+
+

गौतमबुद्ध विमानस्थलमा जजिराले लियो उडान अनुमति, राष्ट्रिय ध्वजाबाहक नेवानि अन्योलमै

अच्युत पुरी अच्युत पुरी
२०७९ वैशाख ८ गते १३:४२
तस्वीर : रासस

८ वैशाख, काठमाडौं । नेपालमा निर्माण सम्पन्न भएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेती वायुसेवा कम्पनी जजिरा एयरवेजले पहिलो उडान गर्ने भएको छ ।

२ जेठ (सोमबार)का दिन यो विमानस्थल उद्घाटन गर्ने योजना सरकारको छ । सोही दिनबाट कुवेती कम्पनी जजिराले नियमित उडान थाल्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार जजिराले पहिलो चरणमा साताको तीन दिन उडान गर्ने गरी अनुमति लिएको छ । जजिरा एयरवेजको जहाज कुवेतबाट सोमबार, बुधबार र शुक्रबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने छ ।

विदेशी कम्पनीले उडान सुरु गर्ने निश्चित भएपनि नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स (नेवानि)ले भने अझै पनि यो विमानस्थलबाट उडान थाल्ने विषयमा अन्यौलमै छ । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजाबाहक जहाज उडाउने विषय अहिले पनि अध्ययनकै चरणमा छ । कुनै पनि गन्तव्य तय भइसकेको छैन । ‘जहाज त उडाउने हो, तर अहिले हामी कुन गन्तव्यमा उपयुक्त होला भनेर अध्ययन गरिरहेका छौं ।’

त्यसो त अहिलेसम्म नेपाल एयरलाइन्सले यो विमानस्थलबाट सम्भावित गन्तव्यको समेत पहिचान गर्न सकेको छैन । नेपाल एयरलाइन्सले जहाज उडायो भने गौतमबुद्ध विमानस्थलबाट पहिलो उडान कहाँ हुन्छ ? भन्ने अनलाइनखबरको प्रश्नमा अधिकारीले भने, ‘त्यो त अहिले नै भन्न सकिँदैन, हामी अध्ययन गर्छौं ।’ यो विमानस्थलमा ग्राउण्ड ह्याण्डिलिङको जिम्मा नेपाल एयरलाइन्सले नै दिएको छ । सोहीकारण अन्य विदेशी कम्पनी आकर्षित नभएसम्म विमानस्थलको सञ्चालन जारी राख्न समेत नेवानिले उडान गर्नुपर्ने दायित्व भने हुन्छ ।

अन्य नेपाली कम्पनीको समेत प्राथमिकतामा छैन विमानस्थल

नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको अर्को कम्पनी हिमालय एयरलाइन्सले समेत अहिलेसम्म यहाँबाट उडान गर्ने गरी कुनै योजना सार्वजनिक गरिसकेको छैन । पोखरा क्षेत्रीय विमानस्थल बनेपछि आक्रामक रुपमा अन्तर्राष्ट्रिय उडानको योजना बनाइएको बुद्ध एयरले भैरहवाबाट भने अन्तर्राष्ट्रिय उडान नगर्ने यसअघि नै बताएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एयरलाइन्सहरुले उडानका लागि चासो दिइरहेका भए पनि जजिराबाहेक अन्य वायुसेवा कम्पनीहरुले भने निवेदन दिइसकेका छैनन् । कतिपय मुलुकका वायुसेवा कम्पनी आउन चाहेको अवस्थामा पनि हवाई सेवा सम्झौता नवीकरण गर्नुपर्ने हुन्छ । सोहीकारण विमानस्थलले बिस्तारै मार्केट लिने प्राधिकरणको अनुमान छ । प्राधिकरणका अनुसार यो विमानस्थलबाट बौद्धमार्गी यात्रु बढी हुने मुलुकमा सहजै वायुसेवा कम्पनी आकर्षित हुने अनुमान गरिएको छ । यसमा थाइल्याण्डदेखि भियतनाम सम्मका मुलुकका एयरलाइन्स हुनेछन् । अर्कोतर्फ वैदेशिक रोजगारीमा खाडी मुलुकका जाने नेपालीलाई लक्षित गरी एयरलाइन्सहरु आउने अपेक्षा गरिएको छ । यसका लागि भने सरकारले सो सँग सम्बन्धित कामहरु भैरहवामा विस्तार गर्नुपर्ने हुन्छ ।

नयाँ धावनमार्गबाट आन्तरिक उडान सुरु 

निर्माण सम्पन्न भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा जहाजको उडान/अवतरण सुरु भएको छ । एयरो थाई कम्पनीबाट विमानस्थलको क्यालिब्रेसन उडान भइसकेपछि यसको रिर्पोट नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो प्रणालीमा प्रकाशित गरेको थियो । यस्तो रिर्पोटका आधारमा उडान/अवतरणसँग सम्बन्धित प्रणालीहरु नयाँ धावनमार्गमा आधारित भएर वायुसेवा कम्पनीहरुले आफ्नो वायुयानमा अपलोड गर्छन् । यस्तो समयावधी ४२ दिनको राखिएको हुन्छ ।

सोही अनुसार नयाँ धावनमार्ग बिहीबारदेखि सञ्चालनमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीले जानकारी दिए । ‘नयाँ सिस्टमले अब पुरानो धावनमार्गलाई चिन्दैन,’ उनले अनलाइनखबरसँग भने, ‘सोही अनुसार आजदेखि स्वभाविक रुपमा नयाँ धावनमार्ग प्रयोगमा ल्याइएको हो ।’ अब यो विमानस्थलमा आन्तरिक तथा बाह्य सबै प्रकारका जहाजले उडान तथा अवतरण गर्न सक्छन् ।

बिहीबार बिहान यति एयरलाइन्सको जहाज नयाँ धावनमार्गबाट काठमाडौंका लागि उडेको छ । धावनमार्ग सञ्चालनमा ल्याएसँगै नयाँ विमानस्थलका सबै प्रणाली सक्रिय बनेका छन् । यो विमानस्थल आयोजना सन् २०१४ मा निर्माण सुरु भएको हो । राष्ट्रिय गौरवका आयोजनामध्ये यो विमानस्थल सबैभन्दा छिटो सम्पन्न हुने आयोजना बनेको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?