+
+

स्मार्टफोन सफा गर्दा नगर्नुहोस् यी गल्ती

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १२:३१

अहिले स्मार्टफोन हाम्रो दैनिक जीवनको अत्यावश्यक वस्तु बनिसकेको छ । योविना हाम्रा कैयन् कामहरू अधुरा हुन्छन् । वर्तमान विश्वमा ठूलो परिमाणमा मोबाइल फोनको उपयोग शैक्षिक, व्यवसायिक, घरेलु आदि क्षेत्रमा भैरहेको छ ।

वास्तवमा स्मार्टफोनले संसारलाई नयाँ ढंगले परिभाषित गरिदिएको छ । संसारलाई नै एउटा गोजीमा अटाइदिएको छ ।

एक तथ्यांक अनुसार विश्वमा मोबाइल फोन (फिचर फोन र स्मार्टफोन समेत) प्रयोगकर्ताको संख्या ७ अर्ब २६ करोड छ । जुन विश्वको कुल जनसंख्याको ९१.५४ प्रतिशत हो । त्यसमध्ये ६अर्ब ३७ करोडले स्मार्टफोन चलाउँदछन् ।

त्यस्तै एक तथ्यांक अनुसार विश्वमा कुल स्मार्टफोन प्रयोगकर्तामध्ये २९ प्रतिशतले दैनिक ३ देखि ५ घण्टासम्म फोन चलाउँदछन् भने २६ प्रतिशतले दैनिक ७ घण्टाभन्दा बढी समय स्मार्टफोन चलाउने गर्दछन् ।

यति लामो समयसम्म स्मार्टफोन चलाउँदा फोन फोहोर त हुन्छ नै । हामीले फोन चलाउने बेलामा हात धोइरहेका हुँदैनौं भने गोजीमा तथा टेबुल वा अन्यत्र ठाउँहरूमा पनि फोन राखिरहेका हुन्छौं । यी सबै कारणले गर्दा फोनमा धुलो तथा फोहोर लागेको हुन्छ ।

अमेरिकाको एरिजोना विश्वविद्यालयका शोधकर्ताहरूले गरेको एक अध्ययन अनुसार हाम्रो स्मार्टफोनमा ट्वाइलेट सिटमाभन्दा १० गुणा बढी ब्याक्टेरियाहरू हुन्छन् । उक्त अध्ययनले एउटा स्मार्टफोनमा औसतमा १७ हजार ब्याक्टेरिया हुने तथ्य पत्ता लगाएको थियो ।

आखिर यतिधेरै फोहोर हुने तर हामीले निकै सफा ठानेर बारम्बार मुखमा लगिरहने हातले चलाउने स्मार्टफोनलाई सफा राख्नु अनिवार्य हुन्छ । तर आफ्नो स्मार्टफोन सफा गर्दा केही कुरामा ध्यान दिनुपर्दछ । यदि स्मार्टफोन सफा गर्दा सावधानी अपनाइएन भने फोन बिग्रिन सक्दछ ।

स्मार्टफोनको सफा गर्दा सकेसम्म वाइपको प्रयोग गर्नुहोस् । वाइपको सहयोगमा स्क्रिनलाई मज्जाले सफा गर्न सक्नुहुन्छ । यसले फोनमा कुनै पनि हानी नोक्सानी पुर्‍याउँदैन । यदि बजारमा पाइने वाइप उपलब्ध छैन भने नरम कपडामा कुनै डिस्इन्फेक्टेन्ट तथा ग्लास क्लिनर लगाएर पनि प्रयोग गर्न सक्नुहुन्छ ।

स्मार्टफोनको स्क्रिन सफा गर्दा त्यसमा धेरै थिच्नु हुँदैन । स्क्रिनलाई छिट्टै र धेरै सफा गर्ने भनेर धेरै दबाएर सफा गर्नुभयो भने त्यसले डिस्प्ले टुट्न वा चिरा पर्न वा स्क्रिन क्षतिग्रस्त हुन सक्दछ ।

स्मार्टफोन सफा गर्दा पानीको प्रयोग कहिल्यै पनि गर्नु हुँदैन । राम्रो खालको क्लिनरको सहयोगमा फोन सफा गर्नुहोस् । यसो गर्दा फोनभित्र तरल पदार्थ छिर्दैन र फोन सफा पनि हुन्छ ।

फोनको स्क्रिन सफा गरिरहँदा फोनको पछाडिको क्यामरामा पनि विशेष ख्याल गर्नुहोस् । कुनै कडा सतहमा फोन राखेर स्क्रिन सफा गर्दा दबाबका कारण पछाडिको क्यामरामा असर पर्न सक्दछ । त्यसैले फोनलाई हातमै राखेर सफा गर्नुहोस् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?