१६ वैशाख, काठमाडौं । अब शुक्रबार पनि सेयर बजार खुला गर्ने तयारी सुरु भएको छ । अहिले आइतबारदेखि बिहीबारसम्म सेयर बजार खुला हुने गरेको थियो । शुक्रबार र शनिबार भने सेयर बजार बन्द हुने गरेको थियो ।
सरकारले आगामी १ जेठदेखि लागू हुने गरी शनिबार र आइतबार सातामा दुई दिन बिदा दिने निर्णय गरेपछि नेपाल स्टक एक्सचेन्जले शुक्रबार बजार खुलाउन लागेकोे हो ।
यद्यपि, यसको औपचारिक निर्णय भने भइसकेको छैन । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले सरकारी निर्णय अनुसार शनिबार र आइतबार बन्द हुने र शुक्रबार बजार खुलाउने तयारी गरिएको बताए ।
सेयर कारोबार समय समेत थप गर्नु पर्ने विषयमा समेत नेप्सेमा छलफल भएको छ । अहिले बजार खुलेको दिन ११ बजेदेखि ३ बजेसम्म अर्थात दैनिक ४ घण्टा सेयर बजार खुला हुने गरेको छ ।
समयावधि बढाउनु पर्ने कतिपय लगानीकर्ताहरुको सुझाव आउपनि यो भने तत्कालै लागू नहुने भएको छ । यसका लागि नियमावली नै संशोधन गर्नु पर्ने प्रवक्ता पराजुलीले बताए । शुक्रबार कारोबार खुला गर्नका लागि भने नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले नै निर्णय गर्न सक्ने व्यवस्था छ ।
प्रतिक्रिया 4