+
+
अग्रपथ :

वृद्धतन्त्रको दुश्चक्र, नेतृत्व संकट र सम्भाव्य दुर्घटना

नेपालमा नेताहरूको अहिले शीर्ष भनिएको एउटा पंक्ति आउँदो पाँच वर्षभित्र सक्रिय राजनीतिक र मुख्य भूमिकाबाट निवृत्त हुन अत्यावश्यक छ । अन्यथा कि देश वृद्धतन्त्रको दुश्चक्रभित्र पर्छ कि त जबर्जस्त प्रतिस्थापनको बाटोतिर जान्छ ।

डम्बर खतिवडा डम्बर खतिवडा
२०७९ वैशाख १८ गते ८:४१

अंग्रेजीको ‘जेरोन्टोक्रेसी’ लाई नेपालीमा ‘वृद्धतन्त्र’ अनुवाद गर्नुपर्दा त्यति सहज अनुभूति पक्कै हुँदैन । मनमा कताकता एकप्रकारको नमिठोपन र खिन्नताको भाव उत्पन्न हुन्छ । नेपाली समाज र संस्कृतिले ‘ज्येष्ठ नागरिक’ लाई उच्च सम्मान गर्दछ । ‘वृद्धवृद्धा’ शब्द हामी सम्मान र सकारात्मक अर्थमा प्रयोग गर्दछौं । राष्ट्र, समाज र नयाँ पुस्ताका लागि उल्लेखनीय योगदान गरेको पुरानो पुस्ता मान्दछौं । जन्मेका सबै मानिस कुनै दिन वृद्धवृद्धा नै हुने हो ।

तर, ‘जेरोन्टोक्रेसी’ बाट अनूदित हुने ‘वृद्धतन्त्र’ को अर्थ भने नकारात्मक हो । राजनीतिशास्त्रले भन्छ– ‘वृद्धतन्त्र’ एकप्रकारको अक्षम र अल्पतन्त्री (ओलीगार्की) शासन हो । वृद्धतन्त्रले राज्य संयन्त्र कब्जा गर्‍यो भने राष्ट्र र समाज गतिरोधमा फस्दछ । हुनुपर्ने निर्णय नहुने, नहुनु पर्ने कुरा हुन थाल्ने समस्या आउँछ । राष्ट्र, समाज र इतिहासका कार्यभार एकातिर हुन्छन्, वृद्धतन्त्र अर्कोतिर हिंड्न खोज्छ । ‘गोरु बूढो भए भीर खोज्छ, मान्छे बूढो भए निहुँ खोज्छ’ भन्ने उखान शायद त्यसै बनेको हैन । बुढ्यौली अवस्थामा सृजना हुने मनोवैज्ञानिक समस्या, हठ र कुण्ठालाई व्यक्त यो उखान काफी छ ।

वृद्धतन्त्रले नयाँ पुस्ताको सोच, आकांक्षा र सपनाप्रति जानेर वा नजानेर अनेक व्यवधान, अड्चन सृजना गर्दछ । बदलियो ज्ञान, विज्ञानलाई बुझ्ने, नयाँ सूचना, तथ्य–तथ्यांक र प्रवृत्ति विश्लेषण गर्ने, सोही अनुरूप सामयिक निर्णय लिने वा नयाँ प्रविधि उपयोग गर्ने क्षमता वृद्धतन्त्रसँग कमजोर हुन्छ । यो कमजोरीको बहुआयामिक प्रभाव पर्दछ । राज्ययन्त्र सुस्त, औपचारिक र नालायक हुँदै जान्छ । तर, वृद्धतन्त्र लामो समय टिक्न भने सक्दैन । किनकि त्यसका सीमा हुन्छन् । कुनै खास विन्दुमा पुगेर पुस्तान्तरण हुनु सृष्टिको अपरिहार्य नियम हो । तर, त्यतिन्जेलसम्म वृद्धतन्त्रले यति धेरै वितृष्णा, असफलता र निराशा सृजना गरिसकेको हुन्छ कि कतिपय अवस्था त्यसले संस्था, प्रणाली र व्यवस्थालाई नै विघटन गराइदिन सक्दछ ।

आधुनिक विश्व–राजनीतिमा वृद्धतन्त्रको सबैभन्दा गतिलो उदाहरण ब्रेझनेभकालीन सोभियत संघलाई मान्ने गरिन्छ । आजीवन सत्तामा रहेका सोभियत शासक जोसेफ स्टालिन सन् १९५३ मा निधन हुँदा ७५ वर्षका थिए । सन् १९३८ को महासफाया अभियानमै सोभियत संयन्त्रमा अक्टोबर क्रान्तिकालीन पुस्ता समाप्त भइसकेको थियो । स्टालिन सन् १९२२ देखि निरन्तर ३० वर्ष सत्तामा बसेका थिए ।

त्यसपछिका निकिता ख्रुश्चेभलाई अपदस्त गरियो, उनी आजीवन सत्तामा बस्न पाएनन् । ख्रुश्चेभपछिका लियोनिद ब्रेझनेभ पनि आजीवन सत्तामा बसे, मृत्यु हुँदा ७५ वर्षका थिए । ब्रेझनेभको पालाका पार्टी पोलिटब्यूरो सदस्यको औसत उमेर ७२ वर्ष थियो भने सरकारमा आधाभन्दा बढी मन्त्रीहरू ७० वर्षभन्दा माथिको उमेरका थिए । ब्रेझनेभपछिका आन्द्रोपोभ ६८ र त्यसपछिका चेर्नेन्को ७२ वर्षमा वितेका थिए । चेर्नेन्कोको मृत्युसँगै सोभियत कम्युनिस्ट पार्टीको उच्च तहमा एउटा पुस्ताकै समाप्त भयो ।

ब्रेझनेभकालीन वृद्धतन्त्रले गरेको सबैभन्दा नराम्रो निर्णय अफगानिस्तानमा सोभियत सेना पठाउने थियो । अफगान युद्धमा सोभियत संघ होमिनुपर्ने कुनै बलियो कारणा र आवश्यकता थिएन । ब्रेझनेभको वृद्धतन्त्रले सोभियत संघलाई सन् १९७९–१९८९ सम्म लामो अफगान युद्धमा होम्यो । जुन यृद्धमा १५ हजार सोभियत सेना फोकटमा मरे । अन्ततः सोभियत संघलाई केही पनि हात लागेन, केवल विश्वभरि बदनामी मात्रै व्यहोर्नु पर्‍यो । ब्रेझनेभकालीन वृद्धतन्त्रले सृजना गरेको नेतृत्व संकटको कारणले गोर्भाचोभको उदय भएको थियो ।

कम्युनिस्ट शासनहरूको पतनमा वृद्धतन्त्रको ठूलो भूमिका रह्यो, जसले कम्युनिस्ट दर्शन र आन्दोलनलाई नै बदनाम गर्‍यो ।

छोटो समय अवधिभित्रै तीन वृद्ध पार्टी महासचिव तथा राष्ट्रपति ब्रेझनेभ, आन्द्रोपोभ र चेर्नेन्कोको निधनको कारणले ५४ वर्षीय मिखायल गोर्भाचोभको हातमा सत्ता आयो । गोर्भाचोभको उदय वृद्धतन्त्रको अवसानपछिको एक नयाँ स्थिति र नेतृत्व संकटको कालखण्ड थियो । ब्रेझनेभकालीन वृद्धहरूले सोभियत संघलाई अनेक प्रकारका राजनीतिक तथा नैतिक संकट, आर्थिक गतिरोध र जटिलतामा फसाइसकेका थिए । गोर्भाचोभले ‘ग्लास्तनोस्त’ (खुल्लापन) र ‘पेरेस्त्रोइका’ (पुनर्निर्माण) नीतिमार्फत स्टालिनवादी सत्ताको निरन्तरतालाई जोगाउन अन्तिम प्रयत्न गरे तर सकेनन् । न कम्युनिस्ट शासन जोगियो न सोभियत संघ नै बाँकी रह्यो ।

विश्लेषकहरूका अनुसार वृद्धतन्त्र कुनै औपचारिक शासन हैन, चक्रीय ढंगले घुम्दै आउने एउटा स्थिति हो, जसपछि कुनै न कुनै ढंगको नेतृत्व संकट आउँछ, त्यसको मूल्य राष्ट्र र समाजले भुक्तान गर्नुपर्दछ ।

विकिपिडियाले वृद्धतन्त्रको इतिहासलाई प्राचीन ग्रिक नगर राज्यसम्म पुगेर खोतलेको छ । इसापूर्व सातौं शताब्दीतिरको स्पार्टा राज्यमा एक संसदजस्तो हुन्थ्यो, जसलाई ‘जेरोसिया’ भनिन्थ्यो । यसमा ६० वर्षमाथिका मानिस मात्र सदस्य हुन पाउँथे । उनीहरूको निर्णय नै राज्यको निर्णय वा ऐन कानुन हुन्थ्यो । संभवतः त्यतिखेरको सोचमा मानिस जति बूढो हुँदै गयो, त्यही ज्ञानी, बुद्धिमान, विवेकशील र कम स्वार्थी हुँदै जान्छ भन्ने विश्वास गरिन्थ्यो होला । अन्यथा त्यस प्रकारको वैधानिक संसद गठन गर्नुपर्ने हुन्थेन ।

आधुनिक विश्व–राजनीतिमा वृद्धतन्त्रको वैधानिक व्यवस्था भने कतै पनि पाइँदैन । तथापि उमेरसँग सम्बन्धित रहेर निर्माण गरिने केही न केही प्रावधान संसारका सबै देशका संविधान र ऐन, कानुनमा पाइन्छन् । नेपालमा नागरिकता बनाउनका लागि उमेर १६, मतदाता बन्ने उमेर १८, स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन २१, संघीय र प्रादेशिक संसदको उम्मेदवार हुन २५, राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभाको उम्मेदवार हुन ३५ वर्षको हुनुपर्ने तोकिएको छ । उमेरका आधारमा नागरिक–नागरिक बीच यस प्रकारको विभेद हुनु उचित हो कि हैन, यसमा बहस हुन सक्दछ । यो पंक्तिकार नागरिक–नागरिक बीच उमेरका कारणले संवैधानिक तथा कानुनी प्रावधानमै हुने विभेदको सर्वथा विरुद्धमा छ ।

निश्चय नै जिम्मेवारीमा उमेरजन्य प्रभाव हुन्छ तर त्यो प्रचलन र संस्कृतिजन्य हुनुपर्दछ । संवैधानिक तथा कानुनी प्रावधानबाट स्थापित गरिनुहुँदैन । सानै उमेरमा क्षमतावान वा प्रतिभाशाली मानिस जन्मिनु र ठूल्ठूलो पदमा पुग्नु सबैका लागि खुसीको कुरा मानिनुपर्ने हो । यसमा व्यवधान गर्न अनेक प्रावधान सृजना गर्नु संभवतः त्यही स्पार्टाको ‘जेरोसिया’ सोचको पुनरुक्ति हो । अन्यथा कि नागरिकता दिने उमेर बढाउनुपर्‍यो कि नागरिकता पाइसकेपछि सबै बराबर हुनुपर्ने हो ।

डम्बर खतिवडा

आज यहाँ चर्चा गर्न खोजिएको विषय भने उमेर–व्यवस्थापनको हैन, वृद्धतन्त्रको हो । वृद्धतन्त्रले समाज र राज्यका संगठनहरूमा कार्यसम्पादन क्षमता वा कार्यकुशलताजन्य हैन, उमेरजन्य वरिष्ठता निर्माण गर्दछ । कुनै व्यक्ति कुनै संगठनमा प्रवेश गरेको जति धेरै समय भयो, त्यो त्यति नै परिपक्व, अनुभवी र समाज उपयोगी हुन्छ भन्ने विश्वास गरिन्छ । अन्ततः एउटा यस्तो सोपान निर्माण हुन्छ, जहाँ राज्यको आर्थिक, प्रशासनिक, राजनीतिक शक्ति वृद्धहरूको एउटा सानो समूह वा सिन्डिकेटमा सीमित हुन पुग्दछ ।

आधुनिक विश्व–राजनीतिमा वृद्धतन्त्रका सबैभन्दा राम्रा उदाहरण एकदलीय कम्युनिस्ट शासनहरू मानिन्छन् । जनवादी केन्द्रीयतामा विश्वास गर्ने बीसौं शताब्दीका कम्युनिस्ट शासकहरू अधिकांश आजीवन सत्तामा बसेका थिए । त्यहाँ राजतन्त्रमा जस्तै मृत्युपछि मात्र नेतृत्व हस्तान्तरण हुन्थ्यो । यसका कैयौं दुष्परिणाम देखिए । कम्युनिस्ट शासनहरूको पतनमा वृद्धतन्त्रको ठूलो भूमिका रह्यो, जसले कम्युनिस्ट दर्शन र आन्दोलनलाई नै बदनाम गर्‍यो ।

युगोस्लाभ कम्युनिस्ट शासक मार्सल टिटोको निधन हुँदा उनी ८७ वर्षका थिए । उनी सत्तामा बसेको २७ वर्ष भइसकेको थियो । टिटो रहुन्जेल युगोस्लाभियाको विभाजन र कम्युनिस्ट शासनको पतन कसैले कल्पना गर्दैनथे । जब उनी बिते त्यसपछिको नेतृत्व संकटले युगोस्लाभियाको विघटन र कम्युनिस्ट शासनको अन्त्य एक साथ भयो ।

चीनको सांस्कृतिक क्रान्तिकालका गल्ती र सन् १९७८ को सत्ता पलटका लागि समेत त्यहाँको वृद्धतन्त्र जिम्मेवार मानिन्छ । आजीवन पार्टी नेतृत्वमा रहेका माओ निधन हुँदा ८२ वर्षका थिए । उनको समकालीनहरूको समूह चाउ एन लाई र ह्वाको फेङ पनि बूढा भइसकेका थिए । माओकालीन वृद्धतन्त्रको अवसान भने चीनका लागि वरदान सावित भयो । त्यसले तेङ सिआयो पिङको उदयलाई सम्भव बनायो । तर देङको शासकीय समूहलाई पनि अर्को वृद्धतन्त्र मानिन्थ्यो । त्यहाँ ७० वर्षमाथिका ८ नेताहरूको सोपानक्रम तयार भएको थियो, जसलाई ‘वरिष्ठ ८ जनाको समूह’ भन्ने गरिन्थ्यो ।

वृद्धतन्त्रको यो अनुभवपछि चीनले ‘एक व्यक्ति दुई कार्यकाल’ को नीति लागू गर्‍यो । झाओ झमिन र हु जिन्ताओ यथोचित उमेरमा सत्तामा आए र निवृत्त भए । यी दुवै नेता सैद्धान्तिक दृष्टिले देङ सिद्धान्तका समर्थक थिए, यी दुवैको कार्यकाल चीनको उन्नतिका लागि स्वर्णिमकाल सावित भयो । वर्तमान राष्ट्रपति सि जिन पिङले यो प्रावधान पुनश्च हटाइदिएका छन् । थाहा छैन, त्यहाँ यसको परिणाम कस्तो आउँछ ।

आजीवन सत्तामा बसेका उत्तरकोरियाका किम इल सुङ निधन हुँदा ८२ वर्षका थिए । क्युवाका फिडेल क्यास्त्रोले भने निधन हुनु केही वर्षअघि आफ्ना वृद्ध भाइ राहुल क्यास्त्रोलाई सत्ता सुम्पेका थिए । राहुल सत्तामा ८९ वर्षको उमेरसम्म रहे ।

यतिखेर नेपालमा पनि वृद्धतन्त्रको चक्र क्रियाशील छ । पार्टीको मूल नेता मात्र हैन, पार्टीभित्रको आन्तरिक वृत्त पनि वृद्धतन्त्रको हातमा छ । बूढो उमेरमा पनि नेतृत्व लिइरहने रहर गर्नु एक प्रकारको मनोवैज्ञानिक रोग हो । कुनै दिन छोड्नु नै छ; संस्था, समाज र अनुयायीलाई समेत बोझ हुने गरी किन नेतृत्वमा बस्नु ?

एकदलीय शासन व्यवस्था भएको देशमा मात्र हैन, लोकतान्त्रिक मुलुकमा समेत यदाकदा वृद्धतन्त्रको चक्र घुम्दैफिर्दै आइपुगेको देखिन्छ । सबैभन्दा पछिल्ला उदाहरण त अमेरिकामै जो वाइडन छन् जो ७८ वर्षको उमेरमा राष्ट्रपति चुनिए । यसअघि यो रेकर्ड उनकै प्रतिस्पर्धी डोनाल्ड ट्रम्पको नाममा थियो । ट्रम्प ७० वर्षको उमेरमा राष्ट्रपति चुनिएका थिए । विल क्लिन्टन र बाराक ओबामा जस्ता युवा राष्ट्रपति दिने देशमा वृद्धप्रतिको मोह किन र कसरी बढ्यो, त्यसको गहिरो अध्ययन कसैले गर्न सकेको छैन ।

पोलिटिका म्यागजिनमा टिमोथी नोहाको एक आलेख अनुसार ट्रम्प र वाइडनको शासनकालमा उच्चपदस्थ अमेरिकीहरूको औसत आयु ७७ वर्ष छ जबकि बिल क्लिन्टन र बाराक ओबामाको कार्यकालमा यस्तो औसत आयु ५५ वर्ष थियो । ट्रम्पको शासनकालमा अनेक समस्या आउनु र वाइडनको उदयपछि पनि स्थिति खासै सुधार नहुनुमा वृद्धतन्त्रको भूमिका रहेको नोहाको ठहर छ ।

२३ वर्ष निरन्तर भारतको पश्चिम बंगालको सत्तामा बसेका ज्योति वसुको शासनकालको उत्तरार्द्धलाई पनि वृद्धतन्त्रको अर्को राम्रो उदाहरण मानिन्छ । बंगाल शासनको उत्तरार्द्धतिर भारतीय माक्र्सवादी कम्युनिस्ट पार्टीका अधिकांश नेता वृद्धहरूको अखडाजस्तो भइसकेको थियो । ज्योति वसु र हरकिसन सिंह सुरजितको निधनपछि त्यो पार्टी ओरालो लाग्न थाल्यो र निरन्तर कमजोर भइरहेको छ । बुद्धदेव भट्टाचार्य वसुपछि बंगालको मुख्यमन्त्री भए, उनी आफैं वृद्ध उमेरतिर पुगेका थिए । भट्टाचार्यले बंगालमा कम्युनिस्ट शासनको विरासत जोगाउन सकेनन् । न त सुरजितको निधनपछि पार्टी सत्ता ६४ वर्षको उमेरमा हात पारेका प्रकाश कारातले नै पार्टीको शक्ति जोगाउन सके ।

यसको ठीक विपरीत नयाँ लोकप्रिय आन्दोलनहरूको विकास र राजनीतिक शक्तिको जन्म हुनुमा युवा नेतृत्वको हात छ । भारतका अरविन्द केजरीवालले आम आदमी पार्टी गठन गर्दा ४२ वर्षका मात्र थिए । फ्रान्सका इम्मानुयल म्याक्रोन पहिलो पटक राष्ट्रपति निर्वाचित हुँदा ३९ वर्षका थियो । यी दुवै नेताले आफ्नै नयाँ पार्टी बनाएर तरक्की गरेका हुन् । न्युजिल्याण्डकी ज्यासिन्डा अर्डनले पुरानो र कमजोर भइसकेको लेबर पार्टीलाई आफू ३८ वर्षको हुँदा सत्तामा पुर्‍याएर लोकप्रिय बनाइन् । समकालीन विश्वमा यस्ता थुप्रै उदाहरण छन् ।

ठीक यतिखेर नेपालमा पनि वृद्धतन्त्रको चक्र क्रियाशील छ । प्रधानमन्त्री शेरबहादुर देउवा ७४ वर्षका छन् । अझै उनी पाँच वर्ष पार्टी र सत्ताको नेतृत्वमा रहन सक्ने संभावना बाँकी छ जबकि त्यतिन्जेल उनी करिब ८० वर्षका भइसक्नेछन् । अर्को ठूलो दल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ७० वर्षका भइसके । अझै पाँच वर्ष सत्तामा रहँदा उनी ७५ वर्षका हुनेछन् । तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) को नेता पुष्पकमल दाहाल प्रचण्ड ६९ वर्षका पुगे । अझै एक कार्यकाल उनले पार्टीको नेतृत्व छोड्न कुनै संभावना छैन ।

नेकपा (एकीकृत समाजवादी) का मुख्य दुई ठूला नेता माधव नेपाल र झलनाथ खनाल क्रमशः ६९ र ७१ वर्षका छन् । पूर्व प्रधानमन्त्री तथा जसपाका संघीय परिषद सदस्य ६८ वर्ष पुगे । लोसपाका अध्यक्ष महन्थ ठाकुरको वास्तविक उमेर ८४ वर्ष पुगेको बताइन्छ । ठूला पार्टीका नेतामा अलिक कम उमेरका भनेका उपेन्द्र यादव मात्रै हुन् जो ६१ वर्षका छन् ।

सानामा त झनै जबरजस्त वृद्धतन्त्र छ । नेकपा (मसाल) का महासचिव ८७ वर्षका पुगे । अर्का मुख्य नेता चित्रबहादुर केसी अझै एक वर्ष जेठा अर्थात् ८८ वर्षका भए । नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे ८२ वर्षका भए । क्रान्तिकारी माओवादीका दुई मुख्य नेता मोहन वैद्य र सीपी गजुरेल क्रमशः दुवै ७० वर्षभन्दा माथिका हुन् ।

पार्टीको मूल नेता मात्र हैन, पार्टीभित्रको आन्तरिक वृत्त पनि वृद्धतन्त्रको हातमा छ । देउवापछि नेपाली कांग्रेसका मूल नेता रामचन्द्र पौडेल, शेखर कोइरालालाई मान्ने हो भने यी क्रमशः ७७ र ७१ वर्षका छन् । केही अपवाद छोडेर अरू पार्टीहरूभित्रको स्थिति पनि त्यस्तै त्यस्तै हो ।

नयाँ नेतृत्व परिवर्तनले पुरानै र पतनोन्मुख संस्थामा पनि नयाँ रक्तसञ्चार गर्न सक्दछ भन्ने उदाहरण अहिले राप्रपाका राजेन्द्र लिङ्देन बनेका छन् । कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीको बृद्धतन्त्रले थङ्थिलो पारेको र ३ प्रतिशत थ्रेसहोल्ड समेत काट्न नसक्ने अवस्थामा पुर्‍याएको राप्रपालाई लिङ्देनले नयाँ जीवन दिंदैछन् । लिङ्देनसँगै धवलशमशेर राणा र रेखा थापा त्यो समूहका नयाँ तारा प्रतित हुँदैछन् जो थापा, राणा र लोहनीको तुलनामा कम उमेर समूहभित्र पर्दछन् ।

आज जो नेतृत्व पिरामिडको उपल्लो तहमा छन्, ती करिब तीन दशक यता नै देशको नेतामा कहलिन थालिसकेका थिए । ३० वर्ष बढी समयमा पनि आफ्नो संस्था, पार्टी र समूहभित्र एउटा राम्रो नेता वा उत्तराधिकार जन्माउन र शानले नेतृत्व हस्तान्तरण गर्न सक्ने नेताहरूलाई सही, सफल, लोकतान्त्रिक र गतिशील नेता मान्न सकिन्न । गतिशील लोकतान्त्रिक नेताको एउटा धर्म हुन्छ– कि आफू निवृत्त हुने बेलासम्म आफूभन्दा राम्रो नेतृत्व गर्न सक्ने एउटा पंक्ति तयार गरी नेतृत्वको वैधानिक हस्तान्तरण गर्न सक्नुपर्दछ । आफूसँग कुनै संस्था बनाउने र आफूसँगै चिहानमा लिएर जाने नेता लोकतान्त्रिक नभएर आत्मकेन्द्रित, महत्वाकांक्षी र स्वार्थी मान्छे हो ।

हुनत हिजो गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको समय अवधिमा पनि नेपाल लोकतान्त्रिक वृद्धतन्त्रको चक्रमा एक फन्को घुमेकै हो । तर, त्यसको आफ्नै ऐतिहासिक विशिष्टता थियो । पञ्चायती शासनका ३० वर्षको प्रतिकूल समयमा पनि उनीहरूले जुन निष्ठा र धैर्य देखाएका थिए, त्यो आफैंमा स्तुत्य थियो । गिरिजाप्रसादको एकल वृद्धतन्त्रको समयका कमजोरीबारे आज पनि धेरै मानिस आलोचक हुने गर्दछन् ।

विगत पाँच वर्षयता नेपालमा वृद्धतन्त्रको अर्को चक्र क्रियाशील छ भनेर मान्ने हो भने यसका परिणाम पनि खासै उत्साहजनक छैनन् । गत निर्वाचनमा झण्डै दुईतिहाइ बहुमतको अवसर पाएको नेकपा तीन टुक्रा हुनु, देशमा नयाँ संवैधानिक तथा राजनीतिक संकट आउनुका अरू पनि कारण होलान् तर एउटा कारण त वृद्धतन्त्रको परस्पर अहं र कुण्ठा पनि हो ।

पछिल्लो समय वृद्धतन्त्रले आसन्न स्थानीय निर्वाचनमा एक प्रकारको असैद्धान्तिक, अमिल्दो र असफल केन्द्रीय गठबन्धनको गञ्जागोल सृजना गरेर अर्को उत्पात निम्त्याएको छ । यसका दुष्परिणामहरूले लोकतन्त्रलाई कतिसम्म कमजोर पार्ने र कहिलेसम्म पिरोल्ने हो, यसै भन्न सकिन्न ।

मनोविश्लेषकहरूका अनुसार वृद्धतन्त्रको मुख्य कारण संज्ञानात्मक स्वास्थ्य (कोग्नेटिभ हेल्थ) र शक्ति सोपानक्रम (हाइरार्की अफ पावर) बीचको विरोधाभासपूर्ण सम्बन्ध हो । मान्छेको उमेर बढ्दै जाँदा संज्ञानात्मक स्वास्थ्य कमजोर हुनु प्राकृतिक कुरा हो । तर, शक्ति संरचनामा भने मान्छे जति बूढो हुँदै गयो उति नै वरिष्ठ मान्ने गरिन्छ । यो विरोधाभास एउटा निश्चित बिन्दुमा पुगेपछि समस्यामा परिणत हुन्छ र वृद्धतन्त्रको उदय हुन्छ । यो क्रम निरन्तर दोहोरियो भने त्यो दुश्चक्रमा परिणत हुन्छ । किनकि कुनै वृद्ध नेतृत्वले लामो समय ठाउँ छोडेन भने उसका अनुयायी पंक्तिको सोपानक्रम नै वृद्ध भइसकेको हुन्छ ।

वृद्धतन्त्र लामो रहँदैन । निश्चित समयपछि यो आफैं पनि निष्क्रिय हुन बाध्य हुन्छ । यो चक्र हो, घुम्छ नै तर, त्यतिन्जेलमा त्यसले जुन नेतृत्व संकट ल्याउँछ, त्यसले निम्त्याउने दुर्घटनाको क्षति भने कति हुन्छ यसै भन्न सकिन्न । यदाकदा त्यो ब्रेझनेभकालीन वृद्धतन्त्र जस्तै प्रणाली र देश नै ध्वस्त बनाउने कठोर दुर्घटनामा पनि पुग्न सक्दछ ।

युवा र अधबैंसे उमेरमा थुप्रै राम्रा काम, तरक्की वा पराक्रम गरेका मानिसमा ‘म अझै गर्न सक्छु, हिजो गरेकै हुँ, आज पनि सक्छु’ भन्ने मनोभावना बलियो हुन्छ । यथार्थमा यो भ्रम हो । उही व्यक्तिले पनि जीवनको उत्तरार्द्धतिर उत्तिकै गतिलो ‘पर्फर्मेन्स’ दिन सक्दैन । त्यही भएर त जागिरेलाई सेवा निवृत्त गर्ने प्रचलन संसारभरि छ । खेलाडीहरू निश्चित उमेरमा पुगेर आफैं सन्यास लिन्छन् । लेखक कलाकारहरूले घोषित रूपमा निवृत्त हुन नपरे पनि गुणस्तरमा वा शैलीमा केही न केही भिन्नता आउँछ । बलिउडमा अभिताभ बच्चन अहिले पनि उत्तिकै लोकप्रिय र प्रभावशाली छन् तर, त्यसो भन्दैमा कुनै सिने निर्माता वा निर्देशकले उनलाई ‘लवर ब्वाई’ को भूमिका अवश्य दिंदैन ।

मलेशियाका डा. महाथिर मोहम्मद पहिलो प्रधानमन्त्रीत्वकालमा असाध्यै सफल र लोकप्रिय मानिएका थिए । सन् १९८१ मा पहिलोपटक प्रधानमन्त्री बन्दा उनी ५६ वर्षका थिए । २२ वर्ष निरन्तर सत्तामा रहेर राजनीतिबाट सन्यास लिएका थिए । तर, १५ वर्षपछि फेरि उनी राजनीतिमा फर्किए । सन् २०१८ मा ९३ वर्षको उमेरमा फेरि प्रधानमन्त्री भए । तर, उनले सन् १९८१–२००३ को अवधिमा जस्तो राम्रो कार्यसम्पादन दिन सकेनन् । अन्ततः कार्यकालको बीचमै सत्ताबाट हट्नु पर्‍यो।

बूढो उमेरमा पनि नेतृत्व लिइरहने रहर गर्नु एक प्रकारको मनोवैज्ञानिक रोग हो । कुनै दिन छोड्नु नै छ; संस्था, समाज र अनुयायीलाई समेत बोझ हुने गरी किन नेतृत्वमा बस्नु ?

औसत उमेर बढ्दै जाँदा मानिसको सक्रिय जीवनको अवधि पनि बढ्नु स्वाभाविक हो । यस अर्थमा ७५ वर्षसम्म अबको समयमा स्वाभाविक नै भन्नु पर्ला । कुनै संस्था वा राज्यको नेतृत्व गर्न उपयुक्त उमेर समूह भने ३५–६५ नै हो । संसारभरिको औसत बढी अभ्यास यस्तो देखिन्छ । ३५ अघि अनुभव र परिपक्वताको अभाव हुन सक्दछ । ६५ पछि जाँगर, सुस्त क्रियाशीलता र व्यवस्थापन क्षमताको अभाव हुन सक्दछ । अपवाद भिन्नै कुरा हो ।

नेपालमा नेताहरूको अहिले शीर्ष भनिएको एउटा पंक्ति आउँदो पाँच वर्षभित्र सक्रिय राजनीतिक र मुुख्य भूमिकाबाट निवृत्त हुन अत्यावश्यक छ । अन्यथा कि देश वृद्धतन्त्रको दुश्चक्रभित्र पर्छ कि त जबर्जस्त प्रतिस्थापनको बाटोतिर जान्छ । नेताहरूले आफैं यो स्थिति बुझ्न आवश्यक छ । नत्र भित्रभित्रै थाहै नपाई राजेन्द्र लिङ्देन उदाउने र कमल थापाको जस्तो हविगत भोग्नुपर्ने स्थिति आउन सक्दछ ।

 

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?