+
+
किनाराका बस्ती-२ :

खुट्टा जखमी छ तर बोक्नु छ भारी

बिनु सुवेदी बिनु सुवेदी
२०७९ वैशाख २३ गते १९:००

२३ वैशाख, काठमाडौं । लालबहादुर खत्रीको खुट्टा जखमी छ । तर उनको पेशा भारी बोक्ने हो । अनलाइनखबरले सुरु गरेको किनाराका बस्ती अन्तर्गतको दोस्रो श्रृङ्खलामा हामी तपाईंलाई भारी बोकेर जीविका चलाउने मजदुरहरुको बस्तीमा लैजाँदैछौं ।

मजदुर बस्तीका मजबुरीका कहानी यिनै लालबहादुरकै डेराबाट सुरु गरौं। ४५ वर्षका लालबहादुर खत्री दोलखाबाट काठमाडौं छिरेदेखिको दैनिकी भारी बोक्ने नै हो । तर आफ्नै जटिल स्वास्थ्य अवस्थाका कारण उनले ठूलो भारी बोक्न सक्दैनन् । सानो भारीको पैसा थोरै नै आउँछ ।

‘काठमाडौं बस्न थालेको पनि १५/२० वर्ष भयो । पहिलेदेखि नै रोग लाग्यो ५–६ सय हुन्छ । पहिलेदेखि नै दु:ख भयो, ठूलो ठूलो भारी बोक्न सकिंदैन । सानो सानो पोका पाइँदैन। खान पनि धौ–धौ नै छ’ लालबहादुरले भने, ‘अरु काम पनि भएन । पढाइ लेखाइ पनि त्यति छैन पहिले दु:खै भयो, अहिले झन् धेरै दु:ख छ ।’

लालबहादुरको कोठामा ग्याँस सकिएको दुई दिन बितिसक्दा पनि उनले डेरामा ल्याउन भने सकेनन् । बजारमा ग्याँसको अभाव भएर होइन, उनको गोजीमा पैसा नभएर हो । त्यसैले मनमा घरमै फर्केर जाउँ कि भन्ने पनि लाग्छ । तर महिनाको हजार/दुई हजार पठाउने बाटो पनि रोकियो भने के गर्ने भन्ने चिन्ताले उनी पिरोलिन्छन् ।

लालबहादुर आम मजदुरका प्रतिनिधि हुन् । महँगीले आकाश छोइसक्दा समस्याले धर्तिमा किलो गाडेको छ । एक बोरा चामल र एक प्याकेट खानेतेल किन्ने पैसाको जोहो एक या दुई दिनको मिहिनेतले हुन सक्दैन । त्यसमाथि बिहानदेखि साँझसम्म भारी बोक्न पाइन्छ भनेर मजदुरहरु डेरा गरी बस्ने असन, इन्द्रचोक, न्युरोड,नरदेवी महाबौद्धभित्रका अँध्यारा कोठाको भाडा सस्तो छैन ।

पाँच वर्षको उमेरदेखि भारी नै बोकेर जीविका चलाइरहेका विष्णु कुँवर चालीस वर्षका भए । उनको थाप्लो र नाम्लाको साइनो ३५ वर्षको भयो । ‘हामीलाई भनेजस्तो हुँदैन, सबैले भारी बोक्ने भरिया त हो नि भनेर हेर्छन्’ कुँवरले भने, ‘हामी त संगठित हुन पनि सक्दैनौं । हामीलाई त राज्यले पनि हेर्दैन ।’

राज्यले आफूहरुलाई किनारामा पारेको छ भन्ने मजदुरहरुले राम्ररी बुझेका छन् । काठमाडौंमा मजदुरी नगरी हातमुख जोड्न सकिन्न, घर फर्किंदा खेतीपाती गर्ने जग्गाजमिन छैन । मजदुरकै कुरा गर्ने नेताहरुले समेत आफूहरुलाई कामको मान्छे नठान्ने गर्दा जरुर उनीहरुको मन दुख्नु अस्वाभाविक छैन ।

नेपाल भारबाहक ट्रेड युनियन महासंघसँग काठमाडौं उपत्यकामा ३० हजारको हाराहारीमा भरियाहरु रहेको आँकडा छ । उनीहरु प्राय:जसो उपत्यकाका व्यापारिक केन्द्रका भित्री बस्तीका घरहरुमा बस्छन् । प्राय: ती घरहरु भूकम्पले तहसनहस पारेका हुन् । कामको चापाचाप र लुछाचुँडी हुन्छ सहरबाट टाढा बसेर पनि काम नै छैन । भित्रको बसाइ खर्चिलो, असुरक्षित र अपमानजनक छ ।

एकातिर अपमानको सिलसिला जारी छ, अर्कातिर अभावको श्रृङ्खला । मजदुरीको श्रृङ्खला पनि उनीहरुको त्यसैगरी चलिरहेको छ, मानौं कि त्यो उनीहरुको पुस्तैनी पेशा हो । कतिले आफ्ना बुवाको बिंडो थामे, कतिले दाजुभाइले गरेको देखेर भारी बोक्न थाले । २०५२ सालदेखि मजदुरी गरेर काठमाडौंका गल्ली गल्ली नापेका भगवान गौतम २०५२ यता मजदुरहरुको दैनिकीमा एक इन्च पनि फरक नपरेकोमा दु:खी हुन्छन् ।

सरकार छ भन्ने अनुभूति आफूहरुले पनि गर्न पाए त हुन्थ्यो नि भन्ने आश मजदुर बस्तीका यी नागरिकलाई नलाग्ने होइन । तर धेरैपटक आश्वासन मात्रै पाएका उनीहरुको भरोसा राज्यसँग पनि उठिसकेको छ । त्यसैले हातगोडा चलुन्जेल मजदुरी गर्छाैं भनेर प्रतिबद्ध मजदुरहरुसित हातगोडै चल्नै छोडे के गरुँला भन्ने योजना छैन । साहुदेखि नेतासम्म, घरबेटीदेखि राज्यसम्म सबैको व्यवहारबाट दु:खी भएका कुमार ढुंगेललाई केवल आफ्नो बलसँग मात्रै विश्वास छ, जसरी यही विश्वास अरु मजदुरलाई छ ।

‘भारी ठूला हाल्ने, साहुहरु राजा बन्न खोज्ने। परेको बेलामा सहयोग गर न भन्यो भने सहयोग गर्दैनन्’ ढुंगेलले भने, ‘आफ्नो शरीरमा शक्ति छ काम छ, शक्ति छैन केही छैन । दबाब कति दिने हो, हामीले तिमीहरुलाई जबरजस्ती लगाएको हो र भन्छन् । तर आफ्नो दु:ख आफैंसित छ ।’

(किनाराका बस्ती अनलाइनखबरको भिडियो श्रृंखला हो । यो श्रृंखलामा हामीले राज्यले सधैंभरि किनारामा पारेका बस्तीका कुराहरु उधिन्छौं, दुःखसुख–अप्ठ्यारा, सप्ठ्याराका कुरा गर्छाैं । दलहरुले चुनावमा भोट बढाउनुपर्दा, दलहरुकै आन्दोलनका बेला सडकमा नाराबाजी गर्नुपर्दा अहिले पनि अग्रपंक्तिमा देखिने नागरिकले आफू अप्ठ्यारोमा परेका बेला कहिल्यै राज्यको साथ पाउन्नन् । संविधानले नै प्रत्याभूत गरेको गाँस, बास, शिक्षा र स्वास्थ्यको सुविधाबाट समेत किनारामा पारिएका नागरिकका समस्यालाई कम्तीमा आफ्नो आँखाबाट ओझेल पर्न नदिने हाम्रो प्रयास हो । यही प्रयास अन्तर्गत दोस्रो श्रृंखलामा हामी काठमाडौंको न्युरोड,असन, इन्द्रचोकभित्र रहेका भारी बोक्ने मजदुरको बस्तीमा पुगेका छौं ।)

क्यामेरा : शंकर गिरी र आर्यन धिमाल /सम्पादन : दिलीप तामाङ ‘गारब’

किनाराका बस्तीको पहिलो श्रृङ्खला हेर्नुहोस

भिडियो हटाइएकोः
‘किनाराका बस्ती भाग २ मा ‘खुट्टा जखमी छ तर बोक्नु छ भारी’ शीर्षकमा प्रकाशित भिडियो सामग्री म लालबहादुर खत्रीले बोले बमोजिम तयार भएको हो तर, उक्त सामग्री प्रकाशित भएपछि परिवार र समाजमा मेरो मान, मर्यादामा नकारात्मक असर परेकोले हटाइ दिनुहुन’ भनी अनलाइनखबर डटकमको कार्यालयमा लिखित निवेदन दिनु भएकोले सो भिडियो सामग्री हटाइएको छ ।
-प्रधान सम्पादक

लेखकको बारेमा
बिनु सुवेदी

बिनु सुवेदी अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?