+
+

प्रदेश १ मा सत्ता गठबन्धनको अपुरो तालमेल

हरि अधिकारी हरि अधिकारी
२०७९ वैशाख १३ गते २१:३२

१३ वैशाख, विराटनगर । स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच प्रदेश १ का सबै जिल्लामा गठबन्धनले अपुरो तालमेल गरेको छ । प्रदेशका १४ जिल्लामा रहेका १३७ वटा स्थानीय तहमध्ये करिब आधाजसोमा सत्तारुढ दलहरुबीच चुनावी तालमेल हुन सकेन ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेलको केन्द्रबाटै बाध्यकारी निर्णय गरेका महानगर र उपमहानगरमा समेत तालमेल भएन ।

मोरङ र सुनसरीमा जिल्ला तहबाट घोषित रूपमै गठबन्धन भएन । ती बाहेकका अन्य जिल्लामा पनि गठबन्धन दलबीच आंशिक सहमति जुट्यो भने अधिकांशमा प्रतिस्पर्धा हुने भएको छ ।

कतिपय पालिकामा केन्द्रबाट भएको सत्तागठबन्धन बाहेकका दलहरूसँग तालमेल नगर्ने निर्णय विपरीत एमाले र राप्रपासँगसमेत तालमेल गरे ।

महानगरमै माओवादीको उम्मेदवारी

गठबन्धनले प्रदेश १ को एक महानगर र दुई उपमहानगरको तालमेल केन्द्रबाटै गरेर बाँकी तहका पालिकाका विषयमा निर्णय गर्न प्रदेश र जिल्लालाई जिम्मेवारी दिएको थियो । तर, प्रदेश १ मा अधिकार प्राप्त गठबन्धका प्रदेश र जिल्ला तह त के केन्द्रबाटै निर्णय भएका महानगरमा समेत गठबन्धन कायम रहन सकेन ।

गठबन्धनले विराटनगर महानगरपालिकामा प्रमुख काङ्ग्रेस र उपप्रमुखमा जनता समाजवादी पार्टीले पाएका थिए । गठबन्धनको तर्फबाट मेयरमा काङ्ग्रेस नेता नागेश कोइराला र उपमेयरमा जसपाबाट अमरेन्द्र यादव उम्मेदवार छन् ।

तर, गठबन्धनकै अर्को दल माओवादी केन्द्रले वडा तहमा भागबण्डा नमिलेको भन्दै प्रमुख र उपप्रमुखमा नै उम्मेदवारी दर्ता गरेको छ । कांग्रेसले गठबन्धन गर्न नमानेको भन्दै माओवादी केन्द्रबाट प्रमुखमा शारदा मैनाली र उपप्रमुखमा नमिता न्यौपानेले बागी उम्मेदवारी दिएका छन् ।

‘गठबन्धन इमान्दार नभएपछि मैले उपमेयरमा उम्मेदवारी दर्ता गरे,’ माओवादी केन्द्र विराटनगर सचिवसमेत रहेकी न्यौपानले भनिन्, ‘गठबन्धनको उद्देश्य सबैतिर भागण्डा हो । मेयर उपमेयर छाडेपछि वडामा हाम्रो उपस्थिति हुनुपर्छ ।’

जिल्ला तहमा अपुरै तालमेल

माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोका अनुसार मोरङ, सोलुखुम्बु र सुनसरी बाहेकका जिल्लामा जिल्ला तहबाट नै गठबन्धन भएको छ । गठबन्धन दलबीच केही पालिकामा गठबन्धन भएको बताउँदै उनले केही पालिकामा खुला प्रतिस्पर्धाका लागि मनोनयन दर्ता भएको बताए ।

भोजपुरका ९ मध्ये दुईवटा पालिकामा गठबन्धन हुन सकेन । सातवटा पालिकामा भने काङ्ग्रेसले ५ र माओवादी केन्द्रले २ स्थानीय तहको नेतृत्वका लागि उम्मेदवारी दर्ता गरे ।

खोटाङका १० स्थानीय तहमध्ये ४ वटा पालिकामा सहमति जुट्न सकेन । बाँकी ६ वटा स्थानीय तहमध्ये ३ वटामा माओवादी केन्द्र र ३ पालिकामा कांग्रेसले उम्मेदवारी दिएका छन् ।

संखुवासभाका पनि १० मध्ये ३ वटा पालिकामा तालमेल हुन सकेन । बाँकीमध्ये काङ्ग्रेसले ५, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले १–१ पालिकाको प्रमुखमा मनोनयन दर्ता गरेका छन् ।

झापाका १५ मध्ये १० वटा पालिकामा मात्रै गठबन्धन दलबीच तालमेल भयो । नेपाली कांग्रेसले मेचीनगर, बुद्धशान्ती, विर्तामोड, भद्रपुर, बाह्रदशी, शिवसताक्ष्ी, कमल गाउँपालिका र गौरादह, अर्जुनधारा र गौरीगञ्जको नेतृत्व लिएको छ ।

यी सबै पालिकामा माओवादी केन्द्रले उप्रमुृखमा उम्मेदवारी दिएको छ । त्यस्तै एकीकृत समाजवादीले पनि केही वडाको नेतृत्व पाएको छ । बाँकी पालिकामा सहमति जुटन नसकेपछि दलहरूले एक्लाएक्लै उम्मेदवारी दर्ता गराएका छन् ।

सुनसरीका १२ वटा पालिकामध्ये दुई उपमहानगरमा केन्द्रबाटै गठबन्धनको निर्णय भएको थियो । बाँकी १० वटा पालिकामा गठबन्धनका दलहरुबीच तालमेल हुन सकेन ।

नेपाली कांग्रेस प्रदेश १ का महामन्त्री उमेश थापाले दलहरूबीच अन्तिम समयसम्मै तालमेलको प्रयास जारी रहने बताए । ‘केही पालिकामा स्वस्थ्य प्रतिस्पर्धा हुन्छ,’ उनले भने, ‘गठबन्धनका लागि उम्मेदवारी फिर्ता लिने समयसम्म प्रयास रहन्छ ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?