+
+

काठमाडौंको चुनावी सभामा पोखियो गठबन्धनभित्रको तीतो

स्थानीय तह निर्वाचनको मतदानको मिति ३० वैशाख नजिकिँदै गर्दा कांग्रेसभित्र असन्तुष्टिका स्वरहरू मत्थर हुँदै गएपनि त्यसले निर्वाचनको परीणामलाई असर पुर्‍याउने निश्चित जस्तै देखिन्छ । यसैलाई संकेत गरेर नेता नेपालले मात्रै होइन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाली कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेल र बागमती प्रदेश सभापति इन्द्र बानियाँले समेत चर्को आलोचना गरे । बागी उम्मेदवारलाई लोकतन्त्र विरोधीको आरोप समेत लगाए ।

दिपेश शाही दिपेश शाही
२०७९ वैशाख २३ गते २२:२४

२३ वैशाख, वैशाख । ‘दम्भ देखाएर हुँदैन, एक्लै कहीँ पुगिँदैन’ पाँच दलीय गठबन्धनको घटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शुक्रबार काठमाडौं महानगरपालिकामा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने क्रममा भने ।

स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा गठबन्धनका संयुक्त उम्मेदवारलाई मत माग्न आयोजित चुनावी सभामा अध्यक्ष नेपालले यस्तै अर्थपूर्ण अभिव्यक्ति दिए, जसले गठबन्धनभित्र कायम असन्तुष्टिलाई प्रतिबिम्बित गर्छ ।

पाँच दलीय गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका अधिकांश नेता कार्यकर्ताले चुनावी तालमेलको विरोध गरिरहेका छन् । त्यति मात्रै होइन गठबन्धनको भागबण्डामा आफ्नो भागमा नपरेका महत्वपूर्ण नगर र पालिकामा बागी उम्मेदवार समेत उठेका छन् ।

स्थानीय तह निर्वाचनको मतदानको मिति ३० वैशाख नजिकिँदै गर्दा कांग्रेसभित्र असन्तुष्टिका स्वरहरू मत्थर हुँदै गएपनि त्यसले निर्वाचनको परीणामलाई असर पुर्‍याउने निश्चित जस्तै देखिन्छ । यसैलाई संकेत गरेर नेता नेपालले मात्रै होइन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाली कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेल र बागमती प्रदेश सभापति इन्द्र बानियाँले समेत चर्को आलोचना गरे । बागी उम्मेदवारलाई लोकतन्त्र विरोधीको आरोप समेत लगाए ।

मञ्चमा देखियो गठबन्धनको असन्तुष्टि

केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिगमन सच्याउने भन्दै सुरु भएको पाँच दलीय सत्ता गठबन्धन मुलुकमा स्थानीय तह निर्वाचन सुरु भएसँगै चुनावी गठबन्धनमा परिणत भएको छ ।

पाँच दलीय गठबन्धन बन्दै गर्दा तत्कालीन सत्तारुढ नेकपाले निकै ठूलो मूल्य चुकाउनु परेको थियो । नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको एकीकृत पार्टी नेकपा एकीकरणको तीन वर्ष नपुग्दै विभाजन भएको थियो । त्यसपछि माओवादी केन्द्रका केही नेता एमालेमा पुगे भने एमाले विभाजन भएर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी गठन भयो ।

लोकतन्त्र र संविधान जोगाउनका लागि भन्दै बनेको यो गठबन्धनका लागि सबभन्दा बढी त्याग माधव नेपाल र उनको पार्टीले गरेको भन्ने मूल्यांकन प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको छ । तर, स्थानीय निर्वाचनमा भएको पालिकाको भागबण्डा र चुनावी अभियानमा सबभन्दा बढी असन्तुष्ट पनि उनै नेपाल र उनको पार्टी एकीकृत समाजवादी छ । यसैको अभिव्यक्ति शुक्रबारको चुनावी सभामा पनि नेता नेपालले देखाए ।

काठमाडौं महानगरको मेयर र उपमेयरमा गठबन्धनबाट कांग्रेस र एकीकृत समाजवादीका उम्मेदवार छन् । अन्य तीनवटै दलको समर्थन छ । मेयरमा कांग्रेसकी सिर्जना सिंह र उपमेयरमा एकीकृत समाजदवादीका रामेश्वर श्रेष्ठ उम्मेदवार छन् । तर चुनावी घरदैलो र अन्य सार्वजनिक कार्यक्रममा कांग्रेस एक्लै हिडिरहेको छ । एकीकृत समाजवादी यस्ता कार्यक्रममा छुट्दै आएको छ ।

यसमा एकीकृत समाजवादी र नेता नेपालको चित्त दुखाई शुक्रबारको कार्यक्रममा पोखियो । ‘काठमाडौंका घरघरमा संयुक्त रूपमा पुग्नुस्, नभए तरंग पैदा गर्न सकिँदैन,’ चुनावी सभालाई सम्बोधन गर्ने क्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘कुनै वडामा एउटा त कुनैमा दुईटा पार्टीको मात्र तालेमल भएको छ । ३२ वटै वडामा पुग्नुपथ्र्यो । मिलाउनै पथ्र्यो, मिलाउन सकेनौं ।’

शुक्रबारको सभाको उपस्थितिले पनि महानगरमा गठबन्धन प्रभावकारी नभएको स्पष्ट देखाउँथ्यो । पाँच दलीय गठबन्धनको संयुक्त चुनावी सभा, त्यसमा पनि प्रधानमन्त्रीसमेत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रममा केही सय मानिस मात्र उपस्थित थिए ।

शान्तिबाटिकाको सडकमा आयोजित कार्यक्रममा मञ्च जुन ओजनसहित भरिएको थियो, त्यसअनुसार जनसहभागिता थिएन ।

बिहीबार चितवनमा भएको कार्यक्रममा पनि अपेक्षित उपस्थिति थिएन । जबकी एमाले वा गठबन्धनकै दलहरूले देशका विभिन्न पालिकामा एक्लाएक्लै आयोजना गरेका कार्यक्रममा उल्लेखिय उपस्थिति देखिन्छ । त्यसको तुलनामा निकै महत्व दिएका महानगरमा शीर्ष नेतृत्वले गर्ने सम्बोधन सुन्न पुगेका कार्यकर्ता र समर्थकको उपस्थिति अत्यन्तै कमजोर हो । यद्यपि, गठबन्धनका जिल्ला तहका नेताहरूले विभिन्न वडामा चुनावी अभियान चलिरहेकाले उपस्थिति कमजोर देखिएको तर्क गरे ।

राजमो अध्यक्ष केसीले काठमाडौं महानगरको सन्देशले देशभर असर पर्ने बताउँछन् । ‘काठमाडौँ मुलुकको महत्वपूर्ण ठाउँ हो । महानगरपालिकाबाट जाने सन्देशले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा असर पर्छ,’ चुनावी सभालाई सम्बोधन गर्दै केसीले भने, ‘यहाँ त हाम्रो पार्टीको कोही छैन, चन्द्रागिरी नगरपालिकामा हाम्रा उम्मेदवार उठेका छन् । जिताउनु हुनेछ भन्ने आशा लिएको छु ।’

देउवा र प्रचण्डले एकअर्कालाई मात्रै मागे भोट

देशका विभिन्न सहरमा संयुत्त चुनावी सभा गर्ने घोषणा गठबन्धन दलहरूले गरेका छन् । बिहीबार चितवनमा संयुक्त चुनावी सभा गरेको गठबन्धनले शुक्रबार काठमाडौंमा गर्‍यो । अब बुटवल, तनहुँ र पोखराल गायत सहरमा चुनावी हुनेछ । गठबन्धनका प्रमुख नेताहरू प्रधानमन्त्री देउवा र प्रचण्ड भने एकअर्काको खुलेर प्रशंसा गर्दै आफ्ना उम्मेदवारलाई मात्रै भोट मागिरहेका छन् ।

शुक्रबार काठमाडौंको चुनावी सभालाई सम्बोधन गर्दा देउवाले भरतपुरको विषय झिकेर आफ्नो प्रस्तावमा माओवादी केन्द्रको उम्मेदवार उठाइएको बताए । प्रचण्ड छोरी रेनुलाई उम्मेदवार नबनाउन तयार भएपनि आफूले उठाउन बल गरेको उनको भनाइ थियो ।

‘हामी सबैले तपाईंको छोरी नउठानुस् भनेको भए त्यो पनि मान्नुहुन्थ्यो । राम्रो काम गरेको छ, किन हटाउनुहुन्छ भनेर मैले भनेको हो,’ देउवाले भने, ‘राम्रो काम गरेको मान्छे, त्यो पनि महिलालाई किन रोक्नु ? दिनुस् भनेर मैले भनेको हो ।’ प्रचण्डकी छोरीका रुपमा जन्मिनुबाहेक रेनुको कुनै गल्ती नभएको बताए । रेनुले भरतपुरमा राम्रो काम गरेको भन्दै देउवाले अनावश्यक वखेडा नगर्न कार्यकर्तालाई आग्रह गरे ।

काठमाडौंमा सिर्जनाका लागि भोट मागेका उनले प्रकाशमानसँग बिहे गर्नु उनको गल्ती नभएको बताए । कांग्रेस नेता प्रकाशमान सिंह पनि सिर्जनालाई उम्मेदवार बनाउन डराएकोभन्दै उनले भने, ‘लामो समयदेखि राजनीतिमा लागेकी हुन् । प्रकाशमानको श्रीमती हुनु उहाँको गल्ती हो ? यो अपराध त होइन नि !’

देउवाअघि सम्बोधन गरेका प्रचण्डले कसैको छोरी र श्रीमतीका रुपमा प्रचार गर्नु महिलाहरूको अपमान भएको बताए । ‘दुई मेयरका प्रत्यासीबारे एकथरी मान्छेहरुले नकारात्मक टिप्पणी नगरेका होइनन्,’ उनले भने, ‘कसैलाई छोरीका रुपमा, कसैलाई श्रीमतीको रुपमा प्रचार गरेर महिलाहरुलाई अपमानित गर्ने, महिलाभित्रको क्षमतालाई अवमूल्यन गर्ने एकथरी मान्छेहरुको कोसिस छन् ।’ चितवन र काडमाडौंका उम्मेदवारलाई भोट मागेका देउवा र प्रचण्डले अरु महानगरका उम्मेदवारबारे भने चर्चा गरेनन् ।

जबकी पोखरा, वीरगञ्ज र बिराटनगरमा पनि टिकट वितरणमा असन्तुष्टि छ भने ललितपुरमा चर्को प्रतिस्पर्धा छ । देशभर गठबन्धन गर्ने बताएका पाँच दलबीच निकै कम पालिकामा सहमति भएको छ । गठबन्धनको निर्णय विपरित अन्य दलसँग तालमेल भएको छ । गठबन्धनकै दलहरूले प्रमुख प्रतिस्पर्धी भनिएको एमालेसँग पनि तालमेल भएको छ । कांग्रेस र माओवादीले मात्र होइन, भर्खरै विभाजनपछि बनेको एकीकृत समाजवादीले तालमेल गरेको छ ।

यसमा पनि एकीकृत समाजदवादी अध्यक्ष नेपाल र राजमो अध्यक्ष केसीले शुक्रबार असन्तुष्टि जनाए । ‘कतिपय ठाउँमा प्रतिगामीहरूसँग साँटगाँठ भएको पनि सुनिएको छ,’ नेता नेपालले भने, ‘तिनलाई बेलैमा कारवाही गर्न सबै दलका नेतालाई आग्रह गर्न चाहन्छु ।’

गठबन्धनभित्र एकमत नरहेको विषयलाई राजमो अध्यक्ष केसीले त स्पष्ट शब्दमा नै व्यक्त गरे । उनले गठबन्धनका पाँचवटै दलबीच पनि एकमत नरहेको बताए । ‘पाँच दलभित्र सबैको एक मत छैन,’ उनले भने, ‘तर, संसद बचाउने कुरामा गठबन्धनभित्र एकमत छ । त्यही भएर हामी एक ठाउँमा आएका हौं ।’

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?