+
+
यात्रा फिचर :

जून खोज्दै अन्नपूर्ण बेसक्याम्प

ई. टीका रेग्मी ई. टीका रेग्मी
२०७९ वैशाख १८ गते १३:३२

गर्मीले तराई निल्न थालिसकेको थियो । पश्चिम नेपालको बर्दिया मेरो जागिरको नयाँ ठेगाना । घामको दादागिरीले पंखालाई पनि पसिना आउँदो हो । तापको भुंग्रोमा निसासिएको बेला पोखराबाट नयाँ वर्षको अफर आयो । पैतालाको भरमा अन्नपूर्ण बेसक्याम्प पुग्ने । नयाँ वर्षको अघिल्लो दिन पुरानो साल र हामी सँगसँगै डाँडामाथि पुग्यौं ।

यो पदयात्रामा थोरै कुरा फेरिएका छन् । घान्द्रुक हुँदै टाढापानीको उकालो या लान्द्रुक हुँदै उक्लने पैदलमार्ग छोट्टिएको छ । झिनु गाउँको फेदीसम्म टाटा सुमो र बसले ‘हामी छौं है’ भन्छन् ।

भौगोलिक बनावट हेर्ने हो भने छोम्रोंगको उकालो उक्लने र झर्ने नगरी खोलाको तीरैतीर सीधै बम्बु पुग्नुपर्ने हो । छोम्रोंग पुगिसक्दा भने पैदलयात्रामा भेटिने एकमात्र रैथाने गुरुङ गाउँलाई किन छोड्ने ? भन्ने तपाईंलाई पनि लाग्छ ।

छोम्रोंगको उकालो र ओरालो सकेर पल्लो डाँडा सिनुवा पुग्दैमा थकाइले समात्छ । यत्तिकैमा २०७८ सालको अन्तिम घाम डाँडाबाट हाम फाल्छ । बम्बु, दोवान, हिमालयहुँदै देउरालीसम्मको उकालो उक्लिंदा, थकाइले गुराँसका थुँगाहरूबाट लाल रंग यात्रीको अनुहारमा ल्याएर पोतिदिन्छ ।

देउराली दोस्रो दिनको सहज गन्तव्य हो । तेस्रो दिन माछापुच्छ्रे आधार शिविर हुँदै सजिलै पुगिन्छ अन्नपूर्ण आधार शिविर, अर्थात् पैदलयात्राको गन्तव्यविन्दु । विश्वका उत्कृष्ट दश पैदलयात्रा गन्तव्य मध्ये एक र उसै पनि पुरानो मानिने यो पदमार्गबारे छापा र युट्युबमा थुप्रै सामग्री छन् । पदयात्राको सूचनापाटी बन्ने रहर ममा छैन । यात्राका केही व्यक्तिगत खास कुरा सुनाउँछु ।

स्पन्दन, प्रशान्त, सुरेश दाइ र म पुरानै पैदलयात्रा टोलीका सदस्य हौं । पोखरा बस्ने कैलालीका ‘दमन सर’ र भर्खर ओठमाथि जुँगाको रेखी बस्दै गरेको ‘दिवस’ टोलीमा नयाँ छन् । यो उनीहरूको पहिलो पदयात्रा हो ।

उसो त सुरेश दाइका कलेजका विद्यार्थीको पनि एक टोली छ । सिनुवाको उकालोमा प्रशान्तको स्पिकरमा १४ मिनेटसम्म बजिरहेको ‘घर कता हो बहिनीको लौन साह्रै मन पर्‍यो …’ सायद उनीहरूकै लागि हुनुपर्छ ।

न अघिल्लो दिन परेको हिउँको चिसोको प्रवाह, न औंला कठ्यांग्रिने गरी चल्ने बतासको डर; स्टेन्ड र क्यामेरा बोकें अनि अरू नब्युँझिउन् भन्ने हेतुले बिरालो चालमा क्यामेरामा कैद गरें हिमाल र ताराहरू । बिस्तारै ताराहरू मलिन भए, दियोमा डुबेको पुतली जसरी । जून मधुरो भयो ।

बाटोमा भेटिने यात्रीमध्ये धेरै नेपाली छन् । अधिकांश टोलीमा एक गोप्रो र एक भ्लगर अनिवार्य जस्तै छ । उनीहरू एकअर्कोलाई भ्लगरलाई बिगारेर ‘भल्गर’ भन्दै जिस्काउँछन् । बुटवलको एउटा कलेज टोलीमा हल्याण्डका एकजना पर्यटक मिसिएका छन्, नेपाली भाइहरूले ‘गोरे’ भन्दा पर्यटकले ‘हजुर’ भन्छन् ।

हामीलाई उकालो भुलाउन यस्तै किस्सा काफी थिए । देउराली पुग्नै लाग्दा भारी असिनापानी पर्‍यो । ओत लाग्न मिल्ने ठूलो ढुंगाकै छेउमा हिउँपहिरोका खतहरू जीवित छन् । असिनाका फूलहरू छिचोलेर साङ्ग्रिला गेस्ट हाउस पुग्यौं ।

‘साक्खै बन्न नआउ भो टोली, हिंड्यौ दिनभर नबोली नबोली, गलबन्दी… गलबन्दी च्यातियो तिम्ले तानेर’, मैनबत्तीको मधुरो उज्यालोमा देउरालीको सांग्रिला होटलमा दोहोरी सुरु भयो । कसैका आँखा हाँसे, कसैका दाँत बले । सुरेश दाइका विद्यार्थी टोलीबाट कविताले जवाफ फर्काउने भइन् ।

बीचमा अकमक्क परेको बेला किचनको झ्यालबाट घतलाग्दो जवाफ आयो । होटलका साहुजी मध्येका एक दाइ पनि हामीसँग मिसिए । आफ्ना पाहुना सुताएर गाइड सुमन नेपाली दाइ आइपुगे । उनको गितारका कर्डस्मा रातको एक बजेसम्म गुन्जिरहे, ‘तिम्रो मायाले मलाई पिर दियो’, ‘डाँडाघरे साइली’…।

देउरालीलाई छाडेर निस्केपछिको अर्को गन्तव्य माछापुच्छ्रे आधार शिविर हो । पैदलयात्राको खास रोमाञ्चकता उकालो चढ्दा आत्तिएर समय सोध्ने र ओरालो झर्दै गरेका मुखमा घडी राखेका मान्छेहरूसँग हुन्छ ।

अलिक अघि क्यानभासमा पोतेको चित्रजस्तो देखियो मादी खोला । हिम टाकुराको जवानी पग्लेर बगेको मादी यसरी लोभ्याएर खै कहाँ पुग्न हतारिन्छ ? हिजोको असिनाले नचिनिने बनाएको बाटो र चिप्लिरहने खुट्टा एकैछिन बिर्सन सकियो ।

सुन्दरता एउटा कुरा, बाटोको सबैभन्दा अत्यासलाग्दो उमेरजस्तो उकालो यहींनेरको थियो । यतै कतै हो हिउँ पहिरोले थुप्रै मान्छे निल्ने गरेको पनि । सकसलाग्दो उकालो काटेर माछापुच्छ्रे आधार शिविर पुग्दा भोक, प्यास, गर्मी र थकाइ आफ्नै प्रतिस्पर्धामा हुन्थे ।

आज त मध्यान्न नहुँदै आकाश फुसफुस गर्न थालिहाल्यो । ‘आकाशबाट के उडी आयो, भेडाको ऊनजस्तो …’, टोली चिच्यायो । दुरुस्तै यो गीत खोज्न जाँदाको नारायण वाग्ले र टोलीको ऐतिहासिक भिडियो जस्तो ।

हामी खाना खान थालेका छौं । छेउमा दुईजना डच युवती छन् । उनीहरूलाई हामीले हातले खाएको खुब मन परेको छ । यो उनीहरू भन्दैनन्, उनीहरूका आँखाले भन्छन् ।

उसो त बदलामा हाम्रो स्पन्दनलाई त्यो डच मन परेको छ । मौसम र मनको द्वन्द्व छ, यहीं रहने कि गन्तव्यमा पुग्ने । हामीले मनलाई सुन्यौं । हिउँ छल्न पोलिथिन रेनकोट ओढेका छौं । यसको अर्को पनि फाइदा छ, कसैको कुरा सुन्नु पर्दैन ।

साँझको साढे चार बजे हामी अन्नपूर्ण आधार शिविरमा बासको टुंगो लगाएर बसिसकेका थियौं । फेदीको सानो उपत्यका कुहिरोले पुरेको थियो । बाहिर हेर्दा त हामी कहाँ आयौं ? किन आयौं ? जस्तो लाग्ने । एकजना गाइड दाइ आफ्नो पाहुनालाई कुहिरोभित्र बताउँथे ‘यता साउथ अन्नपूर्ण, यता नर्थ, यता माछापुच्छ्रे, यता अन्नपूर्ण तेस्रो’ ।

‘यो कुहिरोको साम्राज्य भोलि खुल्ला ?’– म बोलें ।

‘नखुले चल्दिने हो’– स्पन्दनले भने ।

‘मेरो बिदा छ, खुलेन भने म र दिवस यहीं रहन्छौ’– मैले थपें ।

‘तेरो अनुहार सुन्निएर हिमाल जस्तो भैसक्यो, यहाँ किन बस्ने’– सुरेश दाइ ।

हिमाललाई कुहिरोले ढाक्यो । हामीलाई भोलि मौसम खुल्ने आशंका र द्विविधाले । दर्जन बढी पैदलयात्राको अनुभव बटुलेका हामीलाई यसपालि हिंड्नु, अन्नपूर्णको काख भेट्टाउनु र घाम झुल्केपछि हिमाललाई ढाड फर्काएर दुई फोटो लिएर फर्कनु थिएन ।

त्यसैले त हो, ट्रेकिङ ब्यागको दायाँ खल्तीमा ३ केजीको क्यामेरा स्टेन्ड र उकालोमा घाँटी तान्ने गरी क्यामेरा बोकेको । रातमा तारामुनि हिमाल हेर्ने र कैद गर्ने खास सपना थियो ।

छिट्टै निदाउनुको असर छिट्टै उठ्नुसम्म हुन्छ । सँगै सुतेका साथीभाइको सर्याकसुरुकले निद्रा खुल्यो । झ्यालबाट उज्यालोले साउती गर्‍यो, धत्तेरी उज्यालो भैसकेछ भन्दै मोबाइल हेरें रातै रहेछ । बाहिर निस्कें । चन्द्रमाको धपक्क उज्यालोमा हिमालहरू हीरा झैं टल्किरहे ।

मन उसै चंगा भो । चिच्याउँ जस्तो । नजिकको कसैलाई अंकमाल गरूँ जस्तो । ओठले मुस्कुराएर नसक्ने खुसी । अक्षरमा नअटाउने सुन्दरता । क्यामेराले कैद गर्नै नसक्ने लोभलाग्दो सुन्दरता ।

आगो पनि जम्ने जस्तो शीतलता । न अघिल्लो दिन परेको हिउँको चिसोको प्रवाह, न औंला कठ्यांग्रिने गरी चल्ने बतासको डर, स्टेन्ड र क्यामेरा बोकें अनि अरू नब्युँझिउन् भन्ने हेतुले बिरालो चालमा क्यामेरामा कैद गरें हिमाल र ताराहरू ।

बिस्तारै ताराहरू मलिन भए, दियोमा डुबेको पुतली जसरी । जून मधुरो भयो । ‘जून तारा तिम्रो अघि के हो र हे माया ..’ गुन्गुनाउँदै भित्र पसें । सपनाको भाँडो भरियो र भोलिपल्ट बिर्को लगाउँदै गर्‍यौं ओरालोमा मार्चपास ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?