछन । उपमेयर भने माओवादी केन्द्रको भागमा पारेको छ ।

कांग्रेसले वर्तमान मेयर नृपबहादुर वडलाई नै दोहोर्‍याउन चाहेको छ । संस्थापन पक्षका वड कांग्रेसको केन्द्रीय सदस्य समेत हुन् । वडसँगै मेयरको आकांक्षीमा महाधिवेशन प्रतिनिधि कृष्णबहादुर महरा, निर्वतमान जिल्ला समिति सचिव पूर्ण कुँवर लगायत छन् ।

गत निर्वाचनमा उपमेयरमा पराजित शान्ति अधिकारीलाई माओवादीले उपमेयरमा उठाउने तयारी गरेको छ । उनको नाम मेयरका लागि सिफारिस भएको थियो ।

घोराही उपमहानगरपालिका

घोराहीको मेयरमा सत्ता गठबन्धनले माओवादी केन्द्रका उम्मेदवार उठाउने भएको छ । दाङका माओवादी केन्द्रका इन्चार्ज जीवन गौतमले पार्टी परित्याग गरेपछि हेमराज शर्माको सम्भावना बढेको छ ।

अघिल्लोपटक मेयरमा पराजित गौतम यसपटक पनि मेयरकै आकांक्षी थिए । दलहरुबीच महानगर र उपमहानगरको भागवण्डाको टुंगो नलाग्दै उनले पार्टी छोडे । गौतमले राजीनामा दिएपछि शर्माको लागि बाटो सहज भएको छ । शर्मा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका निकट छन् ।

घोराहीको उपमेयरमा गत निर्वाचनमा पराजित कांग्रेस उम्मेदवार भुपबहादुर डाँगीलाई उठाउने कांग्रेसको तयारी छ । कांग्रेसले मेयरको उम्मेदवार पाएको अवस्थामा उनी नै बलियो दाबेदार थिए ।

जितपुर सिमरा उपमहानगरपालिका

जितपुर सिमरामा गठबन्धनले मेयरमा माओवादी केन्द्रको उम्मेदवार उठाउने निर्णय गरेको छ । जसमा माओवादी केन्द्रका जिल्ला नेता राजन पौडेलको सम्भावना बढी रहेको जिल्ला तहका नेताहरु बताउँछन् । पौडेल गत निर्वाचनमा मेयरको उम्मेदवारमा थोरै मतको अन्तरले पराजित भएका थिए ।

क्षेत्रबहादुर श्रेष्ठ, जयराम दाहाल, रामशरण बर्तौला, गीता कँडेल, शीला खनाल, धनबहादुर श्रेष्ठ र रामराज चौधरीले पनि आकांक्षा राखेका छन् । दाहाल संविधान सभा सदस्य, क्षेत्रबहादुर श्रेष्ठ माओवादी केन्द्र बाराका अध्यक्ष, बर्तौला वडाध्यक्ष हुन् ।

गत निर्वाचनमा उपमेयरमा पराजित निरु रायमाझी कांग्रेसबाट सोही पदको उम्मेदवारको बलियो दाबेदार छन् । महिला संघको केन्द्रीय सदस्य समेत रहेकी उनी अघिल्लो पटकको निर्वाचनमा थोरै मतले पराजित भएकी थिइन् । ‘अघिल्लो पटक धेरै मत बदर हुँदा थोरै मतले हारें । उपमेयरमै लड्नका लागि नेताहरुलाई भनिसकेको छु’, उनले भनिन्, ‘उहाँहरुले आशा देखाउनुभएको छ ।’

हेटौंडा उपमहानगरपालिका

हेटौंडा उपमहानगरको मेयरका लागि सत्ता गठबन्धनले एकीकृत समाजवादीको उम्मेदवार उठाउने भएको छ । एकीकृत समाजवादीले श्रीधर पोखरेललाई हेटौंडाको मेयरमा अघि सार्न खोजेको छ । उनी मकवानपुरका जिल्ला अध्यक्ष समेत हुन् । एमालेको मत तान्नका लागि पार्टीले पोखरेललाई अघि सार्न खोजेको छ ।

मेयरकै दौडमा मीनाकुमारी लामा पनि छन् । लामा हाल हेटौंडा उप महानगरकी उप मेयर हुन् ।

हेटौंडाको उपमेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार उठाउन लागिएको छ । कांग्रेसले उपमेयरमा राजेश बानियाँलाई उठाउने तयारी गरेको छ । उनी मकवानपुर–१ (ख) को कांग्रेस सभापति हुन् । बानियाँ हेटौंडा ५ का वडाध्यक्ष समेत हुन् ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?