+
+
अग्रपथ :

‘पोस्ट-कम्युनिस्ट’ रूसमा पुटिनको दीर्घ शासन कति आकस्मिक ? कति स्वाभाविक ?

डम्बर खतिवडा डम्बर खतिवडा
२०७९ वैशाख २५ गते ९:४०

युक्रेन युद्धको कारण यतिखेर विश्व सञ्चारमाध्यममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको चर्चा चुलिएको छ । त्यसो त सन् १९९८ मा राष्ट्रपति बोरिस यल्तसिनले रूसको प्रधानमन्त्री नियुक्त गरे यता उनी सधैं चर्चा, समर्थन र आलोचनाको घेराभित्रै थिए । पुटिनको उदय र दीर्घ शासन विश्व-राजनीतिको एक अनौठो अध्याय जस्तो प्रतित हुन्थ्यो ।

सन् १९९०-२००० को समयावधि आफैंमा एक महत्वपूर्ण दशक थियो । यो दशकबाट विश्वमा नियमित र आकस्मिक दुवै प्रकारका थुप्रै नयाँ मोड एकमुष्ट प्रस्फुटन हुँदैथिए । त्यो शताब्दीको मात्र हैन, सहस्राब्दी नै परिवर्तनको दशक थियो । बीसौं शताब्दीको अन्त्य भएर मानव सभ्यता एक्काइसौं शताब्दीमा प्रवेश त गर्दैथियो नै, सँगसँगै त्यसअघि त्यति धेरै प्रयोग नहुने, शब्दकोशमा थन्किएर बसेको ‘मिलेनियम चेन्ज’ एक व्यावहारिक यथार्थ र अवधारणाका रूपमा विकसित हुँदैथियो । इस्वी संवत्को तेस्रो सहस्राब्दी सुरुवात हुँदैथियो ।

एउटा रूसी भनाइ छ- परिवर्तन त्यतिन्जेलसम्म असम्भव जस्तो लाग्छ, जबसम्म परिवर्तन हुँदैन । यो दार्शनिक भनाइलाई राजनीतिक उपयोग गर्दै कतिपय विश्लेषकले भन्ने गरेका थिए- ‘साम्यवाद त्यतिन्जेलसम्म कहिल्यै ढल्दैन जस्तो लाग्दछ, जबसम्म ढल्दैन ।’ करिब ७४ वर्ष लामो एकदलीय साम्यवादी सत्ताको बारेमा मात्र हैन, तत्कालीन सोभियत संघको अस्तित्व बारेमा पनि यो कुरा लागु हुन्थ्यो । कम्युनिस्ट शासनको पतन र ६९ वर्ष लामो सोभियत संघको विघटन सँगसँगै हुन्छ भन्ने कल्पना कसैले गरेको थिएन ।

तर जब भयो, दुनियाँको आँखा अगाडि हेर्दाहेर्दै भयो, सबैले पत्याउनै पर्‍यो ।

आफ्नै ध्वस्त मानसिकताको विद्रुप चित्र

नवकिशोर वयमा सोभियत साहित्य सायद सबैभन्दा बढी पढिएछ । जीवनमा नेपालीपछि सबैभन्दा धेरै रूसी साहित्य नै पढें कि जस्तो लाग्छ । नेपालमा २०३६-२०४६ को दशक उस्तै रोचक र रोमाञ्चक दशक थियो, यो दशकले धेरै अर्थमा हाम्रो पुस्ताको जीवनलाई प्रभावित र आकारित गर्‍यो । यो अवधिमा नेपालमा सबैभन्दा धेरै पढ्न पाइने साहित्य भनेकै रूसी साहित्य थियो । मस्कोका प्रगति र रादुगा प्रकाशनले अनुवाद गरेका मोटा गाता, राम्रो, बलियो र आकर्षक छपाइ भएका किताब अनुदान मूल्यमा नेपाल आउँथे ।

लियो तोल्सतोईको ‘युद्ध र शान्ति’ र ‘अन्ना कारेनिना’, फ्योदोर दोस्तोभस्कीको ‘अपराध र दण्ड’ र ‘करमाजोभ दाजुभाइ’ म्याक्सिम गोर्कीको ‘आमा’, ‘बाल्यकाल’, ‘जनताको माझमा’ र ‘मेरो विश्वविद्यालय’ निकोलाई अस्त्रोभस्कीको ‘अग्निदीक्षा’, मिखाइल सोलोखोभको ‘मान्छेको भाग्य’ र ‘सुस्तरी बग्ने दोन’, ब्लादिमिर कोरोलेन्कोको ‘अन्धा संगीतज्ञ’, जोन रिडको ‘संसारलाई हल्लाइदिने ती दश दिन’ आन्तोव चेखव र इभान तुर्गेनोभका अनगिन्ती कथा र नाटकहरू पढ्दा एउटा भिन्नै चित्र बन्थ्यो दिमागमा रूसको । रूस साँच्चिकै रोमाञ्चक र स्वप्नमय देश हुनुपर्दछ भन्ने ठान्दथें । लेनिन, स्टालिन, त्रोतस्की र बुखारिनका राजनीतिक निबन्धहरूको संकलित रचनाको भिन्नै बौद्धिक प्रभाव हुन्थ्यो । भिक्टर अफयानाशेभको ‘दर्शनशास्त्रको प्रारम्भिक ज्ञान’ संसारकै सर्वाधिक सुन्दर र प्रामाणिक सत्य हो कि जस्तो लाग्थ्यो ।

२०४६ को जनआन्दोलनताका पञ्चायती व्यवस्थाको थुनामा बस्दा बारम्बार रूस आउने र जाने गरेका कम्युनिस्ट नेता कृष्णप्रसाद श्रेष्ठसँग राम्रो चिनचान र संगत भयो । उनी तत्कालीन नेकपा (बर्मा) समूहका पोलिटब्यूरो सदस्य थिए । बारम्बार मस्को गएका थिए । रूस कस्तो छ ? के किताबमा पढे जस्तै छ ? म सोध्थें, उनी हाँस्थे । उनको भनाइमा रूसको व्यावहारिक यथार्थ हामीले किताबमा पढे जस्तो थिएन । उनलाई हामी ‘बिए कृष्ण दाइ’ भन्थ्यौं । बिए कृष्ण दाइका अनुसार रूसका आदर्शचित्रहरू विस्तारै धमिला हुन थालिसकेका थिए । नभन्दै केही वर्षभित्रै त्यो धमिलो चित्र प्रखर हुँदै आयो ।

साहित्य पढेर मस्तिष्कका जुन चित्र बनेका थिए, सन् १९८९-१९९१ का घटनाक्रमले सबै भताभुङ्ग भए । सबै चिज विद्रुप, बीभत्स हुँदै गए । त्यो पुग्नु न बुझ्नु, साइनो न सरोकारको देशबारे कति धेरै भ्रम पालिएछ । ‘स्वप्न राज्य’ वा ‘आदर्श राज्य’ नै ठानिएछ । नेपाललाई पनि त्यस्तै बनाउने भनिएको थियो, त्यो नै नरहेपछि अब कस्तो बनाउने ? कुनै नयाँ चित्र बनेन सजिलै, आजसम्म पनि त्यो मुश्किल भइरहेको छ धेरैलाई ।

मैले भने हलमा सिनेमा फेरिएको दिन पुरानो सिनेमाको पोस्टर उतारे जस्तो त्यो ठाउँ-ठाउँ फाटेर विद्रुप बनेको चित्रलाई दिमागबाट जबर्जस्त उतारिदिए । जीवन नयाँ, सार्थक र सहज लाग्न थाल्यो ।

ती तीन वर्ष

सन् १९८९, ९० र ९१ विश्व साम्यवादी आन्दोलनका लागि सायद सर्वाधिक दुर्दिनका वर्षहरू थिए । यी तीन वर्षमा यति धेरै घटना भए, जसको लेखाजोखा त्यसपछिको ३० वर्षले पनि अझै राम्ररी गर्न सकेको छैन जस्तो लाग्छ । पोल्याण्डको सोलिडारिटी आन्दोलनबाट घटनाक्रम सुरुवात भयो । लेक वालेसा एकाएक विश्व चर्चित भए । रोमानियामा निकोलाई चाउचेस्कुको दुर्दान्त पतन भयो । हेर्दाहेर्दै बर्लिनको पर्खाल ढल्यो । एरिक होनेकारलाई पतन भएका तानाशाहको सूचीमा चाउचेस्कुसँगै राखियो । हुँदाहुँदै साम्यवादको ‘मक्कामदिना’ सोभियत संघ नै भताभुङ्ग भयो । यही अवधिले लिएको मोडले पुटिनको उदयको आधार तयार गर्‍यो । यद्यपि त्यसको ७ वर्षपछि मात्र पुटिन एक अनौठो पात्रका रूपमा रूसी सत्तामा उदाए ।

इतिहासका यी नियमिततालाई हेरिएन भने पुटिनको उदय आकस्मिक लाग्न सक्छ ।

२८औं महाधिवेशन

कम्युनिस्ट पार्टीहरूको इतिहासमा महाधिवेशनहरूको विशेष महत्व हुन्छ । सन् १९९० को जुलाइमा सोभियत संघको कम्युनिस्ट पार्टीको २८औं महाधिवेशन भएको थियो । त्यो महाधिवेशन नै पार्टीको अन्तिम महाधिवेशन सावित भयो । त्यो महाधिवेशनमा तीन राजनीतिक लाइन बीचको वैचारिक संघर्ष प्रष्टै देखिन्थ्यो । मिखाइल गोर्भाचोबको सुधारवादी लाइन, बोरिस यल्तसिनको उदारवादी लाइन र गेन्नाडी यनायेवको कट्टरतावादी लाइन । तर, यल्तसिन र यनायेवको उदयमा गोर्भाचोबको सदासयता र लचिलोपनको भूमिका थियो । स्टालिन वा ब्रेझनेभको शासनकालमा जस्तै गोर्भाचोबले आफ्ना विरोधीलाई पेल्थे भने स्वयं गोर्भाचोब विरुद्ध षडयन्त्र गर्नका लागि यल्तसिन र यनायेव बाँकी बचेको हुने थिएनन् ।

गोर्भाचोब चाहन्थे- ग्लास्तनोस्ट र पेरेस्त्रोइकामार्फत सोभियत समाजको विस्तारै सुधार गर्ने । अर्थतन्त्रको निजीकरण, उदारीकरण र भूमण्डलीकरण गर्दै जाने । पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई बढाउने तर कम्युनिस्ट शासन भने कायम राख्ने ।

गोर्भाचोबको बाटो सायद सन् १९७८ मा चीनमा देङ सिआयो पिङले समातेजस्तो बाटो थियो । कम्युनिस्ट शासनभित्रै बजार अर्थतन्त्र पुनर्स्थापित गर्दै जाने बाटो थियो । तर, देङलाई जस्तो गोर्भाचोबलाई समयले साथ दिएन ।

यल्तसिन चाहन्थे- एकदलीय सोभियत तथा कम्युनिस्ट प्रणाली नै अन्त्य गर्ने, बहुदलीय व्यवस्था र खुल्ला बजार अर्थतन्त्र निर्माण गर्ने । केही वर्षअघि अमेरिका भ्रमणबाट फर्केपछि उनमा यो विचार गहिरो गरी गढेको थियो । यो विचार लिएबापत यल्तसिनलाई इतिहासले ‘अमेरिकी एजेन्ट’ भएको आरोप लगाएको छ । यथार्थमा यल्तसिन आफ्नै ज्ञान र अनुभवबाट त्यस्तो निष्कर्षमा पुगेका थिए कि अमेरिकी षडयन्त्रको गोटी बनेका थिए, त्यो त इतिहासले विश्लेषण गर्दै गर्ला ।

गेन्नाडी यनायेव भने स्टालिनकालीन सत्ताको विरासतलाई अझ बलियो गरी स्थापित गर्न र आफूलाई ‘नयाँ लेनिन’ पुष्टि गर्न चाहन्थे । २८औं महाधिवेशनमा गोर्भाचोबको लाइन पास त भयो तर वैचारिक तथा शक्ति संघर्ष भने रोकिएन ।

अगष्ट सत्ता विद्रोह

सोभियत संघको राजनीतिमा सन् १९९१ को अगष्ट सत्ता विद्रोहलाई एक अनौठो आकस्मिकता मान्न सकिन्छ जसले सोभियत संघको पतनलाई झनै छिटो बनाइदियो । सोभियत शासनकालमा उपराष्ट्रपति पद त्यसअघि कहिल्यै थिएन । तर, गोर्भाचोबले आन्तरिक शक्ति-सन्तुलन कायम गर्न यनायेवलाई उपराष्ट्रपति बनाएका थिए । गोर्भाचोब क्रिमियामा विदा मनाउन गएको बेला उपराष्ट्रपति यनायेव नेतृत्वको ‘अष्ठ समूह’ -ग्रुप अफ एइट)ले राष्ट्रपति गोर्भाचोबलाई अपदस्त गरेको घोषणा गर्‍यो । सोभियत संघमा यस्तो सत्ता विद्रोह सन् १९६४ मा ब्रेझनेभ समूहले राष्ट्रपति निकिता ख्रुश्चेभ विरुद्ध पनि गरेको थियो ।

केजीबी र सेना प्रमुख यनायेव समूहमा थिए । यनायेव समूहको सत्ता विद्रोह सफल हुन पनि सक्थ्यो । तर, सन् १९६४ को भन्दा सन् १९९१ को भिन्नता के थियो भने त्यहाँ तेस्रो पाटो बोरिस यल्तसिन पक्ष पनि बलियो थियो । गोर्भाचोब त लगभग सत्ता विद्रोह स्वीकार गर्न बाध्य भइसकेका थिए । तर, यल्तसिन समूहले नयाँ चमत्कार गर्‍यो । यल्तसिन समूहले सत्ताविद्रोह विरुद्ध जनतालाई सडकमा उतार्‍यो । यल्तसिनको आहृवानलाई रूसी जनताले ठूलो संख्यामा सडकमा निस्किएर साथ दिए । फलतः तीन दिनभित्रै यनायेवको सत्तापलट असफल भयो । अष्ठ समूहका कतिपय सदस्यले आत्महत्या गरे । कतिपय पक्राउ गरिए र जेल परे । जेल परेका यनायेवलाई केही वर्षपछि यल्तसिनले आममाफी दिएका थिए ।

पुटिनको प्रवेश

वर्तमान राष्ट्रपति पुटिनको जन्म सन् १९५२ अक्टोबर ७ मा भएको थियो । त्यतिन्जेल स्टालिन जीवितै थिए । पुटिनका हजुरबा स्टालिनको निजी भान्सेको जागिर खान्थे । भनिन्छ- पुटिनले एकाध पटक स्टालिनको काखमा खेल्ने मौका पाएका थिए । पुटिन जन्मिएको करिब ६ महिनापछि स्टालिनको निधन भयो । पुटिन परिवारको कथाले पनि नयाँ मोड लियो ।

पुटिन राजनीतिक करिअरका लागि लामो संघर्ष र महत्वाकांक्षाले त्यहाँ पुगेका थिएनन् । न त उनको वैचारिक निष्ठामा कुनै संगति थियो । स्टालिनवादी कम्युनिस्टबाट यल्तसिनवादी लिवरल डेमोक्र्याट्स हुँदै स्वयं आफ्नै मोडेलको ‘निर्वाचित तानाशाह’ बन्न उनलाई व्यक्तिगत महत्वाकांक्षा भन्दा बढी पोस्ट-कम्युनिस्ट युगको ऐतिहासिक विशिष्टताले साथ दिएको हुनुपर्दछ

पुटिनको अवचेतनमा सायद स्टालिनसँगको पारिवारिक निकटताको कुनै न कुनै प्रभाव थियो । तर, त्यसले उनको करिअरमा कुनै समस्या ल्याएको थिएन । कलेज जीवन समाप्त गरेपछि पुटिन केजेबीको अधिकृत भएका थिए । विभिन्न नामका पार्सपोर्ट लिएर उनी सोभियत संघका लागि गुप्तचरी गर्न विभिन्न देश पठाइन्थे । भनिन्छ- बर्लिनको पर्खाल ढल्दा उनी बर्लिनमा थिए । त्यो घटनापछि उनको सोचमा परिवर्तनको संकेत देखिन थालेको थियो । अन्यथा पुटिन आफैं एक कट्टर स्टालिनवादी कम्युनिष्ट थिए ।
अगष्ट सत्ता विद्रोह पुटिनको जीवनको सबैभन्दा ठूलो र पहिलो नैतिक संकट थियो । केजीबी अधिकृतका रूपमा यनायेव समूहलाई साथ दिने वा नदिने ? वैचारिक तथा पारिवारिक विरासतले उनी यनायेव समूहको नजिक हुनुपथ्र्यो । तर, उनको सोचमा सन् १९८९ यताका घटनाको प्रभाव पर्दै थियो । गोर्भाचोब समूहलाई धोका दिन पनि उनलाई मन थिएन । भनिन्छ- यो द्विविधाबाट मुक्त हुन अगष्ट सत्ता विद्रोहको भोलिपल्ट उनले जागिरबाट राजिनामा दिए र गृहनगर पिटर्सवर्ग फर्किए ।

उनले जागिरबाट राजिनामा गरेको दुई दिनभित्रै यनायेवको सत्ता विद्रोह असफल हुन्छ भन्ने सायद उनले अनुमान गरेका थिएनन् ।

पिटर्सवर्गमा उनी मेयरको सल्लाहकार र भर्खरै गठन भएको भिक्टोर चेर्नोमिन्दिर्नको नयाँ पार्टी युनिटी पार्टीको स्थानीय कार्यकर्ता भए । सोभियत संघको विघटन र एकदलीय कम्युनिस्ट शासनको अन्त्यपछि भएको पहिलो राष्ट्रपतीय चुनावमा बोरिस यल्तसिनले जितेका थिए । चोर्नोमिन्दिर्न यल्तसिनका प्रधानमन्त्री भए । यो सम्बन्धले पुटिनलाई फेरि मस्को ल्यायो । राष्ट्रपति यल्तसिनको निजी सचिवालय सदस्यका रूपमा पुटिनले क्रेमलिनमा काम थालेका थिए ।

पुटिनका लागि यथार्थमा त्यो नयाँ जागिर थियो । तर, राष्ट्रपति यल्तसिनको आँखामा पर्ने अवसर बन्यो । यल्तसिन आफैं युवा उमेरमा एक भावुक कम्युनिस्ट थिए । उनी गरिब र शक्तिहीन परिवारबाट आएका थिए । उनको निष्ठा, कठोर संघर्ष र कार्यसम्पादन क्षमताले नै उनलाई पार्टी पोलिटब्यूरोसम्म ल्याएको थियो । तर, त्यहाँ पुगेर उनले कम्युनिस्ट विचार छोडेका थिए । युवा उमेरको आदर्श विचारबाट जीवनको उत्तरार्द्धमा विरक्तिएका यल्तसिनले आत्महत्याको प्रयास समेत गरेका थिए ।
तर, अगष्ट विद्रोहको असफलताले यल्तसिनलाई विल्कुलै नयाँ अवसर दियो ।

पुटिनको व्यक्तित्वमा सायद यल्तसिनले आफ्नो युवा उमेरको झल्को देखे । पुटिन नै आफ्नो वास्तविक उत्तराधिकार हुन सक्दछ भन्ने यल्तसिनलाई किन लाग्यो ? त्यो आफैंमा एक रोचक अध्ययनको पाटो हो तर, यल्तसिनले पुटिन नरोजेको भए उनको उदय संभव हुने थिएन । सन् १९९८ मा पुटिनलाई यल्तसिनले प्रधानमन्त्री नियुक्ति गर्दिए, त्यसपछि पुटिनले कहिल्यै पछाडि फर्किनु परेन ।

पुटिनलाई प्रधानमन्त्री नियुक्त गरेको ६ महिनापछि यल्तसिनले राष्ट्रपति पदबाट आकस्मिक राजिनामा गरे । रूसी संविधान अनुसार राष्ट्रपति पद रिक्त हुँदा प्रधानमन्त्री तीन महिनाका लागि कार्यवाहक राष्ट्रपति हुन्थ्यो र नयाँ चुनाव गर्नुपर्ने हुन्थ्यो । पुटिनलाई कार्यवाहक राष्ट्रपतिको पदमा रहेर राष्ट्रपतिको चुनाव लड्ने अवसर प्राप्त भयो ।

दुईपटक गरी प्रधानमन्त्रीका रूपमा ६ वर्ष र राष्ट्रपतिका रूपमा १८ वर्ष गरी उनी विगत २४ वर्षदेखि निरन्तर सत्तामा छन् ।

‘पोस्ट-कम्युनिस्ट’ रूसका प्रकल्पन

पुटिनको उदय र दीर्घ शासनलाई उनको व्यक्तिगत सफलता वा पराक्रम बिल्कुलै मान्न सकिन्न । पुटिन राजनीतिक करिअरका लागि लामो संघर्ष र महत्वाकांक्षाले त्यहाँ पुगेका थिएनन् । न त उनको वैचारिक निष्ठामा कुनै संगति थियो । स्टालिनवादी कम्युनिस्टबाट यल्तसिनवादी लिवरल डेमोक्र्याट्स हुँदै स्वयं आफ्नै मोडेलको ‘निर्वाचित तानाशाह’ बन्न उनलाई व्यक्तिगत महत्वाकांक्षा भन्दा बढी पोस्ट-कम्युनिस्ट युगको ऐतिहासिक विशिष्टताले साथ दिएको हुनुपर्दछ । अन्यथा एक भान्सेको नाति आज यति शक्तिशाली शासक हुने र संसार हल्लाउन सक्ने हुने थिएन ।

सन् १९९१ का रूसी घटनाबाट एकसाथ पाँच उत्तरवर्ती अवधारणाको सुरुवात हुन्थ्यो ।

रूसमा पुटिनको उदय र दीर्घ शासन रूसी इतिहास र मनोविज्ञानको नियमितता र आकस्मिकता दुवै हो । संभवतः उनको अन्त्यपछि त्यहाँ अर्को नयाँ मोड आउनेछ । रूस पुनश्च कुनै नयाँ प्रकारको तानाशाहीतिर जान्छ वा लोकतन्त्रको बाटोमा फर्किन्छ, त्यो नयाँ मोडले धेरै हदसम्म निर्धारण गर्नेछ

एक- त्यो ‘पोस्ट- कम्युनिस्ट इरा’ पनि हो । ७४ वर्ष लामो लेनिनवादी-स्टालिनवादी सत्ता त्यहाँ पुगेर अन्त्य मात्र हुँदैन, मेरो मानसिकतामा जस्तै त्यो घटनाबाट संसारभरि कति धेरै मानिसका मनमा विद्रुप चित्र बने हुन्, कति धेरै मानिसका स्वप्न वा आदर्श राज्यका प्रकल्पनहरू भत्के हुन्, कति धेरै मानिसले गोर्भाचोब वा यनायेव नियति भोगे हुन्, कति धेरै मानिसले यल्तसिन वा पुटिनझैं आफ्नो वैचारिकीमा हुने संक्रमणको जटिलता, व्यक्तित्व विघटन र नैतिक संकट भोगे हुन्, त्यसको हिसाब सायदै कसैले दिन सक्दछ ।

दुई- त्यो ‘पोस्ट- सोभियत इरा’ पनि थियो । किनकि ६९ वर्ष लामो सोभियत संघ फेरि १५ वटा राज्यमा टुक्रिएको थियो । यसले एक नयाँ प्रश्न उठाउँथ्यो- सर्वहारा अन्तर्राष्ट्रियतावाद र लेनिनवादी आत्मनिर्णयको अधिकारको अवधारणामा बनेका सोभियत संघ, युगोस्लाभिया र चेकोस्लोभाकिया जस्ता संघ किन भत्किए तर अमेरिका, स्विट्जरल्याण्ड जस्ता संघ भने झनै बलिया किन भए ?

यसको अर्थ लोकतन्त्र विना संघवाद सार्थक हुँदैन, संघवादले सम्पुष्टि गर्ने स्वायत्तता, स्वशासन, पहिचान र बहुसांस्कृतिकतावाद सार्वभौम लोकतान्त्रिक अधिकार नै हुन् । त्यो बेला ‘द इन्ड अफ हिस्ट्री’ लेखेर सोभियत संघको विघटनलाई उदार लोकतन्त्रको दिग्विजय मात्र बुझेका प|mान्सिस फुकुयामाले समेत सन् २०१८ मा अर्को किताब लेख्दै यो यथार्थ स्वीकार गर्न बाध्य भए ।

तीन- त्यो ‘पोस्ट- कोल्ड बार इरा’ पनि थियो । बार्सा प्याक्ट किन विघटन भयो ? नेटो किन विघटन भएन ? दोस्रो विश्वयुद्धपछि सन् १९९१ सम्म करिब ४६ वर्ष कायम रहेको शीतयुद्ध, त्यसबीचका सामरिक टसल, अफगान, भियतनाम लगायतका युद्धहरू, हातहतियारका होड, आदित्यादिको किन कुनै औचित्य सिद्ध भएन ? औचित्य सिद्ध नहुने आग्रहहरूका लागि मानव जातिले त्यति ठूलो मूल्य किन चुकाउनुपर्‍यो ? यो प्रश्न इतिहासको निकै बोझिलो प्रश्न थियो ।

चार- त्यो ‘पोस्ट-स्टेट इकोनोमी’ पनि थियो । त्यसअघि अर्थतन्त्रको राष्ट्रियकरण, निजी स्वामित्वको अन्त्य र कम्युन प्रणालीबारे जे-जस्ता हाइपोथेसिस थिए, ती पुष्टि भएनन् ? निरपेक्ष बजारवाद वा निरपेक्ष राज्यवाद दुवै असफल भएको परिप्रेक्ष्यमा ऐतिहासिक भौतिकवादको साँचो सम्पुष्टि चाहिं के हो ? यो प्रश्न उठ्थ्यो ।

हामी पञ्चायतको थुनामा हुँदा डम्बर बुढाथोकी दाइ, जो बर्मा समूहको युथ लिगको नेता थिए, आफ्नै पार्टी नेता बिए कृष्ण दाइलाई जिस्काउँथे, बिए कृष्ण दाइ नेपाल कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको सदस्य भएर मस्को जाँदा १० वटा जिन्स प्यान्टले सुटकेश भरेर जान्थे, फर्किंदा, ती सबै उतै बेचेर फर्किन्थे ।

यो उदाहरणबाट पछि मैले बुझें कि राष्ट्रियकरण गरिएको अर्थतन्त्रमा उपभोक्ताका वस्तुको अभाव कसरी खट्किन्छ र अर्थतन्त्र धरासायी हुन्छ ।

पाँच- त्यो ‘पोस्ट-क्लोजनेस इरा’ पनि थियो । त्यसअघि कुनै खास देश कुनै खास किसिमको एकांकीपन र गुटबन्धनमा मात्रै सीमित भएर पनि बाँच्न, चल्न र प्रगति गर्न सक्दछ भन्ने विश्वास गरिन्थ्यो । नागरिकलाई विरोधी विचार भएका देशबारे जान्न, बुझ्न, पढ्न दिइँदैनथ्यो । विदेश भ्रमणको अनुमति सहजै दिइन्थ्यो । पूर्वी जर्मनीका मान्छे पश्चिम जर्मनी जान पाउँदैनथे । अमेरिका भ्रमण गर्न पाउने रूसीहरू विरलै हुन्थे । सोभियत संघ आफ्नो साहित्य विश्वभरि प्रचार गथ्र्यो तर, अरू देशको कला, साहित्य, सिनेमा, संगीतबाट आफ्नो नागरिकलाई सकेसम्म टाढै राख्दथ्यो । ठीक आज जसरी उत्तरकोरिया चलिरहेको छ, त्यसरी चल्नुलाई नै सही साम्यवादी राज्यको गुण मानिथ्यो ।

सन् १९९१ पछि सर्वहारा राज्य, लोकतन्त्र विनाको संघवाद, राज्य-अर्थतन्त्र, सैन्य गुट आधारित विश्व ध्रुवीकरण तथा शीतयुद्ध, संकीर्ण राष्ट्रवाद र बन्दपन एकसाथ संकटमा परेका थिए ।

त्यसो भए अब नयाँ बलशाली प्रश्न खडा हुन्छ कि त्यति धेरै महत्वपूर्ण परिवर्तनपछि पनि रूसमा फेरि किन पुटिनको उदय र दीर्घ शासन संभव भयो ? किन त्यहाँ लोकतन्त्र राम्ररी फस्टाएन ? किन रूसीहरूले पुराना रूसी शासन पिटर द ग्रेट, जार निकोलस, स्टालिन जस्तै नयाँ आवरणमा निर्वाचित तानाशाह पुटिन मन पराए ? सन् १९९१ मा पोस्ट कम्युनिस्ट युगको नयाँ संविधान बन्दा त्यहाँ अमेरिकामा जस्तै दुई कार्यकालसम्म मात्र राष्ट्रपति हुने प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कल्पना र प्रावधान थियो । तर, त्यो प्रावधान अमेरिकीले किन माने रूसीले किन मानेनन् ? पुटिनले त्यो प्रावधान उल्लंघन गर्दा पनि रूसमा किन निणर्ायक जनविद्रोह वा क्रान्ति हुन सकेन ?

संभवतः यसका पनि पाँच वटा कारण हुन सक्दछन् ।

एक- रूसी राजनीतिमा लोकतन्त्रभन्दा बढी पराक्रमी शासकको खोज गर्ने परम्परा जस्तै थियो । रूसले पूर्ण लोकतन्त्रको अभ्यास कहिल्यै गरेन, गर्न पाएन, त्यसको स्वाद पनि त्यहाँका जनताले चाख्न पाएनन् । सन् १९०५ अघि त्यहाँ असाध्यै क्रूर प्रकृतिको निरंकुश राजतन्त्र थियो । सन् १९०५ देखि २०१७ को फेब्रुअरी क्रान्तिबीच राजतन्त्र तुलनात्मक रूपमा कमजोर हुँदै गयो र राजनीतिक दलहरू विकास भए । तर, सन् १९१७ को अक्टोबर क्रान्तिले फेरि नयाँ प्रकारको एकदलीय कम्युनिस्ट तानाशाही स्थापित गर्‍यो । रूसी जनतामा लोकतन्त्रको मूल्यमान्यता र संस्थागत प्रक्रिया जीवनपद्धतिका रूपमा विकास हुन पाएन ।

दुई- लोकतन्त्र बलियो हुन लोकतात्रिक विकल्प चाहिन्छ । छनोटयोग्य लोकतान्त्रिक संस्थाहरू उपलब्ध हुनुपर्दछ । कुनै एक लोकतान्त्रिक दलसँग जनता असन्तुष्ट भए अर्को लोकतान्त्रिक दलले त्यसलाई समेट्नुपर्ने हुन्छ । तर, ७४ वर्ष लामो कम्युनिस्ट शासनका कारणले त्यहाँ फरक-फरक लोकतान्त्रिक दलहरू विकास भएका थिएनन् । पुटिन समर्थक ‘युनाइटेड रसिया’ को विपक्षमा पुरानै पुनर्गठित कम्युनिस्ट मात्र बलियो रहृयो । सन् १९९१ यता रूसमा जति पनि संसदीय वा राष्ट्रपतीय चुनाव भएका छन्, सबै चुनावमा रूसी कम्युनिस्ट पार्टी प्रमुख प्रतिपक्ष बन्दै आएको छ । पुटिनलाई हटाउने हो भने फेरि पुरानो एकदलीय कम्युनिस्ट व्यवस्था फर्किन्छ भन्ने डर त्यहाँका जनतालाई हुन सक्दछ ।

तीन- राजनीतिक परिवर्तनले मात्र कुनै पनि समाजको सामाजिक तथा मनोवैज्ञानिक धरातल छिटै वा सहजै परिवर्तन हुन संभव हुँदैन । यल्तसिन र पुटिन आफैं लामो समय कम्युनिस्ट पार्टीको शिक्षा, प्रणाली र संस्कारमा हुर्किएका मान्छे थिए । उनीहरूले त्यो स्कुलिङबाट सजिलै मुक्ति पाउन संभव थिएन । सन् १९९१ को क्रान्तिले उनीहरूमा केही समय उदार लोकतन्त्रप्रतिको झुकाव बढेको थियो तर मौका पाउनासाथ पुटिन आफ्नो पुरानै स्कुलिङ र मनोवृत्तिमा फर्किएको हुन सक्दछ ।

चार- रूसीहरू आफूलाई पश्चिम युरोपभन्दा सबैजसो कालखण्डमा एक फरक चरित्र, स्वभाव र संस्कृति भएको राष्ट्र ठान्दथे । पश्चिमप्रति उनीहरूमा एक प्रकारको मनोवैज्ञानिक प्रतिरोधको भावना थियो । सोभियत संघको विघटनपछि पनि पुटिनले कुनै न कुनै रूपमा त्यो भावनाको रक्षा र प्रवर्द्धन गरे । सोभियत संघको विघटनले विश्व राजनीतिमा रूसको महत्व र भूमिका घटेको थियो । सायद रूसी जनता इतिहासको त्यो गौरव पुनपर््राप्ति गर्न चाहन्थे । तसर्थ उनीहरूले पिटर द ग्रेट, जार निकोलस र स्टालिनको छवि पुुटिनमा पुनर्जागृत भएको हेर्न चाहे । रूसलाई फेरि एक नयाँ साम्राज्यका रूपमा विकास गर्ने राष्ट्रवादी भावनाको दोहन गर्ने अवसर पुटिनलाई प्राप्त भयो ।

पाँच- सबैभन्दा महत्वपूर्ण कुरा मानव जातिको इतिहास कुनै एकल रेखीय प्रक्रिया -लिनियर प्रोसेस) मा हिंड्दैन रहेछ । बहुमत मानिसको सोच कति बेला कस्तो बन्छ, त्यही बाटो त्यो राष्ट्रले अवलम्बन गर्दछ, त्यो कति ठीक छ वा बेठिक त्यसको मूल्यांकन त इतिहासले पछि गर्ने हो । निश्चितता सिद्धान्तको ‘माइन्ड सेट’ बाट गरिने पूर्वानुमानहरू सही नै सावित हुन्छन् भन्ने छैन । मानव जातिको आफैंमा एक जटिल प्रक्रिया हो, जसको कुनै पूर्वनिर्धारित बाटो हुँदैन । त्यो अनेक उतारचढाव भएर हिंड्छ । त्यसभित्र संयोगिता र नियमितताको समिश्रण हुन्छ ।

निष्कर्षतः रूसमा पुटिनको उदय र दीर्घ शासन रूसी इतिहास र मनोविज्ञानको नियमितता र आकस्मिकता दुवै हो । संभवतः उनको अन्त्यपछि त्यहाँ अर्को नयाँ मोड आउनेछ । रूस पुनश्च कुनै नयाँ प्रकारको तानाशाहीतिर जान्छ वा लोकतन्त्रको बाटोमा फर्किन्छ, त्यो नयाँ मोडले धेरै हदसम्म निर्धारण गर्नेछ ।

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?