+
+

सृष्टि अभिनित ‘पल्पसा क्याफे’ नाटकले सात दिनमै कमायो ५ लाख

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १२:२३

काठमाडौं । मदन पुरस्कार विजेता उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’ले आक्रामक कमाइ गरेको छ । कोरोना महामारीपछि नाटकघरमा दर्शकको घुइँचो देखिएको हो ।

सृष्टि श्रेष्ठ र विमल सुवेदीको प्रमुख भूमिका रहेको थिएटर भिलेजको नाटकले एक सातामै ५ लाख रुपैयाँ कमाएको छ । वैशाख ९ गतेदेखि मण्डला थिएटरमा नाटक मञ्चन भइरहेको छ ।

दर्शकको घुइँचो बढेपछि आगामी शनिबारदेखि दैनिक दुई शो नाटक मञ्चन हुँदैछ । टिकट शुल्क ३०० देखि ५०० रुपैयाँसम्म राखिएको छ । प्रति शो ५५ हजार रुपैयाँ नाटकले कमाएको जनाइएको छ । मण्डलाको नयाँ नाटकघरमा करिब २ सय सिट छन् ।

महामारीले प्रभावित यो नाटकको चारपटक गरिएको रिहर्सलमा मात्र १८ लाख रुपैयाँ खर्च भइसकेको निर्देशक तथा अभिनेता विमल सुवेदीले जानकारी दिए । भिडियो र ध्वनिका उपकरण प्रयोग गर्दा लागत बढेको उनको भनाइ छ ।

नाटक दैनिक हाउसफुल हुन थालेपछि कतिपय दर्शक नहेरिकन फर्कन समेत बाध्य छन् । दर्शकको उच्च उपस्थिति भएपछि शो थप्न लागिएको सुवेदीले बताए ।

पल्पसा क्याफे नाटकप्रति दर्शकीय आकर्षणलाई रंगमञ्च कोरोना महामारीपछि लयमा फर्किएको संकेतको रुपमा हेरिएको छ । ‘दर्शकको यो मायाले हामी भावविभोर पनि भएका छौं,’ सुवेदीले भने, ‘महामारीपछि नाटक लयमा फर्किंदैछ र कन्टेन्ट राम्रो भए दर्शक आउँछन् प्रमाण समेत हो यो ।’

चर्चित उपन्यासमा आधारित भएकाले पनि दर्शकको आकर्षण बढेको हुनसक्ने सुवेदीको मूल्यांकन छ । नाटकले दशक लामो सशस्त्र द्वन्द्वको सेटिङमा जीवन बाँचिरहेको एक चित्रकारको कथा भन्छ । सशस्त्र युद्धमा सहभागी भएको साथीले युद्ध हेर्न लगेपछि चित्रकार रहेको दृश्य नामक पात्रले नजिकबाटै युद्ध देख्दाको भोगाइ नाटकमा प्रस्तुत छ ।

थिएटर भिलेजमै मञ्चन भएको अनुप बराल निर्देशित नाटक ‘कोर्ट मार्सल’ अहिलेसम्मकै धेरै कमाउने नाटक हो । एक महिनासम्म चलेको राजेश हमाल अभिनित यो नाटकले करिब १३ लाख रुपैयाँ कमाइ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?