+
+

बाजुराका दलित बस्ती : जता साहु उतै भोट

बाजुराको दलित बस्तीका वासिन्दाले आफनो साहुको निर्देशनमा मतदान गर्नुपर्छ । स्थानीय मन कामीले भने ‘अहिले त एकलाई सहयोग गरे अर्को साहु आफूहरु माथि आइलाग्ने अवस्था आयो । अब कसरी भोट हाल्ने, कसको निर्देशन मान्ने ?’

प्रकाश सिंह प्रकाश सिंह
२०७९ वैशाख १७ गते २०:३०
बाजुराको स्वामीकार्तिकखापर गाउँपालिका-३ जुकोटको गाउँ

१७ वैशाख, बाजुरा । एउटा राजनीतिक दलमा आएको विभाजनको असर जनताको तहसम्म कसरी पर्छ भन्ने उदाहरण बाजुराको स्वामीकार्तिकखापर गाउँपालिका–३ जुकोटका दलित बस्तीमा हेरे पुग्छ । यहाँको दलित समुदाय अहिले नेकपा एमाले फुटको चपेटामा छ ।

नेकपा एमाले फुट्नु भन्दा पहिला जुकोट गाउँका कथित माथिल्लो जातका अधिकांश व्यक्तिहरु एमाले थिए । उनीहरुको खेतबारी कमाउने र उनीहरुकै छत्रछायाँमा त्यहाँ बसोबास गर्ने दलित समुदाय पनि माथिल्लो जातिको आफ्ना मालिकहरुको निर्देशनमा भोट हाल्थे । आफूखुशी भोट हाल्ने स्वतन्त्रता नभएपनि उनीहरु माथि एमाले भन्दा अर्को पार्टीको हस्तक्षेप थिएन् ।

तर, जब एमाले फुट्यो, सिंगो जुकोट गाउँ नेकपा एमाले र नेकपा एकीकृत समाजवादी गरेर दुई चिरामा बाँडियो । गाउँपालिका अध्यक्ष उम्मेदवारमा एमालेबाट चतुर्भुज शाही, एकीकृत समाजवादीबाट चिरञ्जीवी शाही उम्मेदवार भए । चिरञ्जीवीलाई माओवादीको समेत साथ छ । उनले २०७४ सालको स्थानीय चुनावमा कांग्रेसलाई हराउदै गाउँपालिका अध्यक्ष जितेका थिए । जुकोटमा कांग्रेस र माओवादी पनि छन्, तर उल्लेखनीय मात्रामा समाजवादी र एमाले छन् ।

सुदूरपश्चिमको पहाडी जिल्लामा रहेका दलित बस्तीलाई स्थानीय साहुहरुले आफ्नो खल्तीको मतदाता ठान्ने आम प्रचलन छ । त्यसैले अहिले पनि उनीहरु ‘जता साहु उतै भोट’ हाल्नुपर्ने बाध्यतामा छन् ।

साविकको जुकोट अहिले एउटा वडा भएको छ । वडामा २ हजार ९६ मतदाता छन् । दलित समुदायको २१८ परिवार बसोवास छ । गाउँ दुई चिरामा विभाजित भएको छ र दुबै अध्यक्षका उम्मेदवार यही वडाका छन् । यसले यो गाउँका दलितहरु यता लागौं कि उत्ता भएका छन् ।

स्थानीय मन कामीले भने ‘पहिला पनि साहुको निर्देशनमा भोट हाल्ने गरेका थियौं, तर अहिले त एकलाई सहयोग गरे अर्को साहु आफूहरु माथि जाइलाग्ने अवस्था आयो । अब कसरी भोट हाल्ने, कसको निर्देशन मान्ने ?’

सुदूरपश्चिमको पहाडी जिल्लामा रहेका दलित बस्तीलाई स्थानीय साहुहरुले आफ्नो खल्तीको मतदाता ठान्ने आम प्रचलन छ । त्यसैले अहिले पनि उनीहरु ‘जता साहु उतै भोट’ हाल्नुपर्ने बाध्यतामा छन् । बसेको खेतबारी, सामाजिक प्रभाव र जातीय हैकमका कारण उनीहरुले अहिले पनि स्वतन्त्रतापूर्वक मतदान गर्न पाउँदैनन् ।

स्थानीय हलियाहरुले साहुलाई नै सोधेर भोट हाल्ने हो । नत्र बसेको ठाउँ छाड्नुपर्छ । यो गाउँमा मात्रै दलित समुदायका यस्ता ३६१ मतदाता छन् । नाम नबताउने सर्तमा एकजना दलित मतदाताले ‘पार्टी फुटेर आफ्नो दुई जना साहु दुईवटा पार्टीमा पुगेकोले समस्या भएको’ बताए । उनले भने, ‘एकलाई सहयोग गरे अर्कोको डर हुन्छ ।’

स्थानीय दलित बस्ती माथि कथित माथिल्लो जातिको पूरा नियन्त्रण रहन्छ । स्थानीय ७४ बर्षीय नन्दे लुवार अहिलेसम्म आफू खुशी भोट हाल्न नपाइएको बताउँछन् । उनि २०४६ सालदेखि भोट हाल्न थालेको भएपनि नन्देले अहिलेसम्म को ठीक को बेठीक भनेर सोच्नै परेको छैन । साहुले जता भन्छन त्यत्तै भोट हाल्ने हो । यो पालि पनि त्यही गर्ने सोच थियो उनको । उनले भने, ‘तर यसपालि माथिल्लो जातमै दुई चिरा भएपछि कसले भनेको मान्ने भन्ने चिन्ता छ ।’

जुकोटका अधिकांश दलित परिवार ठकुरी जातिको हलिया बस्दै आएका छन् । ‘उहाँहरुले भन्या ठाउँमै भोट हाल्ने गरेका छौं, यो बर्षमा पनि त्यही गर्ने हो’ स्थानीय दलित अगुवा मनि विकले भने । सुरु सुरुका चुनावमा भोट हाल्न हामी पनि लाइनमा बस्थ्यौं । पछि पछि ठकुरी आएर लाइन बाट नै मतपत्र खोसेर उनीहरुले नै हालिदिन्थे । २०७४ सालमा चाहिँ देखाएर भोट हाल्नुपरेको थियो । स्थानीय करु कडाराले भने, ‘त्यसबेला पनि निरक्षर र बुढापाकाहरुको भोट ठकुरीहरुले नै हालिदिएका थिए ।’

जिल्लाको ठूलापटा, कडारवाडा र लुवारवाडा टोलमा धेरै दलित समुदाय बसोवास गर्छन् । दलित समुदायलाई हलिया राखेका साहुहरुले कमाराका व्यवाहार गर्ने चलन अहिले पनि कायमै छ । ‘हामी सधै दबावमा हुन्छौं’, जशु कडारा बताउँछन् । अघिल्लो पटक आफू मतदात गर्न लाइनमा बसे पनि स्थानीय ठकुरीले मतपत्र खोसेर भोट हालेको उनले बताए ।

२०७० सालको संविधान सभा चुनावमा सोही गाउँमा मतदान अधिकृत भएर गएका बुढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दीपक शाहले दलित समुदायलाई कुनै स्वतन्त्र मतदाताको व्यवाहार नगरिने वताए । ती दलित परिवारले स्थानीय ठकुरीले जे भन्यो त्यही मान्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

बास्तवमा उनीहरु मताधिकारबाट सधैं नै बञ्चित छन् । धेरैजसो भोट हाल्नै पाउँदैनन् । पाइहाले पनि साहुले भनेको ठाउँमा भोट हाल्नुपर्छ । त्यति मात्र होइन गाउँका दलितले सामान्य सामाजिक काम गर्दा अहिले पनि ठकुरीलाई सोधेर गर्नुपर्छ ।

जुकोटमा ठकुरी र क्षेत्री गरेर ४ सय ६५ परिवार बसोवास गर्दै आएका छन् । दलितहरु माथि कथित उपल्लो जातले गर्ने यो व्यवहारबारे स्थानीय उपेन्द्र कट्टेल भन्छन्, ‘पहिला पहिला यो धेरै नै थियो, अहिले कम हुँदै गएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?