+
+
कभर स्टोरी :

स्थानीय तह निर्वाचन : तन विदेशमा, मन नेपालमा

विदेशमा बस्ने ४० लाख बढी नेपालीलाई पनि कुनै न कुनै रूपमा स्थानीय चुनाव लागेको छ । कोरियादेखि अमेरिकासम्म, बेलायतदेखि अष्ट्रेलियासम्म अनि खाडीदेखि मलेसियासम्मका नेपाली अहिले आफ्नो वडा र पालिकाको चुनावी जोड–घटाउ र परिणामको आकलन गरेर बसेका छन् ।

बसन्त रानाभाट, बार्सिलोना बसन्त रानाभाट, बार्सिलोना
२०७९ वैशाख २३ गते १९:२०

२३ वैशाख, काठमाडौं । ‘जापानको चुनाव भन्दा मलाई नेपालको चुनाव धेरै लाग्छ’ १८ वर्षदेखि जापान बस्दै आएका अधिवक्ता बलराम श्रेष्ठ भन्छन्, ‘हामीले यहाँ कमाए पनि नेपाल नै पठाउँछौं । सधैं चिन्ता नेपालकै भइरहन्छ । अझ गाउँठाउँको आफ्नो स्थानीय तहको निर्वाचनमा त चासो नहुने कुरै भएन ।’

काठमाडौं महानगरपालिका–६ मूल घर भएका श्रेष्ठलाई स्थानीय तहको विकास आफूले देखेको विकसित देशमा जस्तै भइदिए हुन्थ्यो भन्ने लाग्छ । उनी भन्छन्, ‘यहाँका नगरपालिकामा कुनै पनि काम ५ देखि १० मिनेट भित्र गर्न सकिन्छ । धेरैजसो काम घरबाटै गर्न सकिन्छ । नेपालमा पनि यस्तै भइदिए हुन्थ्यो ।’

‘जापानमा स्थानीय चुनावमा कुनै पनि पार्टीको झण्डा लिएर लड्न पाइँदैन’ अधिवक्ता श्रेष्ठ भन्छन्, ‘नेपालमा पार्टीले उम्मेदवार उठाउँछ । पार्टीको चिह्नमा भोट हाल्न लगाइन्छ । त्यसले घर, टोलहुँदै समाज नै धु्रुवीकरण हुन्छ । यो असाध्यै नराम्रो पक्ष हो । जापानमा त्यस्तो हुँदैन ।’

स्थानीय निर्वाचनमा सकेसम्म व्यक्तिलाई भोट हाल्ने, पार्टी हेरेर भोट नहाल्ने व्यवस्था भइदिए हुन्थ्यो भन्ने लाग्छ श्रेष्ठलाई । ‘कमसेकम पनि स्थानीय निर्वाचनमा चाहिं त्यसो गर्न सके नेपाली समाज र परिवार विभक्त हुँदैनथ्यो कि !’ अधिवक्ता श्रेष्ठले भने, ‘पार्टीले मौन समर्थन गरे पनि पार्टी चिह्नकै आधारमा भोट हाल्ने प्रवृत्ति कम्तीमा स्थानीय तहमा हटाउनुपर्छ ।’

उनले यसो भन्नुको कारण छ । वडा र नगरपालिकामा पहुँच नपुग्नेले काम गर्नै नसक्ने उनको अनुभव छ । ‘विदेशमा बसे पनि हामीलाई नेपालबाट विभिन्न कागजपत्र मगाउनुपर्छ’ अधिवक्ता समेत रहेका श्रेष्ठ भन्छन्, ‘हाम्रा सन्तान यहीं जन्मे पनि नेपाली हुन्छन् । आफ्नो स्थानीय निकायसँग प्रत्यक्ष सम्बन्ध राख्नुपर्ने हुन्छ । तर विभिन्न कागजी काम गर्न एकदमै झन्झटिलो छ । पहुँच पुग्न सके मात्रै समयमा काम बन्ने बाध्यता हामीले व्यहोर्दै आएका छौं ।’ त्यसैले हाम्रालाई होइन राम्रालाई भोट हाल्न उनको अपील छ ।

****

गोरखा बारपार्क सुलिकोट गाउँपालिका घर भएका विष्णु गुरुङ लन्डन बरो अफ हन्स्लोको ५६औं मेयर हुन् । दुई दशक बेलायती सेनामा काम गरेपछि अहिले उनी बेलायतको राजनीतिमा निकै सक्रिय छन् । आफूजस्तो सामान्य मान्छे बेलायतमा मेयर बनेर काम गर्न पाउँदा खुसी लागेको उनले बताए ।

‘नेपालको स्थानीय तहलाई पनि नजिकबाट हेरिरहेको छु । तर त्यहाँ पैसाले पेलेर मात्रै काम अगाडि बढाउन सकिन्छ’ मेयर गुरुङले अनलाइनखबरसँग भने, ‘सामाजिक भाव भएको इमानदार मान्छे पनि यहाँ राजनीतिमा अघि बढ्न सक्ने वातावरण छ । नेपालमा पनि त्यो वातावरण बनाउनुपर्छ ।’

स्थानीय तह निर्वाचनमा उम्मेदवारहरूले गरेको खर्च सुन्दा उनलाई आश्चर्य लाग्छ । पदमा पुग्नका लागि राजनीतिक पार्टीले गर्ने गठबन्धन बारे टिप्पणी गर्दै उनी भन्छन्, ‘कुर्सीकै लागि पार्टी मिल्ने र त्यसैका लागि फुट्ने । सत्तामा पुग्नकै लागि जे पनि गर्ने ? यो त निकै स्वार्थीपन भयो ।’

बेलायतमा जसरी मेयरमा काम गर्न पाए आफू नेपालमा पनि काम गर्न इच्छुक रहेको उनको भनाइ छ । गुरुङ भन्छन्, ‘हामी जहाँ बसे पनि आखिर नेपाली नै हो, आफ्नो माटोको माया सबैभन्दा प्यारो लाग्छ ।’

बेलायतमा बस्दै आएका अर्का भूतपूर्व ब्रिटिस गोरखा सैनिक हुन् कास्की मूल घर भएका लक्ष्य गुरुङ । उनी बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको तर्फबाट बार्नेट काउन्सिलमा काउन्सिलर पदका उम्मेदवार पनि हुन् । तर बेलायतमा स्थानीय तहको निर्वाचन चलिरहँदा उनलाई चाहिं नेपालको राजनीतिमा पनि उत्तिकै चासो छ । काठमाडौं र पोखरा महानगरपालिकाका बासिन्दा गुरुङलाई स्थानीयवासीका समस्याहरूमा चुनाव केन्द्रित नभएकोमा चिन्ता छ ।

उनी भन्छन्, ‘बेलायतमा जस्तै नेपालको स्थानीय चुनाव लोकल इस्सुमा केन्द्रित हुनुपर्थ्यो । यहाँ हामी त काउन्सिल ट्याक्स, सार्वजनिक यातायात, नगर क्षेत्रमा हुने अपराध जस्ता स्थानीय विषयमा नै केन्द्रित रहेर आफ्ना प्रतिबद्धता सार्वजनिक गर्छौं ।’

****

टीकापुर नगरपालिका–१ कैलाली मूल घर भएका हिक्मत थापा अफ्रिकी मुलुक नाइजेरिया बसेको १६ वर्ष बितिसक्यो । अफ्रिकामा बसे पनि उनको तन–मन नेपालमै हुन्छ । ‘आफ्नो गाउँ–ठाउँको चुनावी चासो नहुने कुरै भएन’ एनआरएनए पूर्व कोषाध्यक्ष समेत रहेका थापा भन्छन्, ‘स्थानीय निकायमा भिजन र आर्थिक पारदर्शिता भएका व्यक्तिहरू आइदिए हुन्थ्यो भन्ने लाग्दछ ।’

आफ्नो गाउँ–ठाउँको विकास भएको सबैलाई हेर्न मन हुन्छ । विदेशमा रहेका पहिलो पुस्ताको नेपालीको नेपालको स्थानीय तहसँग गहिरो सम्बन्ध रहेको थापाले सुनाए । ‘विदेशमा रहे पनि हाम्रो मन गाउँघरतिर नै हुन्छ । स्थानीय निकाय नै विकासको मेरुदण्ड हो । भिजन र आर्थिक पारदर्शिता भएका व्यक्तिहरू आइदिए हुन्थ्यो भन्ने लाग्दछ ।’

उमेशराज मोक्तान बेलायत बस्न थालेको २६ वर्ष भयो । अहिले स्थानीय चुनावको रन्को लागेर उनी धरान पुगेका छन् । नेकपा एकीकृत समाजवादी पार्टी निकट प्रवासी नेपाली मञ्च युकेका वरिष्ठ उपाध्यक्ष समेत हुन्, उनी ।  वडा सदस्य पदमा आफ्नै माइला दाइ राजेशराज मोक्तान एमालेबाट उठेका छन् ।

हुन पनि थापालाई टीकापुरको राजनीतिक जोडघटाउ र समीकरण बारे कण्ठस्थ छ । ‘टीकापुरमा अहिले पनि नेपाली कांग्रेससहितको गठबन्धन र एमाले नै त्यहाँका स्थानीय पार्टीहरू हुन् । दिनैपिच्छे चुनावको रौनकता बढिरहेको छ ।’

प्रवासका नेपालीलाई कसरी लागेको छ चुनाव ?

गुल्मी दरबार गाउँपालिका वडा नम्बर ४ विरबासका प्रकाश अर्याल अहिले कामदार भिसामा दक्षिण कोरियामा छन् । दैनिक ८ देखि १० घण्टासम्म काम गर्ने उनी हप्तामा एक दिन मिल्ने छुट्टीमा पनि ओभरटाइम काम गर्दै आएका छन् । कामको चटारोका बीच पनि उनलाई आफ्नो गाउँपालिकाको चुनावी रन्कोले समातेको छ ।

‘मेरै घर माथिका दाइ देवीराम पोखरेल हाम्रो ४ नम्बर वडाको वडाअध्यक्षमा उठ्नुभएको छ’ अर्याल भन्छन्, ‘उहाँकै छत्रछायाँमा हुर्के बढेको हुनाले हामीले साथ–समर्थन गर्नै पर्यो नि ! त्यही ठाउँमा व्यापार पनि गरेर बस्नुभएको छ । पहिलेदेखि नै सामाजिक मान्छे पनि हो । उहाँले जिते हाम्रो गाउँको विकास पनि हुन्थ्यो ।’

गुल्मी दरबार गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार कृष्ण भुसाललाई आफ्नो परिवारको समर्थन रहेको उनी बताउँछन् । उनले थपे, ‘नेपाली कांग्रेसका सरोज थापा पनि अध्यक्षको दौडमा हुनुहुन्छ ।’ अर्याल कामबाट फुर्सद मिल्ने बित्तिकै गाउँका साथीभाइ तथा आफन्तसँग फोनमा घण्टौंसम्म चुनाव र राजनीतिको कुरा गर्ने बताउँछन् ।

उमेशराज मोक्तान बेलायत बस्न थालेको २६ वर्ष भयो । अहिले स्थानीय चुनावको रन्को लागेर उनी धरान पुगेका छन् । नेकपा एकीकृत समाजवादी पार्टी निकट प्रवासी नेपाली मञ्च युकेका वरिष्ठ उपाध्यक्ष समेत हुन्, उनी ।

‘धरान उपमहानगरपालिका–७ पहिलेदेखि कम्युनिस्टले जित्दै आएको वडा थियो । तर, परिस्थितिवश अहिले गठबन्धनको उम्मेदवार सुवर्ण पालिखे हुनुहुन्छ । कांग्रेसलाई भोट दिनु भन्दै प्रचार गर्नु परेको छ’ मोक्तानले भने, ‘राजनीतिक यात्राका सहयात्री एमालेका जीवन सुवेदी वडाअध्यक्षमा उठे पनि गठबन्धनको धर्म निभाउँदै पालिखेको प्रचारमा हिंडेको छु ।’

उमेशलाई कम्ती गाह्रो छैन त्यहाँ । सोही वडाको सदस्य पदमा आफ्नै माइला दाइ राजेशराज मोक्तान एमालेबाट उठेका छन् । ‘घरमा दाइले एमालेको झन्डा राख्नुभएको छ । पार्टी फुटेपछि म नेकपा समाजवादीतर्फ लागेको छु । गठबन्धनका कारण म अहिले कांग्रेसको प्रचारमा लागेको छु । घरमा कांग्रेसको झण्डा पनि छ ।’

पोखरा महानगरपालिका वडा नम्बर ८ मूल घर भएका दीपक थापा १८ वर्षदेखि अमेरिका बस्दै आएका छन् । यतिबेला उनी पोखराको चुनावमा चासो दिइरहेका छन् । अहिले दिनहुँजसो साथीभाइसँग सम्पर्क हुने, कुराकानी हुने उनी बताउँछन् । ‘म यहींबाट भए पनि चुनावी माहोल बुझिरहेको छु । पोखरामा गठबन्धन गरेको मलाई त्यति चित्त बुझेको छैन’, उनले भने ।

गठबन्धनका कारण स्थानीय तहमा लामो समय पार्टीमा काम गरेका व्यक्तिको अधिकार खोसिएको भन्दै थापाले भने, ‘नेकपा समाजवादीलाई मेयर भाग परेको छ । वर्षौंदेखि कांग्रेसको राजनीति गर्दै आएका अरू राम्रा उम्मेदवारहरू पाखा पर्नु दुखद कुरा हो ।’

उनलाई पोखरामा को कुन पदमा उठेका छन् भन्ने राम्रो जानकारी छ । मेयर पदमा एमालेका कृष्ण थापा र एकीकृत समाजवादीका धनराज आचार्य प्रतिस्पर्धामा रहेको उनी सुनाउँछन् ।

‘मेरो ८ नम्बर वडामा भने कांग्रेसकी शारदा गिरी र एमालेका रुद्र बराल वडाअध्यक्ष पदमा उठ्नुभएको छ’, उनी भन्छन् । एकपटक बरालजीले काम गरिसक्नुभएको छ । फेरि दोहोरिनुभएको छ । बराललाई एकपटक हेरिसकियो । अब नयाँ मान्छेलाई अवसर दिने कि भन्ने साथीभाइको बुझाइ रहेको उनले बताए ।

मोरङ रतुवामाई नगरपालिका वडानम्बर ८ का कृष्ण घिमिरे वैदेशिक रोजगारीको सिलसिलामा अहिले लेवनानमा छन् । दैनिक ८–१० घण्टा काम गर्ने उनी कामको बीचबीचमा पनि मोबाइल हेर्दै गाउँको चुनावको अपडेड बुझिरहेका हुन्छन् । वडा नम्बर ९ बाट आफ्ना अंकल विनोद घिमिरे एमालेबाट वडाअध्यक्षको उम्मेदवार बनेको भन्दै उनले फेसबुकमा अग्रिम बधाई समेत लेखेका छन् ।

मेयरमा एमालेका उम्मेदवार दुर्गाबहादुर बिष्टलाई उनको समर्थन देखिन्छ । ‘उपमेयर उम्मेदवार छनोटमा भने वडावासी असन्तुष्ट छन् । मेयर, उपमेयर दुवैजना एउटै साइडबाट उठाउनुभएन नि !’ घिमिरेले थपे, ‘एमालेलाई उपमेयरमा वडावासीले भोट हाल्दैनन् । बरु स्वतन्त्र उम्मेदवारलाई भोट जाने सम्भावना छ ।’

डेढ दशकदेखि स्पेनमा बस्दै आएका भरतपुर महानगरपालिका–७ कृष्णपुरका अर्जुन आचार्यको परिवारमा चुनाव आउँदा माहोल नै अर्कै बन्छ । उनी नेकपा माओवादी केन्द्र निकट जनप्रगतिशील मञ्च स्पेनका निवर्तमान अध्यक्ष हुन् । तर परिवारमा आमा पुष्पा आचार्य नेपाली कांग्रेस र भाइ अशोक आचार्य एमाले समर्थक हुन् ।

‘म ३६ वर्षको भएँ, बुवाले चाहिं अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीको झन्डा बोक्नुभएको छैन । उहाँ अहिले निर्वाचन अधिकृतको रूपमा नवलपुरमा कार्यरत हुनुहुन्छ’, उनले भने, ‘पाँच वर्षको काम देखेर भाइ र ममी रेनु दाहाल समर्थक हुनुभएको छ’ आचार्य भन्छन्, ‘तर मेरी ममीलाई रूख चिह्नमा भोट हाल्न खुसी लाग्छ । कहिलेकाहीं मैले फोन गर्दा रूखमा भोट हाल्ने भनेको रूख त नहुने रै’छ भन्नुहुन्छ । उहाँ साक्षर मात्रै हो ।’

विदेशबाट नै गाउँटोलको चुनावी माहोल बुझिरहेका आचार्य भन्छन्, ‘मेरो कान्छो बुवाको परिवारमा चाहिं यसपटक मत बाँडिन्छ ।’

दलहरूको पक्षमा प्रवासका संगठन सक्रिय

स्थानीय चुनाव नजिकिंदै गर्दा राजनीतिक दलहरूका संरचनाहरू परदेशमा पनि सक्रिय छन् । डिजिटल चुनावी प्रचार शैलीले यस्ता भ्रातृ संस्थाहरूलाई थप सक्रिय हुन सजिलो बनाएको छ । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्चले त चुनावी गीत नै निकालेर प्रचार गरेको छ ।

प्रायः नेपालमा हुँदादेखि नै राजनीतिक दलमा सक्रिय नेपाली विदेश आएपछि भ्रातृ संस्थामा रही काम गर्दै आएका छन् । पार्टीका कार्यकर्ता सामाजिक संजालमा आरोप–प्रत्यारोप गर्ने, आफ्ना नेताको प्रचार र बचाउमा उभिएका देखिन्छन् । नेताका गल्ती, कमजोरीलाई ढाकछोप गर्ने र अर्को पार्टीका नेतालाई गालीगलौज गर्ने परम्परा अहिले पनि कायमै छ ।

तनहुँस्थित शुक्लागण्डकी स्थायी घर भएका स्पेनका मुक्तबहादुर गुरुङ विद्यार्थीकालदेखि नै नेकपा एमालेको राजनीतिमा सक्रिय थिए । अहिले पनि नेकपा एमालेको फुटको प्रभाव आफ्नो क्षेत्रमा नपरोस् भनेर गाउँमा युवालाई प्रेरित गरिरहेको उनी सुनाउँछन् । प्रवासी नेपाली मञ्च स्पेनका पूर्व अध्यक्ष समेत रहेका गुरुङ भन्छन्, ‘नेकपा एमाले फेरि ठूलो दल बन्नुपर्छ । पदका भुक्तभोगीहरूका कारण नेकपा फुटेको हो । त्यसको जवाफ जनताले निर्वाचनबाट नै दिनुपर्छ ।’

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि केन्द्रीय सदस्य उदयशमशेर राणाको संयोजकत्वमा विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति गठन गरेको छ । उक्त उपसमितिमा विभिन्न मुलुकबाट गरेर ४५ जना सदस्य छन् ।

जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिका सदस्य सचिव समेत रहेका डेनमार्कका वीरेन्द्र सिंह कार्कीले ३५ वटा देशमा कांग्रेसका १२ हजार क्रियाशील सदस्यहरू रहेको दाबी गरे । उनले भने, ‘हामी यो समितिमार्फत हजारौं क्रियाशील साथीहरूलाई परिचालन गरिरहेका छौं । आफ्ना घर, टोल, छरछिमेक नजिकका साथीभाइलाई कांग्रेसलाई जिताउन अनुरोध गरिरहेका छौं ।’

नेपाली जनसम्पर्क समिति डेनमार्कका पूर्व सभापति समेत रहेका कार्कीले गठबन्धन गर्ने पार्टीको निर्णयलाई मानेर जानुपर्ने बताए । उनले भने, ‘यो सामाजिक संजालमा वक्तव्यवाजी गर्ने बेला होइन । पार्टीको निर्णय पालना गर्नुपर्छ । बरु पार्टीको आन्तरिक कार्यक्रमहरूमा त्यसको समीक्षा गर्न सकिन्छ ।’

पर्वतको बिहारी गाउँपालिका–५ उरमपोखरा मूल घर भएका ६४ वर्षीय सुरेन्द्र भुसालले २१ वर्षदेखि बेल्जियमलाई कर्मथलो बनाएका छन् । ४८ वर्ष कम्युनिस्ट आन्दोलनमा बिताएका भुसाल २०४८ सालको संसदीय चुनावमा पर्वत क्षेत्र नम्बर २ बाट उम्मेदवार समेत बनेका थिए ।

हाल नेकपा माओवादी केन्द्रको प्रवास कमिटीमा सक्रिय छन्, उनी । जनप्रगतिशील मञ्च युरोपका संयोजक समेत रहेका भुसालले गणतन्त्र, संघीयता, समानुपातिक जस्ता उपलब्धि नेकपा माओवादी केन्द्रको योगदानले सम्भव भएको भन्दै त्यसको समीक्षा गरेर अहिलेको निर्वाचनमा मतदान गर्न अनुरोध गर्ने बताए ।

‘कार्यगत रणनीति र दीर्घकालीन रणनीतिको आधारमा कांग्रेस लगायत दलहरूसँग माओवादी केन्द्रको गठबन्धन भएको हो । त्यसलाई अक्षरशः पालना गर्न प्रवासमा रहेका नेपालीले आफ्नो घरपरिवारलाई अनुरोध गर्नुपर्दछ’, उनले भने ।

नेपाली जनप्रगतिशील मञ्च युरोपमा मात्रै १७ देशमा बनिसकेको उनले सुनाए । उनले भने, ‘हामीले संसारभर झन्डै ४८ देशमा कमिटी बनाइसकेका छौं । स्थानीय तहको चुनावमा माओवादी केन्द्रलाई जिताउन अपील पनि गरेका छौं ।’

साइग्रेस पोखरेल

बार्सिलोना निवासी चर्चित ‘स्टोरी टेलर’ साइग्रेस पोखरेलले स्वतन्त्र रूपमा आफ्ना योजनाहरू स्थानीय तहको विकासमा साझेदारी गर्ने खालको नेतृत्व युवाहरूले खोजिराखेको बताए ।

‘स्थानीय चुनाव होस् वा प्रदेश वा संघीय चुनाव । मतदाताहरूको अपेक्षा दैनिक जीवनमा परिवर्तन भइदेओस् भन्ने छ’ साइग्रेस भन्छन्, ‘दलका उम्मेदवारहरूले पटक–पटक अवसर पाइसकेका छन् । तर केही काम हुन नसकेपछि सबै जना आजित भइसकेका छन् ।’

‘ठूला–ठूला योजना, परियोजना, अन्तर्राष्ट्रिय नीतिका कार्यक्रममा धेरैको रुचि छैन’ उनी भन्छन्, ‘बाटो सफा होस् । धुवाँधुलो नहोस् । सरकारी कार्यालयमा सजिलै काम बनोस् । घन्टौं लाइन बस्न नपरोस् । अझ भनांै सामान्य जीवनका कामका लागि तनाव लिन नपरोस् भन्ने नै स्थानीयको माग हो ।’

‘युवाहरूको चाहना यसका लागि कोही फ्रेस मान्छे आइदेओस् भन्ने मैले बुझेको छु’, उनले भने ।

‘ज्येष्ठ नागरिकहरूको लिगेसीका कारण अहिले पनि धेरैमा कुनै न कुनै पार्टीमा आबद्धता देखिन्छ । त्यसलाई परिवर्तन गर्न धेरै गाह्रो हुन्छ’ साइग्रेस भन्छन्, ‘तर त्यही परिवारमा हुर्केका युवाहरूमा राजनीतिक प्रभाव अहिले घट्दै गएको छ । उनीहरूलाई स्वतन्त्र उम्मेदवार आइदिए हुन्थ्यो भन्ने लाग्न थालेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?