+
+
उम्‍मेदवारको प्रोफाइल :

तुलसीपुरको बागडोर सम्हाल्ने दाउमा गिरी

गेहेन्द्र गिरी, तुलसीपुर उपमहानगरपालिकाको मेयरका प्रत्यासी, नेपाली कांग्रेस गेहेन्द्र गिरी, तुलसीपुर उपमहानगरपालिकाको मेयरका प्रत्यासी, नेपाली कांग्रेस
२०७९ वैशाख २६ गते ११:०८

२६ वैशाख, तुलसीपुर ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद गेहेन्द्र गिरी यसपटक तुलसीपुर उपमहानगरपालिकाको मेयरका प्रत्यासी बनेका छन् । उनी कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धनको साझा उम्मेदवार हुन् ।

उनका पिता देवीप्रसाद गिरी घोराही मालपोत कार्यालयमा मुखिया थिए । जागिरको क्रममा घोराहीको सेवार वनगाउँमै बस्थ्यो उनको परिवार । सोही गाउँमा २००८ सालमा जन्मिएका गिरी अहिले तुलसीपुर उपमहानगरपालिका-५ मा स्थायी बसोबास गर्दै आएका छन् ।

उनले सेवार वनगाउँ तथा घोराहीकै भरतपुरमा कक्षा ८ सम्म अध्ययन गरे । उनको माध्यमिक तहको पढाइ भने तुलसीपुरको महेन्द्र हाईस्कुलमा भयो । उनले मेट्रिक र आईए भने भारतबाट उत्तीर्ण गरे । राजनीतिक जीवन बढी सक्रिय बनाउँदै जाँदा उनको त्यसभन्दा माथिको अध्ययन अगाडि बढाउन सकेनन् ।

गेहेन्द्रको पारिवारिक पृष्ठभूमि पनि नेपाली कांग्रेससँगै जोडिएको थियो । त्यसैको प्रभावले उनी पनि सानै उमेरमा सक्रिय राजनीतिमा अग्रसर हुन पाए । खासमा उनको राजनीतिक यात्रा तुलसीपुरको महेन्द्र हाईस्कुलमा अध्ययनरत रहँदा २०२३ सालदेखि सुरु भएको थियो ।

‘त्यो बेला म कक्षा ९ मा पढ्थें, त्यही स्कूलमा पढाउने शिक्षक पश्चिम दाङको भमकेका नेमकान्त दाहालले राजनीतिको कखरा सिकाउनुभो मलाई’, गेहेन्द्र सम्झन्छन् । उनले आफ्नै औंलाको रगतले सेतो कागजमा ल्याप्चे लगाएर राजनीतिको कसम खाए ।

‘तन, मन र धनले म पार्टीको काममा लाग्नेछु, मैले पार्टीको गोपनीयता कहीं कतै पनि भंग गर्ने छैन’ लेखिएको कागजमा रगतको ल्याप्चे लगाएर राजनीतिमा प्रवेश गरेको बताउँछन् गिरी । उनी भन्छन्, औंलामा काँडाले गोबेर (घोचेर) रगत निकालेर ल्याप्चे लगाएको थिएँ ।’

गिरी २०२४ देखि नै राजनीतिमा सक्रिय थिए । पञ्चायतमा जनपक्षीय राजनीति गर्न कम्ती असहज थिएन । बस, चोक, चौतारामा जताततै सरकारी जासुस हुन्थे । राजनीतिमा लागेकाहरूलाई क र का भन्ने गरिन्थ्यो । क भनेको कम्युनिस्ट, का भनेको कांग्रेस । क र कालाई सरकारले अराष्ट्रिय तत्व भन्थ्यो । खोजीखोजी काराबास हाल्थे । कांग्रेसको राजनीतिमा जोडिएकै बेला बल्ल नेविसंघ गठन भयो । वि.सं. २०२७ मा गेहेन्द्र नेविसंघको राजनीतिमा जोडिए ।

‘हामी त्यो बेला महेन्द्र हाईस्कुलमा पढ्थ्यौं, पढाउने सबै भारतबाट आएका शिक्षक भएकाले उनीहरूलाई खासै राजनीतिमा चासो थिएन’ उनी विगत सम्झिंदै भन्छन्, ‘हामी निर्धक्क राजनीति गथ्र्यौं । मेरो बाजे चित्रवीर गिरी कांग्रेस भएको नाताले म पनि कांग्रेसकै राजनीतिमा जोडिएँ ।’

दाङ २० को दशकमा कम्युनिस्टमय थियो । रामनारायण श्रेष्ठ यहाँका चतुर अञ्चलाधीश थिए । उनको कम्युनिस्ट र कांग्रेस छुट्याउने तरिका पनि गज्जबको थियो । कम्युनिस्टहरू पाइन्ट सर्ट लगाउँथे, कांग्रेसहरू प्रायः पाइजामा लगाउँथे ।

पाइन्ट लगाउनेहरूले उठेरै पिसाब फेर्थे, कांग्रेसहरू पाइजामा लगाउने भएकाले बसेर पिसाब फेर्थे । यही आधारमा अञ्चलाधीशले उठी–उठी पिसाब फेर्नेलाई कम्युनिस्ट भनेर चिन्थे, बसेर फेर्नेलाई कांग्रेस ।

‘त्यसपछि हामीले महेन्द्र हाईस्कुलमा संगठन गर्न थाल्यौं, कांग्रेस र कम्युनिस्टबीच त्यतिबेलादेखि नै दिनदिनै झडप हुन्थ्यो’ उनी भन्छन्, ‘कम्युनिस्टको गढ भएकोले कांग्रेसलाई नारायणपुर क्रस गर्नै मुश्किल हुन्थ्यो, त्यतिबेला । हरेक दिन झडपै झडप । अञ्चलाधीशको कडा निगरानीले थाना त अस्थायी वासस्थान जस्तै थियो । कतिपटक थुनियौं, हिसाबै छैन ।’

गिरी २०३० देखि २०३४ सालसम्म चार वर्ष घोराही कारागारमा बसे अराष्ट्रिय तत्वको आरोपमा । ‘एक दिन त स्कुलमै प्रहरी खोज्न आयो मलाई र मसँगै सोध्यो, गेहेन्द्र खोइ भनेर । मैले ऊ नभएको बताएर प्रहरीलाई फर्काइदिएँ’, उनी भन्छन् ।

त्यसपछि उनी भारतको बनारस गए । त्यहाँ पनि आप्रवासी विद्यार्थीको संगठनमा जोडिए । त्यहाँ कांग्रेसका अग्रज नेताहरूसँग सम्पर्क भयो । ‘हामीले त्यहीं बसेर तुलसीपुरको वाणिज्य बैंकबाट पैसा लुट्ने प्लान गर्‍यौं र यो योजना गिरिजाबाबुलाई भनें । पछि यो योजना रोकियो’, उनी भन्छन् ।

त्यतिबेलाका अञ्चलाधीश चन्द्रमान थकालीले ७ वर्ष जेल ७ हजार जरिवाना तोके । गिरीमाथि पर्चा, पम्प्लेट, राजद्रोह लगायत ५ वटा मुद्दा लगाइए । गिरी स्मरण गर्छन्, ‘मैले नेपालगञ्ज पुनरावेदन अदालतमा अपिल गरेपछि ४ वर्षमै रिहा भएको थिएँ ।’

२०३६ मा नेविसंघ दाङको सभापति बनेका गिरी २०४९ मा कांग्रेस दाङकै सभापति बने । पछि बलदेव मजगैयाँले बीचमै जिल्ला सभापतिबाट राजिनामा दिएपछि भएको जिल्ला अधिवेशनमा पनि उनी नै सभापतिमा चुनिए । कांग्रेस दाङको नेतृत्व उनले २०५८ सम्म गरे । त्यसअघि २०५६ को आम निर्वाचनमा उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । भर्खरै सम्पन्न चौधौं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा निर्वाचित भए ।

२०७४ सालको स्थानीय निर्वाचनमा तत्कालीन एमालेका उम्मेदवार घनश्याम पाण्डेसँग झिनो मतान्तरले तुलसीपुर उपमहानगरपालिकाको मेयरमा पराजय भोगेका गिरी आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको मेयरका उम्मेदवार बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?