+
+

मन्टेश्वरी स्कुल : नाम मात्रै कि सिकाइ पद्धति पनि ?

अंगद सिंह अंगद सिंह
२०७९ वैशाख २२ गते १४:३२
फाइल तस्वीर

२२ वैशाख, काठमाडौं । पढ्ने र पढाउने भन्दा सिक्ने र सिकाउने शिक्षण विधि हो, मन्टेश्वरी शिक्षा । घोकन्ते र परम्परागत शिक्षण पद्धतिको सट्टा मन्टेश्वरी किन्डरगार्टेनमा आधुनिक, प्रविधियुक्त र बालमनोविज्ञानलाई मध्यनजर गरी बालबालिकाको सिकाइ क्षमता विकास गरिन्छ ।

विद्यालय स्तरको पढाइ सुरु हुनुभन्दा पहिले बालबालिकालाई सिकाउन अपनाइएको उक्त मन्टेश्री  किन्डरगार्टेन शिक्षा निकै महत्वपूर्ण मानिन्छ ।

बालबालिकालाई मन्टेश्वरी विधि र पद्धतिबाट सिकाउने स्थानलाई प्रि-स्कुल पनि भनिन्छ ।

मन्टेश्वरी किन्डरगार्टेनमा बालबालिकालाई किताब पढाउनुको साटो खेलकुद तथा अन्य सामग्रीको माध्यमबाट उनीहरुलाई विभिन्न ज्ञान तथा सीप सिकाइन्छ । उनीहरुमा पढ्ने बानीको विकास गराइन्छ ।

मन्टेश्वरी सिकाइले बालबालिकामा बौद्धिक, सामाजिक र मनोवैज्ञानिक विकासमा सहयोग पुर्‍याउँछ । बालबालिकाको रुचि र चाहना अनुसार पढाएर उनीहरुलाई पढाइप्रति आकर्षित गर्ने परम्परा र आधुनिक विधि पद्धतिबाट पढाइ हुने गरिने भएका कारण अहिले मन्टेश्वरी किन्डरगार्टेनप्रति अभिभावकको आकर्षण बढ्दो छ ।

नयाँ शैक्षिकसत्र सुरु भएसँगै अभिभावकले बालबालिकालाई प्ले ग्रुप र नर्सरीमा भर्ना गर्छन् । बालबालिकाका लागि भनेर नेपालमा मन्टेश्वरी स्कुल बग्रेल्ती मात्रामा खोलेका छन् ।

शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्- मन्टेश्वरी स्कुलले बालबालिकाको क्षमता पहिचान गरेर त्यही अनुसारको शिक्षा दिएर सबल बनाउने हो । नेपालका अधिकांश मन्टेश्वरी स्कुल नाम मात्रका छन्,  जसले मन्टेश्वरीको नाममा बा–आमालाई आकर्षण गर्ने र तर्साउने काम गरिरहेका छन् ।

मन्टेश्वरीप्रतिको अभिभावकको बढ्दो आकर्षण र कार्य व्यस्तताका कारण बालबालिकालाई समय दिन नसक्दा उनीहरु बालबालिकालाई दिनभर प्रिस्कुल पठाउँछन् । यही मौकालाई छोपेर अहिले हरेक गल्लीगल्लीमा मन्टेश्वरी किन्डरगार्टेन खुलेका छन् ।

गल्लीपिच्छे मन्टेश्वरी स्कुल खुले पनि किन्डरगार्टेन विधि र पद्धति अनुसार भने सिकाइलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन सकेका छैनन् ।

नेपालका अधिकांश मन्टेश्वरी प्रि–स्कुलले कक्षाकोठाको व्यवस्थापन, शिक्षण सामग्रीदेखि शिक्षकको क्षमता र दक्षताका कारण बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउन सकेका छैनन् ।

प्रा. डा. सुसन आचार्य मन्टेश्वरी किन्डरगार्टेन लोकतान्त्रिक विधि र पद्धतिमा आधारित भए पनि नेपालमा कामचलाउ तरिकाले सञ्चालन भइरहेको बताउँछिन् ।

‘मन्टेश्वरी नितान्त लोकतान्त्रिक विधि हो । यसमा बालबालिकाको इच्छा अनुसार सिकाइन्छ, पढाइन्छ । तर नेपालमा बालबालिकाको इच्छा चाहनाको कुनै मतलब नै गरिंदैन । नेपालमा मन्टेश्वरी स्कुल पार लगाउने तवरले मात्रै सञ्चालन भइरहेका छन्,’ उनी भन्छिन् ।

मन्टेश्वरी किन्डरगार्टेनलाई कस्तो बनाउने भन्ने कुरा समाज र अभिभावकमा पनि भरपर्ने उनको भनाइ छ । अभिभावकको चाहना बालबालिकालाई मन्टेश्वरी स्कुल भर्ना गरेपछि केही सिकोस् भन्ने हुन्छ । उनीहरुले बालबालिकाको भावनात्मक, सामाजिक विकासभन्दा पनि शैक्षिक विकासमा बढी ध्यान दिन्छन् ।

मन्टेश्वरी स्कुल भर्ना भएपछि अभिभावकले पैसा र समयको परिणाम खोज्छन् । स्कुल पठाएपछि केही न केही सिक्नुपर्‍यो । छिटो सिक्नुपर्‍यो भन्ने बुझाइका कारण पनि मन्टेश्वरी शिक्षा नेपालमा परम्परागत संरचनामै चलिरहेको उनले बताइन् ।

‘मन्टेश्वरी किन्डरगार्टेन विधि र पद्धतिले बालबालिकाको सामाजिक, मनोवैज्ञानिक र बौद्धिक विकासमा ठूलो भूमिका खेल्छ,’ आचार्य भन्छिन्, ‘यसले बालबालिकामा मोटर स्किल र सोसल स्किलको पहिचान गरी उनीहरुलाई नयाँ–नयाँ कुरा प्रयोग गरेर हेर्न उत्सुक बनाउँछ । यसले उनीहरुको सिकाइमा प्रभावकारिता र निखारता ल्याउँछ ।’

मन्टेश्वरी शिक्षा पद्धतिमा बालबालिकालाई पढ्नका लागि करकाप गर्न नपाइने र उनीहरुलाई गर्न मन लागेको काम गर्न दिनुपर्ने आचार्यको भनाइ छ ।

मन्टेश्वरी शिक्षा पद्धति अनुसार बालबालिकालाई प्रयोगात्मक विधिबाट सिकाइन्छ । उनीहरुलाई किताब कापी बोक्न र पढ्न लगाइँदैन । मात्रै उनीहरुलाई मन्टेश्वरी तथा अन्य सामग्रीका माध्यमबाट सिक्न प्रेरित गरिन्छ ।

मन्टेश्वरीमा बालबालिकालाई पाँच ज्ञानेन्द्रियहरुको माध्यमबाट सिकाउने गरिन्छ । यो सिकाउने प्रक्रिया मात्रै नभई उनीहरुलाई स्कुलका लागि समेत अभ्यस्त गराउने काम हो । पठन सामग्रीका साथ बालबालिकाले हेरेर, सुनेर, चाखेर, छोएर र सुँघेर सिक्ने गर्छन् । यसका लागि उनीहरुलाई समय दिनुपर्छ । उनीहरुको इच्छा अनुसारका क्रियाकलाप गर्न दिनुपर्छ ।

मन्टेश्वरी सामग्री देखाएर, छोएर, सुँघेर, खेलेर, स्पर्श गरेर सिकाउँदा बालबालिकालाई सिक्न समय लागे पनि उक्त सिकाइले बालबालिकाको सिकाइमा दीर्घकालीन प्रभाव पार्नुका साथै उनीहरुलाई सामाजिक हुन सिकाउने आचार्यको तर्क छ ।

तर नेपालको मन्टेश्वरी किन्डरगार्टेन पद्धति शिक्षकलाई तालिम प्रदान गरेर गरिने भए पनि पुरानै संरचना र परम्परागत तरिकाले सञ्चालन भइरहेको उनी गुनासो गर्छिन् । जसका कारण बालबालिकाको सिकाइ उपलब्धिमूलक हुन सकेको छैन ।

फाइल तस्वीर

बालबालिकाले खेल्दै, चल्दै, दौडिंदै विभिन्न किसिमका जीवनोपयोगी शिक्षा तथा व्यवहार सिक्न सक्ने प्रयोगशाला हो मन्टेश्वरी स्कुल ।

स्कुलमा बालबालिकाका लागि खेलकुद सामग्री उपलब्ध हुनुपर्छ । ती सामग्री बालबालिकाको पहुँचमा हुनुपर्छ । अर्थात् उनीहरुले चाहेको सामग्री सजिलैसँग समातेर खेल्न र प्रयोग गर्न सक्ने स्थानमा राख्नुपर्छ ।

छुनामुना प्रि–स्कुलकी प्रिन्सिपल कमला ढकाल अधिकारी नेपालका मन्टेश्वरी स्कुलले अन्तर्राष्टिय स्तरको मन्टेश्वरी शिक्षा दिन नसकेको स्वीकार गर्छिन् ।

‘नेपालका मन्टेश्वरीले बाहिरका मन्टेश्वरीको जस्तो बालबालिकाको सिकाइलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन सकेका छैनन्,’ उनी भन्छिन्, ‘मन्टेश्वरी सामग्रीको अभाव, दक्ष शिक्षकको कमीजस्ता कारणले मन्टेश्वरी स्कुलको प्रभावकारिता तथा गुणस्तरमा सुधार तथा परिवर्तन ल्याउन नसकिएको हो ।’

तर पछिल्लो समय विगतको भन्दा केही मन्टेश्वरी स्कुलले बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउनुका साथै उनीहरुको रुचि र चाहना अनुसार नै सिकाउने गरेको उनले बताइन् ।

मन्टेश्वरी विधि र पद्धति भनेको खेल्दै सिक्दै सिकाउने प्रविधि हो । यसका लागि खेल्ने बालबालिकालाई खेल्ने ठाउँका साथै पठन सामग्री पनि हुन जरुरी छ,’ ढकाल भन्छिन् ।

बालबालिकाको पिठ्युँमा ठूलो झोला बोकाएर किताब घोकाएर पढाउने विकल्पको रुपमा मन्टेश्वरी शिक्षाको सुरुवात भएको उनको भनाइ छ । मन्टेश्वरी स्कुलले बालबालिकालाई प्रयोगात्मक तरिकाले उनीहरु स्वयं आफैंलाई परीक्षण  तथा अनुभव गर्न लगाएर सिकाउँदा बालबालिकाले छिटो सिक्ने र सिकाइ दिगो र प्रभावकारी समेत हुने उनी बताउँछिन् ।

मन्टेश्वरी शिक्षाले बालबालिकामा सामाजिक, मनोवैज्ञानिकका साथै व्यवहारमा समेत फरकपन ल्याउने उनको तर्क छ ।

शिक्षाविद् विद्यानाथ कोइराला नेपालका अधिकांश मन्टेश्वरी किन्डरगार्टेन नाम मात्रका भएका र तिनीहरुले बालबालिकाको सामाजिक, मानसिक तथा बौद्धिक विकासमा उल्लेखनीय प्रभाव पार्न नसकेको गुनासो गर्छन् ।

‘मन्टेश्वरी स्कुलले बालबालिकाको क्षमता पहिचान गरेर त्यही अनुसारको शिक्षा दिएर उसलाई सबल बनाउने हो,’ उनी भन्छन्, ‘नेपालका अधिकांश मन्टेश्वरी स्कुल नाम मात्रका छन्,  जसले मन्टेश्वरीको नाममा बा–आमालाई आकर्षण गर्ने र तर्साउने काम गरिरहेका छन् ।’

नेपालमा मन्टेश्वरी स्कुलको गुणस्तर र प्रभावकारिता नै नभएको कोइराला टिप्पणी गर्छन् ।

बालबालिकामा आत्मविश्वास जगाउनु, परिवर्तित समाज एवं अन्य व्यक्तिप्रति सकारात्मक सोचको विकास गर्नु, बालबालिकाको क्षमता पहिचान गरी सोही अनुसार उसलाई अगाडि बढाउने प्रयास गर्नु तथा सामाजिक र व्यावहारिक मूल्य मान्यता अनुसार व्यावहारिक ज्ञान प्रदान गरी असल नागरिक बनाउने आधार खडा गर्नु मन्टेश्वरी शिक्षाको मूल उद्देश्य हुनुपर्ने शिक्षाविद् कोइराला बताउँछन् ।

शिक्षाविद् विद्यानाथ कोइराला

अहिलेको बदलिंदो परिस्थितिमा बालबालिकाको शिक्षा र सिकाइ विधि पद्धतिबारे अभिभावकले सचेत हुनुपर्ने र आफ्नो परम्परागत सोच विचारलाई परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

बालबालिकालाई मनोरञ्जनात्मक क्रियाकलापबाट सिकाउँदा छिटो सिक्ने र सिकाइ प्रभावकारी हुँदा घोकन्ते परिपाटीलाई विस्थापित गरी बुझेर पढ्दा भविष्यमा पढ्न सजिलो हुने उनी बताउँछन् ।

‘मन्टेश्वरी शिक्षामा परिवर्तन ल्याउन शिक्षकलाई विभिन्न तालिम तथा पूर्व अभिमुखीकरण गराएर अभिभावकले आफ््नो तौरतरिकामा परिवर्तन ल्याउन आवश्यक छ । अभिभावक र शिक्षक सचेत नभएसम्म बालबालिकाको सिकाइ वा मन्टेश्वरी शिक्षा प्रभावकारी हुन सक्दैन,’ कोइराला बताउँछन् ।

मन्टेश्वरी इटालियन नागरिक मारिया मन्टेश्वरीले विकास गरी प्रयोगमा ल्याएको शैक्षिक विधि हो । अहिले यो विधिलाई विश्वभर आत्मसाथ गरिएको छ । बालबालिकाको सिकाइका लागि निकै प्रभावकारी मानिएको मन्टेश्वरी विधि निकै लोकप्रिय बन्दै गइरहेको छ ।

चिकित्सा क्षेत्रमा कार्यरत मारियाले मानसिक रुपमा कमजोर र अशक्त बालबालिकालाई हेर्ने गरी रोम विश्वविद्यालयको बालमनोविज्ञान शाखामा इन्टर्नको रुपमा काम गर्न थालिन् ।

बालमनोविज्ञान शाखामा काम गर्दा उनले बालबालिकाको मनोविज्ञानबारे अध्ययन अनुसन्धान गर्ने मौका पाइन् । पछि बालबालिकाका लागि परम्परागत भन्दा फरक किसिमका शिक्षा पद्धति आवश्यक रहेको महसुस गरिन् ।

फलस्वरुप उनले सुकुम्बासी बस्तीका बालबालिका जम्मा गरेर प्रयोगात्मक विधिबाट अध्ययन गराउन थालिन् । उनले बालबालिकालाई प्राकृतिक विधिबाट सिकाउन थालिन् । पछि यसै प्राकृतिक विधिलाई संसारभर फैलाइन् ।

सन् १९०७ मा उनले स्थापना गरेको ‘कासा देई बम्बेनी’ अर्थात् ‘चिल्ड्रेन्स हाउस’ स्कुल खोलिन् । यो नै पहिलो मन्टेश्वरी स्कुल हो ।

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?