+
+

मेयरकी उम्मेदवार सिंहले सार्वजनिक गरिन् ७ संकल्प

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते १३:३५

१५ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरकी उम्मेदवार सिर्जना सिंहले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् ।

बिहीबार पत्रकार सम्मेलन गरेकी सिंहले आफ्नो ७ संकल्प सार्वजनिक गरेका हुन् ।

जसमा सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर, दिगो पर्यटन, सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यता, सबल र समावेशी पूर्वाधार, स्वावलम्बी महिला, सबल युवा, सृजनशील महानगरवासी छन् ।

उनका सात स‌ंकल्प जस्ताको तस्तै :

१. सेवा र सुशासन : महानगरलाई विधिको शासन, नियम, कानून भित्र रहि चलाउने संकल्प गर्दछु । भ्रष्टाचारमुक्त, चुस्त सेवाप्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा काठमाडौं महानगरलाई स्थापित गर्नेछु । संघीय सरकार, प्रदेश सरकार, अन्य पालिका, नीजि क्षेत्र, गैरसरकारी संघसंस्था र समुदायसँग साझेदारी गर्दै महानगरको लक्ष्य प्राप्तिका लागि काम गर्नेछु ।

२. स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा : शिक्षा र सिकाईको गुणस्तरमा वृद्धि गर्दै सुलभ र सबैको पहुँचयुक्त बनाउनेछु । महानगरीय स्वास्थ्य प्रणालीको विकास गरी सबै वडाहरुमा रोकथाम, परिक्षण, उपचार र पुर्नस्थापनासहितको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको स्थापना र विशेषज्ञ सेवासहितको महानगरीय अस्पतालको सञ्चालन गर्नेछु । जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न लगायत विशेष समुहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउनेछु ।

३. स्वच्छ, सफा, दिगो पर्यावरण : काठमाडौं महानगरलाई जिरो वेस्ट नगरपालिका बनाउने छु । पिउन योग्य पानी, स्वास फेर्न योग्य हावाका लागि आवश्यक कानूनी, संस्थागत र संरचनागत व्यवस्था गर्नेछु । सार्वजनिक खुल्ला स्थान, पार्क, वन, हिटी, इनार, पोखरी, फल्चा आदीको संरक्षण, पुर्नस्थापना तथा विस्तार गर्नेछु ।

४. सुरक्षित शहर : महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति लगायत सम्पूर्णले सुरक्षित अनुभव गर्नसक्ने र हिडडुल गर्न सक्ने शहरको निर्माण गर्नेछु । विपद थेग्न सक्ने क्षमतायुक्त शहरको निर्माणको लागि काम गर्नेछु ।

५. संस्कृति, सम्पदा र सभ्यता : मौलिक ज्ञान, भाषा, जात्रा, बाजागाजा, चाडपर्व, मेला, ग्रन्थ, पेशालाई समुदायको अपनत्व र संलग्नतामा सम्वद्र्धन तथा संरक्षण गर्दै महानगरको संस्कृतिलाई पर्यटनसँग जोड्ने छु । गुठि प्रणालीको प्रवद्र्धन, संरक्षण गर्दै दिगो विकासको लागि प्रतिवद्ध रहि कार्य गर्नेछु ।

६. सबल र समुन्नत पूर्वाधार : सहज रुपमा हिडडुल गर्ने पुर्वाधारको निर्माण गरी पैदलयात्री केन्द्रीत शहरका रुपमा महानगरलाई विकास गर्नेछु । महानगर क्षेत्रभित्र सबैखालका पूर्वाधारको निर्माणमा मौलिक ज्ञान, प्रविधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्नेछु । महानगरको कार्यक्षेत्र भित्र पर्ने सम्पूर्ण पूर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्न तथा मर्मत सम्भारका लागि अविलम्ब कार्य गर्न सक्नेगरी संस्थागत क्षमताको विकास गर्नेछु ।

७. सबल युवा, स्वावलम्वी महिला, सिर्जनशील महानगरबासी : युवाका लागि अवसर, महिलाको शशक्तिकरण र सम्पूर्ण महानगरबासीको सिर्जनशीलता अभिवृद्धि गर्नका लागि आवश्यक पहलकदमी गर्नेछु । उद्यमशीलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्नेछु । त्यतिमात्र होइन, जुन सुकुम्बासीको हाम्रो समस्या छ, काठमाडौँमा । उहाँहरुको पनि समस्यालाई बुझि म त्यसको निराकरण गर्न पनि लाग्नेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?